तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गाजामा युद्धविराम र बन्धक रिहाइका लागि 'अन्तिम मौका'
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुबीच “सकारात्मक र सौहार्दपूर्ण” रूपमा तीन घण्टा लामो वार्ता भएको उनको कार्यालयले बताएको छ।
नेतन्याहुले बन्धकहरूको रिहाइका निम्ति अमेरिकाले राखेको प्रस्तावप्रतिको प्रतिबद्धता दोहोर्याउँदै इजरेली सुरक्षा चासोलाई केन्द्रमा राखेको बताइएको छ।
यसअघि ब्लिङ्कनले गाजामा युद्धविराम र बन्धक रिहाइका निम्ति सम्झौता गर्न “अहिले सम्भवतः सबैभन्दा राम्रो र अन्तिम मौका” भएको बताएका थिए।
इजरेली राष्ट्रपतिसँग सोमवार भएको एउटा भेटघाटका क्रममा पछिल्लो अभिव्यक्ति दिएका ब्लिङ्कनले गत अक्टोबरमा युद्ध शुरू भएयता सो क्षेत्रको भ्रमण गरेको यो नवौँ पटक हो।
सहमतिबारे अमेरिकी आशा
गत साता दोहामा वार्ता पुनः शुरू भएपछि सहमतिमा पुगिनेमा अमेरिकाले आशा व्यक्त गरेको छ।
तर हमासले गाजाबाट इजरेली सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने भनी सम्झौतामा समेटिनुपर्ने विषयमा प्रगति नभएको भन्दै आशङ्का व्यक्त गरेको छ।
“सहमति हुनबाट टाढा लैजाने गरी युद्ध नचर्कियोस्, एकअर्कालाई उक्साउने काम नहोओस् भन्ने कुरा सुनिश्चित गर्न आफूहरू लागिपरेको” ब्लिङ्कनले बताएका छन्।
“अक्टोबर ७ यता मैले इजरेल, मध्यपूर्वको भ्रमण गरेको यो नवौँ पटक हो र बन्धकहरूलाई घर फर्काउन, युद्धविराम गर्न अनि शान्ति एवं दिगो सुरक्षाको बाटोमा सबैलाई लैजानका निम्ति यो एउटा निर्णायक क्षण, सम्भवतः सबैभन्दा राम्रो र अन्तिम अवसर हो” उनले भने।
इजरेल र हमासबीचको दूरी घटाउने उद्देश्यका साथ अमेरिकाले प्रस्तुत गरेको संशोधित प्रस्तावमाथि पछिल्ला संवादहरू केन्द्रित छन्।
आउँदो सातासम्म सहमतिमा पुगिन सकिनेमा अमेरिकी पक्षको विश्वास रहेको छ।
इजरेल र हमास के भन्छन्
तर सहमतिमा पुगिनेमा इजरेली र हमास नेतृत्व कत्तिको आशावादी छन् भन्नेबारे बाहिर आएको छैन।
दुवै पक्षले एकअर्कालाई हठ त्याग्न नसकेको र सम्झौतामा पुग्न नदिएको आरोप लगाउँदै आएका छन्।
आइतवार जारी गरेको एउटा वक्तव्यमा हमासले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुमाथि “सम्झौताको बाटोमा तगारो हालेको र युद्ध लम्ब्याउने नियतले नयाँ शर्त एवं मागहरू तेर्स्याइरहेका” आरोप लगाएको थियो।
गत वर्षको अक्टोबर ७ मा १,२०० जनाको मृत्यु र २५१ जना बन्धक बनाउने गरी हमासले दक्षिण इजरेलमा अभूतपूर्व हमला गरेपछि हमासविरुद्ध इजरेलले आक्रमण थालेको हो।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरेली आक्रमणयता गाजामा ४० हजार जनाभन्दा बढी व्यक्ति मारिएका छन्।
गत नोभेम्बरमा भएको सातदिने सङ्घर्षविरामको अवधिमा १०५ जना बन्धकलाई हमासले मुक्त गरेको थियो भने इजरेलले करिब २४० जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको थियो।
इजरेलका अनुसार अझै १११ जना बन्धक मुक्त हुन बाँकी छन् जसमध्ये ३९ जना मारिएका हुन सक्ने अनुमान छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।