ग्राहकको इमानको भरमा चल्छन् कर्मचारीरहित मदिरालय र पसल

दक्षिण कोरियामा सञ्चालक वा कर्मचारी उपस्थित नभई चल्ने एउटा मदिरालय
    • Author, डेभिड क्यान, सोल
    • Role, बीबीसी विश्व सेवा

मलाई केही कुरा खाऊँखाऊँ हुँदा दक्षिण कोरियाको राजधानी सोलको बाह्य भागमा मध्यरात भइसकेको थियो। तर खानेकुरा खोज्न कुनै समस्या थिएन। म बसेको ठाउँकै ठिक पारिपट्टि अहोरात्र खुल्ने तीनवटा खाजाघर थिए।

म आइसक्रीम बेच्ने पसलमा गएँ। त्यहाँ विभिन्न प्रकारका आइसक्रीम राखिएका फ्रिजहरू थिए। तर त्यहाँ न कुनै सुरक्षाकर्मी थिए न पसलका सहयोगीहरू नै! त्यहाँ बेच्न राखिएका समानहरू र आफूले लिएको सामानको पैसा तिर्ने एउटा बाकस मात्र थिए।

आफूलाई चाहिएको सामान लिएर पैसा तिरेर फर्किँदा हुन्थ्यो।

आइसक्रीम पसल रहेको भवनमा स्टेशनरी, घरपालुवा जनावरका खानेकुरा र सुशी बेच्ने पसलहरू पनि थिए। ती सबै पसलमा देखिने गरी एक जना पनि बेच्ने मानिस बसेका थिएनन्।

सहरको भिडभाड हुने ठाउँमा त कर्मचारीबिनाका मदिरालयहरू पनि थिए।

"यो स्तरको बार चलाउन मलाई १२ देखि १५ जना कर्मचारी चाहिन्थ्यो। तर यहाँ मैले जम्मा दुई जना राखेको छु," सूल २४ नामक बारका सञ्चालक तथा संस्थापक किम सङ-रे भन्छन्। यसले आफूलाई अन्य व्यवसायमा ध्यान दिने समय मिलेको उनको अनुभव छ।

त्यसअघि उनी नजिकै एउटा ठाउँमा बार चलाउँथे। तर त्यसबाट सोचे जति कमाइ भएन अनि उनी मानवरहित प्रणालीमा गए। उनको आम्दानी पनि बढ्यो।

बच्चाहरू जन्मिने दर न्यून

बच्चालाई मालिस गरिँदिँदै दक्षिण कोरियाली महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दक्षिण कोरिया विश्वकै सबैभन्दा कम जन्मदर भएको देशमध्ये एक हो

दशकौँ देखि घटिरहेको जन्मदर र बढ्दो ज्यालाको मागले दक्षिण कोरिया स्वचालित प्रणालीतिर उन्मुख छ।

दक्षिण कोरियामा प्रजननदर विश्वकै न्यून छ। यो देशमा एक जना महिलाको जीवनकालको औसत जन्मदर ०.७५ प्रतिशत रहेको गत वर्षको अध्ययनले देखाएको थियो।

देशको जनसङ्ख्यालाई स्थिरता दिनका लागि जन्मदर २.१ प्रतिशत पुग्न आवश्यक छ। तर दक्षिण कोरियामा सन् १९८२ पछि कहिल्यै पनि जन्मदर यो स्तरमा पुगेको छैन।

यसको अर्थ श्रमबजारमा प्रवेश गर्ने मानिसहरूको सङ्ख्या प्रत्येक वर्ष घटिरहेको छ। सन् २००० पछि न्यूनतम पारिश्रमिक चाहिँ निरन्तर रूपमा बढ्दो छ।

किमजस्ता व्यवसाय सञ्चालन गर्नेहरूले एक कर्मचारीलाई एक घण्टा काममा लगाएबापत करिब सात डलर ज्याला दिनुपर्छ।

"म मानवरहित प्रणालीमा जानुको प्रमुख कारण नै बढ्दो न्यूनतम पारिश्रमिक हो। यो चुनौतीसँग जुध्नका लागि दुइटा बाटा छन् - रोबट प्रयोग गर्ने वा स्वचालित प्रणालीमा जाने। मैले चाहिँ मानवरहित प्रणाली रोजेँ," किम भन्छन्।

रोबटलाई काममा लगाउन धेरै पैसा र फराकिलो ठाउँ चाहिन्छ।

कोभिड महामारीले पनि उनको स्वचालित प्रणालीलाई सहयोग गर्‍यो। यसो गर्दा ज्याला मात्रै जोगिएन कडा सामाजिक दूरीका मापदण्ड पालनामा पनि सहयोग पुग्यो।

नयाँ पुस्ताको फरक प्राथमिकता

कफी पुर्‍याउने रोबटमा कप राख्दै एक जना मानिस

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कतिपय पसलेले तस्बिरमा देखिएबजस्ता महँगा रोबटहरू पनि प्रयोग गरेका छन्

कतिपयले नयाँ पुस्ताका मानिसहरू फोहोर हुने, जोखिमपूर्ण र कठिन किसिमका काम गर्न नरुचाउने बताउने गरेका छन्।

उत्पादन गर्ने कारखानाहरू, कृषि र खुद्रा पसलहरूमा पाइने रोजगारीमा उनीहरूको रुचि नहुने बताइन्छ।

