कपाल झर्ने समस्या रोक्नका लागि केही 'प्रभावकारी' उपाय यस्ता छन्

झरेको कपाल देखाउँदै एक पुरुष

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कपाल झर्ने समस्या वंशानुगत पनि हुन सक्छ
    • Author, आमीर अहमद
    • Role, बीबीसी विश्व सेवा

कपाल झर्ने समस्या जसलाई पनि हुन सक्छ, चाहे ती जुनसुकै लिङ्ग, उमेर समूह र जातजातिका होऊन्।

आनुवंशिक, चिकित्सकीय अवस्था, बुढ्यौली अथवा जीवनशैलीलगायत कैयौँ कारणले कपाल झर्न सुरु हुन सक्छ।

कपाल झर्ने कारण खोतल्न र त्यसका समाधानबारे बुझ्न हामीले यूकेमा रहेकी एक केशविशेषज्ञ एनिटान एगिडीसँग कुराकानी गरेका छौँ।

'सर्वव्यापक' समस्या

उनले थरीथरीका मानिसहरूलाई हेर्दै आएकी छन्, तीमध्ये खास गरी अफ्रिकी मूलका मानिसहरूको जस्तो कपाल हुने महिला छन्।

"कपाल झर्ने समस्या नहुने कोही पनि हुँदैनन्। यहाँसम्म कि मेरै कपाल धेरै बाक्लो थियो, तर अहिले कपाल झर्ने समस्या भइरहेको छ," उनले भनिन्।

अमेरिकी जर्नल 'डर्माटोलजिक सर्जरी'का अनुसार १८-२९ उमेरका १६ प्रतिशतभन्दा बढी पुरुषले कपाल झर्ने समस्या झेल्ने गरेका छन्।

त्यो बढेर ३०-३९ उमेरका ३० प्रतिशत पुरुषमा त्यो समस्या देखिन्छ भने ४०-४९ उमेरका करिब आधाजति पुरुषले कपाल झर्ने समस्या झेल्छन्।

ऐनामा कपाल हेर्दै एक युवती

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, महिलामा पनि कपाल झर्ने समस्यालाई सामान्य नै मानिन्छ

चिकित्सकहरूले भन्ने गरेको 'एलपीशा' अर्थात्‌ कपाल झर्ने समस्या पुरुषमा हुँदा बढी चर्चा हुने गर्छ, तर महिलाहरूमा पनि कपाल झर्ने समस्या सामान्य नै हुन्छ।

हार्वर्ड मेडिकल स्कूलका अनुसार जिन्दगीको कुनै न कुनै बिन्दुमा एक तिहाइ महिलाहरूले पनि कपाल झर्ने समस्या भोग्छन्।

कपाल चाँडै झर्ने समस्यालाई रोक्न सकिन्छ?

छालारोग विशेषज्ञ डा. आँचल पन्थका अनुसार कपाल झर्ने समस्यालाई रोक्न सबैभन्दा पहिला कुनै व्यावसायिक व्यक्तिलाई देखाउनुपर्छ किनकि उनीहरूका सुझावअनुसार तपाईँ आफ्नो दैनिक जीवनमा थुप्रै परिवर्तन ल्याउन सक्नुहुन्छ।

"कपालको वृद्धिका लागि उच्च प्रोटीनयुक्त खानेकुरा महत्त्वपूर्ण हुन्छ," उनी भन्छिन्। "यदि तपाईँमा कुनै प्रकारको पोषणको कमी छ भने सबैभन्दा पहिला त्यसको उपचार गर्नुपर्ने हुन्छ।"

कपाल झर्ने समस्या देखिनासाथ धेरै मानिसले मिनक्सिडिलजस्ता रसायन भएका 'टपिकल क्रीम'हरू अथवा क्याफीनमा आधारित उत्पादनहरू प्रयोग गर्न थाल्छन्।

मिनक्सिडिल सामान्यतया तरल अथवा फिँजको स्वरूपमा प्रयोग हुन्छ। त्यसले कपालका जराहरूमा रगतको प्रवाह बढाउने गरेको पाइन्छ, जसले केश बढ्नमा मद्दत पुर्‍याउँछ।

यसले कपाल पातलिने समस्या कम गर्न मद्दत गर्न सक्ने भए पनि त्यसले नयाँ कपाल नउमार्ने डा. पन्थ बताउँछिन्।

खास गरी पुरुषहरूको हकमा कपाल झर्नबाट रोक्नका लागि कीटोकोनजोलको प्रयोग गरिन्छ।

विज्ञहरूका अनुसार चायाको उपचारका लागि पनि त्यो राम्रो विधि हो किनकि चायाका कारण हुने सुजनले कपाल झर्ने समस्यालाई अझै नराम्रो बनाउन सक्छ।

मिनक्सिडिलभन्दा फरक कीटोकोनजोल 'एन्टिफङ्गल' औषधि हो, जुन खास गरी तालुमा हुने 'फङ्गल इन्फेक्शन' अर्थात् एक प्रकारको ढुसीको उपचारमा प्रयोग गरिन्छ।

