कछुवामा पनि मानिसहरूमा जस्तै 'भावना हुन्छ'

तस्बिर स्रोत, Getty Images
- Author, हाली फिलिप्स
- Role, बीबीसी न्यूज
कछुवामा पनि मानिसमा जस्तै सकारात्मक सोचसहितका भावना हुने यूनिभर्सिटी अफ लिन्कनले गरेको एउटा अध्ययनले पत्ता लगाएको छ।
वैज्ञानिकहरूका अनुसार परीक्षणहरूले 'रेड-फुटेड टर्टस' भनिने खुट्टामा राता कत्ला हुने कछुवाहरूमा स्तनपायी जीव र चराचुरुङ्गीमा जस्तै दीर्घकालीन मनोदशा हुने देखाएका छन्।
अहिले पत्ता लागेको तथ्यले प्राकृतिक वासस्थानबाहिर बन्धनमा राखिने जीवहरूलाई कसरी स्याहार गर्नुपर्छ भन्ने कुरालाई परिवर्तन गर्न सघाउने उक्त विश्वविद्यालयका प्रवक्ताले बताएका छन्।
जनावरहरूको स्वभाव र पशुकल्याणबारे अध्ययन गर्ने प्राध्यापक ओलिभिर बर्न्म्यान अहिले वैज्ञानिकहरूले पत्ता लगाएको कुरा "सरीसृपहरूले कस्तो अनुभूति गर्छन् भन्ने हाम्रो बुझाइमा ठूलो परिवर्तन" भएको ठान्छन्।
अनुसन्धानकर्ताहरूले वैज्ञानिक नाम 'केलोनोइडिस कार्बोनारिआ' (Chelonoidis carbonaria) भएको 'रेड-फुटेड टोर्टस'मा अध्ययन गरेका थिए।
पन्ध्रवटा कछुवामा गरिएको उक्त अध्ययनमा उनीहरूले प्रायजसो स्तनपायी जीव र पक्षीहरूको अध्ययनमा प्रयोग गरिने 'कग्निटिभ बायस टेस्ट' अर्थात् सङ्ज्ञानात्मक पूर्वाग्रह परीक्षणको विधि उपयोग गरेका थिए।
'बुझाइमा ठूलो परिवर्तन'

तस्बिर स्रोत, Getty Images
यो विधिमा अस्पष्ट परिस्थितिमा कछुवाहरूले कस्तो महसुस गर्छन् र कसरी प्रतिक्रिया व्यक्त गर्छन् भन्ने परीक्षण तथा विश्लेषण गरियो।
"समृद्ध वातावरण"मा बस्ने कछुवाहरू सकारात्मक र आशावादी भएको पाइयो।
कछुवाहरूलाई नयाँ वस्तुहरूको सम्पर्कमा र अपरिचित वातावरणमा राखेर विज्ञहरूले तिनमा 'एङ्जाइटी' सम्बन्धी परीक्षण पनि गरेका थिए।
सङ्ज्ञानात्मक परीक्षणमा बढी सकारात्मक निर्णय गरेका कछुवाहरू कम आत्तिएको वा कम चिन्तित भएको नतिजाले देखायो।
यूनिभर्सिटी अफ लिन्कनका प्रवक्ताका अनुसार जनावरहरूमा पनि दीर्घकालीन मनोदशा हुन्छ भन्ने देखाउने यो नै पहिलो स्पष्ट प्रमाण हो।
प्राणीहरूको सङ्ज्ञानका विषयमा विशेषज्ञता भएकी प्राध्यापक आना विल्किन्सन भन्छिन्, "पशुकल्याणसम्बन्धी चिन्ताहरूको आधार जनावरहरूमा भावनात्मक अवस्था अनुभूति गर्न सक्ने क्षमता हुन्छ भन्ने प्रमाण हो।"
"सरीसृपहरूलाई पनि घरमा पाल्ने चलन बढ्दै जाँदा हामीले तिनको मनोदशा र भावनाबारे पनि अध्ययन गर्नुपर्छ र बन्धनमा राख्दा तिनलाई कस्तो प्रभाव पर्छ भन्ने बुझ्ने प्रयास गर्नुपर्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








