सन्दीप लामिछानेलाई यूएई पठाउने प्रक्रियामा क्यान, आईसीसीले देखायो चासो

तस्बिर स्रोत, CAN
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
- Published
सर्वोच्च अदालतबाट विदेश जाने स्वीकृति पाएपछि क्रिकेटर सन्दीप लामिछानेलाई आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक शृङ्खलामा सहभागी गराउन नेपाल क्रिकेट सङ्घ क्यानले पहल थालेको छ।
तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले अहिलेसम्म स्वीकृति दिएको छैन।
अदालतले लामिछानेलाई विदेश जाने बाटो खोलिदिए लगत्तै क्यानले लेग स्पिनर लामिछानेको नाम नेपाली टोलीमा समावेश गरिदिन आग्रह गर्दै आईसीसीको चासो अनुसार सोमबार साँझ पत्राचार गरेको छ।
क्यानले त्यसमा अदालतबाट प्राप्त आदेश लगायतका सम्पूर्ण कागजात पनि पेस गरेको छ।
क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले बीबीसीसँग भने, "लामिछानेको मुद्दा बारे आईसीसी पहिले नै जानकार छ। त्यही अनुरूप हामीले सम्पूर्ण जानकारी सहितको पत्र आईसीसीलाई पठाएका छौँ। निर्णय आउन बाँकी छ।"
के के छन् प्रक्रिया?
अधिकारीहरूका अनुसार लामिछानेको नाम समावेश गरिदिन आग्रह गरेपछि आईसीसीले कारणबारे जानकारी मागेको थियो।
त्यसपछि राष्ट्रिय टोली घोषणाको चरणदेखि अदालतको आदेश आउँदासम्मको समय र प्रक्रियाबारे जानकारी गराइएको क्यानले जनाएको छ।
राष्ट्रिय टोलीको खेलाडी परिवर्तन गर्नका निम्ति आईसीसीले तोकेको निश्चित प्रक्रिया पूरा हुनुपर्छ।
टोलीको कुनै खेलाडी घाइते भएमा अर्को खेलाडी पठाउने सक्ने एउटा मुख्य प्रावधान छ।
यूएईमा एउटा मात्रै खेल खेलेको नेपालका कुनै खेलाडी घाइते भएका छैनन्।
त्रिकोणात्मक शृङ्खलाका लागि बनाइएको आईसीसीको प्राविधिक समितिमा यूएईका सदस्य पनि छन्।
त्रिकोणात्मक शृङ्खलामा यूएई पनि खेल्ने भएकोले लामिछानेको उपस्थिति उनीहरूले नरुचाउने सम्भावना पनि त्यति नै देखिएको क्यान पदाधिकारीहरू बताउँछन्।

तस्बिर स्रोत, Getty Images
कार्यवाहक सचिव पाठक भन्छन्, "यूएईको लागि पनि शृङ्खलाका खेलहरू जित्न जरुरी छ। त्यसैले उनीहरूले पनि सन्दीप नेपालबाट नखेलोस् भन्ने चाहना गरेको हुनसक्छ।"
यद्यपि मङ्गलवार साँझसम्म आईसीसीले लामिछानेको मुद्दा बुझेको हुनाले स्वीकृति दिनेमा क्यान पदाधिकारीहरू आशावादी देखिन्छन्।
सोही अनुरूप क्यानले लामिछानेलाई यूएई पठाउनका निम्ति भिसा प्रक्रिया र टिकटको व्यवस्था मिलाउने काम गरिसकेको बताएको छ।

तस्बिर स्रोत, Getty Images
कार्यवाहक सचिव पाठकले भने, "नेपालको यूएईसँगको खेल बिहिवार छ। भोलिसम्म स्वीकृति आयो भने पनि हामीले उनलाई समयमा पठाउन सक्छौँ।"
नेपालको १५ सदस्यीय टोली अहिले यूएईमा छ। स्वीकृति पाए क्यानले मौसम ढकाललाई फिर्ता बोलाउने तयारी गरेको छ।


ओडिआई मान्यता जोगाउने चुनौती
विश्वकप लिग-२ शृङ्खला अन्तर्गत अहिले यूएईमा नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित शृङ्खला भइरहेको छ।
नेपालले सोमवारको खेलमा पीएनजीलाई ४ विकेटले पराजित गरिसकेको छ।
नेपालले कुल चार खेल खेल्नेछ। जस अनुसार नेपालले बिहिवार यूएईसँग, शुक्रवार पीएनजीसँग र आइतवार शृङ्खलाको अन्तिम खेल यूएईसँग खेल्नेछ।
शृङ्खलाको तालिकामा नेपाल अहिले २८ अङ्कका साथ छैटौँ स्थानमा छ।
यूएई २९ अङ्कका साथ पाँचौँमा छ। दुई देशबीच तालिकाको माथिल्लो स्थानमा उक्लिन कडा प्रतिस्पर्धा चलिरहेको छ।
नेपालले अब सात खेल खेल्न बाँकी छ। जसमा ४ खेल जिते एक दिवसीय अन्तर्राष्ट्रिय ओडिआई मान्यता जोगाउने छ।




















