रुस-अमेरिकाबीचको अन्तिम परमाणु अस्त्र नियन्त्रण सन्धिको म्याद गुज्रिएपछि अब नयाँ होडबाजीको चिन्ता

    • Author, जनाथन बिल
    • Role, रक्षा सम्वाददाता
  • पढ्ने समय: ३ मिनेट

अमेरिका र रुसलाई तिनको परमाणु अस्त्र भण्डारको अनियन्त्रित विस्तारबाट रोक्ने अन्तिम सन्धिको म्याद गुज्रिएपछि अब संसारमा अस्त्र विस्तारको नयाँ होडबाजी सुरु हुने डर बढेको छ।

सन् २०१० मा हस्ताक्षर गरिएको 'न्यू स्टार्ट' भनिने स्ट्र्याटजिक आर्म्स रिडक्सन ट्रिटी, विनाशकारी परमाणु युद्ध रोक्नका निम्ति निर्मित केही महत्त्वपूर्ण सम्झौताहरू मध्येको एक थियो।

दुवै देशले उक्त सन्धि नविकरणमा चासो नदेखाएपछि बिहीवार उक्त सम्झौताको म्याद गुज्रिएको छ।

किन महत्त्वपूर्ण थियो 'न्यू स्टार्ट'?

उक्त सन्धिले अमेरिका र रुसलाई तिनले रणनीतिक परमाणु वारहेडहरूको परिचालन सङ्ख्यालाई १,५५० मा सीमित गरिदिएको थियो। साथै डेटा प्रसार, सूचना आदानप्रदान तथा स्थलगत निरीक्षणजस्ता विषयमा यसले पारदर्शिता स्थापना गरेको थियो।

यसको म्याद गुज्रिनुले शीत युद्ध अन्त्य गराउन समेत मद्दत गरेको वाशिङ्टन र मस्कोबीचको आपसी अस्त्र नियन्त्रण सहयोग अब बन्द भएको सङ्केत गर्छ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरजले सन्धिको म्याद गुज्रिनुलाई "अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका निम्ति गम्भीर समय" भनेका छन्।

उनले वाशिङ्टन र मस्कोलाई नयाँ सन्धि गर्न आह्वान गर्दै दशकौँ यता परमाणु अस्त्र प्रयोगको खतरा अत्यधिक बढेको पनि औँल्याए।

बुधवार पोप लिओले पनि अमेरिका र रुसलाई सन्धि नविकरण गर्न आह्वान गरेका थिए। वर्तमान विश्व परिस्थितिमा नयाँ अस्त्र होड रोक्न सबथोक गर्नु पर्ने उनले बताएका थिए।

यसअघि रुसी विदेश मन्त्रालयले अब आफ्नो देशलाई न्यू स्टार्ट सन्धिका प्रावधानहरूले नबाँध्ने भन्दै तर आफू जिम्मेवार ढङ्गबाट प्रस्तुत हुने जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसअघि बोल्दै भविष्यमा हुने सन्धिमा चीन समेत समावेश हुनु पर्ने आफ्नो धारणा रहेको सुनाएका थिए।

के-के थियो सन्धिमा?

अमेरिका र सोभियत युनियनले सुरुमा सन् १९९१ मा हस्ताक्षर गरेको स्टार्ट सन्धिले दुवै देशलाई ६ हजारभन्दा धेरै परमाणु वारहेड परिचालन गर्नबाट रोकेको थियो।

त्यसको नयाँ संस्करण सन् २०१० मा प्रागमा हस्ताक्षर गरियो। न्यू स्टार्ट नामक उक्त सन्धि अमेरिका र विघटित सोभियत युनियनको उत्तराधिकारी रुसबीच भएको थियो।

युक्रेन युद्धको तनावका माझ रुसले उक्त सन्धि तीन वर्ष अगाडि नै निलम्बन गरेको बताए तापनि दुवै देशले सन्धिको पालना जारी राखेको ठानिएको थियो।

