तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तरकारीको विषादीबाट जोगिनै मुस्किल, हानि कम गर्ने उपाय यस्ता छन्
तीन दशकभन्दा बढी समयदेखि खेती गर्दै आएकी काभ्रे नालाकी ५७ बर्सिया निर्मला श्रेष्ठले तीन वर्षयता आफूले लगाउने तरकारी खेतीमा जैविक विषादीको प्रयोग बढाएकी छन्।
स्थानीय महिला जागरण समूहकी अध्यक्षसमेत रहेकी कृषि अभियानकर्मी उनले आफ्नो लामो कृषि अनुभवमा विषादीको प्रयोगले किसान र उपभोक्ता दुवैको हिसाबले स्वास्थ्यमा असर गरेको देखेपछि समूहमै पहल गरेर जैविक विषादी बनाउन सुरु गरिएको बताइन्।
विक्रम संवत् २०५३ सालमा नालास्थित आफ्नो गाउँमा व्यावसायिक खेती गर्दा त्यसपछिका वर्षहरूमा थुप्रै किसानलाई क्यान्सरलगायत स्वास्थ्य समस्याहरू देखिएपछि विषादीको प्रयोगलाई कम गर्दै लगिएको उनले बताइन्।
"म आफैँ पनि दुई पटक क्यान्सर भएर बाँच्न सकेकी हुँ," उनले भनिन्, "धेरैले विषादी प्रयोग गर्दा त्यसले किसानहरूमा क्यान्सर देखिएको भन्ने सुनेपछि हामीले समूहमै त्यसलाई कम गर्दै लैजानुपर्छ भनेर अहिले अभियान चालिरहेका छौँ।"
विगतमा व्यावसायिक खेती सुरु गरेपछि नेपालमा प्रतिबन्धित विषादीहरू भारतबाट ल्याएर प्रयोग गर्ने गरिएको तीतो अनुभव पनि उनले सुनाइन्।
"तिनमा प्रयोग गर्न हुन्न भन्ने रातो रङ्ग अङ्कित विषादीहरू हुन्थे," उनले भनिन्।
आफैँले विषादी जथाभाबी प्रयोग गरेको प्रति आफूलाई पछुतो लाग्ने गरेको बताउने उनी किसानहरूले एग्रोभेटमा गएर जथाभाबी विषादी ल्याउने र मात्रा नमिलाई हाल्ने गरेको बताउँछिन्।
तर अहिले तीन वर्षभन्दा यता उनीहरूले गाईको गहुँतलगायत तीतो, टर्रो, अमिलो हुने खालका विभिन्न वनस्पतिहरू प्रयोग गरेर जैविक विषादी बनाउने गरेका छन्। त्यसका लागि विभिन्न किसानहरूलाई तालिम पनि दिइँदै आएको श्रेष्ठ बताउँछिन्।
निर्मला श्रेष्ठ वा नालाका अन्य किसानमात्रै होइन केही वर्षअघि काभ्रेकै पाँचखालमा किसानहरूमध्ये कैयौँमा क्यान्सर भएको पाइएको थियो र त्यसको कारण विषादीको प्रयोग हुन सक्ने अनुमान गरिएको थियो।
यसै वर्ष गत भदौ महिनामा पनि गोरखा जिल्लाको गण्डकी गाउँपालिकामा पनि ६० जनाभन्दा बढी मानिसमा क्यान्सर देखिएपछि सरकारले अध्ययनका लागि कार्यदल नै गठन गरेको थियो।
केन्द्रीय कृषि प्रयोगशालाबाट एउटा टोली गएर बुझ्दा त्यहाँ अधिकांश क्यान्सर देखिएकाहरू विगतमा आधुनिक तरकारी खेती गरेका किसान रहेको र उनीहरूले विषादी प्रयोग गरेको पाइएको सूचना अधिकारी मञ्जुश्री अर्याल भट्टराईले दिइन्।
