राजस्थानमा दुई जना मुस्लिम विधायकले किन लिए संस्कृतमा शपथ

तस्बिर स्रोत, FACEBOOK, X
- Author, मोहर सिंह मीणा
- Role, बीबीसी हिन्दीका लागि
भारतको राजस्थान विधानसभामा मुस्लिम समुदायका दुई जना विधायकले संस्कृत भाषामा पद तथा गोपनीयताको शपथ लिएका छन्।
संस्कृतमा शपथ लिएका विधायकहरूको अहिले भारतभरि चर्चा चलिरहेको छ।
डिसेम्बर २० र २१ मा संस्कृतमा शपथ लिएका एक जना कांग्रेसका जुबैर खान हुन् भने अर्का स्वतन्त्र निर्वाचित भएका युनुस खान हुन्। युनुस बीजेपीविरुद्ध विद्रोह गरेर स्वतन्त्र रूपमा निर्वाचित भएका थिए।
राजस्थान विधानसभाका २०० सीटमध्ये १९९ सीटमा चुनाव भएको थियो। जसमध्ये १९१ जना विधायकले २० डिसेम्बरमा विधानसभामा शपथ लिए। आठजना विधायकले २१ डिसेम्बरमा शपथ लिएका थिए।
कांग्रेस विधायक जुबैर खान अलवरको रामगढ क्षेत्रबाट विजयी भएका हुन्।
जुबैर खानकी पत्नी सफिया जुबैर खान यसअघि विधायक निर्वाचित भएकी थिइन्। यस पटक कांग्रेसले उनका पति जुबैर खानलाई टिकट दिएको थियो। उनी चौथो पटक विधायक निर्वाचित भएका हुन्।
अशोक गहलोत सरकारमा कांग्रेस विधायक हुँदा उनकी पत्नी सफिया जुबैर खानले विधानसभामा एउटा छलफलमा आफूलाई राम र कृष्णको वंशजको रूपमा चर्चा गरेकी थिइन्।
संस्कृतमा शपथ लिने स्वतन्त्र विधायक युनुस खान वसुन्धरा राजेको सरकारमा मन्त्री थिए।
राजेका समर्थक मानिने युनुस खानले गत विधानसभा चुनावमा सचिन पायलटविरुद्ध टोंक क्षेत्रबाट चुनाव लडेका थिए।
संस्कृतमा शपथबारे के भन्छन् युनुस खान?

तस्बिर स्रोत, YUNUS KHAN/FB
संस्कृतमा शपथ पछि चर्चामा रहेका युनुस खानले बीबीसीसँग भने, "मुस्लिमहरूले पनि अहिलेको परिस्थितिमा राम्रो काम गरेको भन्दै यसको धेरै प्रशंसा गरे।"
उनी भन्छन्, "भारतीय संविधानको आठौँ अनुसूचीमा रहेको आधिकारिक भाषाहरूमध्ये संस्कृत पनि एक हो। यो हाम्रो भारतको सबैभन्दा पुरानो भाषा हो।"
संस्कृतको इतिहास वर्णन गर्दै खानले भने, "वेद, पुराण र रामायण संस्कृतमा लेखिएका छन्। संस्कृत हाम्रो भारतका सबै भाषाहरूको जननी हो र म भारतीय हुँ। संस्कृत हाम्रो देशको सबैभन्दा धनी र पुरानो भाषा हो, मैले संस्कृतमा शपथ लिएकोमा गर्व महसुस गरेको छु।"
उनी भन्छन्, "शपथ लिनका लागि हामीसँग तीनवटा विकल्प थिए। अङ्ग्रेजी, जुन ब्रिटिशको भाषा हो। बाँकी हिन्दी र संस्कृत थिए।"
संस्कृतमा नै शपथ किन त? यो प्रश्नमा खान भन्छन्, "मैले संस्कृतमा किन उपयुक्त ठाने भने हाम्रा पुराना कुराहरू बिस्तारै लोप हुँदै गइरहेका छन्, यदि हामीले यसलाई अपनाएनौँ भने कसले लिने? संस्कृत हाम्रो भारतीय भाषा हो।"
युनुस खानले स्कुल पढ्दा संस्कृत पढेका थिए। उनी भन्छन्, "मैले आठ कक्षासम्म संस्कृत पढेको छु। सन् १९७६-७७ मा मेरा आमाबुवाले मलाई विद्यालयमा संस्कृत भाषा पढाउन लगाउनुभयो। उहाँहरू निरक्षर हुनुहुन्थ्यो। र पनि मलाई संस्कृत पढ्न लगाउनुभयो।"
कस्तो प्रतिक्रिया पाए?
स्नातकोत्तर तहसम्म अध्ययन गरेका युनुस खान अन्य धेरै भाषा जान्दछन्।
उनी भन्छन्, "मलाई उर्दू, अरबी, हिन्दी र अङ्ग्रेजी पनि थाहा छ। म संस्कृत राम्ररी पढ्न र बोल्न सक्छु किनभने मैले सिकेको छु।"
यसमा जनताको प्रतिक्रिया बताउँदै उनी भन्छन्, "शपथ लिएपछि धेरैले मेरो प्रशंसा गरे, मलाई राम्रो लाग्यो। संस्कृत विद्यालय र कलेजका प्राचार्य, संस्कृत विश्वविद्यालयका उपकुलपति र संस्कृत विद्वानहरूले बोलाएर प्रशंसा गरे।"
‘संस्कृत कसैको पेवा हैन’