सन्धिले परमाणु हतियारको अनियन्त्रित विस्तार रोक्नुका साथै विशाल परमाणु अस्त्र भण्डार भएका दुई देशबीच पारदर्शिता कायम गराएको थियो ताकि एकअर्काको नियतबारे गलत निर्क्योल हुन नपुगोस्।

यस सन्धिको म्याद गुज्रिनुले एउटा चिन्ताजनक प्रवृत्ति देखापरेको छ। अन्य दीर्घकालीन अस्त्र नियन्त्रणका सन्धिहरूको यसअघि नै मिति गुज्रिसकेका छन्।

ती हुन्:

  • इन्टरमिडियट रेन्ज न्यूक्लिअर फोर्सेज अग्रिमेन्टले युरोपभित्र छोटा दूरीमा मार हान्न सक्ने परमाणु अस्त्रहरूको परिचालन लगभग समाप्त गरिदिएको थियो।
  • ओपन स्काइज ट्रिटीले अमेरिका र रुसलगायतका पक्ष राष्ट्रहरूलाई एकअर्काको भूमिमा सैन्य फौजको अनुगमन गर्न विनाअस्त्रका निरीक्षण उडान गर्न अनुमति दिन्थ्यो।
  • कन्भेन्सनल आर्म्ड फोर्सेज इन युरोप ट्रिटीले युरोपभित्र नेटो तथा रुसले परिचालन गर्न सक्ने ट्याङ्क, फौज तथा आर्टिलरी प्रणालीको सङ्ख्या सीमित गरिदिएको थियो।

नयाँ अस्त्र होडबाजी

यूकेस्थित आरयूएसआई शोधसंस्थाकी वरिष्ठ अनुसन्धानकर्ता डार्या डोल्जिकोभाले न्यू स्टार्ट सन्धिको म्याद गुज्रिनुलाई चिन्ताजनक भनेकी छन्। दुवैतिर रणनीतिक क्षमता विस्तार गर्ने चाहनाका कारण यसलाई चिन्ताजनक मान्नुपर्ने उनको धारणा छ।

अमेरिका र रुस दुवैले हाल तिनको परमाणु शक्ति तथा रणनीतिक क्षमताको आधुनिकीकरण गरिरहेका छन्। नयाँ अस्त्र होडबाजी सुरु भइसकेको छ।

डोल्जिकोभाका अनुसार रुसको मनमा आफ्ना अस्त्रले अमेरिकी हवाई रक्षा प्रणाली चिर्न नसक्ला कि भन्ने चिन्ता रहेको छ। ट्रम्पले उत्तर अमेरिकालाई लामो दूरीका अस्त्रबाट जोगाउन 'गोल्डन डोम' प्रणाली विकास गर्ने योजना अघि सारेपछि रुस थप चिन्तित भएको उनले बताइन्।

तर रुस आफैँले पनि हवाई प्रणालीलाई जित्ने नयाँ अस्त्रको विकास गरिरहेको छ। तिनमा पोजाइडन नामक नयाँ अन्तरमहादेशीय परमाणु अस्त्र एवं परमाणु क्षमतायुक्त समुद्रमुनिबाट मार हान्न सकिने टर्पेडो तथा बुरेभेस्तनिक नामक परमाणु क्षमता र अस्त्रयुक्त क्रुज क्षेप्यास्त्र रहेका छन्।

अमेरिका, रुस र चीन सबैले लामो दूरीका हाइपरसोनिक क्षेप्यास्त्र विकास गरिरहेका छन्। तिनको गति ६,४३७ किलोमिटर प्रतिघण्टा रहने र तिनलाई मार गिराउन कठिन हुने ठानिन्छ।

ती विस्तार भइरहेका सैन्य क्षमताका कारण नयाँ अस्त्र नियन्त्रण सन्धि गर्न 'झन् कठिन' हुने डोल्जिकोभाले बताइन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।