अमेरिकामा 'शटडाउन' लम्बिएको लम्बियै, पोषण कार्यक्रम जारी राख्न पनि चुनौती

तस्बिर स्रोत, Getty Images
- Author, आना फागी
संयुक्त राज्य अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले चार करोडभन्दा बढी अमेरिकीलाई दिइँदै आएको खाद्य सहायताअन्तर्गत खानेकुराको मात्रा घटाउने जनाएको छ।
अमेरिकी संसद् कङ्ग्रेसको माथिल्लो सदन सिनेटबाट बजेट पास गर्ने प्रयास विफल भएपछि अमेरिकामा उत्पन्न भएको 'गभर्न्मन्ट शटडाउन' तत्काल समाधान हुने सङ्केत देखिएको छैन।
गत ३० सेप्टेम्बरको मध्यरातदेखि औपचारिक रूपमा सुरु भएको 'शटडाउन'ले यो साताबाट हालसम्मकै लामो अवधि पार गर्दै छ।
अमेरिकाको कृषि मन्त्रालयले सरकारले अदालतमा पेस गरेको एउटा निवेदनमा आपत्कालीन कोषबाट खर्च चलाउनुपर्ने अवस्था भएका कारण अमेरिकीहरूलाई यसअघि दिइएकोभन्दा आधा मात्रै खाद्य सहायता दिइने उल्लेख गरिएको छ।
न्यायाधीशहरूले ट्रम्प प्रशासनलाई सोमवारसम्म अतिरिक्त पोषण सहायता कार्यक्रमको भुक्तानी योजना पेस गर्न आदेश दिएका छन्। एक महिनाभन्दा लामो समयदेखिको 'शटडाउन'का कारण उक्त कार्यक्रमको कोष अलपत्र परेको छ।
अमेरिकी राज्यहरूबाट प्रदान गरिने यस्तो सुविधाको रकम सङ्घीय सरकारले उपलब्ध गराउँछ। तर १ अक्टोबर बाट यो कोषमा रकम निकास भएको छैन।
राज्यहरूले सोमवार बेलुकासम्म घटेको कोषबाट कसरी सहायता वितरण गर्ने भन्नेबारे स्पष्टता पाउने छन्।
मासचूसिट्स र रोड आइल्यान्डका सङ्घीय न्यायाधीशहरूले पोषण कार्यक्रमको आंशिक भुक्तानीका लागि आपत्कालीन कोषबाट कृषि मन्त्रालयलाई ५.२५ अर्ब अमेरिकी डलर प्रयोग गर्न आदेश दिएका छन्। पोषण कार्यक्रमको पूर्ण भुक्तानीका लागि प्रतिमहिना आठ अर्ब अमेरिकी डलर खर्च हुन्छ।
पोषण कार्यक्रममा कति खर्च हुन्छ?
यसअघि राष्ट्रपति ट्रम्पले आफूले सरकारी वकिलहरूलाई वैध रूपमा पोषण कार्यक्रमका लागि खर्च गर्ने बाटोबारे अदालतलाई सोध्न भनेको बताएका थिए।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सीएनएनसँगको अन्तर्वार्तामा राष्ट्रपतिले पोषण कार्यक्रमजस्ता कामका लागि कसरी वैधानिक रूपमा खर्च गर्ने भनेर अदालतबाटै सुन्न चाहेको बताएका थिए।
"हामीले पालना गर्नुपर्ने प्रक्रिया छ। त्यो प्रक्रिया के हो भनेर हामीले पहिचान गर्नुपर्छ," उनले भनेका थिए।
गत महिना अमेरिकाको कृषि मन्त्रालयले "भण्डार रित्तिने भएर" १ नोभेम्बर बाट खाद्य सहायता वितरण गर्न नसकिने बताएको थियो।
अमेरिकाका आधा राज्यहरूसहित डिस्ट्रिक्ट अफ कोलम्बियाले प्रशासनविरुद्ध मुद्दा दायर गरेका थिए। ती राज्यहरूले आफ्नो क्षेत्राधिकारभित्र यो कार्यक्रम जारी राख्नुपर्ने दायित्व आफूहरूको भएको तर्क गरेका छन्।

तस्बिर स्रोत, Getty Images
केही सहरहरू र गैरसरकारी संस्थाले पनि यस विषयमा मुद्दा दर्ता गरेका छन्। कतिपय राज्यले पोषण कार्यक्रमको सुविधा जारी राख्न आफ्नै पैसा खर्च गर्ने बताएका छन्।
पोषण कार्यक्रमले न्यून आय भएका अमेरिकीहरूलाई खाद्य सामान किन्न सहयोग पुर्याउँछ। यो कार्यक्रमले उनीहरूलाई निश्चित अन्तरालमा पैसा जम्मा हुने डेबिट कार्ड दिन्छ र त्यसबाट उनीहरूले खानेकुरा किन्न सक्छन्।
चार जनाको एउटा परिवार मासिक औसत ७१५ अमेरिकी डलर प्राप्त गर्छ। त्यो रकम एक जनालाई भाग लगाउँदा प्रतिव्यक्ति छ डलर प्रतिदिन हुन आउँछ।
शटडाउनको स्थिति कसरी आयो

तस्बिर स्रोत, Getty Images
राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीका सांसदहरूले बजेटसम्बन्धी विधेयकलाई एउटा निरन्तर प्रस्तावका रूपमा केही थपघट नगरी पारित गर्न चाहेका थिए।
उक्त विधेयक सिनेटबाट पारित हुन ६० सदस्यको समर्थन चाहिन्थ्यो। तर त्यहाँ ५३ रिपब्लिकन सांसद मात्र छन्। विपक्षी दल अर्थात् डेमोक्र्याटिक पार्टीको सहयोगबिना विधेयक पारित नहुने अवस्था थियो।
त्यही कुरा बुझेर स्वास्थ्य सेवासहितका विषयमा आफ्ना अजेन्डा स्वीकार गर्न सरकारलाई दबाव दिनका लागि डेमोक्र्याटिक सांसदहरूले मौका छोपेको ठानिएको छ।
ट्रम्प सरकारले मेडिकएड, सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) र न्याश्नल इन्स्टिट्यूट अफ हेल्थलगायत स्वास्थ्यसम्बन्धी निकायहरूको बजेटमा कटौती भएको छ, जुन डेमोक्र्याटहरूलाई चित्त बुझेको छैन।
रिपब्लिकन पक्षले विपक्षीका मागको सुनुवाइ गर्न कुनै चासो देखाएको छैन, बरु बजेट पारित नभएर सरकारी कामहरू अवरुद्ध हुँदा त्यसको कारकका रूपमा डेमोक्र्याटहरूमाथि नै जनाक्रोश बढ्ने उसको आकलन छ।
कङ्ग्रेसमा रिपब्लिकन र डेमोक्र्याटिक सांसदहरूबीच बजेटसम्बन्धी विवाद नसुल्झिँदा अधिकांश सरकारी सेवाहरू अस्थायी रूपमा बन्द हुन पुगेका छन् भने १४ लाख सरकारी कर्मचारी बेतलबी बिदामा बस्न वा बिनातलब काम गर्न बाध्य भएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








