कोशीमा कांग्रेसका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, एमालेसहितको सत्ता समीकरण

तस्बिर स्रोत, RSS
- Author, विक्रम निरौला
- Role, विराटनगर
विपक्षी नेकपा एमालेको समर्थनमा नियुक्त भएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधवार केन्द्रमा हाल कायम माओवादी केन्द्रसहितको गठबन्धन दलहरूको समर्थन हासिल गर्दै प्रदेशसभामा विश्वासको मत पाएका छन्।
बुधवार दिउँसो बसेको प्रदेशसभा वैठकमा राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमा एमालेसहित केन्द्रीय सत्ता गठबन्धन दलका सबै सांसदहरूले कार्कीलाई विश्वासको मत दिएका हुन्।
प्रदेशसभाका उपसभामुख सृजना दनुवारले मुख्यमन्त्री कार्कीले ८६ मत पाएको घोषणा गरिन्। उनको विपक्षमा पाँच जनाले मतदान गरेका थिए।
कुल ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीले दुई तिहाइ भन्दा धेरै मत पाएका थिए। मतदान हुँदा बैठकमा ९१ जना सांसद उपस्थित थिए।
सत्ता गठबन्धनको निर्णय विपरीत गएको शनिवार नेपाली कांग्रेसका ८ जना सांसदसहित एमालेका ३९ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए। राप्रपाले भने विपक्षमा मतदान गरेको छ।
अन्तत: आफ्नै नेतालाई समर्थन गर्ने कांग्रेसको निर्णय

तस्बिर स्रोत, RSS
प्रदेशसभा वैठकअघि बसेको नेपाली कांग्रेस प्रदेश संसदीय दलको वैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले गठबन्धनको निर्णय विपरीत एमालेसँग गठबन्धन गरेर मुख्यमन्त्री बने पनि केन्द्रीय सत्ता गठबन्धनको समझदारीलाई मजबुत बनाएर लैजाने पार्टीकोे निर्णय बमोजिम कार्कीलाई विश्वासको मत दिने र सत्ता पक्षकै बेन्चमा बस्ने निर्णय गरिएको बताए।
नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा र उपनेता हिमाल कार्कीले पदबाट राजीनामा दिएका कारण पार्टीका केन्द्रीय सदस्य एवं संघीय सांसद ज्ञानेन्द्र बहादुर कार्कीको संयोजनमा प्रदेश संसदीय दलको बैठक बसेको बताइएको छ।
केन्द्रमा सत्ताधारी गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेका थिए।
कार्की नेपाली कांग्रेसको डा शेखर कोइराला पक्षका सांसद हुन् तर उनलाई उम्मेद्वार बनाउने निर्णयप्रति कोइरालाकै पक्षमा रहेका कांग्रेसका कतिपय वरिष्ठ नेताको असहमति रहेका विवरण आएका थिए।

कार्की मुख्यमन्त्री बनेपछि कांग्रेसको प्रदेश संसदीय दलका नेता उद्धव थापाले पछिल्लो राजनीतिक घटनाक्रमपछि आफूले नैतिक रूपमा “पदमा बसिरहन उपयुक्त नभएको महसुस गर्दै" राजीनामा दिएको उल्लेख गरेका थिए। यसअघि कांग्रेस संसदीय दलकै उपनेता हिमाल कार्कीले पनि पदबाट राजीनामा दिएका थिए।
मुख्यमन्त्रीको नियुक्तिलाई लिएर कोशी प्रदेशमा प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारलाई समर्थन गरिरहेको नेपाली कांग्रेस भित्रै फाटो देखिएको थियो।
कार्की मुख्यमन्त्री बन्ने परिस्थिति यसरी बन्यो
प्रदेशमा छ जना सांसद भएको राप्रपाले भने मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गरेको थियो।
राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने र विपक्षमा बस्ने निर्णय भएको बीबीसीलाई बताएका थिए।
कोशी प्रदेश सभामा एमालेका उपसभामुखसहित ४० , नेपाली कांग्रेसका २९ , माओवादी केन्द्रका १३ , राप्रपाका ६ , एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक जना सांसद छन्।
यसअघिको प्रमुख विपक्षी एमालेको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि सत्ता गठबन्धनमा त्यसले बहस निम्त्याएको थियो।

