झलनाथ खनाललाई प्रश्न : तपाईँको नामको प्रतिष्ठानमा भ्रष्टाचार हुँदा कस्तो लागेको छ?

तस्बिर स्रोत, JNKhanal/Facebook
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको नाममा स्थापना भएको प्रतिष्ठानमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले दोषीलाई सजाय सुनाउने तयारी गरिरहेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा यसै साता अदालतले करिब १९ करोड रुपैयाँ हिनामिना भएको ठहर गरेको हो।
विसं २०७७ सालको चैतमा परेको उजुरीमा अनुसन्धानपछि प्रतिष्ठान र त्यसको सञ्चालनमा संलग्नहरूविरुद्ध मुद्दा दायर गरिएको थियो।
आयोगले आर्थिक हिनामिनासम्बन्धी मुद्दामा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्तसहित सात जनालाई प्रतिवादी बनाएकोमा पाँच जना दोषी ठहर भएका हुन्।
यो मुद्दाका प्रतिवादीहरूका लागि सजाय निर्धारणका लागि असार २५ गते पेसी तोकिएको छ।
झलनाथ खनाल के भन्छन्?
पछिल्लो समय नाम फेरेर 'राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्' बनाइएको यो कार्यालय विसं २०७२ सालमा स्थापना हुँदा 'झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान' नाम राखिएको थियो।
पूर्वप्रधानमन्त्री खनालले आफ्नो नामबाट स्थापना भएको प्रतिष्ठानमा कुनै संलग्नता नभएको स्पष्टीकरण दिँदै आएका छन्।
“त्यति बेला साथीहरूले त्यहाँ सर्पको बिगबिगी भएको हुनाले त्यसका विरुद्ध 'एउटा प्रक्रिया अपनाउनुपर्यो, नेपालमै 'भेनम' बनाउनपर्यो' भनेर एउटा संस्था बनाउनुभयो,” खनालले शुक्रवार बीबीसीसँग भने।
“त्यो संस्थामा मेरो नाम राख्छौँ भन्नुभयो। मैले अनुमति दिएको मेरो नाम राख्न मात्रै हो। त्यति बेलै विवाद उठ्ने हो कि भन्ने पनि लागेको थियो। मेरो नाम किन राख्नुहुन्छ भनेर पनि भनेको हो।”
जहाँबाट जुन संस्थाले फैसला गरेको हो त्यसले पक्कै पनि तथ्यहरू हेर्यो होला, विश्लेषण गर्यो होला अनि त्यस आधारमा निकालिएको निष्कर्ष होला। अब त्यसबारेमा मलाई अहिले केही पनि भन्नु छैन
आफूले नेपालमा सर्पदंशको उपचारका लागि पहल लिएका कारण प्रतिष्ठानको नाम राख्न गरिएको प्रस्तावमा सहमति जनाएको उनको दाबी छ।
"नाम राख्न दिएको स्वीकृतिबाहेक त्यसमा मेरो कुनै संलग्नता छैन," उनले थपे।
खनालले उक्त प्रतिष्ठानमा गलत कुरा भएको भए त्यसमा छानबिन हुने कुरा राम्रो भएको आफूलाई लागेको बताए।
"अनियमितता छ कि छैन म जान्दिनँ। त्यो अख्तियारले जान्ने होला अथवा सम्बन्धित संस्थाहरूले जान्ने होला। त्यस कारणले त्यसबारेमा मेरो कुनै सरोकार नभएको कुरा म जानकारी गराउँछु।"
"जहाँबाट जुन संस्थाले फैसला गरेको हो, त्यसले पक्कै पनि तथ्यहरू हेर्यो होला, विश्लेषण गर्यो होला, अनि त्यस आधारमा निकालिएको निष्कर्ष होला। अब त्यसबारेमा मलाई अहिले केही पनि भन्नु छैन," खनालले भने।
"अनियमितता छ भने, सम्बन्धित संस्थाले यहाँ अनियमितता छ भनेर देखाएको कुरालाई मेरो चाहिँ समर्थन छ।"
खनालले गत वर्ष एक सार्वजनिक कार्यक्रममा उक्त प्रतिष्ठानमा संलग्नताबारे छानबिनका लागि आफू तयार रहेको बताएका थिए। आफूमाथि छानबिन गर्न चुनौती दिँदै उनले “एक रुपैयाँ पनि भ्रष्टाचार गरेको भेटिए हतकडी लगाउन” भनेका थिए।
सामाजिक सञ्जालका टिप्पणीबारे खनाल के भन्छन्?
प्रतिष्ठानमा भएको भ्रष्टाचारको विषयमा पूर्वप्रधानमन्त्री खनाललाई पनि जोडेर सामाजिक सञ्जालमा टिप्पणीहरू भएका छन्।
खनालले आफूलाई जोडेर सामाजिक सञ्जालमा भइरहेका टिप्पणीबारे आपत्ति जनाए।
“भ्यागुताहरूले दहमा बसेर बेला न कुबेला ट्वार्रट्वार्र गर्छन्। तथ्यहरू बुझ्नु छैन। जान्नु छैन। मिडियामा बसेर अनेक प्रकारको दूषित राजनीति गर्ने र दूषित ढङ्गले प्रचार गर्नेहरू जो छन्, तिनीहरूको भूमिका भनेको भ्यागुताको 'ट्वार्र'भन्दा केही छैन,” खनालले भने।
“तिनीहरूलाई म निन्दाबाहेक केही गर्दिनँ।”
मुद्दा के हो?

