६० वर्षको उमेरमा सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आलेहान्द्रा रोड्रिगेज को हुन्

आलेहान्द्रा रोड्रिगेज 'मिस आर्जेन्टिना' को मञ्चमा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आलेहान्द्रा रोड्रिगेज 'मिस आर्जेन्टिना' प्रतियोगिताको अन्तिम चरणसम्म पुगेकी थिइन्

आर्जेन्टिनाकी एक ६० वर्षे महिला 'मिस यूनिभर्स' प्रतियोगितामा पुग्ने सबैभन्दा पाको उमेरकी प्रतिस्पर्धी बन्न चाहन्थिन्। त्यस तर्फको एउटा कदम 'मिस आर्जेन्टिना' बन्न नसकेपछि उनको चाहना अधुरो बन्ने भएको छ।

यद्यपि आलेहान्द्रा मारिसा रोड्रिगेजले आर्जेन्टिनाको राजधानी ब्वेनोस् आइरीसमा शनिवार आयोजित प्रतियोगितामा उनले 'सुन्दर अनुहार'को उपाधि हात पारिन्। पेसाले उनी वकिल हुन्।

स्पेनी भाषाको एउटा सञ्चारमाध्यमसँग कुरा गर्दै उनले आफ्नो सहभागिता "अब हुने परिवर्तनका लागि पहिलो पाइला" बन्न सकेको धारणा व्यक्त गरिन्।

गत एप्रिल महिनामा रोड्रिगेज 'मिस ब्वेनस आइरीस' बनेपछि निकै चर्चामा आएकी थिइन्।

उमेर र बुढ्यौलीसम्बन्धी विद्यमान धारणाहरूलाई चुनौती दिएको भन्दै सामाजिक सञ्जालमा उनको प्रशंसा भएको थियो।

 मागाली बेनेहाम यो वर्षकी 'मिस यूनिभर्स आर्जेन्टिना' बनेकी छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मागाली बेनेहाम यो वर्षकी 'मिस यूनिभर्स आर्जेन्टिना' बनेकी छन्

नियम परिवर्तन

'मिस यूनिभर्स' आयोजना गर्ने संस्थाले प्रतियोगीको उमेरसम्बन्धी नियम परिवर्तन गरेपछि रोड्रिगेज ले 'मिस आर्जेन्टिना' मा सहभागी हुने अवसर पाएकी हुन्।

सन् २०२३ सम्म प्रतियोगीको उमेर १८ वर्षदेखि २८ वर्ष हुनुपर्ने नियम थियो। तर उमेरको माथिल्लो सीमा हटाइयो।

"मसँग जे भयो त्यसको परिणामस्वरूप सम्भवतः कठिनाइ बेहोर्नुपरेका मानिसहरूका लागि नयाँ ढोका खुल्छ जस्तो मलाई लाग्छ," शनिवारको प्रतियोगितापछि उनले भनिन्।

सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार रोड्रिगेज एउटा अस्पतालमा कानुनी सल्लाहकार छिन्। आफ्नो जीवनशैलीका कारण आफू युवतीजस्तै देखिन सकेको उनको भनाइ छ।

मिस ब्वेनस आइरीज बनेपछि रोड्रिगेजबारे विश्वभरि चर्चा भएको थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, 'मिस ब्वेनोस आइरीस' बनेपछि रोड्रिगेजबारे विश्वभरि चर्चा भएको थियो

मिस यूनिभर्स इन्टर्न्याश्नल २०२४ कहिले र कहाँ हुन्छ

२९ वर्षे अभिनेत्री तथा मोडल मागाली बेनेहाम 'मिस यूनिभर्स आर्जेन्टिना' बनिन्। सो प्रतियोगितामा कुल २८ जनाले प्रतिस्पर्धा गरेका थिए।

उनले 'मिस यूनिभर्स इन्टर्न्याश्नल २०२४'मा आर्जेन्टिनाको प्रतिनिधित्व गर्ने छिन्। उक्त प्रतियोगिता आगामी सेप्टेम्बर महिनामा मेक्सिकोमा हुने छ।

मिस यूनिभर्स इन्टर्न्याश्नल पहिलो पटक सन् १९५२ मा भएको थियो। उक्त प्रतियोगितामा लामो समयसम्म अविवाहित किशोरी र २० वर्षको छेकोका युवतीहरूले मात्र भाग लिन पाउँथे।

तर गत वर्षदेखि विवाहित वा सम्बन्धविच्छेद भएका वा बच्चा पाएका वा गर्भवती महिलाले सहभागी हुन पाउने गरी नियम फेरियो।

"यो सकारात्मक परिवर्तन हो जस्तो मलाई लाग्छ। सबै परिवर्तनमा जस्तै अलिअलि गर्दै हुन्छ," रोड्रिगेजले अमेरिकी सञ्चारमाध्यमलाई भनिन्।

त्यस्तो अवसर पाउने आफू प्रथम प्रतियोगी भएकोमा उनले कृतज्ञता व्यक्त गरिन्।

मिस यूनिभर्समा पुग्न नसके पनि सौन्दर्य, उमेर, शरीरिक आकार र तौलसँग सम्बन्धित पुराना मान्यताहरू समयक्रमसँगै फेरिँदै भएको उनी ठान्छिन्।

सबीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।