यी हुन् फाइनलमा प्रभाव जमाउन सक्ने पाँच नेपाली महिला खेलाडी

- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
काठमाण्डूमा सञ्चालन भइरहेको चार देशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाली टोली एक खेल खेल्नु अगाडि नै फाइनलमा प्रवेश गरिसकेको छ।
यद्यपि किर्गिस्तान र लेबनन दुवै टोलीविरुद्ध पाएको १-० को समान स्कोरको जित हासिल गर्ने क्रममा नेपाली खेलाडीहरूले निकै सङ्घर्ष गर्नु पर्यो।
नेपालले अब म्यान्मारसँग दुई खेल खेल्नेछ। एउटा लीगको अन्तिम खेल र अर्को फाइनल प्रतिस्पर्धा।
हुन त मैदानमा सबै खेलाडीहरूको भूमिका बराबर हुन्छ। तर अहिलेसम्मको प्रदर्शन हेर्दा बाँकी दुई खेलमा केही खेलाडीहरूको भूमिका अझ महत्त्वपूर्ण हुने देखिएको छ।
ती खेलाडीहरू को-को होलान्?
एन्जिला तुम्बाप्पो सुब्बा - गोलकिपर
कप्तानसमेत रहेकी गोलकिपर एन्जिला युरोपको ग्रीसमा व्यावसायिक फुटबल खेलेर फर्केपछि केही फरक देखिएकी छिन्।
किर्गिस्तान र लेबननसँगको दुई खेलमा उनले 'काउन्टर अट्याक' भएका बेला गजबको बचाउ गरिन्।

यसले के देखाएको छ भने उनमा पहिलेभन्दा अलग आत्मविश्वास र अनुभव बढेको छ। दुई खेलमा उनले 'क्लिन सिट' पनि राखिन् वा भनौँ आफ्नो पोस्टमा गोल हुन दिइनन्।
यद्यपि केही सुधारको पक्ष अझै बाँकी छ। जस्तो कि गोल हुन सक्ने अति डरलाग्दो अवस्थामा उनको बलसँगको 'कन्ट्याक्ट' टुट्ने गरेको विश्लेषकहरूले बताउने गरेका छन्।
आगामी खेलमा उनले उक्त पक्षमा सुधार गर्न जरुरी रहेको उनीहरूको सुझाव छ।
गीता राना - डिफेन्डर
नेपाली रक्षापङ्क्तिकी खम्बाका रूपमा गीता रानाको नाम अगाडि आउँछ।
उनी सधैँ फिट देखिन्छिन्। शारीरिक उचाइ राम्रो हुनु उनको लागि 'फाइदाजनक' भएको छ।
मध्य रक्षापङ्क्तिमा आत्मविश्वासी भएर खेल्ने गीताका कारण अन्य खेलाडीहरू ढुक्क हुने गर्छन्।
पेनाल्टी र फ्री किक प्रहारमा उनको 'निसाना' निकै राम्रो छ।

यद्यपि जारी प्रतियोगितामा उनीबाट एक दुई डरलाग्दा गल्ती हुन गएको देखियो। जसले गर्दा नेपालले झन्डै गोल खान पुगेको थियो।
गोलकिपर एन्जिलासँग उनको तालमेलमा कमजोरी भएको जस्तो पनि कतिपयले औँल्याएका छन्।
गीताले आगामी दुई खेलमा यसमा सजग हुनुपर्ने तिनले औँल्याएका छन्।
रेनुका नगरकोटे - मिडफिल्डर
मध्यपङ्क्तिमा भरोसायोग्य रहेकी रेनुका नगरकोटेले जारी प्रतियोगितामा निकै राम्रो प्रदर्शन गर्दै आएकी छन्।
राष्ट्रिय टोलीकी पूर्वकप्तान रेनुकाले दुई पटक घाइते भएर पनि टिममा गजबले पुनरागमन गरेकी छन्।

मिडफिल्डमा उनले मज्जाले खेल नियन्त्रणमा राख्ने गरेकी देखिन्छिन्।
कहिले रक्षापङ्क्तिमा फर्कन त कहिले विपक्षीको गोलपोस्टमा आक्रमणमा जान सक्ने खुबी भएकी रेनुका र प्रीति राईको जोडीलाई धेरै विश्लेषकहरूले प्रशंसा गरेका छन्।
बाँकी दुई खेलमा उनले यही शैलीलाई निरन्तरता दिए पुग्ने उनीहरू ठान्छन्।
प्रीति राई - मिडफिल्डर
प्रीति राई राष्ट्रिय टोलीकी अर्की कुशल खेलाडी हुन्।
जारी प्रतियोगितामा उनको बल छलाउने र पास दिने कलाको खुब प्रशंसा भइरहेको छ।
लामो पासमा पनि सही ठाँउमा बल फ्याल्न सक्ने उनको मुख्य विशेषता मानिन्छ।
प्रशिक्षक राजेन्द्र तामाङका अनुसार प्रीति उनको रणनीति बुझ्ने र त्यही अनुसार खेल्न सक्ने खेलाडीमा अगाडि छिन्।

उमेर समूहको सबै खेल खेलिसकेकी प्रीति आक्रमणमा पनि उत्तिकै प्रभावशाली छिन्।
यद्यपि बललाई लामो समय आफ्नो साथ राखेर खेल्ने गर्दा उनी थुप्रै पटक विपक्षीको निसानामा पर्ने गरेको बताइन्छ। जसले उनलाई चोट लाग्न सक्ने जोखिम बढ्ने देखिएको छ।
म्यान्मार छरितो टोली भएकोले अबको दुई खेलमा प्रीतिले यसमा सजग हुनु जरुरी देखिन्छ।
सावित्रा भण्डारी - स्ट्राइकर
साम्बा नामले चर्चित स्ट्राइकर सावित्रा भण्डारी नेपालको मात्र नभई दक्षिण एशियाकै उत्कृष्ट स्ट्राइकरमध्येमा पर्छिन्।
बलमाथिको नियन्त्रण र उनको तीव्र गतिलाई भेट्टाउन विपक्षी टोलीलाई हम्मे हम्मे पर्ने गर्छ।
फ्रान्सबाट फर्केकै दिन किर्गिस्तानविरुद्ध दोस्रो हाफमा मैदान ओर्लिए पनि उनी त्यो खेलमा जम्न सकिनन्।

दोस्रो खेलमा चाहिँ उनको प्रदर्शन राम्रो रहेको थियो।
यद्यपि यस प्रतियोगितामा दर्शकले सावित्राको असली र विपक्षीका निम्ति खतरनाक हुने गरेको स्वरूप देख्न अझै पाइसकेका छैनन्।
म्यान्मारविरुद्धको खेलमा उनले आफ्नो क्षमता प्रदर्शन गर्न सकेको खण्डमा नेपालले घरेलु मैदानमा उपाधि जित्ने सपना पूरा गर्न सक्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








