एशिया कपमा भारतलाई सानदार जित दिलाउने मोहम्मद सिराज को हुन्

भारत आठौँ पटक एशिया कप विजेता बनेको छ। तर सन् २०२३ को एशिया कपमा प्रदर्शन गरेको खेलका कारण मोहम्मद सिराजको नाम इतिहासमा लेखिन पुगेको छ।

कप्तान रोहित शर्माले भनेका छन्ः लामो समयदेखि कडा मेहनत गरिरहेका सिराजको खेलको लामो समयसम्म प्रशंसा हुने छ।

फाइनल प्रतिस्पर्धाका दिन श्रीलङ्काले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गर्दा आकाशमा छाइरहेको बादल हेर्दै कैयौँ जानकारहरूले आश्चर्य व्यक्त गरेका थिए।

टसपछि पानी पर्‍यो र त्यसले गर्दा खेल करिब ४० मिनेटपछि सुरु भयो।

पानी धेरै बेर त परेन, तर त्यसले भारतीय तीव्र गतिका बलरलाई आफ्नो प्रदर्शन देखाउने वातावरण मिल्यो।

बलिङको नेतृत्व जसप्रीत बुमराहले गरेका थिए। उनको बलिङ हावामा उड्दै गएर दुवैतर्फ स्विङ भइरहेको थियो।

सिराजको गोल्डन ओभर

पहिलो ओभरमै बुमराहले कुशल परेरालाई विकेट पछाडि क्याच आउट गराए।

खेलको दोस्रो ओभरमा सिराज आए। यसै ओभरमा अब अगाडि के हुने छ भन्ने छनक मिलेको थियो।

त्यस्ता उदाएका खेलाडीहरूको कथा हेर्न र सुन्न सबैले चाहिरहेका छन्।

खेलको चौथो तथा सिराजको दोस्रो ओभर एकदिवसीय क्रिकेटमा अविस्मरणीय बन्यो।

पहिलो बलमा सिराजले प्रथुम निस्साङ्कालाई जडेजाको हातबाट क्याच आउट गराए। तेस्रो बलमा सदीरा समरविक्रम एलबीडब्ल्यूको सिकार हुन पुगे।

त्यसपछिको बलमा सिराजले चरित असालाङ्कालाई कभरमा रहेका ईशान किशनको हातबाट क्याच आउट गराए।

सिराज ह्याट्रिकमा थिए, तर धनञ्जय डी सिल्भाले त्यसपछिको बललाई बाउन्ड्री लाइनको बाहिर पुर्‍याइदिए।

त्यसपछि सिराजको बलमा धनञ्जय आउट भए।

सिराजले चार विकेट लिएपछि आधा श्रीलङ्काली टिम मात्र १२ रनमा प्याभिलिअन फर्किएको थियो। त्यसपछि सिराजले पाँचौँ र छैठौँ विकेट पनि लिएका थिए।

श्रीलङ्काको बाँकी तीन विकेट हार्दिक पान्ड्याले लिए।

सिराजले के भने?

सिराजले खेलपछि भने, “पिच त असाध्यै राम्रो थियो र विकेटमा बल स्विङ भइरहेको थियो।”

एकै ओभरमा चार विकेट लिएकोबारे सिराजले भने, “मलाई आज जतिको धेरै स्विङ पहिले कहिल्यै मिलेको थिएन। मैले आउटस्विङ बलमा विकेट पाएँ, जुन हत्तपत्त पाइँदैन। त्यसैले मैले कोसिस गरेँ कि मेरो बल ब्याटरले धेरैभन्दा धेरै खेलुन्.. यो खेल एक सपनाजस्तो थियो।”

मोहम्मद सिराज ‘प्लेयर अफ द म्याच’ बने।

जब उनलाई ट्रफी र रकम प्रदान गर्न बोलाइयो उनले “प्लेयर अफ द म्याच” स्वरूप प्राप्त भएको रकम ग्राउन्डस् म्यानलाई दिने घोषणा गरे।

मोहम्मद सिराजको कथा

हैदराबादको एउटा असाध्यै साधारण परिवारमा हुर्केबढेका मोहम्मद सिराजका बुवा अटोचालक थिए र उनकी आमा अरूको घरमा काम गर्थिन्।

सन् १९९४ मा जन्मेका सिराजलाई क्रिकेट एकेडेमीमा जाने मौका कहिल्यै मिलेन।

सानै उमेरमा क्रिकेट खेल्न थालेका सिराजको रुचि पहिला ब्याटिङ थियो भने पछि उनले बलिङमा जोड दिए।

सन् २०१५ हैदराबादस्थित रणजी टीमका लागि छानिएपछि उनले आफ्नो खेल छवि देखाउन थाले। त्यति बेला उनी २१ वर्षका थिए।

नौवटा खेलमा १८.९२ को औसतमा ४१ विकेट लिएर त्यो वर्ष उनी तेस्रा सफल बलर बने।

दुई वर्ष रणजी टीममा खेलेपछि सन् २०१७ मा सिराजलाई एउटा ठूलो मौका मिल्यो।

रणजीमा गरेको प्रदर्शनका कारण सिराज आईपीएलका लागि खेलाडीहरूको लिलामीको दौडमा पुगे।

आईपीएल

आईपीएलमा बोलकबोलका दौरान सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स ब्याङ्लोरको टीमबीच उनलाई आफ्नो टीममा लिन होड चल्यो।

अन्त्यमा सनराइजर्स हैदराबादले उनलाई किन्यो, त्यो पनि लामो बोलकबोलपछि १३ गुणा बढी रकममा।

त्यस बेला सिराजको न्यूनतम मूल्य भारु २० लाख राखिएको थियो। तर उनका लागि २.६ करोड भारतीय रुपैयाँ प्राप्त हुन पुग्यो।

आईपीएलमा चुनिएपछि सिराजले एक अन्तरवार्तामा भनेका थिए कि यो त सपना साकार हुनु जस्तो भयो।

ठूलो रकमसहित चुनिएपछि सिराजले भनेका थिए, “यो मेरो आकाङ्क्षाभन्दा टाढाको कुरा थियो। यति ठूलो रकममा चुनिने छु भन्ने मैले सोचेको पनि थिइनँ।”

आईपीएल २०१७ मा सनराइजर्स हैदराबादबाट सुरु गरेका सिराजले त्यो प्रतियोगिताको अन्तिम खेलमा चार विकेट लिएका थिए।

त्यसको अर्को वर्ष रोयल च्यालेन्जर्स ब्याङ्लोरले उनलाई किन्यो नै र त्यहीँदेखि उनले लगातार यसै टीमका लागि आईपीएलमा खेलिरहेका छन्।