कतिपय अध्ययनहरूका अनुसार कपाल झर्ने समस्यासँग सम्बन्ध भएको डीएचटी होर्मोनको स्तर पनि यसले घटाउन सक्छ।

"धेरै मानिस कपाल झर्ने समस्या उपचार गराउन सकिने, कपाल उम्रिन सक्ने र केही गर्नुपर्दैन भनी ठान्छन्, जुन कुरा होइन। कपाल झर्नबाट रोक्नु भनेको जीवनभरि गरिएको एउटा प्रतिबद्धता हो," डा. पन्थ भन्छिन्।

हेअरस्टाइल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हेअरस्टाइल पनि कपाल झर्ने समस्यासँग सम्बन्धित छ

जीवनशैलीमा परिवर्तन

कपाल झर्ने समस्या समाधानका लागि कपालका किसिमबारे जानकारी महत्त्वपूर्ण हुन्छ।

अफ्रिकन कपालबारे विशेषज्ञता हासिल गरेकी विज्ञ एगिडीका अनुसार 'टाइट', 'हेबी ब्रेड्स' र 'हीट' जस्ता हेअरस्टाइलले चाँडै कपाल झर्नुमा भूमिका खेल्न सक्छ।

"हेअरस्टाइलबारे बुझ्नु महत्त्वपूर्ण हुन्छ। आफ्नो कपालसँग रमाउनुहोस्, तर जब भारी र कसिलो 'हेअरस्टाइल' बनाउनुहुन्छ, त्यसले फोलिकलहरूमा धेरै दबाव सिर्जना गर्न सक्छ भन्ने कुरा बुझ्नुपर्छ," उनी भन्छिन्।

कपाल बढ्नुमा फोलिकलहरूको भूमिका हुन्छ। तर तिनले तालुका घाउ निको पार्ने र छाला पुनः उत्पादन गर्ने काम पनि गर्छन्।

"अत्यधिक हेअरस्टाइलिङका कारण ट्र्याक्शन एलपीशा र फ्रन्टल फाइब्रोसिङ एलपीशा भनिने कपाल झर्ने अर्को अवस्था झेलिरहेका केही सेवाग्राही पनि मैले देखेकी छु।"

कपाल झर्ने समस्यालाई अझ बल्झाउन सक्ने भनेका धूमपान, मदिरापान, तनाव र निद्राको कमी हुन्।

डा. पन्थका अनुसार धूमपानले 'भेजोकन्स्ट्रिक्शन' नामक अवस्था निम्त्याउँछ, जसले तपाईँका अङ्गहरूमा रगतको प्रवाह घटाउँछ र यो समस्या तालुमा पनि हुन सक्छ।

नियमित रूपमा तालु सफा नगर्दा पनि कपाल झर्ने समस्या निम्तिन सक्छ- कपाल ननुहाएर जीउ नुहाएको बेला पनि कपाल झरिरहेको तपाईँले देखेको हुन सक्छ।

"यदि तपाईँको तालु चिल्लो खालको छ भने हरेक दिन अथवा एक दिन बिराएर कपाल नुहाउँदा जाती हुन्छ," डा. पन्थ सुझाउँछिन्।

उनका अनुसार यदि तपाईँको तालु र हेअरस्टाइल अथवा सुक्खा छ भने सातामा कम्तीमा तीन पटक टाउको नुहाउनुपर्ने हुन्छ।

कपाल प्रत्यारोपण समाधान हो?

कपाल प्रत्यारोपण

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कपाल प्रत्यारोपण महँगो विधि हो

कपाल प्रत्यारोपण सौन्दर्यसम्बन्धी शल्यक्रिया हो। मानिसहरूले प्रायः आफ्नो रूपप्रति आत्मविश्वास फर्काउनका लागि प्रत्यारोपण गराउँछन्।

महँगो लागतबीच कपाल प्रत्यारोपण लोकप्रिय रहेको छ किनकि यसले तपाईँलाई सबैभन्दा राम्रो दृश्यात्मक परिणाम दिन सक्ने डा. पन्थ बताउँछिन्।

तर उनका अनुसार कतिपय मानिसले यो नबुझ्न सक्छन् कि यदि तपाईँ कपाल प्रत्यारोपणपछि उपचार गर्न रोक्नुहुन्छ भने पाँचदेखि छ वर्षपछि तपाईँ आफ्नो प्राकृतिक कपाल झर्ने स्थितिमा पुग्न सक्नुहुन्छ र तपाईँसँग प्रत्यारोपित कपाल मात्र बाँकी रहन्छ।

केशविशेषज्ञ एनिटान एगिडी कपाल प्रत्यारोपणलाई अन्तिम विकल्पको रूपमा लिनुपर्छ भन्ने धारणा राख्छिन् र यो कपाल झर्ने सबैको समस्याको समाधान पनि होइन।

"कपाल प्रत्यारोपण भनेको चिसोमा बाहिर निस्कँदा ज्याकेट लगाउनु र ज्याकेट लगाएपछि भित्र अरू केही नलगाउनु भएजस्तै हो।"

"केही समयपछि तपाईँले चिसो महसुस गर्न थाल्नुहुन्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।