कोशी समीकरणले केन्द्रको सत्ता समीकरणमा समेत धक्का पुग्ने आकलन कतिपयले गरिरहेका बेला सत्ता गठबन्धनका कांग्रेस र माओवादीका शीर्ष नेताहरूले आफूहरू गठबन्धनप्रति प्रतिबद्ध रहेको प्रस्टीकरण दिएका थिए।
प्रदेश प्रमुख पर्शुराम खापुङ्गले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमखको कार्यालयले जनाएको थियो।
उक्त उपधारामा विश्वासको मत प्राप्त गर्नसक्ने अवस्थामा रहेका कुनै पनि प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सकिने प्रावधान छ।
तर त्यसरी नियुक्त भएको मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभालाई विघटन गरी ६ महिनाभित्र अर्को प्रदेशसभाको निर्वाचन सम्पन्न हुने गरी मिति तोक्नुपर्ने जनाइएको छ।
यसअघि प्रदेशसभामा सबैभन्दा बढी सांसद भएको पार्टीको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दुई साता अघि राजीनामा दिएका थिए। विश्वासको मत प्राप्त नहुने निश्चित भएपछि उनले उक्त निर्णय लिएका थिए।
कोशीमा मुख्यमन्त्री विवादको श्रृङ्खला
असोज २८: केदार कार्कीद्वारा एमालेलाई समेत सहभागी गराएर मन्त्रीमण्डल गठन
असोज २७: प्रदेशप्रमुखद्वारा प्रदेशसभाका सदस्यहरूको सनाखतपछि मुख्यमन्त्रीमा केदार कार्की नियुक्त
असोज २०ः विश्वासको मत प्राप्त नहुने देखिएपछि मुख्यमन्त्री हिक्मत कार्कीद्वारा राजीनामा। प्रदेश प्रमुखबाट बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आव्हान
भदौ २२ः प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा एमालेका हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त
भदौ २१ः मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत बदर , एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश । मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत बदर , एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश।
भदौ ७ः मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधान प्रतिकूल रहेको सर्वोच्च अदालतको ठहर।
भदौ ४ः उद्धव थापालाई प्रदेशसभामा विश्वासको मत। पक्षमा ४७ र विपक्षमा ३० मत।
साउन १६ः सभामुख बाबुराम भण्डारीको राजीनामापछि कोशी प्रदेश प्रमुख परशुराम खापुङद्वारा दोस्रो पटक प्रदेशको मुख्यमन्त्रीमा गठबन्धन दलका तर्फबाट कांग्रेसका उद्धव थापा नियुक्त
साउन १२ः कोशी प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रदेशको मुख्यमन्त्रीका लागि साउन १६ गते अपराह्ण ५ बजेभित्र दाबी पेस गर्न आह्वान
साउन ११ः सर्वोच्च अदालतद्वारा कोशी प्रदेशमा उद्धव थापाको मुख्यमन्त्री नियुक्ति “नेपालको संविधानबमोजिम प्रतिकूल देखिएको“ ठहर, सात दिनभित्र प्रदेशसभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश
साउन ८ः सर्वोच्च अदालतद्वारा कोशी सरकारको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश
असार २७ः कोशी सरकालाई दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्न सर्वोच्च अदालतको आदेश
असार २२ः कांग्रेस नेतृत्वको कोशी सरकारविरुद्ध एमालेद्वारा सर्वोच्च अदालतमा रिट निवेदन
असार २२ः सभामुख समेतको समर्थनमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन
असार १५ः नेकपा एमालेको नेतृत्वमा रहेको कोशी प्रदेश सरकारले बहुमत गुमायो
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








