दक्षिण कोरियाको के-ब्युटी उद्योगलाई ट्रम्पको करले कसरी असर पारिरहेको छ

एक महिला मेकअप गर्दै

तस्बिर स्रोत, Getty Images

    • Author, ऊज्मन्ड चा
    • Role, बिजनेस रिपोर्टर, बीबीसी न्यूज

दक्षिण कोरियाले अमेरिकामा निर्यात गर्ने सबैभन्दा ठूलो निर्यात सामग्री मध्ये कार र स्मार्टफोन हुन सक्छन्। तर यस एसियाली देशको सौन्दर्य उत्पादनहरूभन्दा बढी प्रेरित गर्ने थोरै वस्तुमात्र छन्। ।

के-ब्युटी एउटा त्यस्तो शब्दावली हो जसले दक्षिण कोरियाको स्किन केयर, मेकअप र कस्मेटिकको व्यापकतालाई समेट्छ। के-ब्युटीको गुणस्तर र मूल्यका कारण यस्तो प्रशंसा हुन्छ र हालैका वर्षहरूमा यसको माग अत्यन्तै बढेको छ।

दक्षिण कोरियाली संस्कृतिप्रति विश्वव्यापी आकर्षणले पनि यसको कस्मेटिकको लोकप्रियता बढाउन मद्दत गरेको छ।

अमेरिकास्थित पर्ल म्याकले बीबीसीलाई बताए अनुसार उनले के-ब्युटीका उत्पादनहरूबारे आफ्नी साथीबाट थाहा पाएकी थिइन्। २७ वर्षीया ग्राफिक डिजाइनरका अनुसार दक्षिण कोरियाली सिरम उनको छालाका लागि केही पश्चिमी ब्रान्डको तुलनामा बढी सुहाउँछ।

अहिले "९५ प्रतिशतभन्दा बढी मैले प्रयोग गर्ने स्किन केयर के-ब्युटीका उत्पादनहरू हुन्", उनले थपिन्।

दक्षिण कोरियाली स्किनकेयर ब्र्यान्डका उत्पादन रोजाइमा पर्ने म्याक एक्ली होइनन्। अमेरिकीहरूले सन् २०२४ मा के–ब्युटी उत्पादनमा १ अर्ब ७० करोड अमेरिकी डलर खर्च गरेको उद्योगको अनुमान छ। यो अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतले बढी हो।

के-ब्युटी उत्पादनहरू प्राय: पश्चिमीहरूको भन्दा बढी आकर्षक मूल्यका हुन्छन्। अनि त्यसमा सामग्रीहरू पनि सामान्यतया पश्चिममा फेला नपर्ने हार्टलीफदेखि शङ्खे किराले निकाल्ने म्युसिनसम्म हुने गर्छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दक्षिण कोरियाली सामानमा १५ प्रतिशत ट्यारिफ वा आयात कर लगाएका छन्।

यो ट्रम्पले यसअघि लगाउँछु भनेको २५ प्रतिशतभन्दा कम हो तर धेरै उपभोक्ताहरूलाई यसले पनि असर पार्छ।

ट्रम्पले विश्वका अधिकांश भूभागमा अमेरिकी आयात कर लगाउने घोषणा गरे लगत्तै अमेरिकी के–ब्युटी खुद्रा बिक्रेता सँटे ब्र्यान्डको अर्डरमा एप्रिल महिनामा करिब ३० प्रतिशतले वृद्धि भएको थियो।

सँटे ब्र्यान्डका संस्थापक शयेन वेयरले बीबीसीसँग भनिन्, "जब करको घोषणाहरू भए ग्राहकहरूले सामना कसरी गर्ने भनेर रणनीतिक रूपमा बुझेका थिए।"

"उपभोक्ताहरू अनिश्चितताविरुद्ध तयारी गरिरहेका छन्।"

अर्को के-ब्युटी खुद्रा बिक्रेता सेन्टी सेन्टीले ट्रम्पले कर बढाउने धम्की दिन थालेदेखि नै धेरै उत्पादनहरू अर्डर गरिरहेको व्यवस्थापक विनी जुङ बताउँछिन्।

यो साता आपूर्तिकर्ताहरूले उनलाई "ट्यारिफ लाग्नुअघि नै सामान भण्डारण गर्न" भन्दै सचेत गराए।

दुवै खुद्रा विक्रेताहरूले करहरूले उद्योगमा लागत बढाउने भएका कारण के-ब्युटी उत्पादनहरूको मूल्य बढ्ने देखिएको बताएका छन्।