तस्बिर स्रोत, RAJASTHAN VIDHANSABHA
चौथो पटक विधायक बनेका जुबैर भन्छन्, "सन् १९९३ मा म दोस्रो पटक विधायक बनेको बेला पनि मैले संस्कृतमा शपथ लिएको थिएँ। त्यतिबेला अहिलेको भाजपाको पूर्ण रूपमा उदय समेत भइसकेको थिएन।"
उनी भन्छन्, "संस्कृत हाम्रो पुरानो भाषा हो। हामी भारतका भारतीय मुस्लिम हौँ, हामी यहाँको संस्कृति र यहाँको संविधानमा विश्वास गर्छौँ। हामी यहाँ भाइचारामा विश्वास गर्छौँ, हामी सबै धर्मलाई सम्मान गर्छौँ।"
उनी थप्छन्, "धर्महरू पछि बनेका हुन्, संस्कृत धेरै पहिलेको भाषा हो। संस्कृतमा कुनै पनि धर्मको 'पेटेन्ट' छैन। संस्कृत त्यतिबेलादेखि चलेको छ जब धर्महरूबारे हामीलाई थाहै थिएन।"
जुबैर खानले कक्षा १२ सम्म संस्कृत विषय पढेका छन्। उनी भन्छन्, "संस्कृत मेरो विषय हो। मैले उच्च शिक्षासम्म संस्कृत पढेको छु। दोस्रो पटक संस्कृतमा शपथ लिएको छु।"
संस्कृतमा शपथ लिएपछि जनताको प्रतिक्रियाको प्रश्नमा उनी भन्छन्, “मुस्लिम भएर पनि संस्कृतमा शपथ लिएको कुरा मानिसहरूले मन पराएका छन्।”
उनी भन्छन्, "संस्कृत कुनै एक धर्मको भाषा होइन। संस्कृतमा सबैको अधिकार छ। कुनै पनि धर्मले कुनै भाषा वा कुनै धर्मको विरुद्धमा शिक्षा दिँदैन। सबैले मानवता, करुणा र सदाचारको बाटो देखाउँछन्। सबैलाई सम्मान गर्नु भनेको शिक्षा दिनु नै भारतको संस्कृति र भारतको इतिहास हो।"
पूर्व विधायक सफिया जुबैर खान भन्छिन्, "संस्कृत हाम्रो देशको पुरानो भाषा हो। अल्पसङ्ख्यक विधायकहरूले संस्कृतमा शपथ लिनुले अल्पसङख्यकहरू धेरै धर्मनिरपेक्ष सोचका हुन्छन् र सबैलाई साथमा लैजानमा विश्वास गर्छन् भन्ने देखाउँछ।"
संस्कृतमा शपथ अभियान सुरु

तस्बिर स्रोत, RAJASTHAN VIDHANSABHA
विधानसभामा २० भाजपा, एक स्वतन्त्र र एक कांग्रेस विधायकले संस्कृतमा शपथ लिएका छन्।
राष्ट्रिय स्वयंसेवक सङ्घको विचारधारालाई समर्थन गर्ने संस्था संस्कृत भारतीका जयपुरका राज्यमन्त्री डा. कृष्ण कुमारले आफ्नो सङ्गठनले नवनिर्वाचित विधायकहरूलाई भेटेर संस्कृतिअनुसार शपथ लिन आग्रह गरेको बताए।
उनले भने, "हामीले हाम्रा अभियानकर्मीहरूको टोली बनायौँ र धेरै विधायकहरूलाई सम्पर्क गर्यौँ। हामीले उनीहरूलाई संस्कृतमा शपथ लिन अनुरोध गर्यौँ। हामीले बालमुकुन्द आचार्य, गोपाल शर्मालगायत धेरै विधायकहरूसँग सम्पर्क गरेका थियौँ।"
उनी भन्छन्, "हामीले सभाको फाइलबाट शपथको ढाँचा तयार गर्यौँ र संस्कृतमा सर्कुलर तयार गर्यौँ। उच्चारण सच्याउन सकियोस् भनेर अडियो पनि तयार पार्यौँ।"
उनी भन्छन्, "संस्कृत कुनै विशेष वर्गको भाषा होइन, संस्कृत भारतीयताको जस्तो देखिन्छ। संस्कृतसँग सम्बन्धित कुनै विशेष समाज, वर्ग वा धर्म छैन। संस्कृतलाई सबैले विश्वास गर्छन् र सबैले ग्रहण गर्छन्।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








