हलिमा एडेन: हिजाबधारी सुपर मोडल भन्छिन् 'के लगाउने, के नलगाउने भनेर कसैले सिकाउनु पर्दैन’

तस्बिर स्रोत, Getty Images
- Author, एलिना इसाचेन्का
- Role, बीबीसी विश्व सेवा
हलिना एडेन विश्वकै अग्रणी हिजाबधारी मोडल हुन्।
केन्याको शरणार्थी शिविरबाट अमेरिका पुगेकी सोमाली हलिनाले आफ्नो मोडलिङ पेसा र मुस्लिम धर्मबीच कसरी सन्तुलन मिलाउँछिन् भन्ने विषयमा बीबीसीसँग कुराकानी गरेकी छन्।
"कुनै पनि महिलालाई जबर्जस्ती हिजाब लगाउ भन्नु हुँदैन र कुनै पनि महिलालाई जबर्जस्ती हिजाब खोल भन्नु पनि हुँदैन," उनी भन्छिन्।
बाइस वर्षीया हलिनाले म्याक्स मेरा र यीजीजस्ता ब्रान्डका फ्याशन प्रदर्शनमा भाग लिँदै, भोग र स्पोर्टस् इलस्ट्रेटेड म्यागाजिनको आवरणमा देखिएर फ्याशन उद्योगलाई चकित तुल्याइदिइन्।
रोजाइमा रमाउँदै
"म हिजाब पहिरिने मेरो रोजाइमा रमाउँदै छु। मैले कसैलाई पनि मेरो विचार पछ्याउ वा मेरो जस्तै कपडा लगाउ भनेको छैन," सर्वाधिक धेरै कमाउने मोडल बन्न सफल हलिमा भन्छिन्।

तस्बिर स्रोत, AFP
मैले सबभन्दा पहिले हलिमालाई इस्तानबुलको एक कार्यक्रममा मञ्च पछाडि भेटेको थिएँ। त्यतिबेला उनले लामो खुकुलो कपडा लगाएकी थिइन्। उनले घाँटी कालो कपडाले छोपिएको थियो। उनले कालै रङको हिजाब लगाएकी थिइन्।
हलिमा १६५ सेन्टिमिटर अग्ली छन्। उनी अन्य धेरै महिला मोडल भन्दा होची नै छिन्।
एक महिला व्यवस्थापक र एक अङ्गरक्षकले घेरिएकी हलिमा सबैजनासँग कुरा गर्न रुचाउँछिन् र कसैले सेल्फी फोटो खिच्न अनुरोध गरे खुसीसाथ स्वीकार्छिन्।
"आफूलाई नबदल्नू, आफूले खेल्ने खेललाई बदल्नू," हलिमा भन्छिन्।
उनको लक्ष्य विश्वभरिका मुस्लिम महिलाहरूलाई बोल्न र बोलेका कुराहरू सुन्ने मञ्च प्रदान गर्नु रहेको छ।
सौन्दर्य प्रतियोगिता
उनी सौन्दर्य प्रतियोगिताबाटै चिनिएकी हुन्। त्यसै क्रममा उनले आफ्नो बाटो पहिल्याएकी हुन्।
हलिमा अमेरिकाको मिस मिनेसोटा सौन्दर्य प्रतियोगितामा पहिलो हिजाबधारी मोडल बनेकी थिइन्।

तस्बिर स्रोत, Getty Images
उनी त्यो प्रतियोगितामा विजयी त भइनन् तर उनले त्यो प्रतिस्पर्धामा बुर्किनी भनिने पूरै शरीर ढाक्ने पौडी पोशाक लगाएर स्विमसुट चरणमा सहभागी भइन्।
उनी भन्छिन्, "मैले बुर्किनीको बारेमा अन्य केटीहरूलाई सन्देश दिन चाहेको थिएँ। मैले उनीहरूलाई बुर्किनी लगाएर पौडी खेलमा सहभागी हुन सकिन्छ भन्ने सन्देश दिएँ।"
त्यसपछि उनले आईएमजी मोडल्स् भनिने सबैभन्दा ठूलो मध्येको मोडलिङ कम्पनीसँग सम्झौता गरिन्।

तस्बिर स्रोत, WireImage
हलिमाको धर्म अनुसार महिलाले अनुहार हात र खुट्टा बाहेकका शरीरका अङ्गको प्रदर्शन गर्न मिल्दैन।
त्यो कुरा उनीसँगको मोडलिङ करार सम्झौतामा प्रस्टसँग लेखिएको छ।
"त्यसो गरेर म पोशाकको ढाँचा तयार पार्ने डिजाइनरहरूलाई सहज बनाइदिन चाहन्थे। किनभने सबैजनाले म जस्ता मोडलसँग काम गर्न पाएका हुँदैनन्," हलिमा भन्छिन्।
"म मोडलिङको काममा पनि सुटकेसमा हिजाब र लेगिङ बोकेर आउने गर्थेँ।"
"बरू फ्याशन शो छोड्न तयार"
फ्याशनको रङ्गमञ्ज पछाडि पुग्दा मैले कुनामा लामो कालो पर्खाल देखेँ जहाँ हलिमाकै लागि भनेर सानो कपडा फेर्ने कोठा बनाइएको रहेछ।

