'३० लाख बालबालिकाको मृत्युको कारण औषधि प्रतिरोधसँग सम्बन्धित'

तस्बिर स्रोत, Getty Images
- Author, डोमिनिक ह्युज
- Role, विश्व स्वास्थ्य संवाददाता
एन्टिबायोटिकहरू सङ्क्रमण नियन्त्रण गर्न नसक्ने अवस्था उत्पन्न भएका कारण सन् २०२२ मा मात्रै विश्वभरिमा ३० लाख बालबालिकाको मृत्यु भएको ठानिएको बाल स्वास्थ्यका दुई प्रमुख विज्ञले गरेको अनुसन्धानले देखाएको छ।
यस्तो समस्याका कारण दक्षिणपूर्वी एशिया र अफ्रिकाका बालबालिका सबैभन्दा धेरै जोखिममा छन्।
सङ्क्रमण निम्त्याउने सूक्ष्मजीवहरू एन्टिबायोटिक औषधिले काम नगर्ने किसिमले विकास भएको अवस्थालाई 'एन्टिमाइक्रोबिअल रेजिस्टन्स' (एएमआर) अर्थात् 'प्रतिजैविक प्रतिरोध' भनिन्छ।
एन्टिबायोटिकले काम नगर्ने अवस्था अहिले विश्वभरिका मानिसहरूले सामना गरिरहेको जनस्वास्थ्यको सबैभन्दा ठूलो चुनौतीको रूपमा पहिचान भएको छ।
नयाँ अध्ययनले एएमआरले बालबालिकाहरूको ज्यान लिइरहेको खुलासा गरेको छ।
विश्व स्वास्थ्य सङ्गठन र विश्व ब्याङ्कसहित कैयौँ स्रोतबाट तथ्याङ्क लिएर दुई विज्ञले तयार पारेको अध्ययन प्रतिवेदनमा सन् २०२२ मा ३० लाखभन्दा धेरै बालबालिकाको मृत्युको कारण औषधिले काम नगर्ने सङ्क्रमणसँग सम्बन्धित देखिएको उल्लेख छ।
विज्ञहरूका अनुसार यो नयाँ अध्ययनले बालबालिकाहरूमा एएमआरसम्बन्धी सङ्क्रमण तीन वर्षमै १० गुनाले बढेको देखाएको छ।
कोभिड सङ्क्रमणका कारण यो सङ्ख्या खराब अवस्थामा पुगेको आकलन गरिएको छ।
एन्टिबायोटिकको बढ्दो प्रयोग