तस्बिर स्रोत, RSS
सर्पदंशको उपचारमा प्रयोग हुने 'एन्टिभेनम' उत्पादनका लागि लालबन्दी नगरपालिकामा प्रतिष्ठानको सहकार्यमा 'एन्टिभेनम प्रोडक्शन एन्ड रिसर्च सेन्टर' स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने कामका लागि सरकारबाट लिइएको रु १७ करोड ९८ लाख ३३ हजार अनुदान हिनामिना अदालतको ठहर छ।
अदालतको फैसलामा मधेश प्रदेशका मन्त्रीलाई प्रतिष्ठानको उद्देश्यविपरीत अनावश्यक खर्चमा जिम्मेवार ठहर्याइएको छ।
मन्त्री विजय कुमारले “लेखा अधिकृतले गर्ने भनी तोकिएको कार्य समेत आफैँले गरी नपाएको अधिकार र हैसियत प्रयोग गरेको” अदालतको ठहर छ।
अदालतले प्रतिष्ठानका अध्यक्ष पन्तसहित नवराज भण्डारी, निरज भण्डारी र देवेन्द्र रायलाई मतियारको रूपमा कार्य गरेको ठहर गर्दै दोषी ठहर्याएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पूर्ण रकम खर्च भइसक्दासमेत योजनाको उद्देश्य प्राप्तितर्फ प्रगति शून्य रहेको र अन्य स्वीकृत नभएका विषयमा समेत सरकारी रकम खर्च गरी/गराई रु १७ करोड ९८ हजार ३३ हजार बिगो बराबरको सरकारी सार्वजनिक सम्पत्ति हानिनोक्सानी, दुरुपयोग गरेको दाबी गरेको थियो।
प्रतिष्ठानले सङ्घीय सरकारको तर्फबाट समेत ३ करोड २७ लाख रुपैयाँ अनुदान पाएको थियो।
प्रतिष्ठान किन स्थापना भयो?

विसं २०७० सालमा संविधानसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री खनालले सर्लाही र इलाम दुवै जिल्लाबाट प्रतिस्पर्धा गरेका थिए। गृहजिल्ला इलामबाट जिते पनि सर्लाहीमा उनी पराजित भए।
तर सर्लाहीमा सर्पदंशबाट एक बालकको मृत्यु भएपछि भावविह्वल बनेको परिवारको मनोदशाले चुनावी अभियानका क्रममा खनाललाई छोयो।
“…त्यस दिन मेरो जिन्दगीमा मैले सबैभन्दा नराम्रो ढङ्गले रोएँ। म असाध्यै द्रवीभूत भएँ। किन यस्तो हुन्छ त?” गत वर्ष एउटा सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले भनेका थिए।
“के यसका लागि औषधि बनाउन सक्दैनौँ, के हामीले कुनै अस्पताल बनाउन सक्दैनौँ यो देशमा?”
त्यसै साँझ सर्लाहीका अगुवाहरूलाई भेला गरेर त्यस विषयमा आफूले सरसल्लाह गरेको र विसं २०७२ सालमा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको जन्म भएको बताइन्छ।
सर्पदंशको उपचारका लागि प्रयोग हुने औषधि अर्थात् ‘एन्टिस्नेकभेनम’ हाल भारतबाट आयात हुँदै आएको छ।
वर्षायाममा सर्पको टोकाइबाट खास गरी ग्रामीण किसानहरूले ज्यान गुमाउनुका साथै शारीरिक समस्या र अपाङ्गता भोग्दै आएका छन्।
जोखिमको तुलनामा सर्पदंश उपचार केन्द्रहरू निकै कम रहेकोले नेपालमा नै औषधि उत्पादन गर्न सके उपचार सहज बनाउन सकिने विज्ञहरू बताउँछन्। सर्पदंशको औषधि उत्पादन निकै जटिल र खर्चिलो रहेको सरकारी अधिकारीहरूले यसअघि बीबीसीसँग बताएका थिए।
सन् २०१९ मा स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागले नेपालको पूर्वी क्षेत्रमा १० वटा अस्पतालमा गरेको अध्ययनले एउटा अस्पतालमा प्रतिवर्ष ४०७ वटा सर्पदंशका बिरामी आउने गरेका देखाएको छ।
तीमध्ये ३७९ जनालाई विषालु सर्पले डसेको पाइएको थियो। अध्ययनका अनुसार अस्पतालनजिकका मानिसहरूमा मृत्युदर ३ प्रतिशत भए पनि दुर्गम क्षेत्रमा मृत्युदर ५८ प्रतिशत सम्म रहेको पाइएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








