तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सुनको मूल्य तोलाको रु २.५ लाख नाघ्यो, तर बजारमा 'अभाव'
- Author, पवनराज पौडेल
- Role, बीबीसी न्यूज नेपाली
सुनको माग बढ्न सक्ने प्रक्षेपण गर्दै हालै नेपाल राष्ट्र ब्याङ्कले दैनिक आयात गर्न सकिने सुनको परिमाण बढाइदिएको छ। तर नयाँ व्यवस्थानुरूप सुन नभित्रिएकाले बजारमा सुनको पर्याप्त आपूर्ति हुन नसकेको सुनचाँदी व्यवसायी महासङ्घका एक पदाधिकारीले बताएका छन्।
राष्ट्र ब्याङ्कले पाँच दिनअघि दैनिक आयात गर्न सकिने सुनको परिमाणलाई बढाएर २० केजीबाट २५ केजी पुर्याएको थियो।
"तर ब्याङ्कहरूले उक्त नयाँ व्यवस्थानुरूप सुन आयात गरिसकेका छैनन्," सुनचाँदी व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यले भने, "कतिपय ब्याङ्कले पुरानै मौज्दात सकिइनसकेको बताइरहेका छन्।"
आसन्न तिहारजस्ता चाडबाड र मङ्सिरमा विवाहका लगन धेरै हुने भएकाले यो समयमा सुनको माग बढ्ने गर्छ।
केही समययता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। नेपाली बजारमा बिहीवार तेजाबी सुनको मूल्य प्रतितोला २.५० लाख नाघ्यो।
"नीतिगत निर्णय हुनेबित्तिकै आजको आजै आयात हुने भन्ने हुँदैन," केन्द्रीय ब्याङ्कका सूचना अधिकारी सुमन न्यौपानेले बीबीसीसँग भने, "मङ्सिरसम्मको स्थितिलाई हेरेर मागलाई सहज बनाउने उद्देश्यले उक्त निर्णय गरेका हौँ।"
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य तलमाथि हुँदा त्यसको प्रभाव नेपालमा पनि पर्ने गर्छ।
नेपालमा विभिन्न वाणिज्य ब्याङ्कहरूले सुन आयात गर्दै आएका छन्।
शाक्यले सुनको मूल्य बढ्न सक्ने भनी गरिएका विभिन्न प्रक्षेपणका कारण मानिसहरूले अहिले सुनमा लगानी गर्न खोजिरहेको देखिएको बताए।
'गहनाविशेष'मा बढ्दो रुचि
शाक्यका अनुसार केही निश्चित किसिमका गहनामा मानिसहरूको रुचि बढेको देखिएको छ।
"कतिपय व्यवसायीहरूले सुनको खरिदमा मानिसहरूको रुचि नदेखिएको बताइरहनुभएको छ। मेरो विचारमा उहाँहरूले 'अन्य गरगहना'का कुरा गर्नुभएको हुनुपर्छ," उनले भने, "अहिले अरु गरगहनाभन्दा बेरुवा औँठी र कानमा लगाउने बेरुवा रिङमा मानिसहरूको रुचि बढिरहेको पाइएको छ।"
"भारतीय सञ्चारमाध्यमहरूले सुनको मूल्य अझै बढ्न सक्ने प्रक्षेपण गरिरहेकाले त्यसको प्रभाव (नेपाली बजारमा) परेको हुन सक्छ। सुनमा लगानी गर्ने मनसाय हुनेहरूले अन्य गरगहनाका तुलनामा ज्याला र जर्ती धेरै नजाने भएकाले बेरुवा औँठी र रिङलाई सजिलो विकल्पका रूपमा लिएको देखिन्छ।"
सुनचाँदी व्यवसायी महासङ्घका शाक्य बजारको मागलाई सम्बोधन गर्न राष्ट्र ब्याङ्कले सुन आयातको मासिक सीमालाई वर्षमा रूपान्तरित गर्नु उपयुक्त हुने धारणा राख्छन्।
"उदाहरणका निम्ति (अहिलेको व्यवस्थाले) कोटाले अनुमति दिएजति सुन यो महिना भित्रिन सकेन भने बाँकी अर्को महिना ल्याउँछु भन्न पाइँदैन," उनले भने, "तर वर्षभरिका निम्ति दैनिक २५ केजीको हिसाबले जहिले ल्याए पनि हुने गरी सुन आयात गर्न दिइयो भने त्यसले बजारलाई सहज तुल्याउँछ।"
राष्ट्र ब्याङ्कका न्यौपाने केन्द्रीय ब्याङ्कले माग र आपूर्तिको स्थिति हेरेर उपयुक्त निर्णय लिने गरेको बताउँछन्।
"सुनको माग र आपूर्तिलाई हेरेर यस्ता निर्णय लिने गर्छौँ। कहिलेकाहीँ विदेशी विनिमयको स्थितिले पनि आयात कोटालाई प्रभावित तुल्याउँछ," न्यौपानेले बीबीसीसँग भने, "अहिले चाहिँ माग पनि बढेको र मङ्सिर आउँदै गरेका कारण 'सीजन' भएकाले पनि सीमा बढाएका हौँ।"
"नीतिगत कुरा भएकाले बजारको आजको स्थितिलाई मात्रै नभई केही परसम्म हेरेका छौँ।"
राष्ट्र ब्याङ्कले एकीकृत परिपत्र, २०८१ मा संशोधन गर्दै दैनिक आयात गर्न सकिने सुनको कोटा बढाएको थियो।
यसपालि तिहारमा राष्ट्रब्याङ्कले सुनका असर्फी नबेच्ने
तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र ब्याङ्कले काठ्माण्डूको बबरमहलस्थिति टक्सार महाशाखाबाट चाँदीका सिक्काको बिक्री सुरु गरेको छ।
यमपञ्चकको पहिलो दिन धनत्रयोदशी (धनतेरस)का अवसरमा सुनचाँदी किन्ने चलन नेपालमा पनि बढ्दै गएको छ।
"अघिल्ला वर्षसम्म सुनका असर्फी पनि बेच्थ्यौँ," सहप्रवक्ता न्यौपानेले भने, "माग धेरै हुने भएका कारण समयमै तयार गर्न नभ्याइने स्थितिले गर्दा यस पटक सुनको असर्फीको उत्पादन भएन।"
व्यावसायिक नभई नेपालको धार्मिक र सांस्कृतिक पक्षलाई दृष्टिगत गर्दै पूजाआजाका निम्ति सिक्काहरू बिक्री गर्ने गरिएको उनले बताए।
टक्सार महाशाखाकी प्रमुख प्रतिभा अधिकारीका अनुसार चाँदीका सिक्का खरिद गर्न महाशाखामा क्रेताहरूको सङ्ख्या बढ्दै जान थालेको छ।
"हामीसँग अहिले १०-१० ग्राम तौलका चार किसिमका सिक्काहरू छन्। त्यसमा गणेश, लक्ष्मी, गजलक्ष्मी र गाईको चित्र अङ्कित गरिएको छ," अधिकारीले भनिन्, "प्रतिव्यक्ति चार वटासम्म दिने गरेका छौँ।"
उनका अनुसार ती सिक्काहरू महाशाखाको कार्यालयबाहेक अन्यत्र उपलब्ध छैनन्।
"प्रतिसिक्का मूल्य ३,२०० रुपैयाँ तोकिए पनि त्यो चाँदीको बजार मूल्यअनुरूप हेरफेर हुन सक्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।