भारतको निर्वाचनमा बेङ्गलुरुमा मतदाता 'लोभ्याउन सित्तैमा बिअर र ट्याक्सी सवारी'

तस्बिर स्रोत, Getty Images
दक्षिण भारतको बेङ्गलुरु सहरमा मानिसहरूले संसदीय निर्वाचनमा मतदान गरून् भनेर धेरै कम्पनीहरूले प्रोत्साहनस्वरूप विभिन्न उपाय घोषणा गरेका छन्। त्यहाँ मतदाताले निःशुल्क खाना खान र ट्याक्सी चढ्न पाउने छन्।
कर्नाटक राज्यको बेङ्गलुरु सहरमा प्रायः कम मतदान हुने गरेको छ।
त्यसैले होटल, ट्याक्सी सेवा र अरू कम्पनीहरूले मानिसहरूलाई मतदान गर्न प्रेरित गर्न यस्तो उपाय खोजेका बताइन्छ।
मतदाताहरूले निःशुल्क बिअर, निःशुल्क स्वास्थ्य परीक्षणको अवसर र ट्याक्सी चढ्दा छुट पनि पाउने छन्।
खानेकुरा बेच्ने केही स्थानमा निःशुल्क सेवा लिन ग्राहकले आफूले मतदान गरेको प्रमाणका रूपमा नङमा मसी दलिएको देखाउनुपर्ने छ।
बेङ्गलुरुमा शुक्रवार मतदान हुने छ। भारतमा सात चरणमा निर्वाचन हुँदै छ। शुक्रवार दोस्रो चरणमा विभिन्न स्थानमा मतदान हुने योजना छ।

तस्बिर स्रोत, Navesh Chitrakar/Reuters
अदालतको अनुमति
कर्नाटक राज्यको उच्च अदालतले बुधवार स्थानीय होटलहरूको एउटा सङ्गठनलाई निर्वाचन आचारसंहिता उल्लङ्घन नहुने गरी निःशुल्क खानेकुरा वितरण गर्न वा मूल्य छुट गरेर बेच्न अनुमति दिएको हो।
"फरकफरक होटल र रेस्टुराँले आफ्नो निर्णयानुसार मतदातालाई फरकफरक कुरा उपलब्ध गराउने छन्," होटल सङ्गठनका अध्यक्ष पीसी रावले 'ब्याङ्गलोर मिरर' पत्रिकालाई बताए।
"केही स्थानमा पैसा नलाग्ने गरी कफी, डोसा र गर्मीमा फलको जुस दिइने छ भने केही स्थानमा खानेकुरामा छुट वा अरू सहुलियत हुने छ," उनले भने।
कम मतदान हुने सहर
सन् २०१९ मा भएको संसदीय निर्वाचनमा बेङ्गलुरुको ब्याङ्गलोर साउथ निर्वाचन क्षेत्रमा ५७ प्रतिशत अर्थात् कर्नाटक राज्यभरिकै सबैभन्दा कम मतदान भएको थियो।
ब्याङ्गलोर सेन्ट्रल र ब्याङ्गलोर नोर्थ दुवै निर्वाचन क्षेत्रमा ५५ प्रतिशतभन्दा कम मतदान भएको थियो। पूरै राज्यमा मतदानको प्रतिशत ६८ थियो।
धेरै कम्पनीहरूले मतदाताहरूलाई गत सातादेखि नै मतदानमा सहभागी हुन प्रोत्साहित गर्दै आएका थिए। बुधवार अदालतको आदेशपछि तिनले निःशुल्क वा छुटसहित खाना वा सेवा प्रदान गर्ने घोषणा नै गरे।
'वन्डर्ला' नामक मनोरञ्जन उद्यानले मतदातालाई टिकट किन्दा छुट दिने भएको छ। बेङ्गलुरुस्थित 'डेक अफ ब्रूज' नामक मदिरालयले मतदान गरेर पहिला आउने ५० ग्राहकलाई निःशुल्क बिअर दिने छ।
राइडशेअरिङ एप 'ब्लु-स्मार्ट'ले यात्रुहरूलाई मतदानकेन्द्रबाट ३० किमिसम्मको यात्रामा ५० प्रतिशत छुट दिने छ। ट्याक्सी सेवा उपलब्ध गराउने 'र्यापिडो' ले अपाङ्गता भएका र पाको उमेरका मतदातालाई निःशुल्क यात्रा गराउने छ।
"प्रजातन्त्र र मतदानको महत्त्वको उत्सव मनाउने यो हाम्रो तरिका हो," रेस्टुराँ व्यवसायी गोपीचन्द चेरुकुरीले 'द इन्डियन एक्स्प्रेस' पत्रिकालाई बताए। उनको 'मिस्टर फिल्लीज्' रेस्टुराँले पहिला आउने १०० मतदातालाई बर्गर र मिल्कशेकमा ३० प्रतिशत छुट दिने भएको छ।
"यो प्रयासले बेङ्गलुरुका नागरिकहरूमा आफ्नो मताधिकारको अभ्यास गर्न र अवस्था सुधार गर्न रुचि जगाउन सघाउँछ भन्ने हाम्रो आशा छ," उनले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