"विषादी प्रयोग गर्दा यसले स्वयं प्रयोगकर्तालाई असर गर्छ भन्ने किसानहरूले बुझ्नुपर्छ," उनले भनिन्।
"हामीले जनचेतना अझै बढाउनुपर्ने देखेर अब कृषि ज्ञान केन्द्रहरूसँग मिलेर गर्ने सोचिरहेका छौँ।"
एग्रोभेटहरू के भन्छन्
कतिपय एग्रोभेटहरूले पनि किसानहरूलाई जथाभाबी रूपमा विषादीको प्रयोगबारे नबुझाई विषादी दिने गरेको श्रेष्ठको अनुभव छ।
साँखुका एक एग्रोभेट सञ्चालक सत्यनारायण श्रेष्ठ भने आफूले किसानहरूलाई रोग अनुसार विषादी कुन र कति मात्रामा हाल्ने भनेर जानकारी दिने गरेको बताउँछन्।
"किसानहरूलाई तरकारीमा कस्तो समस्या देखिँदा कस्तो विषादी प्रयोग गर्ने भन्ने थाहा हुँदैन। कतिपय बेला त उहाँहरूलाई प्रयोग गरिसकेको विषादीको बट्टा सुरक्षित रूपमा डिस्पोज गर्नुपर्छ भन्ने सम्म पनि थाहा हुँदैन," एग्रोभेट सञ्चालक श्रेष्ठले भने।
त्यसरी जथाभाबी फालिएको विषादीको बट्टामा पानी उबाएर पिउँदा साँखुमा एक जना बालकले ज्यानै गुमाएको अवस्थासमेत रहेको उनले सुनाए।
"मुख्य समस्या विषादी प्रयोग गरेपछि त्यो तरकारी प्रयोग गर्नुअगाडि पर्खिनुपर्ने समयबारे थाहा नहुनु हो," उनले भने।
"बजार भाउ पाएपछि विषादी हालेर पर्खनुपर्ने समय नपर्खी किसानहरूले तरकारी बेच्ने गरेको देखिन्छ।"
त्यस्तो तरकारीले क्यान्सरलगायत विभिन्न रोग लगाउने सम्भावना रहेको उनी बताउँछिन्।
केन्द्रीय कृषि प्रयोगशालाकी सूचना अधिकारी मञ्जुश्री अर्याल भट्टराई पनि किसानदेखि उपभोक्तासम्म नै विषादीको प्रयोग र त्यसले पुर्याउने हानीबाट सुरक्षित नरहेको बताउँछिन्।
सरकारी सेवामा लामो काम गरेर अवकाश पाएका कृषि विज्ञ नीलकण्ठ शर्मा विषादीको प्रयोग न्यूनीकरण र परीक्षणका लागि काम गरिएको भए पनि ढुक्क भएर बजारमा पाइने तरकारी फलफूल खाने अवस्था नरहेको बताउँछन्।
अन्न र फलफूलमा विषादी प्रयोग गरिने भए पनि तरकारीजस्तो विषादी हाल्ने बित्तिकै भान्सामा गइहाल्ने अवस्था नहुने हुँदा खासगरी तरकारीको प्रयोगमा विशेष ध्यान दिन उनी सुझाउँछन्।
नेपालमा खुला सीमाका कारण भारतबाट प्रयोगमा प्रतिबन्धित रहेका विषादीहरू पनि भित्रिने गरेको र त्यसको राम्रो अनुगमन हुन नसकेको बताइन्छ।
"अहिले नेपालमा करिब ८०० मेट्रिक टन विषादी हरेक वर्ष प्रयोग हुन्छ भनेर औपचारिक स्रोतले भन्छ तर खुला सिमानाका कारण भारतबाट प्रतिबन्धित विषादी पनि भित्रिन सक्छन्," कृषि विज्ञ शर्माले भने।
"हामीले सिप सिकाउने, तालिम दिने गरिरहेका छौँ तर समस्या कस्तो छ भने जुन मानिस विषादी प्रयोग गर्न जान्छ उसले आफैँले विषादी नहालेर घरको अर्को मान्छे वा काम गर्न राखेको मानिसलाई पठाउँछ।"