तस्बिर स्रोत, Getty Images
"म हिजाबधारी मुस्लिम मोडल भएकोले त्यो निकै महत्त्वपूर्ण हुन्छ। त्यसैले पर्दापछाडि पनि मलाई विशेष व्यवस्था गरिएको हो," उनी भन्छिन्।
"मसँग काम गर्ने डिजाइनर र अन्य मानिसहरूले मलाई छुट्टै निजी कक्ष बनाइदिएर निकै राम्रो काम गरेका छन्।"
"यदि कोही डिजाइनर त्यसो गर्न राजी हुँदैनन् भने म त्यो काम लिन्न र अन्तै गइदिन तयार हुन्छु।"
रोज्ने स्वतन्त्रता
महिलाको पोशाकका मामिलामा हलिमा रोजाइको स्वतन्त्रताको पक्षमा वकालत गर्छिन्।
युनिसेफको सद्भावना राजदूतको हैसियतमा उनी विश्वका विभिन्न कुनामा पुग्छिन् र कम भाग्यमानी मानिसका विषयमा निकै चासो राख्छिन्।

तस्बिर स्रोत, Future Productions, LLC
सामाजिक सञ्जालमा हलिमा
सामाजिक सञ्जालमा उनका धेरै प्रसंशक रहेका छन्।
उनी आफ्ना फ्याशन फोटो र रमाइला जमघटका तस्बिरहरू सामाजिक सञ्जालमा राख्छिन्।
इन्स्टाग्राममा उनलाई दश लाख मानिसले पछ्याइरहेका छन्। उनीहरूमध्ये अधिकांश मुस्लिम युवतीहरू रहेका छन् जसले हलिमालाई आफ्नो एक 'रोल मोडल' मान्छन्।
धेरैले उनको तस्बिर मनपराउँदै आफ्ना प्रतिक्रिया लेख्छन्।
तर केहीले उनले सादा जीवन नअपनाएको भन्दै आलोचना गर्छन्।
"सादा जीवन पनि रोजाइको विषय हो," हलिमा तर्क गर्छिन्।
"सादगी के हो भनेर कसैले मलाई परिभाषा दिनु पर्दैन। मेरो विचारमा युवतीहरूले आफ्नो सपना पछ्याउन पाउनु पर्छ, आफू जे हो त्यही बन्न पाउनु पर्छ।"

तस्बिर स्रोत, Alina Isachenka
'हामी यति गरिब किन छौँ?'
सोमालियाको गृहयुद्ध बाट भागेपछि हलिमाले केन्याको शरणार्थी शिविरमा हुँदा गरिबीलाई नजिकबाट देखेकी थिइन्। उनकी आमा एकल महिला थिइन्।
मोडल बन्ने उनको निर्णयलाई उनकी आमाले रुचाएकी थिइनन्।
तर आमाको सङ्घर्षलाई हलिमाले बिर्सिएकी छैनन्।
उनी छ वर्षको हुँदा उनको परिवारलाई अमेरिका जाने अवसर दिइयो।
त्यसपछि उनीहरू सेन्ट क्लाउड मिनेसोटामा बस्न थाले जहाँ अमेरिकाकै सबैभन्दा ठूलो सोमाली जनसङ्ख्या रहेको छ।
हलिमालाई विद्यालयमा कैयौँ पटक पैसाको अभाव खट्कियो।
त्यतिबेला उनी आमाले पैसा भन्दा ठूलो भित्री वैभव हो भनेको उनले बिर्सिएकी छैनन्।
उनकी आमाले उनलाई आफ्नो धर्म अझै महत्त्वपूर्ण हुन्छ भनेको बिर्सिएकी छैनन्।

तस्बिर स्रोत, Halima Aden
"बढ्दै हिजाबी मोडलहरू"
विश्वभरि युवतीहरूलाई आफ्नो अनुभव सुनाउँदै हिँड्ने हलिमाले फ्याशन उद्योगमा पनि सकारात्मक परिवर्तनहरू भइरहेको देखिरहेकी छन्।
उनले हिजाबधारी मोडलहरूप्रति गरिने व्यवहारमा परिवर्तनहरू आइरहेको अनुभव गरिरहेकी छन्।
"हिजोआज धेरै हिजाबीहरू फ्याशनको मञ्चमा 'क्याटवाक' गर्नथालेका छन्। थुप्रै हिजाबीहरू सौन्दर्य प्रतियोगितामा आउन थालेका छन्। अहिले हिजाब सामान्य हुन थालेको छ।"

तस्बिर स्रोत, Fadil Berisha
लक्ष्य
अहिले हलिमालाई आफूतिर आकर्षित गर्न फ्याशन उत्पादक कम्पनीहरूको लाम लाग्न थालेको छ।
उनका प्रसंशकहरूको सङ्ख्या पनि बढिरहेको छ। तर उनको एउटा लक्ष्य हासिल हुन बाँकी नै छ।
उनलाई त्यो उद्देश्य पूरा गर्नु छ।
"म मेरी आमा मेरो कुनै कार्यक्रममा आएको हेर्न चाहन्छु। तर त्यो मेरो जिन्दगीकै सबैभन्दा ठूलो प्रदर्शन हुनेछ।"
"तर त्यो हुनै बाँकी छ। म आशावादी छु त्यो हुनेछ।"








