अमेरिकी राष्ट्रपतिमा दोहोरिने प्रयासबाट बाहिरिएको जो बाइडनको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले आफू फेरि राष्ट्रपति बन्ने चुनावी दौडबाट बाहिरिएको घोषणा गरेका छन्।

उनले आफ्नो ठाउँमा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सारेका छन्।

हाल ८१ वर्षका बाइडनले एक लिखित विज्ञप्ति जारी गर्दै आइतवार राती आफ्नो “पार्टी र देशको हितका लागि” आफूले पुनः राष्ट्रपति बन्ने योजना त्याग गरेको बताएका छन्।

उनले राष्ट्रपतिका रूपमा काम गर्ने अवसरलाई आफूले “ठूलो सम्मानको रूपमा लिएको” र ज्यानुअरीसम्म रहने आफ्नो कार्यकाल पूरा गर्ने पनि विज्ञप्तिमा उल्लेख गरेका छन्।

गत जुन २७ मा भएको राष्ट्रपतीय निर्वाचनको बहसमा फितलो प्रस्तुति भएको भन्दै डेमोक्र्याटहरूबाटै उनको आलोचना भएको थियो।

उपराष्ट्रपति ह्यारिसले आफूलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा मनोनीत हुन पाउँदा सम्मानित महसुस भएको बताएकी छन्। हाल ५९ वर्षकी ह्यारिसले आफूले ट्रम्प विरुद्ध “देशलाई एकताबद्ध गर्ने” पनि बताइन्।

"निर्वाचनका लागि हामीसँग १०७ दिन बाँकी छ," उनले भनेकी छन्। "हामी सँगै लड्छौँ र सँगसँगै जित्छौँ पनि।"

पार्टीका महत्त्वपूर्ण व्यक्तित्वहरूले उनको मनोनयनलाई स्वीकार गरे पनि पार्टीबाट भने उनी आधिकारिक रूपमा उम्मेदवार बनिसकेकी छैनन्। अगस्टमा हुने डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनबाट राष्ट्रपतिको उम्मेदवार चयन गरिने कार्यतालिका छ।

ह्याइट हाउस पनि छाड्न बाइडनलाई चुनौती

डेमेक्र्याटिक पार्टीको प्रतिस्पर्धी ठानिएको रिपब्लिकनका तर्फबाट भने पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प उम्मेदवार चयन भइसकेका छन्।

पेन्सिल्भेनिआको एक चुनावी सभामा गोली प्रहारबाट उनको हत्या प्रयास भएको पाँच दिन पछि रिपब्लिकन पार्टीले ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार चयन गरेको थियो।

बाइडनले चुनाव नलड्ने घोषणा गरेपछि प्रतिक्रिया जनाउँदै ट्रम्पले भनेका छन्, “उनी चुनाव लड्नका लागि तन्दुरुस्त थिएनन्… र काम गर्नका लागि पनि छैनन्।”

रिपब्लिकन पार्टीका अन्य वरिष्ठ नेताहरूले पनि ट्रम्पले जस्तै बाइडनको आलोचना गरेका छन्। उनीहरूले पनि बाइडनलाई डेम्क्र्याटिक पार्टीको उम्मेदवारी त्यागेर मात्रै नपुग्ने भन्दै ह्वाइट हाउस पनि छाड्न भनेका छन्।

कमलालाई पूर्वराष्ट्रपति र प्रतिस्पर्धीको समर्थन

राष्ट्रपतिमा नदोहोरिने बाइडनको घोषणालाई उनको पार्टीका शीर्ष नेताहरूले स्वागत गरेका छन्।

उनले उपराष्ट्रपतिमा अघि सारेका कमला ह्यारिसलाई पनि धेरै डेमोक्र्याटहरूले समर्थन गरेका छन्।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले ह्यारिसलाई निडर, दृढ र कठिन उम्मेदवार भन्दै उनी डोनल्ड ट्रम्पलाई हराउने सबैभन्दा उत्तम उम्मेदवार भनेका छन्। न्यूसम आफैँ डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति उम्मेदवारका आकाङ्क्षी थिए र उनले कमला ह्यारिससँग प्रतिस्पर्धा गर्ने ठानिएको थियो।

पूर्वराष्ट्रपति बराक ओबामाले भने ह्यारिसको मनोनयनबारे मौन रहँदै जो बाइडनको प्रशंसा गरेका छन्। उनले एक विज्ञप्ति सार्वजनिक गर्दै बाइडनलाई "उच्च कोटिको देशभक्त" भनेका छन्।

ह्यारिसले पनि बाइडनको निर्णयलाई देशभक्तिपूर्ण भन्दै प्रशंसा गरेकी छन्।

कम्तीमा तीन जना गभर्नर र आठ जना सांसदले उनको उम्मेदवारीको समर्थन गरेका छन्। तिनमा पूर्वराष्ट्रपति बिल क्लिन्टन र राष्ट्रपतिमा डेमोक्र्याटिक पार्टीबाट कुनै समय उम्मेदवार रहेकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन पनि छन्।

कैयौँ सिनेस्टार र सेलिब्रिटीहरूले पनि कमला ह्यारिसको समर्थन गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।