क्यूआरकोडबाट हुने कारोबार व्यापक, सुविधासँगै समस्या पनि

क्यूआर भुक्तानी

नेपालमा पछिल्ला दिनमा क्यूआरकोडबाट हुने भुक्तानी व्यापक हुँदै गएको नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूले बताएका छन्।

उनीहरूका भनाइमा विशेषगरी कोभिड महामारीपछि क्यूआरकोडबाट हुने कारोबारमा व्यापक वृद्धि भएको हो।

त्यस्तो वृद्धि हुने क्रम तीव्र बन्दै गएको अधिकारीहरूको भनाइ छ।

वित्तीय संस्थाहरू तथा भुक्तानी सेवाप्रदायकहरूले पनि क्यूआरकोडबाट हुने कारोबारमा उल्लेख्य वृद्धि भइरहेको विवरण सार्वजनिक गरिरहेका छन्।

क्यूआरकोडबाट भुक्तानी गर्ने ग्राहक तथा त्यसबाट कारोबार गर्ने विशेषगरी साना व्यवसायीले पनि उक्त प्रविधिले आफूलाई निकै सुविधा दिएको बताएका छन्।

यद्यपि क्यूआरकोडबाट हुने भुक्तानी बढेसँगै केही समस्या र असुविधा पनि थपिएको उनीहरूको गुनासो छ।

क्यूआरकोडबाट हुने कारोबार

नेपाल राष्ट्र ब्याङ्कको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलका अनुसार पछिल्ला वर्षहरूमा ‘नगदरहित’ तथा डिजिटल कारोबारतर्फ नेपालीको आकर्षण बढेको छ।

उनले भने, “हामीले नेपालमा विभिन्न खाले नगदरहित तथा डिजिटल कारोबार सुरु गरिसकेका छौँ। त्यसमध्ये पछिल्लो समयमा क्यूआरकोडबाट हुने भुक्तानी सबैभन्दा लोकप्रिय बनेको देखिएको छ।”

भुक्तानी प्रणालीसम्बन्धी नेपाल राष्ट्र ब्याङ्कको एउटा पछिल्लो अध्ययन प्रतिवेदनले पनि क्यूआरकोडबाट हुने भुक्तानी लोकप्रिय माध्यम बन्दै गएको उल्लेख गरेको छ।

भुक्तानी प्रणालीसम्बन्धी उक्त प्रतिवेदनमा भनिएको छ, “क्यूआरकोड अहिले व्यापक रूपमा ग्राहकहरूले रोजेको भुक्तानीको माध्यम हो।”

प्रतिवेदन अनुसार सन् २०२१/२२ मा क्यूआर कोडबाट हुने कारोबार अघिल्लो वर्षको तुलनामा ३८२.८ प्रतिशतले वृद्धि भएको थियो। त्यस्तै सन् २०२०/२१ मा ३६६ प्रतिशतले त्यस्तो कारोबारमा वृद्धि भएको थियो।

यो पनि हेर्नुहोस्
क्यूआर भुक्तानी

तस्बिर स्रोत, NRB

मासिक ३० अर्बको कारोबार

पौडेलका अनुसार अहिले नेपालमा मासिक रूपमा करिब ३० अर्ब रुपैयाँ बराबरको कारोबार क्यूआरकोडका माध्यमबाट हुने गरेको छ।

“यो क्रम बढिरहेको छ र अझै धेरै स्थानमा व्यापक विस्तार भइरहेको छ,” उनले भने।

राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गत जेठ महिनामा मात्र २८ अर्ब रुपैयाँभन्दा बढीको कारोबार क्यूआरकोडबाट भएको थियो।

उक्त महिनामा ९५ लाख ९ हजारको सङ्ख्यामा क्यूआरकोडका माध्यमबाट कारोबार भएको थियो।

विसं २०७९ सालको जेठ महिनामा भने मात्र ११ अर्ब रुपैयाँ बराबरको कारोबार क्यूआरकोडका माध्यमबाट भएको थियो।

त्यस बेला कुल ३४ लाख ४० हजार कारोबार उक्त माध्यमबाट भएका थिए।

राष्ट्र ब्याङ्कका अनुसार यो तथ्याङ्कमा एक महिनाको मात्र विवरण समेटिएको छ।

पौडेलका भनाइमा अहिले सानासाना व्यवसायीदेखि ग्राहकहरूमा समेत क्यूआरकोडप्रति आकर्षण देखिएको छ।

“यसले मानिसहरूलाई सीधै ब्याङ्क खातामा रकम जम्मा गर्न पनि सहज बनाइदिएको छ। त्यसले बचत गर्ने प्रवृत्ति पनि बढेको छ,” उनले भने।

यो पनि हेर्नुहोस्

प्रयोगकर्ता के भन्छन्?