तस्बिर स्रोत, PA Media
छालाको सङ्क्रमणदेखि निमोनियासम्म कैयौँ प्रकारका ब्याक्टेरियाबाट हुने सङ्क्रमण रोक्न वा उपचार गर्न एन्टिबायोटिकको प्रयोग हुने गरेको छ।
यस्ता औषधिहरू कतिपय अवस्थामा उपचारभन्दा पनि सङ्क्रमणको रोकथामका लागि प्रयोग गरिन्छ। उदाहरणका लागि, शल्यक्रिया गर्नुपर्ने बिरामी वा क्यान्सरविरुद्ध कीमोथेरपी गर्नुअघि एन्टिबायोटिक औषधि चलाइन्छ।
रुघाखोकी, ज्वरो वा कोभिडजस्ता भाइरल सङ्क्रमणमा एन्टिबायोटिकको प्रभाव हुँदैन।
तर अत्यधिक प्रयोग वा अनुपयुक्त प्रयोगका कारण केही ब्याक्टेरिया निश्चित औषधि प्रतिरोधी बनिसकेका छन्। अनि निकै लामो र खर्चिलो नयाँ एन्टिबायोटिक उत्पादन गर्ने प्रक्रिया अहिले सुस्त भएको छ।
प्रतिवेदनका प्रमुख लेखकहरू अस्ट्रेलियाको मर्डोख चिल्ड्रन्स् रिसर्च इन्स्टिट्यूडका डा यान्हङ जेसिका हू र क्लिन्टन हेल्थ एक्सेस इनिशटिभ्सका प्राध्यापक हर्ब हार्वेल सबैभन्दा जटिल सङ्क्रमणमा मात्रै प्रयोग गरिनुपर्ने एन्टिबायोटिकहरूको प्रयोग उल्लेख्य मात्रामा बढेको देखाएका छन्।
सन् २०१८ देखि २०२१ को बीचमा "वाच एन्टिबायोटिक्स" भनिने उच्च प्रतिरोधी क्षमता भएका एन्टिबायोटिकहरूको प्रयोग दक्षिणपूर्वी एशियामा १६० प्रतिशतले र अफ्रिकामा १२६ प्रतिशतले बढेको अध्ययनले देखाएको छ।
त्यही अवधिमा "रिजर्भ एन्टिबायोटिक्स" भनिने जटिल र बहुऔषधी प्रतिरोधी सङ्क्रमणमा अन्तिम अवस्थामा मात्रै उपचारका लागि प्रयोग हुने एन्टिबायोटिकहरूको प्रयोग दक्षिणपूर्वी एशियामा ४५ प्रतिशत र अफ्रिकामा १२५ प्रतिशतले बढेको देखिएको छ।
घट्दै विकल्प
अध्ययनका लेखकहरूले ती एन्टिबायोटिकले पनि काम नगर्ने अवस्थामा ब्याक्टेरिया विकास भएको अवस्थामा बहुऔषधि प्रतिरोधी सङ्क्रमणको उपचारका लागि धेरै कम मात्रै विकल्प बाँकी रहने चेतावनी दिएका छन्।
प्राध्यापक हार्वेलले यही महिना भियनास्थित 'यूरोपिअन सोसाइटी अफ क्लिनिकल माइक्रोबायोलजी एन्ड इन्फेक्शस डिजिज'को सम्मेलनमा यो अध्ययनबाट पत्ता लागेका निष्कर्षहरू प्रस्तुत गर्दै छन्।
"एएमआर विश्वव्यापी समस्या हो। यसले सबैलाई असर गर्छ। हामीले यो अध्ययन एएमआरबाट बालबालिकाहरूलाई पुग्ने असरमा केन्द्रित गरेका छौँ," उनले भने।
"विश्वभरि ३० लाख बालबालिकाको मृत्युको सम्बन्ध एन्टिमाइक्रोबिअल प्रतिरोधी अवस्थासँग सम्बन्धित रहेको हाम्रो आकलन छ।"
एएमआर रोकथाम गर्ने समाधान छ?

तस्बिर स्रोत, PA Media
विश्व स्वास्थ्य सङ्गठनले एएमआरलाई हामीले सामना गरिरहेको विश्वव्यापी स्वास्थ्य चुनौती भनेको छ। भियनामा रहेका प्राध्यापक हार्वेल यसको समाधानबारे कुनै सहज उत्तर नरहेको बताउँछन्।
"यो बहुआयामिक समस्या औषधिदेखि मानव जीवनसम्मका सबै क्षेत्रमा फैलिएको छ," उनले भने।
"एन्टिबायोटिक हाम्रो वरपर सर्वव्यापी छन्। तिनीहरू हाम्रो खानेकुरा र वातावरणमा पनि छन्। त्यस कारण एउटै समाधानको उपाय निकाल्न सहज छैन।"
एन्टिबायोटिकले काम नगर्ने सङ्क्रमणबाट बच्ने सबैभन्दा उत्तम अवस्था नै सङ्क्रमणबाट जोगिनु रहेको उनी बताउँछन्। उनका अनुसार त्यो भनेको रोग प्रतिरोधी क्षमता बढाउने, सफा पानी प्रयोग गर्ने र सरसफाइमा ध्यान दिनुपर्छ।
"एन्टिबायोटिकहरूको प्रयोग अझै बढ्न सक्छ किनभने यसको आवश्यकता भएका मानिसहरू बढिरहेका छन्। तर हामीले त्यसको उचित प्रयोग र सही औषधि प्रयोगको सुनिश्चितता गर्नुपर्छ," उनले भने।
लन्डनस्थित किङ्ग्स कलेजमा सूक्ष्मजीवविज्ञान प्राध्यापन गर्ने लिन्ड्जी एड्वर्ड्स नयाँ अध्ययनले यसअघि उपलब्ध तथ्याङ्कको तुलनामा "उल्लेख्य र चिन्ताजनक वृद्धि" देखाएको बताइन्।
"यस्तो निष्कर्ष विश्वभरि स्वास्थ्य क्षेत्रको नेतृत्व गरिरहेकाहरूका लागि जनाउघण्टी हुनुपर्छ। यसमा कुनै निर्णायक कदम नचालिए एएमआरले बालस्वास्थ्यमा दशक लगाएर हासिल भएका प्रगतिलाई ओझेलमा पार्छ। यसले विशेष गरी विश्वका सबैभन्दा जोखिम क्षेत्रमा समस्या निम्त्याउँछ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








