नेपालमा हवाई टिकटको मूल्य किन बढ्यो, भाडा कसरी तय हुन्छ

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ५ मिनेट

मध्यपूर्वको सङ्कटसँगै सुरु भएको इन्धनको मूल्यवृद्धिका कारण नेपालमा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने मानिसहरूको सङ्ख्यामा उल्लेख्य कमी आएको अधिकारीहरूले बताएका छन्।

नेपालमा आन्तरिक हवाई यात्रा गर्ने मानिसहरूको सङ्ख्या दैनिक १२,००० बाट घटेर आठ हजारमा सीमित भएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

"त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको र समग्र तथ्याङ्क हेर्दा यात्रुहरूको सङ्ख्या ३० देखि ३५ प्रतिशतले घटेको छ," उनले बीबीसी न्यूज नेपालीसँग भने। उनका अनुसार "यात्रुको सङ्ख्या घटेपछि उडानको सङ्ख्या पनि ३० प्रतिशत जतिले घटेको छ" भने वायुसेवा प्रदायकहरूले आफ्ना उडानहरू गाभेर सञ्चालन गर्न थालेका छन्।

एप्रिल १ देखि ९ तारिखसम्मका नौ दिनमा आन्तरिक उडानमार्फत् ७२,००० जनाले यात्रा गरेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ। त्यसका आधारमा अनुसार प्रतिदिन सरदर ८,००० जनाले हवाई यात्रा गरेका छन्।

वायुसेवा सञ्चालकहरूले पनि इन्धनको मूल्यवृद्धि र यात्रुहरूको सङ्ख्यामा आएको कमीका कारण उडान सङ्ख्या घटाइएको बताएका छन्।

काठमाण्डूबाट पोखराका लागि दैनिक १४ उडान गर्दै आएको बुद्ध एअरले अहिले १० वटा हाराहारी मात्र उडान गरिरहेको छ। यो रूटमा १० वटा उडान गर्दै आएको यति एअरले अहिले आफूले पाँचदेखि छवटा उडान गरिरहेको जनाएको छ।

प्राधिकरणका अनुसार मध्यपूर्व क्षेत्रका गन्तव्यमा उडान प्रभावित हुँदा अन्तर्राष्ट्रिय उडानमा पनि समस्या देखिएको छ।

"अन्तर्राष्ट्रियमा दुई तीन महिनाअघि नै टिकट काटिसक्ने भएको हुँदा तत्काल समस्या देखिएको छैन। तर मध्यपूर्वको तनावले गर्दा हाम्रोबाट पश्चिमतर्फ उडान गर्ने दोहा र दुबईका उडानहरू प्रभावित भएका छन्," भुलले भने।

"पहिला १५,००० जति हुने यात्रु सङ्ख्या अहिले १४,००० मा झरेको छ। यद्यपि त्यो उल्लेख्य होइन।" विगतको तुलनामा ९० प्रतिशत जस्तो उडानहरू नियमित भइसके पनि कुवेतमा अझै उडान सुरु हुन नसकेको प्राधिकरणले जनाएको छ।

अन्तर्राष्ट्रिय उडानमा १५ देखि २० प्रतिशत भाडादर वृद्धि भएका कारण अब त्यसको असर केही महिनाभित्र देखिन सुरु गर्ने जानकारहरू बताउँछन्।

नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेना निगमका अनुसार यसअघिको तुलनामा ७० प्रतिशतभन्दा धेरै उडानहरू हुन थालिसकेका छन्।

निगमका प्रवक्ता देवेन्द्र पुन सातामा पाँचवटा उडान हुँदै आएको दोहामा अहिले पूर्वस्वीकृतिका आधारमा सातामा एउटा मात्रै उडान भइरहेको बताउँछन्। यसअघि प्रभावित भएको दुबईमा भने करिब पूर्ण रूपमा उडान चालु भएको निगमले जनाएको छ।

"इन्धनको मूल्य सीधै यात्रुको टिकटमा गएर जोडिने भएका कारण यात्रुलाई असर पर्ने भयो," निगमका प्रवक्ता पुन भन्छन्।

आन्तरिक उडानमा कटौती

नेपालका निजी वायुसेवा सञ्चालकहरूले इन्धन र डलर दुवैको मूल्य बढ्दा आन्तरिक उडान ३० प्रतिशतसम्म कटौती गर्नुपरेको बताएका छन्।

बुद्ध एअरका बजार निर्देशक रूपेश जोशीले वायुसेवा सञ्चालकहरू इन्धन र डलरको दोहोरो मारमा परेको बताए।

"हामीलाई दुईवटा कुरामा मार परेको छ। एउटा तेलको मूल्यको पनि मार परेको छ। अर्को पार्टपुर्जा, मर्मतदेखि सबै कुरा डलरमा हुने भएकाले डलरको मूल्य बढेका कारण पनि असर गरेको छ," जोशीले भने।

यति एअरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार वायुसेवा सञ्चालकहरूले प्राधिकरणलाई तिर्नुपर्ने शुल्क पनि डलरमा तिर्नु पर्ने नियम छ।

"हाम्रो अधिकांश खर्च डलर डलरमै हुन्छ। जहाज, पार्टपुर्जा, पाइलटको तालिम देखि प्राधिकरणलाई तिर्नुपर्ने रकम पनि डलरकै हिसाबमा नेपाली रुपैयाँ तिर्नुपर्छ," उनले भने

