पहिलो पटक नेपालीमा एमपक्स पुष्टि, 'आइसोलेशन'मा उपचार हुँदै

तस्बिर स्रोत, Getty Images
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
नेपालमा नेपाली नागरिकमा पहिलो पटक एमपक्स सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताएका छन्।
साउदी अरबबाट बिहीवार नेपाल फर्केका एक पुरुषमा एमपक्स पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।
"स्थायी ठेगाना तनहुँ भएका ३६ वर्षीय पुरुषमा एमपक्स पुष्टि भएको हो," बीबीसीसँग उनले भने।
यसअघि सन् २०२३ को जुनमा नेपालमा पहिलो पटक एक विदेशी महिलामा एमपक्स सङ्क्रमणको पुष्टि भएको थियो।
कस्तो छ अवस्था?
हालै एकपक्स सङ्क्रमण भएका पुरुषको काठमाण्डूको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा 'आइसोलेशन'मा राखी उपचार भइरहेको अधिकारीहरूले बताएका छन्।
बिरामीको उपचारमा संलग्नमध्ये एक चिकित्सकले उनको अवस्था सामान्य रहेको बीबीसीलाई बताए।
"मैले अघि दिउँसो मात्रै कुरा गरेको थिएँ। उनले राम्रोसँगै कुरा गरिरहेका थिए," ती चिकित्सकले भने।
उनका अनुसार बिरामी पुरुषले साउदी अरबमै लक्षणहरू देखिएपछि नेपाल फर्केको बताएका छन्।
"नेपालमा भाषाको हिसाबले पनि सजिलो हुन्छ भनेर नेपाल नै फर्किएँ। त्यहीँ हुँदा जननेन्द्रियवरपर बिमिराहरू देखिन थालेको थियो," बिरामीलाई उद्धृत गर्दै नाम उल्लेख नगर्ने सर्तमा ती चिकित्सकले भने।
"सबैभन्दा राम्रो काम के गरे भन्दा साउदी अरबबाट फर्केपछि घर नगई उनी सीधै अस्पताल पुगे।"
मन्त्रालयका प्रवक्ता बुढाथोकीका अनुसार काठमाण्डूको एउटा निजी अस्पतालले 'रिफर' गरेपछि उनी बिहीवार नै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल गए।
"हामीले लक्षण हेरेपछि एमपक्सको सन्दिग्ध बिरामी लागेर नमुना सङ्कलन गर्यौँ र परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइदियौँ," उक्त अस्पतालका एक अधिकारीले भने।
बिहीवार नमुना आएपछि परीक्षण गर्दा शुक्रवार एमपक्स पुष्टि भएर स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइएको प्रयोगशालाका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताए।
सङ्क्रमण पुष्टि भएसँगै अब थप निगरानी बढाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए।
कसरी सर्छ?
'मङ्कीपक्स' भाइरसबाट सङ्क्रमित मुसा र बाँदरजस्ता जनावर र सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिबाट यो भाइरस फैलिने चिकित्सकहरू बताउँछन्।
यो मानिसहरूलाई बिफर गराउने समूहकै भाइरसको एक प्रजाति हो। तर यो कम घातक भएको बताइन्छ।
यो भाइरस सबैभन्दा पहिले जनावरहरूबाट मानिसमा सरेको भए पनि अहिले मानिसबाट मानिसमा पनि सर्ने गरेको छ।
यो रोग प्रायः उष्णतटीय वर्षावननजिक रहेका डीआर कङ्गोजस्ता अफ्रिकी देशहरूमा पाइन्छ।
यो क्षेत्रमा बर्सेनि हजारौँ व्यक्तिमा यसको सङ्क्रमण हुने गरेको छ भने सयौँको मृत्यु हुने गरेको छ।
एमपक्सबाट जोगिन सङ्क्रमितको थुकको छिटा, नाक, मुख, आँखा वा खुला छालामा नपरोस् भनेर सतर्क रहनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको चिकित्सकीय अनुसन्धान एकाइका प्रमुख डा. शेरबहादुर पुन बताउँछन्।
उनका अनुसार फुटेको छाला र श्वासनलीबाट पनि यो भाइरस शरीरमा प्रवेश गर्न सक्छ।
लक्षणहरू के हुन्?

तस्बिर स्रोत, Reuters
यसको प्रारम्भिक लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने असर देखा पर्छन्।
जब ज्वरो उच्च हुन्छ, त्यसपछि शरीरमा बिमिराहरू देखा पर्न सक्छन्। यो अनुहारबाट सुरु भएर शरीरका अन्य भागमा फैलिन्छ। हात र पैतालामा बढी देखिन्छ।
बिमिराहरू निकै चिलाउने वा दुख्ने हुन सक्छ र त्यो बिस्तारै फोका बनेर आफै झरेर जान्छ। तर बिमिरा आएका ठाउँमा दाग रहिरहन सक्छ।
यसको सङ्क्रमणबाट आउने बिमिरा १४ देखि २१ दिनमा आफैँ निको भएर जाने हुन्छन्।
तर गम्भीर बिरामीहरूमा शरीरभरि नै बिमिराहरू आउने हुन्छन्। मुख, आँखा र यौनाङ्गमा बिमिरा बढी फैलने र दुख दिने हुन्छ।
उपचार के हो?
बिफरको उपचारका लागि विकास गरिएको थेरपी एमपक्सको उपचारमा पनि उपयोगी देखिएको छ। तर यो कति प्रभावकारी छ भन्ने अनुसन्धान भएको छैन।
सङ्क्रमण रोकथाम गरेर यसको प्रकोप नियन्त्रण गर्न सकिन्छ।
यसको उपचारका लागि सबैभन्दा राम्रो चाहिँ खोप हो।
एमपक्सविरुद्ध तीन वटा खोप विकास भएका छन्। तर जोखिममा रहेका वा सङ्क्रमितसँग निकट सम्पर्कमा रहनुपर्ने मानिसहरूका लागि मात्रै यसको खोप सिफारिस गरिएको छ।
विश्व स्वास्थ्य सङ्गठनले सबै मानिसहरूले यसको खोप लगाउनुपर्ने आवश्यकता नरहेको जनाएको छ।
एमपक्सको नयाँ प्रजातिविरुद्ध अहिले उपलब्ध खोपहरू कति प्रभावकारी छन् भन्ने पनि अध्ययन हुन बाँकी छ।
विश्व स्वास्थ्य सङ्गठनले खोप उत्पादकहरूलाई एमपक्सको खोप आपत्कालीन प्रयोगका लागि मात्रै उपलब्ध गराउन भनेको छ। खोपको आवश्यकता भएको भनिएका देशहरूमा पनि यस विरुद्धको खोपले औपचारिक स्वीकृति पाएको छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








