कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने, एमाले संसद्‌को प्रतिपक्षी बेन्चमा, रास्वपा के गर्छ?

प्रचण्ड र ओली

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गएको मंसिरमा भएको आमचुनावपछि प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिने निर्णय गरेकै दिन आइतवार नेकपा एमाले प्रतिनिधिसभाको बैठका प्रतिपक्षी बेञ्चमा बसेको छ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गीरीले बीबीसीसँग कुरा गर्दै आफूहरू आइतवारको बैठकबाटै प्रतिपक्षमा बसेको बताए।

संसद्‌मा सोमवार प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका छन्।

एमालेले राष्ट्रपति चुनावमा आफ्नो पक्षमा नउभिएको सहितका कारण देखाउँदै प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थक केही साताअघि फिर्ता लिएको थियो।

सोमवार प्रचण्डले विश्वासको मत लिदाँ समेत समर्थन नगर्ने नीति उक्त दलको छ।

कांग्रेस संसदीय दलमा ह्वीप

यसैबीच प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने र उनको नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ।

कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले विश्वासको मत दिने र त्यसका लागि आफ्ना सांसद्हरूलाई ह्वीप जारी गर्ने बताए।

यसअघि राष्ट्रपतिमा रामचन्द्र पौडेल र उपरराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई निर्वाचित गर्ने क्रममा पनि कांग्रेस, माओवादी केन्द्र र कतिपय साना दलहरू एक ठाउँमा उभिएका थिए।

देउवा र प्रचण्ड

तस्बिर स्रोत, EPA-EFE/REX/SHUTTERSTOCK

त्यसअघि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर “सोमवार प्रचण्डलाई विश्वासको मत दिने र आइतवारैदेखि संसद्‌मा सत्तापक्षको पङ्तिमा बस्ने” निर्णय गरेको थियो।

बैठकले प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस पनि सामेल हुने निर्णय समेत गरको छ।

बैठकपछि बोल्दै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संवाददाताहरूलाई भने, “प्रचन्डज्यूको सरकारले जुन विश्वासको मत भोलि लिँदैछ। त्यसमा नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ। त्यही किसिमको निर्देशन कार्यसम्पादन समितिले हाम्रो संसदीय दललाई दिनेछ।”

उनले सरकारमा जाने निर्णय गरे पनि कांग्रेसबाट कोको सरकारमा सामेल हुने र कस्तो जिम्मेवारीमा जाने तय भइनसकेको बताए।

सोमवार प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि त्यसबारे “नेतृत्व तह” बसेर छलफल गरी टुग्याउने उनको भनाइ छ।

red line
red line

विपक्षमा पुगेको एमाले के भन्छ?

कांग्रेसले विश्वासको मत दिने तथा सरकारमा सामेल हुने निर्णय गरेसँगै नेकपा एमालेले संसद्‌मा आफू प्रतिपक्षी भूमिकामा रहेको जनाएको छ।

प्रतिनिधिसभामा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आइतवारको बैठकदेखि नै आफूहरू प्रतिपक्षी पङ्तिमा बसेको बताए।

संसद् बैठक सुरु हुँदै गर्दा बीबीसीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, “आजैदेखि हामी प्रतिपक्षको बेन्चमा बसेका छौँ।”

सोमवार एमालेले प्रचण्डलाई विश्वासको मत दिन्छ कि दिँदैन भन्ने प्रश्नमा उनले भने, “हाम्रो पार्टीले भोली विश्वासको मत दिँदैन।”

नयाँ समीकरण बनेसँगै संसद्को दोस्रो ठूलो दल अब प्रतिपक्षमा पुगेको छ।

प्रदेश सरकारहरूमा बनेका समीकरणहरू पनि फेरबदल हुने ठानिएको छ।

red line
red line

राष्ट्रिय स्वतन्त्र पार्टीले के निर्णय गर्‍यो?

यसैबीच आइतवारै बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको उक्त दलका नेताहरूले बताएका छन्।

उक्त दलका केन्द्रीय सदस्य रमेश प्रसाईँले मुद्दाका आधारमा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको उल्लेख गर्दै त्यो फेरबदल नभएसम्म आफ्नो दलले दिएको समर्थन कायम रहने बताए।

उनी भन्छन्, “यसअघि हामीले सरकारलाई समर्थन दिएको समयमा २०४६ साल यताका भ्रष्टाचारका मुद्दा छानबिन गर्ने, सरकारी सेवा प्रवाहमा टाइम कार्ड लागु गर्ने, विदेशमा भएका नेपालीहरूलाई मतदानको अधिकार दिने जस्ता मुद्दा समावेश दिए। यी मुद्दाहरू सरकारको वार्षिक निती र कार्यक्रममा कायमै रहेको अवस्थामा हाम्रो समर्थन जारी रहन्छ।”

उनले अब बिस्तार हुने मन्त्रिपरिषद्‌मा सहभागी हुनेबारेमा भने आफ्नो दलले कुनै निर्णय नलिएको बताए।