काठमाण्डूमा ट्याक्सी चलाउने सिन्धुपाल्चोकका कमल श्रेष्ठले आफ्नो ट्याक्सीमा क्यूआरकोड टाँगिदिएका छन्।

अहिले कैयौँ यात्रुहरूले उनलाई नगदको साटो धेरै क्यूआरकोडबाटै भुक्तानी गर्छन्।

पठाओ, इनड्राइभजस्ता राइड शेअरिङ एपहरू प्रयोग गर्ने यात्रु बढेसँगै क्यूआरकोडबाट हुने भुक्तानी पनि वृद्धि भएको उनको अनुभव छ।

“क्यूआरबाट पैसा लिँदा ग्राहकले दिएको रकम तुरुन्तै मेरो ब्याङ्क खातामा जान्छ। एक पैसा भए पनि ब्याज बढ्छ। त्यसले गर्दा मेरो बचत बढेको छ। पहिले पैसा देख्दा खर्च गरिहालिन्थ्यो,” उनी भन्छन्।

“मैले त मेरा पाँच छ जना साथीलाई पनि क्यूआरकोड लिन सघाएँ र उनीहरूले पनि अहिले क्यूआर प्रयोग गर्न थालेका छन्।”

तथ्याङ्क

काठमाण्डूको मालीगाउँमा किराना पसल चलाउने टीकाराम मगरले पनि क्यूआरकोडबाट भुक्तानी लिन थालेको करिब डेढ वर्ष भयो।

“यसले त कति सजिलो बनायो कति, तिर्नेलाई पनि सजिलो, लिनेलाई पनि सजिलो,” उनले भने।

तर कारोबार सहज हुनुका साथै केही समस्याहरू पनि देखा परेको उनको गुनासो छ।

उनका भनाइमा गत असार अन्तिम सातामा उनलाई ग्राहकले पठाएको रकम तत्काल आएन।

“तिर्नेकोबाट काटियो मेरोमा देखाएन अनि दुवैलाई तनाव भयो,” उनले भने।

“तर कसैको दुई/चार घण्टापछि आयो कसैले पठाएको भोलिपल्ट आयो।”

क्यूआर भुक्तानी

त्यसरी भुक्तानी नभएका ग्राहकहरू आफूले चिनेकै हुँदा समस्या टरेको भए पनि अपरिचित मान्छेसँग त्यस्तो पर्दा अप्ठ्यारो हुने उनको भनाइ छ।

कोटेश्वर बस्ने जनकपुरका सरोज साह सूचना प्रविधिसम्बन्धी विषयमा हालै स्नातक सकेका विद्यार्थी हुन्।

उनी पनि अधिकांश समय क्यूआरकोडबाटै भुक्तानी गर्ने गर्छन्।

तर कहिलेकहीँ समयमा भुक्तानी नहुने समस्याले उनलाई सेवाको गुणस्तरमाथि आशङ्का जन्माएको छ।

“यो भुक्तानी प्रणाली कति सुरक्षित छ भन्ने प्रश्न पनि उठिरहेकै छ। भुक्तानीका हिसाबले सुरक्षित नै होला तर ‘पेन्डिङ’ हुने समस्या धेरै छ,” उनी भन्छन्।

“प्रणाली सञ्चालन गर्नेहरूको सिस्टममा केही समस्या भएर वा बग आएर पनि त्यस्तो भएको होला तर पेन्डिङ भएको रकम फिर्ता हुन २४ घण्टादेखि ४८ घण्टासम्म लाग्छ। त्यसले सीमित पैसा हुनेलाई त पैसा अड्किँदा समस्या भयो नि!”

उनी क्यूआरकोडबाट भुक्तानी गर्न मिल्ने सेवा प्रदान गर्ने भुक्तानी सेवाप्रदायकसहित वित्तीय संस्थाहरूले त्यसमा ध्यान पुर्‍याउनुपर्ने सुझाव दिन्छन्।

यो पनि हेर्नुहोस्

गुनासोबारे नियामक निकाय के भन्छ?