"अर्को दुई वर्षसम्म मूल्य अहिलेजस्तै रहन्छ भनेर सोच्नु मूर्खता हुने छ," वेयरले भनिन्।

युनिभर्सिटी अफ क्यालिफोर्निया सान डियागोका अर्थशास्त्री मनसिब लीका अनुसार थोरै फाइदा राखेर बिक्री गर्ने अमेजनजस्ता अनलाइन विक्री गर्ने ठाउँमा सौन्दर्य उत्पादनका सामग्रीमा मूल्य बढ्ने निश्चित छ।

उच्च मूल्यको बावजुद दक्षिण कोरियाली संस्कृतिको विश्वव्यापी लोकप्रियताको कारण के-ब्युटी उत्पादनहरूको अमेरिकामा माग रहिरहने सम्भावना रहेको उनले बताए।

"सामान्य खरिदकर्ताहरूले महँगो मूल्यका कारण नकिन्न सक्छन् तर जो प्रशंसक हुन् उनीहरूले सजिलै अरू विकल्प रोज्दैनन्।"

जुङ यसमा सहमत छिन्। उनलाई लाग्छ कि उपभोक्ताहरूले अझै पनि के-ब्युटी उत्पादनहरू किन्न खोज्छन् तर मूल्य बढ्नुको अर्थ उनीहरूले विगतमा भन्दा कम सामग्रीहरू मात्रै किन्ने छन्।

उच्च मूल्यले म्याकलाई आफ्ना मनपरेका उत्पादनहरू किन्न रोक्ने सम्भावना छैन।

"मूल्य कति बढ्छ भन्नेमा भर पर्छ, तर अहिले म त्यही सामान किन्नका लागि थप पैसा तिर्न तयार छु," उनले भनिन्।

'सजिलो विकल्प छैन'

दक्षिण कोरियास्थित व्यापारसम्बन्धी कन्सलटेन्ट एयाल भिक्टोर मामोउका अनुसार ठूला के–ब्युटी ब्र्यान्डहरू आफ्ना साना प्रतिस्पर्धीको तुलनामा थप ट्यारिफ बेहोर्न सक्ने राम्रो अवस्थामा छन्।

यी ठूला कम्पनीहरूले आफ्ना ग्राहकहरूको लागि ठूलो मूल्य वृद्धिबाट बचाउन सक्नेछन् किनभने उनीहरूसँग फाइदाको मार्जिन पनि धेरै रहने उनी बताउँछन्।

तर दक्षिण कोरियामा आफ्ना उत्पादनहरू बनाउने साना के-ब्युटी कम्पनीहरूका लागि भने लागत अनुसार फाइदा उठाउन मुस्किल हुने उनी बताउँछन्।

"यो लागू हुन केही समय लाग्नेछ किनकि छोटो अवधिमा बेचिएका अधिकांश सामानहरू पहिले नै हालको मूल्यमा पठाइएको छ, तर त्यो छिट्टै नै सकिनेछ।"

के-ब्यूटी उत्पादनहरू दक्षिण कोरियाली संस्कृतिको लोकप्रियताका कारण चर्चामा छन्

तस्बिर स्रोत, Getty Images

हालैका दिनहरूमा, राष्ट्रपति ट्रम्पले जापान र युरोपेली सङ्घसँग सम्झौता गरेका छन् जसले अमेरिकामा उनीहरूको निर्यातलाई दक्षिण कोरियालाई जस्तै १५ प्रतिशत ट्यारिफ लाग्नेछ।

यसको अर्थ विश्वका केही ठूला कस्मेटिक ब्र्यान्डहरू रहेका देशहरूले के-ब्युटी उद्योगको रूपमा समान आयात शुल्कहरूको सामना गर्छन्।

ट्रम्पको व्यापार नीतिको महत्त्वाकाङ्क्षा भनेको अमेरिकामा नै धेरै भन्दा धेरै सामानहरू निर्माण होउन् भन्ने हो।

तर यसको अर्थ अमेरिकी उपभोक्ताहरूले अमेरिकी सौन्दर्य उत्पादनहरू अब किन्छन् वा किन्दैनन् भन्ने हेर्न बाँकी नै छ।

म्याकले अमेरिकामा बनेका उत्पादनहरूलाई आकर्षक विकल्पका रूपमा हेरेकी छैनन्।

"म प्राय: अमेरिकामा बनेका विकल्पहरू खोज्छु तर मैले प्रयोग गर्ने सामग्रीहरू जत्तिकै प्रभावकारी कुनै पनि फेला पार्न सकेकी छैन। त्यसैले म अझै अमेरिकी उत्पादनहरू किन्ने छैन।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।