'सुनको मूल्य बढेको बढ्यै गर्दा किन्ने कि अझै केही समय कुर्ने'

बजारमा सुनका गरगहना

तस्बिर स्रोत, Reuters

    • Author, विनिता दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

सुनको मूल्य मङ्गलवार प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको छ, जुन नेपालमा अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य भएको व्यापारीले बताएका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्ला दिनहरूमा नेपाली रुपैयाँ कमजोर हुँदै गएका कारण सुनको मूल्य बढेको हो।

तर विगत एक वर्षमा निरन्तरजसो उकालो लागिरहेको सुनको मूल्य भने विश्वका विभिन्न भागमा भएका युद्ध र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विभिन्न देशमाथि लगाएका करका कारण वृद्धि भइरहेको व्यवसायी तथा विज्ञहरूले बताएका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको तथ्याङ्क अनुसार एक सातामा सुनको मूल्य १ लाख ९३ हजार रुपैयाँबाट बढेर १ लाख ९८ हजार पाँच सय रुपैयाँ पुगेको छ।

सोमवार १ लाख ९६ हजार ६०० रुपैयाँबाट ह्वात्तै १ हजार ९०० रुपैयाँ बढेर मङ्गलवार सुनको मूल्य १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको हो।

वृद्धिको कारण के?

सुनका गरगहना

तस्बिर स्रोत, FNGSGJA

डलरको दाँजोमा नेपाली मुद्रामा आएको गिरावटका कारण सुनको भाउ बढेको महासङ्घका उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य बताउँछन्।

गत शनिवारदेखि सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ। शनिवार १ लाख ९३ हजार १ सय रुपैयाँ रहेको सुनको मूल्य आइतवार १ लाख ९६ हजार ५०० रुपैयाँ हुँदै सोमवार १ लाख ९६ हजार ६०० रुपैयाँ र मङ्गलवार १ लाख ९८ हजार ५०० रुपैयाँ पुग्यो।

यसरी पछिल्ला दिनमा सुनको भाउ किन यति धेरै वृद्धि भएको होला त?

"विगत एक हप्तामा नेपाली मुद्रा डलरको दाँजोमा धेरै नै कमजोर भइसकेको छ। त्यसैले १ लाख ९३/९४ हजार रुपैयाँमा रहेको भाउ एक्कासि यति धेरै बढ्नुको कारण नितान्त रूपमा त्यही नै हो," जबाफमा महासङ्घका उपाध्यक्ष बज्राचार्यले भने।

गत साता मङ्गलवार अमेरिकी एक डलर बराबर ब्रिकीदर १३८.९७ नेपाली रुपैयाँ रहेकोमा यो साता मङ्गलवार १४०.५६ रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा पनि विश्वव्यापी अर्थतन्त्र पछिल्लो समय अनिश्चित दिशामा गइरहेका कारण त्यसको असर सुनको मूल्यमा एक्कासि परेको बताउँछन्।

"वैश्विक अर्थतन्त्रमा मडारिएको अनिश्चितता र लगानीकर्ताले सुरक्षित सम्पत्तिको लगानीका लागि खोज्ने प्रवृत्तिका कारण सुनको मूल्य ह्वात्तै बढेको हो," उनले भने।

महासङ्घका उपाध्यक्ष बज्राचार्य पनि केही दिनमा सुनको भाउ दुई लाख पुग्न सक्ने सम्भावना देखिएको बताउँछन्।

तर रुस-युक्रेन, इजरेल-हमासको युद्ध रोकियो र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्वका कैयौँ देशमा लगाउने घोषणा गरेका करमा हेरफेर हुनसक्यो भने त्यसले सुनको भाउमा कमी आउन सक्ने उनले बताए।

मूल्य अझै बढ्ला?

सुन

तस्बिर स्रोत, FNGSGJA

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यभार सम्हालेयता विश्वभरिका विभिन्न देशबाट आयात हुने सामानमा करको घोषणा गर्दै आएका छन्, जसका कारण अर्थतन्त्रमा अनिश्चितता बढ्दै गएको अनि त्यसले मुद्राको भाउ र सुनको मूल्यमा असर गर्दै आएको छ।

अमेरिकाको 'ट्यारिफ वार' का कारण जति अनिश्चितता बढ्दै जान्छ सुन जस्तो धातुको मूल्यमा त्यति नै वृद्धि हुँदै जाने विज्ञहरू बताउँछन्।

अमेरिकासँग व्यापार सम्झौता गर्ने अगस्ट १ तारिखको समयसीमा सकिएपछि राष्ट्रपति ट्रम्पले ९० भन्दा बढी देशका सामानहरूमा नयाँ कर लगाउने घोषणा गरेका छन्।

एशियाका पनि कैयौँ देशमाथि लाग्ने त्यस्तो करको अर्थ अमेरिकामा विदेशी सामान निर्यात गर्ने कम्पनीहरूले कर तिर्नुपर्ने छ।

छिमेकी देश चीनसँग भने अमेरिकाले अगस्ट १२ सम्म वार्ता स्थगित गर्न सहमति जनाएका कारण दुई देशबीच वार्ता अझै जारी नै छ।

अगस्ट ७ तारिखबाट नयाँ कर लागु हुने देशमा छिमेकी मुलुक भारत पनि परेको छ र त्यहाँका लागि २५ प्रतिशत कर तोकिएको छ।

