अमेरिकामा 'शटडाउन'बीच आन्तरिक हवाई उडानहरूमा व्यापक असर

तस्बिर स्रोत, Getty Images
संयुक्त राज्य अमेरिकामा 'गभर्न्मन्ट शटडाउन'बीच हवाई ट्राफिक घटाउनुपर्ने नयाँ नियमका कारण शुक्रवार पहिलो दिन पाँच हजारभन्दा बढी उडानहरू रद्द वा ढिलो भएका छन्।
अमेरिकी संसद् कङ्ग्रेसको माथिल्लो सदन सिनेटबाट बजेट पास गर्ने प्रयास असफल भएपछि त्यहाँ 'गभर्न्मन्ट शटडाउन'को स्थिति उत्पन्न हुँदा सरकारका धेरै कामहरू अस्थायी रूपमा स्थगित भएका छन्।
बिनातलब काम गरिरहेका हवाई ट्राफिक नियन्त्रकहरू तथा अरू सङ्घीय कर्मचारीहरूमाथि दबाव घटाउने उद्देश्यले शुक्रवार देशका ४० ठूला विमानस्थलहरूमा नयाँ नियमहरू लागु गरिएको हो।
गत महिनाबाट शटडाउन शुरू भएको पृष्ठभूमिमा अत्यावश्यक कर्मचारीहरूले या ता बिदामी बिदा लिइरहेका छन् या त अन्त काम गरिरहेका छन्।
राष्ट्रपति डोनल्ड ट्रम्पको रिपब्लिकन र विपक्षी डेमोक्र्याट पार्टीले यस्तो स्थिति आउनुका पछाडि एकअर्कामाथि दोष लगाएका छन्।
उडानमा अझ कटौती
कर्मचारी अभावको समस्यासँग जुझ्न सङ्घीय उड्डयन प्रशासन (एफएए) ले आपत्कालीन निर्देशन जारी गर्दै आन्तरिक उडानहरूमा चार प्रतिशतले कटौती गर्न भनेको छ। आउने साताको अन्त्यसम्म त्यसलाई बढाएर १० प्रतिशतसम्म पुर्याइने बताइएको छ।
धेरै आवागमन हुने न्यूयोर्क, लस एन्जलस, शिकागो र वाशिङ्गटन डीसीजस्ता ठाउँमा नयाँ नियमको बढी असर देखिएको छ।
ती स्थानहरूमा कर्मचारी अभावबीच उपलब्ध एअर ट्राफिक कन्ट्रोलरहरूले धेरै काम गर्दा गलेपछि नयाँ नियम लागु गरिएको एफएएले जनाएको छ।
अत्यावश्यक कर्मचारीका रूपमा रहेका एअर ट्राफिक कन्ट्रोलरहरूले बिनातलब काम गर्न परिरहेको छ। त्यसरी उनीहरूले काम गर्न परेको अमेरिकी इतिहासमै यो लामो समय हो।

तस्बिर स्रोत, REUTERS/Tim Evans
बिनातलब एक महिनाभन्दा बढी काम गरिरहेका कतिपय त्यस्ता कर्मचारी तनावका कारण बिरामी परेका छन् भने आवश्यकता पूरा गर्न कतिपयले अन्यत्र काम गर्न परेको युनियनहरूले बताएका छन्।
यातायातमन्त्री सीन डफीले उडानमा गरिएको कटौतीका कारण अन्तर्राष्ट्रिय यात्रामा चाहिँ अहिलेसम्म कुनै असर नदेखिएको शुक्रवार बीबीसीलाई बताए।
तर अस्तव्यस्तताको यो प्रारम्भ हुन सक्छ। फक्स न्यूजलाई दिएको एउटा अन्तर्वार्तामा डफीले २० प्रतिशतसम्म आन्तरिक उडानहरूमा कटौती हुन सक्ने बताएका छन्।
न्याश्नल एअर ट्राफिक कन्ट्रोलर्स असोशिएशनका अध्यक्ष निक ड्यानिअल्सले राजनीतिक खिचातानीमा हवाई ट्राफिक नियन्त्रकहरूलाई मोहरा बनाइएको टिप्पणी गरे।
नयाँ नियमका कारण प्रभावित भएका आन्तरिक हवाई यात्रुहरूले असन्तोष व्यक्त गरेका छन्।
वाशिङ्गटन डीसीबाट आफन्तको बिहेमा जाने तयारीमा रहेका जो सुलिभान ट्याक्सी लिएर रिगन न्याश्नल विमानस्थलका लागि निस्किसकेका थिए। उबाटोमै हुँदा उडान रद्द भएको उनले जानकारी पाए।
"हुन त मैले पुनः टिकट बुक गरेँ, तर अर्को दिनको १२ घण्टापछिको पनि उडान पाउन सकिएन," उनले भने।
कहिले सकिएला शटडाउन?
विगत ३८ दिनदेखि जारी शटडाउन कहिले अन्त्य होला भनी स्पष्ट भइसकेको छैन, तर कङ्ग्रेसका सदस्यहरूबीच क्यापिटोल हिलमा गतिविधि भएको देखिन्छ।
शटडाउनको शुरूवाती केही हप्तामा रिपब्लिकन र डेमोक्र्याट्सबीच निकै कम अथवा शायदै कुराकानी भएको थियो।
अहिले कुराकानी भइरहेको छ र कुनै सम्झौतामा पुग्न सकिन्छ कि भन्ने विश्वास उनीहरूलाई छ।
गत सेप्टेम्बर ३० तारिखको मध्यरातबाट औपचारिक रूपमा शटडाउन शुरू भएको हो।

तस्बिर स्रोत, Getty Images
यो स्थिति कसरी आयो?
राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीका सांसदहरूले बजेटसम्बन्धी विधेयकलाई एउटा निरन्तर प्रस्तावका रूपमा केही थपघट नगरी पारित गर्न चाहेका थिए।
उक्त विधेयक सिनेटबाट पारित हुन ६० सदस्यको समर्थन चाहिन्थ्यो, तर त्यहाँ ५३ रिपब्लिकन सांसद मात्र छन्।
विपक्षी दल अर्थात् डेमोक्र्याटिक पार्टीको सहयोगबिना विधेयक पारित नहुने अवस्था थियो।
त्यही कुरा बुझेर स्वास्थ्य सेवासहितका विषयमा आफ्ना अजेन्डा स्वीकार गर्न सरकारलाई दबाव दिनका लागि डेमोक्र्याटिक सांसदहरूले मौका छोपेको ठानिएको छ।
ट्रम्प सरकारले मेडिकएड, सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) र न्याश्नल इन्स्टिट्यूट अफ हेल्थलगायत स्वास्थ्यसम्बन्धी निकायहरूको बजेटमा कटौती भएको छ, जुन डेमोक्र्याटहरूलाई चित्त बुझेको छैन।
रिपब्लिकन पक्षले विपक्षीका मागको सुनुवाइ गर्न कुनै चासो देखाएको छैन, बरु बजेट पारित नभएर सरकारी कामहरू अवरुद्ध हुँदा त्यसको कारकका रूपमा डेमोक्र्याटहरूमाथि नै जनाक्रोश बढ्ने उसको आकलन छ।
कङ्ग्रेसमा रिपब्लिकन र डेमोक्र्याटिक सांसदहरूबीच बजेटसम्बन्धी विवाद नसुल्झिँदा अधिकांश सरकारी सेवाहरू अस्थायी रूपमा बन्द हुन पुगेका छन् भने १४ लाख सरकारी कर्मचारीहरू बेतलबी बिदामा बस्न वा बिनातलब काम गर्न बाध्य भएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