क्यूआर भुक्तानी

प्रयोगकर्ता बढेसँगै विभिन्न खाले समस्या देखिने र गुनासा आउने क्रम पनि केही बढ्नु स्वभाविक भएको अधिकारीहरूको दाबी छ।

यद्यपि त्यसलाई समाधानका लागि आवश्यक पहल गरिएको उनीहरू बताउँछन्।

"क्यूआरकोडबाट भएको भुक्तानी सफल हुनका लागि धेरै सेवाप्रदायकको संलग्नता रहने गर्छ," राष्ट्र ब्याङ्कका पौडेल भन्छन्।

"त्यसैले हामीले ती सबै पक्षलाई ख्याल गर्नुपर्ने हुन्छ। हामीले सकेसम्म गुनासो कम हुने व्यवस्था मिलाउन निर्देशन दिने गरेका छौँ।"

उनका भनाइमा क्यूआरकोड सेवा सञ्चालन गर्ने वित्तीय संस्था वा भुक्तानी सेवाप्रदायकहरूले २४ घण्टा नै गुनासो सम्बोधन गर्ने व्यवस्था मिलाएको हुनुपर्छ र त्यसका लागि 'टोलफ्री नम्बर'को व्यवस्था गरेको हुनुपर्छ।

कुनै पनि कम्पनीले समयमा समस्या समाधान नगरे प्रयोगकर्ताले राष्ट्र ब्याङ्कमा पनि गुनासो गर्न सक्ने उनले जानकारी दिए।

त्यसका लागि उपभोक्ताले वित्तीय ग्राहक संरक्षण पोर्टलमा अनलाइनमार्फत् नै गुनासो दर्ता गर्न पाउने व्यवस्था मिलाइएको पौडेलले जानकारी दिए।

"डिजिटल सेवासम्बन्धी गुनासोहरू पनि हामी डिजिटल रूपमै लिन्छौँ। हामीले हाम्रो वेबपेजको पहिलो पृष्ठमै वित्तीय ग्राहक संरक्षण पोर्टलको सूचना पनि राखिदिएका छौँ," उनले भने।

"त्यहाँ गुनासो दर्ता गराएपछि हामी आवश्यक कारबाही अघि बढाउँछौँ।"

क्यूआरकोड भुक्तानी के हो?

क्यूआर भुक्तानी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भारतमा क्यूआरकोडबाट गरिने भुक्तानी व्यापक रूपमा प्रयोग भइरहेको छ

क्यूआरकोडका माध्यमबाट हुने भुक्तानीलाई नै क्युआर भुक्तानी भनिने अधिकारीहरू बताउँछन्।

तर क्यूआरकोड भुक्तानीका लागि मात्र प्रयोग हुँदैन। उक्त कोडलाई क्यामेराको माध्यमले स्क्यान गरेपछि डेटामा पहुँच पाउन पनि सकिन्छ।

जुन सेवा दिने हो त्यसका लागि 'जेनेरेट' गरिने हुनाले त्यस्तो कोड स्क्यान गर्दा त्यसले सम्बन्धित सेवा वा डेटातर्फ त्यसलाई लैजाने गर्छ।

जस्तो तपाईँले घरको वाईफाइको पासवर्ड दिनुको साटो त्यसको क्यूआरकोड 'जेनेरेट' गरेर त्यसका माध्यमबाट वाईफाईमा कनेक्ट हुन सक्नुहुन्छ।

"एउटाका लागि बनाइएको क्यूआरकोड अर्कोका लागि त्यही नै नबन्ने भएकाले यो सुरक्षित पनि हुन्छ," पौडेल भन्छन्।

नेपालमा सबैभन्दा पहिलो पटक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले क्यूआरकोडबाट भुक्तानी सुरु गरेको हो।

अहिले पनि उक्त समूहको क्यूआरकोड सेवा धेरैले प्रयोग गरिरहेको राष्ट्र ब्याङ्कको प्रतिवेदनमा उल्लेख छ।

त्यस बाहेक अहिले अन्य त्यस्तै भुक्तानी सेवा प्रदायक एवं ब्याङ्क तथा वित्तीय संस्थाहरूले पनि क्यूआरकोडबाट भुक्तानी गर्न मिल्ने सेवा दिइरहेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।