त्यसरी तालिम नलिएको मानिसले मात्रा मिलाएर नहाल्ने र विषादी हालेको कति समयमा तरकारी टिप्नुपर्छ र बेच्न लैजान हुन्छ भन्ने पनि ज्ञान नहुने उनी बताउँछन्।
त्यही कारण अहिलेको अवस्थामा सबैभन्दा उत्तम उपाय भनेको उपभोक्ता आफैँ सजग हुनुपर्ने उनको सुझाव छ।
"सबैभन्दा राम्रो आफूले उत्पादन गरेर खाने, दोस्रो भरपर्दो ठाउँबाट ल्याएर खाने, तेस्रो तरकारी राम्रोसँग पखाल्ने र नुन वा फिटकीरी वा भिनेगर पानीमा करिब १० मिनेट राखेर मात्रै प्रयोग गर्ने," कृषि विज्ञ शर्माले भने।
"अझै राम्रो त पर्सि खानको लागि आज नै किनेर सफा गरेर राख्दा विषादीले पुर्याउने हानी कम हुन्छ।"
उनले वर्षौँदेखि आफ्नो घरमा बजारबाट तरकारी ल्याएपछि आफैँले त्यसको विषादी कम गर्न तरकारी पखाल्ने र सम्भावित विषादी कम गर्न विधि अपनाउने गरेको बताउँछन्।
विषादीको असर कम गर्न सरकार के गर्दैछ?
कुनैबेला कालीमाटीमा मात्रै रहेको विषादी परीक्षण केन्द्र अहिले देशभरका सबैजसो ठूला सहरहरूमा १२ वटा विषादी परीक्षण गर्ने केन्द्रहरू रहेका छन्। परीक्षण केन्द्र अहिले देशका सबैजसो ठूलो सहरहरूमा रहेका छन्।
केन्द्रीय कृषि प्रयोगशालाकी सूचना अधिकारी मञ्जुश्री अर्याल भट्टराईका अनुसार अहिले ती सबै प्रयोगशालाहरू सञ्चालनमा रहेका छन्। तर अधिकांश ती प्रयोगशालाहरूमा जनशक्ति अभाव रहेका कारण थप एकजना प्राविधिक राख्ने तयारी भएको उनले बताइन्।
विगतमा भन्दा अहिले देशभरि प्रयोगशालाहरू थपिएर परीक्षणको काम बढेको छ। तर किसानदेखि उपभोक्तासम्म ढुक्कले विषादीरहित खाने अवस्था छैन। त्यसैले जनचेतना फैलाउने अझ बढाइने उनले बताइन्।
"यो चाहिँ हामी आफैँले पनि ख्याल गर्नुपर्ने कुरा हो, "सूचना अधिकारी अर्याल भट्टराईले भनिन्, "किसान आफैँले पनि विषादी प्रयोग गर्दा ख्याल पुर्याउनुपर्छ।"
कृषि क्षेत्रमा कार्यरत व्यक्तिहरूले आफूहरू फिल्डमा जाँदा कतिपय किसानहरूले काउली बेच्ने तर त्यसको पात र डाँठ फाल्ने गरेको पाइएको बताउँछन्।
एकजना विज्ञले भने, "हामीले यस्तो राम्रो काउलीको पातहरू त गाईबाख्रालाई खुवाउनुहोस् न भन्दा उहाँहरू त्यसमा त धेरै विषादी हुन्छ भनेर खुवाउँदैनौँ भन्नुहुन्छ। अनि त्यही विषादीयुक्त काउली चाहिँ उपभोक्ताले खाइरहेका हुन्छन्।"
यसै साता सल्यानमा परीक्षण गरिएको काउलीमा खानै नहुने स्तरमा विषादी पाइएको विवरणहरू सार्वजनिक भएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।