जापानमा साइबर आक्रमणका कारण असाही कम्पनीको बिअर अभाव

    • Author, ‌‌ओजमन्ड चिआ
    • Role, व्यापार संवाददाता

एउटा ठूलो साइबर आक्रमणका कारण असाही ग्रूपका उद्योगहरूको सञ्चालन प्रभावित भएपछि जापानमा उसका बीअर तथा बोतलमा भरिएको चियासहितका उत्पादनहरूको अभाव सिर्जना भएको छ।

साइबर आक्रमणबाट अर्डर तथा डेलिभरी प्रणाली प्रभावित हुँदा असाही ग्रूपका अधिकांश उद्योगहरू सोमवारबाट ठप्प रहेका उक्त कम्पनीले जनाएको छ।

सेभेन-इलेभेन र फ्यामिलीमार्टसहितका जापानस्थित प्रमुख खुद्रा विक्रेताहरूले ग्राहकहरूलाई असाहीका उत्पादनहरूको अभाव हुने चेतावनी दिएका छन्।

प्रतिक्रियाका लागि बीबीसीले उक्त कम्पनीसँग सम्पर्क गरेको छ।

असाहीले हालका लागि अर्डरहरू लिन तथा उत्पादनहरू पठाउने कार्य निलम्बित गरेको र "तत्काल ती शुरू हुने कुनै सम्भावना नदेखिएको" फ्यामिलीमार्टले बिहीवार एउटा विज्ञप्तिमार्फत्‌ जनाएको छ।

ग्राहकवर्गमा क्षमायाचना

जापानका सबैभन्दा ठूला स्टोरहरू रहेका उक्त खुद्रा विक्रेता कम्पनीले असाहीद्वारा उत्पादित फेमिमारु बोतल चियाहरूको आपूर्ति कम हुने अथवा अभाव नै हुने बताएको छ।

"ग्राहकवर्गमा पर्न गएको असुविधाका लागि हामी साँच्चिकै क्षमाप्रार्थी छौँ," असाहीका उत्पादनहरूको विक्री पूर्ववत्‌ अवस्थामा फर्काउन उसँग मिलेर काम गरिरहेको जनाउँदै फ्यामिलीमार्टले भनेको छ।

जापानी स्वामित्वको सेभेन-इलेभेनले सुपर ड्राई नामक बीअरसहित असाहीका उत्पादनहरूको ढुवानी रोकेको जनाएको छ।

सेभेन-इलेभेनका एक प्रवक्ताले असाहीका उत्पादनहरूको अभावको सामना गर्नुपर्ने कुरा पसलहरूलाई भनिसकिएको बताएका छन्।

जापानको अर्को प्रमुख खुद्रा विक्रेता लसनले शुक्रवारदेखि असाहीका उत्पादनहरूको आपूर्ति कम हुने अपेक्षा उसले गरेको जनाएको छ।

ग्राहकवर्गमा पर्ने असरलाई न्यूनीकरण गर्नका निम्ति वैकल्पिक उत्पादनहरू राख्ने लसनले उल्लेख गरेको छ।

कम्पनी प्रयासरत

जापानी सुपरमार्केट चेन लाइफ कोअपरेशनले पनि असाहीका उत्पादनहरूको अब छिटै अभाव हुने चेतावनी दिएको छ।

असाही जापानको सबैभन्दा ठूलो बीअर उत्पादक कम्पनी हो। असाही यूकेमा फ्यूलर्स र पेरोनी, पिल्स्नर ऊर्क्वेल तथा ग्रोल्ससहितका ग्लोबल ब्र्यान्डहरूको स्वामित्वकर्ता पनि हो।

त्यसका कुल विक्रीमध्ये जापानको हिस्सा लगभग आधा रहेको छ।

बीअरबाहेक असाहीले सफ्ट ड्रिङ्क्स र खानेकुरा उत्पादन गर्नुका साथै फ्यामिलीमार्ट जस्ता खुद्रा विक्रेताहरूलाई आफ्नो ब्र्यान्डका सामानहरू उपलब्ध गराउँछ।

प्रणालीमा देखिएको विफलताको असर जापानसम्म मात्र सीमित रहेको र युरोपतिरको व्यापार प्रभावित नभएको असाहीले यसै साताको शुरूतिर बताएको थियो।

ग्राहकहरूका व्यक्तिगत सूचना भने "चुहावट भएको कुनै पुष्टि नभएको" पनि उसले उल्लेख गरेको थियो।

"घटनाको कारणबारे हामीले सक्रियतापूर्वक अनुसन्धान गरिरहेका छौँ र पूर्ववत्‌ अवस्थामा सञ्चालन गर्नतर्फ हामी लागिपरेका छौँ। तथापि पुनः सञ्चालनमा आउन लाग्ने समयको अनुमान गर्न सकिएको छैन," साइबर हमलापछि उसले भनेको थियो

टोक्योबाट चिका नाकेयामाको अतिरिक्त रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।