ट्रम्पले भारतलगायत देशहरूमा घोषणा गरेको त्यही करमा समीक्षा गर्छन् वा गर्दैनन् भन्नेमा सुनको मूल्य अबका दिनमा वृद्धि हुन्छ वा हुन्न भन्ने कुरा भर पर्ने विज्ञहरू बताउँछन्।

"करमा अमेरिकाको अडान के हुन्छ त्यसमा निर्भर गर्छ। अमेरिकाले लिइरहेको पोजिसनमा अन्य देशसँग सम्झौता भयो भने मूल्य माथि जाँदैन, तर ट्यारिफ वार मत्थर भएन भने सुनको मूल्य अझै बढ्ने देखिन्छ," राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक थापाले भने।

मूल्य किन बढेकोबढ्यै?

सेल्फी खिच्दै एक युवती

तस्बिर स्रोत, RSS

विगत एक वर्षमा सुनको भाउमा प्रतितोला करिब ५० हजार रुपैयाँले वृद्धि भएको देखिन्छ।

गत वर्ष साउन २० गते सुनको मूल्य १ लाख ४९ हजार ७०० रुपैयाँ रहेको थियो भने यो वर्ष साउन २० गते १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको छ।

अहिलेकै अवस्थामा अब छिटै नै यो मूल्य दुई लाख पुग्ने देखिएको व्यवसायीहरू बताउँछन्।

केही अपवादबाहेक निरन्तर मूल्यवृद्धि हुनुमा अन्तर्राष्ट्रिय घटनाक्रम र अमेरिकाले विभिन्न देशहरूमा लगाएको करहरूजस्ता कारण रहेका व्यवसायी तथा विज्ञहरू बताउँछन्।

अन्तर्राष्ट्रिय घटनाक्रममा रुस युक्रेन युद्ध सुरु भएदेखि नै सुनको मूल्यमा असर पर्न थालेको र पछिल्लो पटकको इजरेल-हमास र इजरेल-इरानको द्वन्द्व पनि कारण रहेको उनीहरूले बताए।

त्यसबाहेक अमेरिकी केन्द्रीय बैङ्कले ब्याजदर घटाएको र नेपाली मुद्रा डलरको तुलनामा कमजोर बन्दै गएका कारण पनि गत एक वर्षमा सुनको मूल्य बढ्दै गएको महासङ्घका उपाध्यक्ष बज्राचार्यले बताए।

"अमेरिकाले ०.२५ गर्दै गर्दै ०.७५ ब्याजदर घटाएको कारणले पनि सुनमा अलि बढेको हो र नेपाली मुद्रा पनि मजबुत नभएका कारण पनि भाउ बढेको हो," उनले भने।

नेपाली मुद्रा भारतीय मुद्रासँग जोडिएको र पछिल्ला दिनमा भारतीय मुद्रा स्फीति पनि खस्किएपछि त्यसले नेपाली मुद्रा पनि कमजोर भएको र त्यसले सुनको भाउ बढेको उनले बताए।

अमेरिकी राष्ट्रपति ट्रम्पले भारतलाई रुसबाट तेल खरिद नगर्न अन्यथा कर लगाउने चेतावनी दिएपछि पछिल्लो समय त्यसको असर भारतको अर्थतन्त्रमा परेको बताइन्छ।

रुस युक्रेन युद्धपछि रुसबाट तेल खरिद गर्नेमा भारत एउटा मुख्य खरिदकर्ता देश हो।

ट्रम्पको त्यस्तो भनाइलाई भारतले "अन्यायपूर्ण र अनुचित" भनी प्रतिक्रिया दिएको छ।

खुसी हुने कि दुःखी हुने?

सुरक्षित लगानीका रूपमा मानिसहरूले सुन किनेर राख्ने भए पनि सुनको भाउ बढ्दा कसैका लागि पनि खुसी हुनुपर्ने कारण नरहेको विज्ञहरू बताउँछन्।

"सुनचाँदीमा लगानी हुनु आर्थिक विकासको हिसाबले कतै पनि राम्रो मान्न सकिन्न। यो सट्टेबाजी लगानी भएका कारण सुनको मूल्य झर्न सक्छ। त्यसैले लगानीकर्ता, व्यवसायी, नितिनिर्माता वा निक्षेपकर्ता कसैका लागि सुनको भाउ बढ्नु पनि राम्रो होइन," राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक थापाले भने।

"सट्टेबाजी लगानीमा जनता रमाउनु भनेको त्यो देश कहिल्यै पनि उँभो लाग्न सक्दैन भन्ने हो।"

मानिसहरूले अरू क्षेत्रमा लगानी गर्न असुरक्षित महसुस गरेका कारण मात्रै सुनको भाउ बढिरहेका कारण सुनको मूल्य बढ्नु खुसीको कुरा नहुनेमा महासङ्घका उपाध्यक्ष बज्राचार्य पनि सहमति जनाउँछन्।

"सुनको मूल्य बढ्नु भनेको कसैका लागि पनि सुखद होइन। केही समय कुरेर मात्रै सुन किनेर राख्नु ठीक हो," खरिद गर्न चाहनेहरूलाई उनी सुझाउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।