भारतमा आमचुनावको पहिलो चरण सम्पन्न, करिब ६० प्रतिशतले खसाले मत

तस्बिर स्रोत, Election Commission
भारतमा सात चरणमा हुने आमचुनावको पहिलो चरण सम्पन्न भएको छ। छ सातासम्म चल्ने यो चुनावमा पहिलो दिन मत खसाल्न लाखौँ मानिस पुगेका थिए भने प्रारम्भिक विवरण अनुसार करिब ६० प्रतिशत मत खसेको छ।
हिंसाका छिटपुट घटनाबाहेक समग्रमा देशैभरि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको अधिकारीहरूले बताएका छन्।
दिल्लीमा रहेकी बीबीसीकी समिरा हुसैनले चुनाव बृहत् भएको बताइन्।
उनले भनिन्, "भारतमा मतदान यति ठूलो कार्य हुनुका विभिन्न कारणमध्ये जनसङ्ख्या धेरै हुनुमात्रै नभई देश ठूलो हुनु पनि हो र देशभित्रै पनि धेरै विविधता छन्।"
लोकसभा चुनाव शुक्रवार बिहान सात बजेबाट सुरु भएको थियो।
सात चरणमा हुने यो निर्वाचन अन्तर्गत पहिलो चरणमा १०२ सिटका लागि मतदान भएको हो।
जून १ तारिखसम्म चल्ने मतदानका लागि झन्डै १ अर्ब मानिसहरू भोट खसाल्न योग्य छन् र यो
निर्वाचनलाई संसारकै हालसम्मको सबैभन्दा ठूलो चुनाव भनिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि चुनिने लक्ष्य राखेका छन्।
मोदीलाई चुनौती दिन कैयौँ विपक्षी दलहरूले मिलेर गठबन्धन बनाएका छन्।
चुनावको परिणाम जून ४ मा घोषणा गरिनेछ।
चुनावको महत्त्व के छ?

तस्बिर स्रोत, Getty Images
भारतको संसद् दुई सदनात्मक छ। तल्लो सदनलाई लोकसभा र माथिल्लो सदनलाई राज्यसभा भन्ने गरिएको छ।
शुक्रवार लोकसभाका सदस्यहरू चुन्नका लागि मतदान हुन लागेको हो। भारतमा बसोबास गरिरहेका १८ वर्ष वा सोभन्दा माथिको उमेरका व्यक्तिहरू मत दिनका लागि योग्य छन्। चुनाव जित्नका लागि गठबन्धनलाई ५ सय ४३ सदस्य रहेको सदनमा २७२ सीट आवश्यक पर्छ।

अघिल्लो चुनावमा प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी (बीजेपी) ले ३०३ सिट ल्याएको थियो। अहिले उसले लगातार तेस्रो कार्यकाल निर्वाचित हुने लक्ष्य लिएको छ।
कंग्रेससहित दूई दर्जनभन्दा बढी दल मिलेर इन्डिया गठबन्धन निर्माण गरेका छन् र उनीहरूले मोदीलाई चुनौती दिइरहेका छन्।
सन् २०१४ मा बीजेपीको उदय हुनुअघि ६० वर्षसम्म भारतको राजनीतिमा कंग्रेसको दबदबा थियो।
पहिलो चरणको चुनावमा ककसले भाग लिदैँछन्?
पहिलो चरणको चुनाव अन्तर्गत २१ वटा राज्य र केन्द्र शासित प्रदेशका १०२ सीटमा मतदान हुन लागिरहेको छ।
यो चरणमा मोदीको मन्त्रिमण्डलका ८ सदस्य, ३ पूर्व मुख्य मन्त्री र एक पूर्व राज्यपाल चुनावी मैदानमा छन्।
पहिलो चरणमा अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्ड , रास्थान, सिक्किम, तामिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखन्ड, पश्चिम बङ्गाल, अंडमान निकोबार, जम्मू र कश्मीर अनि लक्षद्वीप र पुद्दुचेरीमा मतदान भइरहेका छन्।
तामिलनाडुका सबै ३९ सीटमा मतदान भइरहेको छ। राजस्थानका १२, उत्तर प्रदेशका ८, महाराष्ट्रका ५ र बिहारका ४ सीटमा पहिलो चरणमा मतदान हुँदैछ।

तस्बिर स्रोत, Getty Images
रोमाञ्चक निर्वाचन
भारतको निर्वाचन प्रक्रिया लामो, विशिष्ट र रोमाञ्चक रहने कैयौँले बताउने गरेको पाइन्छ।
त्यहाँ योग्य मतदाताको सङ्ख्या नै ९६ करोड ९० लाख रहेको छ जुन संसारकै सबैभन्दा ठूलो सङ्ख्या हो।
निर्वाचनका लागि १५ लाख मतदान केन्द्र स्थापना गरिएको छ र ५५ लाख विद्युतीय भोटिङ मसिन जडान गरिएका छन्।
निर्वाचन आयोगले १ करोड ५० लाख निर्वाचन र सुरक्षा अधिकारीलाई तालिम दिएर खटाइएको र उनीहरूको आवतजावतका लागि ४ लाख सवारी साधन प्रयोग गरिने जनाएको छ।
अधिकारीहरूले दोस्रो चरणको मतदान ८८ सीटका लागि एप्रिल २६ मा हुने जनाएका छन्।
भारत संसारकै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो। त्यहाँका २८ राज्य र ८ केन्द्र शासित भूभागहरूका प्रत्येक योग्य मतदाताले भोट खसाल्ने अवसर पाउनेछन्।
यो अभ्यास डेढ महिनासम्म चल्नेछ र चुनावलाई योजनाबद्ध र शान्तिपूर्ण ढङ्गले सञ्चालन गर्न व्यापक तयारीहरू आवश्यक पर्छ।
साना राज्यहरू र सङ्घले शासन गरिरहेका भूभागमा एक दिनमै मतदान सम्पन्न हुनेछ।
कतिपय ठूला राज्यहरूमा दुईदेखि चार दिनसम्म मतदान चल्नेछ। ठूलो जनसङ्ख्या भएका उत्तर प्रदेश, बिहार र पश्चिम बङ्गालमा सातै चरणमा मतदान हुनेछ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक , इन्स्टाग्राम र ट्विटर मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