त्रिभुवन विमानस्थलमा जारी धावनमार्ग विस्तार कार्यका कारण विमानहरू काठमाण्डू आइपुगेर लामो समय होल्ड हुनुपर्ने बाध्यता छ।

वायुसेवा सञ्चालकहरूले सरकारले सुदूर पश्चिम र कर्णालीमा विदेशी नागरिकलाई डलरमा भाडा लिने व्यवस्था खारेज गरिएको विषयमा पनि असन्तुष्टि व्यक्त गरेका छन्।

कसरी तय हुन्छ हवाई भाडा

प्राधिकरणका अनुसार विभिन्न चार पक्षका आधारमा हवाई भाडा तय गरिएको हुन्छ।

तीमध्ये एउटा प्राधिकरणले निर्धारण गर्ने वायुसेवा कम्पनीको लागत दर हो। अहिले कार्यान्वयनमा रहेको लागत दर पछिल्लो पटक २०७३ सालमा पुनरवलोकन भएको थियो।

त्यो लागत दर प्रत्येक दुई वर्षमा पुनरवलोकन हुनुपर्छ भन्ने प्रणाली छ। त्यसमा जहाज खरिददेखि कर्मचारी र चालकदलका सदस्यको तलब भत्ताको लागत अनि सञ्चालन खर्चसम्मका विषय पर्छन्।

दोस्रो इन्धनको मूल्य हो। यसलाई उड्डयनको चलनचल्तीको भाषामा फ्यूल सर्चार्ज भनिन्छ।

"यो भनेको काठमाण्डूदेखि धनगढी जाँदा वा विराटनगर जाँदा कति लिटर इन्धन खपत हुन्छ र एक लिटरको मूल्य कति हो, त्यो आधारमा हिसाब गरेर निकाल्छौँ," प्राधिकरणका सूचना अधिकारी भुल भन्छन्।

तेस्रो पक्ष विमानस्थललाई वायुसेवाले तिर्ने कर हो। यसलाई 'प्यासेन्जर सर्भिस चार्ज' (पीएससी) भनिन्छ। "यात्रुले विमानस्थल प्रयोग गरेबापत तिर्नुपर्ने यात्रु सेवा शुल्क हो। त्यो पनि टिकटमै समावेश भएको हुन्छ," भुलले भने।

चौथो पक्ष सरकारले उठाउने राजस्व हो। मूल्य अभिवृद्धि करका रूपमा यो राजस्व १३ प्रतिशत तिर्नुपर्छ।

प्राधिकरणलाई विद्यमान नियम र कानुनले अन्तर्राष्ट्रिय हवाई भाडा नियमन गर्ने क्षेत्राधिकार दिएको छैन। अन्तर्राष्ट्रिय भाडा तय हुने आधार माग र त्यसअनुसारको आपूर्ति हो।

"तर आन्तरिक हवाई भाडा चाहिँ हामी नियमन गर्छौँ," भुल भन्छन्।

सरकारी नियामकले यसका लागि न्यूनतम र अधिकतम बिन्दु तोकिदिन्छ। त्यही बीचमा बसेर वायुसेवा कम्पनीहरूले भाडा तय गर्दै आएका छन्।

विमानअनुसार फरक पर्छ भाडा

नेपालमा १९ सीट क्षमताभन्दा सानो जहाजमा ठूला विमानको जस्तो फरकफरक दरको भाडा दर हुँदैन।

"काठमाण्डूबाट लुक्लातिर वा नेपालगन्जबाट सिमीकोटतिर उड्ने ट्विनअटर जहाजहरूमा 'सिङ्गल फेअर' (समान भाडा) प्रणाली हुन्छ र त्यो भन्दा ठूला जहाजहरूमा मल्टी फेअर सिस्टम हुन्छ," भूल भन्छन्।

धेरै प्रकारका भाडा दर भएका जहाजहरूमा न्यूनतमदेखि अधिकतमसम्मका टिकटहरू बिक्री गरिन्छ।

साधरणतया आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीहरूले पाँच वर्षका टिकट बिक्री गर्ने गरेका छन्। तर १९ सीटभन्दा कम क्षमताका जहाजमा भने सबै टिकटका लागि समान भाडादरको प्रणाली छ।

उदाहरणका लागि, काठमाण्डूबाट धनगढी जान न्यूनतम ११,६०० रुपैयाँदेखि अधिकतम २२,३३५ रुपैयाँसम्मका टिकटहरू वायुसेवा कम्पनीहरूले बिक्रीका लागि राख्ने गरेका छन्।

टिकटको वर्ग हेरेर यात्रुहरूले उडानतालिका परिवर्तन गर्न सक्ने वा नसक्ने लगायतका सुविधा फरक पर्छन्।

सबैभन्दा सस्तो ११,६०० रुपैयाँको टिकटमा यात्रुले भाडाबापत १०,००० रुपैयाँ मात्रै तिरेका हुन्छन्। विमानस्थल प्रयोगको कर र भ्याट समेत जोडेर यात्रुहरूले बाँकी रकम तिर्नुपर्ने हुन्छ।

हवाई भाडामा पनि ३५ देखि ४० प्रतिशत हिस्सा इन्धनको मूल्यको हुने गरेको प्राधिकरणका सूचना अधिकारी भुल बताउँछन्।

एप्रिल महिना सुरु भएयता मात्रै हवाई इन्धनको मूल्य रु १२७ प्रतिलिटरबाट बढेर २५७ रुपैयाँ पुगेको छ। हवाई इन्धनको मूल्य शत प्रतिशत बढेसँगै हवाई भाडा पनि ५० प्रतिशतले बढेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।