"नयाँ पुस्ता सहरी क्षेत्रमा मात्रै बस्न रुचाउँछन्।… उनीहरू आफ्नै व्यवसाय सिर्जना गर्न मन पराउँछन्,...वा राम्रो तलब पाइने प्रविधिको जागिर खान मन गर्छन्," चो जङ-हन भन्छन्।

चो दक्षिण कोरियाको सत्तारूढ पीपल्स पावर पार्टीबाट सांसद छन्।

"यो छनोटका लागि अरू नीतिनिर्माताहरूजस्तो म युवा पुस्तालाई दोष लगाउँदिनँ। तथ्याङ्कले के देखाउँछ भने हामीसँग आगामी दिनमा श्रम गर्ने जनशक्ति अझै कम हुने छ। त्यस कारण हामीसँग भएको सीमित जनशक्तिलाई विभिन्न क्षेत्रमा पुर्‍याउनु उत्तम हुने छ," उनी भन्छन्।

कोरियाको एक नीति स्रोतबाट सञ्चालित थिङ्क ट्याङ्क कोरिया इकोनमिक इन्स्टिट्यूटका अनुसार आगामी २० वर्षमा दक्षिण कोरियामा ४३ प्रतिशत रोजगारी स्वचालित प्रविधिका कारण विस्थापित हुने अवस्था आउन सक्छ।

यसको अर्थ मानवरहित पसलहरूको व्यवस्थापन गर्ने कम्नी ब्राउनीका प्रमुख कार्यकारी अधिकृत कोन मिन-जेइजस्ता व्यक्तिहरूका लागि अवसरको ढोका खुल्नु पनि हो। उनले कोभिड महामारीको अन्त्यतिर सन् २०२२ मा आफ्नो व्यवसाय सुरु गरेका थिए।

"हामी मानवरहित लुगा धुने ठाउँ, आइसक्रीम पसल, किरारा पसल, क्याफे, भेप पसल व्यवस्थापन गर्छौँ," उनले बीबीसीसँग भने।

पसलमा बिक्रीका लागि बस्ने मानिसको उपस्थिति नभए पनि सकिएका सामग्रीहरू राख्न, सरसफाइका लागि र व्यवस्थापनका लागि मान्छे चाहिने उनी बताउँछन्। यस्तो काम सुरुमा पसलका सञ्चालकहरूले नै गरे पनि अहिले कोनको कम्पनीले यो कामको जिम्मा लिएको छ।

"हामीसँग स्थानीय कर्मचारीहरू छन्। उनीहरू दिनमा कैयौँ पटक पसलहरू पुग्छन्। यसका सञ्चालकहरूको प्राथमिकता पसलबारे सोच्न नपरोस् भन्ने हुन्छ। पसलको व्यवस्थापन गरिदिएबापत उनीहरूले हामीलाई महिनामा १०० देखि २०० अमेरिकी डलर अतिरिक्त तिर्छन्," उनी भन्छन्।

कोनका अनुसार जम्मा दुइटा पसलको व्यवस्थापन गरेर व्यवसाय सुरु गरेका उनले अहिले १०० वटाभन्दा धेरै स्टोरहरूको व्यवस्थापन गरिरहेका छन्।

चोरी न्यून हुने देश

दक्षिण कोरियाको एक पसल

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

दक्षिण कोरियामा चोरी हुने दर निकै कम छ। यसले पनि मानवरहित पसलहरूको सफलता दर बढाएको छ।

"मानिसहरूले पैसा तिर्न बिर्सिएका घटना छन् तर पछि फोन गरेरै पैसा तिर्छन्। अरू पसलबारे थाहा छैन तर युवाहरू आफ्नो फोन र थैली छोड्न पनि सुरक्षित महसुस गर्छन्," किम भन्छन्।

पसलमा हुने छिटपुट चोरीका कारण कहिलेकाहीँ घाटा पनि भएको उनी स्वीकार गर्छन्। तर यसले उनको व्यवसाय सङ्कटमै परेको चाहिँ छैन।

"केके चोरी हुन्छ भनेर मैले अहिलेसम्म हिसाब गरेको छैन। तर समग्रमा मलाई घाटा छैन। त्यस कारण यो ठूलो समस्या होइन। सुरक्षाकर्मी राख्दा खर्च बढ्छ," उनी भन्छन्।

प्रविधिको विकाससँगै सडकमा स्वचालित कारहरू आउन सुरु भएपछि बिस्तारै सवारी चलाउने कामहरू पनि सङ्कटमा पर्ने ठानिएको छ।

दक्षिण कोरियाले लामो समयदेखि कायम राखेको २ प्रतिशतको आर्थिक वृद्धिलाई निरन्तरता दिन सन् २०३२ सम्म यो देशलाई थप आठ लाख ९०,००० अतिरिक्त कामदारहरू आवश्यक पर्ने आकलन छ।

कोरिया मार्ट लेबर यूनिअनजस्ता कतिपय सङ्गठनहरू भविष्यको श्रमबजारलाई लिएर चिन्तित छन्। तर मानरसहित बार चलाउने किमजस्ता मानिसहरू भने भविष्यको आर्थिक अवसरलाई लिएर आशावादी छन्।

यो समाचार बीबीसी विश्व सेवाको कार्यक्रम बिज्निस डेलीको एउटा शृङ्खलामा आधारित छ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।