फेरि अर्को बाल सुधार गृहमा तनाव, स्थिति सुधार्न सरकारले के गर्ला

तस्बिर स्रोत, Bimala Chaudhary/BBC
घटना १: भदौ ३ गते भक्तपुरस्थित बाल सुधार गृहमा एक बालकको मृत्युपछि उब्जिएको तनावका माझ प्रहरीसँग झडप भएपछि झन्डै २५० जना बाहिर निस्किए।
घटना २: भदौ २६ गते वीरगन्जको बाल सुधार गृहमा उत्पन्न तनावमा ११ बालक र ३ प्रहरी घाइते।
घटना ३: असोज ४ गते राति बाँकेको बाल सुधार गृहमा दुई समूहबीच भएको झडपमा १ बालकको मृत्यु र १० जना घाइते।
बितेको एक महिनामा भएका यी तीन घटनाले बाल सुधार गृहको व्यवस्थापनको विषयमा गम्भीर प्रश्न उठेको छ।
अपराधमा संलग्न भई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने स्थितिका १८ वर्ष मुनिका बालबालिकाहरूलाई बाल सुधार गृहमा राख्ने व्यवस्था बालबालिकासम्बन्धी ऐनले गरेको छ।
अहिले देशभरि आठवटा बाल सुधार गृह छन् र ती अधिकांशमा क्षमताभन्दा बढी बालबालिका रहेको बताइन्छ।
पाँच सय ७५ बालबालिका राख्ने क्षमता भएका ती सुधार गृहहरूमा दोबर सङ्ख्यामा झन्डै १,१६० बालबालिका भएको बताइएको छ।
बाँकेमा के भएको हो?
बाँके जिल्लाको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा बिहीवार राति दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भयो।
बाल सुधार गृहमा तोडफोड र आगजनी पनि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिएका छन्।
झडपमा घाइते भएका अन्य १० जनाको उपचार भइरहेको उनको भनाइ छ। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको नेपालगन्जस्थित बीबीसी संवाददाता विमला चौधरीले बताएकी छन्।
बाल सुधार गृहमा २५४ जना बसिरहेका छन् भने तीमध्ये १६५ जना १८ वर्ष माथिका रहेका छन्।

तस्बिर स्रोत, Bimala Chaudhary/BBC
बाल सुधार गृहमा बेथितिका कारण के हुन्?
राष्ट्रिय बाल अधिकार परिषद्की सदस्यसचिव इन्द्रादेवी ढकालले देशभरिका बाल सुधार गृहहरूमा सुधार गर्नुपर्ने थुप्रै विषय रहेको बताउँछिन्।
बाल न्याय समन्वय समितिकी पनि सदस्य उनी अहिले धेरैजसो त्यस्ता गृहहरूमा कम्तीमा तीनथरी समस्या रहेको औँल्याउँछिन्।
- १८ वर्ष माथिका मानिसलाई पनि सँगै राखिनु
- क्षमताभन्दा धेरै जनालाई राखिनु र
- सुविधाको कमी
“यसरी पटकपटक बाल सुधार गृहहरूमा तनावका घटना हुनु पक्कै पनि राम्रो होइन। बालबालिकाको विषय भएकाले यसलाई संवेदनशील रूपमा हेरेर सकेसम्म छिटो समाधान गर्न जरुरी छ,” ढकालले भनिन्।
“विभिन्न अपराधमा जोडिएकाहरूलाई मिसमास गरेर राख्दा अनि अलि बढी उमेर समूहकालाई पनि सँगै राख्दा यस्तो भएको हुनसक्छ,” उनले भनिन्।
बाल मनोविज्ञान अति नै संवेदनशील हुने भएकाले यस्ता समस्याको समाधान गर्न ढिलाइ गर्न नहुने जानकारहरूको भनाइ छ।

तस्बिर स्रोत, Madhuri Mahato/BBC
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता नायब महानिरीक्षक कुबेर कडायतले अहिले देखिएका समस्याको कारणहरूमा १८ वर्षभन्दा माथि पुगेकालाई पनि सँगै राखिनुलाई पनि मान्छन्।
सुरक्षाका अन्य चुनौतीबारे उनले भने, “एक त त्यहाँ भित्र प्रहरी पस्न पनि मिल्दैन। थोरै सङ्ख्यामा सादा पोसाकमा सुरक्षाकर्मी रहन्छन्। अनि कतिपय बाल सुधार गृहमा राम्रो तार बार पनि गरिएको छैन।”
धेरै उमेर भएकाहरूलाई बेग्लै खानपिन अनि सुरक्षा व्यवस्थापनको आवश्यकता पर्ने उनले बताए।
बाल अधिकारसम्बन्धी जानकारहरू त्यस्ता सुधार गृहहरूमा बालबालिकाहरूको मन बहलाउने, ज्ञानगुन बढाउने, खेलकुद तथा मनोपरामर्शका यथोचित सुविधा हुनुपर्ने बताउँछन्।
नत्र त सुधार गर्न पठाएका ठाउँमा झन् उल्टो प्रभाव पर्न सक्ने उनीहरू औँल्याउँछन्।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ बाल सुधार गृह बनाएर बालबालिकालाई त्यहाँ राखे पनि त्यसको उद्देश्य अनुसार काम हुन नसकेको बताउँछन्।
बालबालिकालाई सुधार गर्नका लागि उनीहरूलाई छुट्टै भवनमा राखेर मात्रै नपुग्ने र त्यसका लागि बनाउनुपर्ने संरचनादेखि विज्ञको व्यवस्था कुनै पनि कुरामा ध्यान नदिइएको उनी बताउँछन्।
स्थिति सुधार्न अब सरकारले के गर्छ?
सरकारले देशभरिका आठवटै बाल सुधार गृहमा रहेकाहरूमध्ये १८ वर्षभन्दा माथि उमेर पुगेकाहरूलाई छुट्टै ठाउँमा राख्ने निर्णय गरेको छ।
“अघिल्लो साताको मन्त्रिपरिषद् बैठकले बाँकेको नौबस्ता कारागारमा एउटा छुट्टै ब्लकमा उनीहरूलाई राख्ने व्यवस्था मिलाउने निर्णय गरिसकेको छ,” महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बीबीसीसँग भने।
“त्यहाँ थोरै सरसफाइ गरेर दुई-चार दिनमै त्यहाँ लैजाने भन्ने कुरो भइरहेकै बेला अपर्झट बाँकेमा यो पछिल्लो घटना भएको छ,” उनले भने।
उक्त ब्लकमा २५०-३०० जना राख्ने क्षमता रहेकाले बाल सुधार गृहका १८ वर्ष माथिका लगभग सबै जनालाई लैजान सकिने मन्त्री आचार्यले बताए।
“वास्तवमा केही नीतिगत तथा कानुनी सुधारको खाँचो पनि परेको छ, २२-२४ वर्ष उमेर पुगिसकेकाहरूलाई पनि बाल सुधार गृहमा राख्दा धेरै समस्या आएका छन्,” उनले बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








