तराईका केही भागमा 'मन्द' शीतलहर हुँदा पहाडमा सुक्खा, हिउँदे वर्षाको अवस्था कस्तो?

तराईमा शीतलहर चलेको अधिकारीहरूले बताएका छन्

तस्बिर स्रोत, RSS

केही दिनदेखि नेपालको समथर भूभागमा हुस्सु र कुहिरो लाग्नुका साथै शीतलहर पनि चलेको र राजधानी काठमाण्डू उपत्यकासहित पहाडी भूभागमा मौसम सफा देखिएको अधिकारीहरूले बताएका छन्।

विशेषगरी काठमाण्डू उपत्यका र पहाडी भूभागमा मौसम सफा भई दिनभर घाम लाग्दा कतिपयले माघ महिनामै गर्मी लाग्ने सङ्केत देखिएको पनि बताइरहेका छन्।

यद्यपि मौसमविद्‌हरू "पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुँदाको अवस्था"ले मौसम सफा भएको र उक्त प्रणाली पुनः सक्रिय हुन सक्ने बताउँछन्।

अधिकारीहरूले तराईमा चिसोबाट बच्न तथा पहाडी क्षेत्रमा सुक्खा बढेकाले आगलागी एवं डढेलो लाग्ने अवस्था आउन नदिन सतर्कता अपनाउन आग्रह गरेका छन्।

केही स्थानमा 'मन्द शीतलहर'

शीतलहर

तस्बिर स्रोत, RSS

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली अधिकांश क्षेत्रमा निष्क्रियजस्तै भएकाले पहाडी भेगमा मौसम सफा देखिएको छ।

शनिवार बिहान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ: "मधेश प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहरको अवस्था रहेको छ भने बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु/कुहिरो लागेको छ। पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।"

महाशाखाले शुक्रवार जारी गरेको भिडिओमा वरिष्ठ मौसमविद् शान्ति कँडेलले भनेकी छन्, "… यो अवस्था माघ १३ गतेसम्म रहने पूर्वानुमान गरेका छौँ।"

उनले मन्द शीतलहरको अवस्था भएका क्षेत्रमा सतर्कता अपनाउन पनि आग्रह गरेकी छन्।

सुक्खासँगै डढेलो

डढेलो

तस्बिर स्रोत, RSS

अधिकारीहरूले खासगरी पहाडी क्षेत्रमा मौसम सफा हुनुका साथै सुक्खा बढेकाले कतिपय स्थानमा डढेलो लागेको बताएका छन्।

उनीहरूले यस्तो मौसममा आगलागी तथा डढेलोका घटनाहरू बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।

राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रवार एउटा विज्ञप्ति जारी गर्दै केही स्थानको डढेलोबारे जानकारी पनि दिएको छ।

प्राधिकरणले भनेको छ, "मौसम परिवर्तनसँगै देशैभर आगलागीका घटनाहरू बढ्दै गएका छन्। यसैबीच काभ्रेपलाञ्चोक जिल्लास्थित खानीखोला गाउँपालिकाबाट सुरु भई बेथानचोक गाउँपालिकाको वन क्षेत्र र देशका अन्य स्थानमा लागिरहेको वन डढेलोप्रति यस प्राधिकरणको ध्यानाकर्षण भएको छ। वन डढेलो क्रमशः नियन्त्रणमा लिने प्रयास भइरहेको छ।"

"कमशः बढ्दो तापक्रम र हिउँदे वर्षा कम हुने आकलनसँगै देशभर वन डढेलो तथा आगलागीका घटनाहरूको जोखिम थप बढ्ने सम्भावना छ।"

प्राधिकरणले वनमा डढेलो लगाउने कार्य वन ऐनअनुसार आपराधिक कार्यसमेत भएको स्मरण गराएको छ।

उसले सर्वसाधारणलाई सतर्कता अपनाउन र स्थानीय तहदेखि सकारी निकायहरूलाई आगलागी तथा डढेलो नियन्त्रणका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ।

न्यून हिउँदे वर्षा

हिउँदमा हिउँ नपर्दा हिमालमा हिउँ देखिँदैन

तस्बिर स्रोत, RSS

मौसमविद् झाका अनुसार यो पल्ट हालसम्म एकदमै न्यून हिउँदे वर्षा भएको छ।

उनले भने, "हालसम्मको अवस्थामा पहिलेका हिउँदमा हुने सरदर वर्षाको करिब ९ प्रतिशत मात्र वर्षा भएको छ।"

मौसमविद्‌हरूका अनुसार सामान्यतया हिउँद यामको तीन महिनामा पाँच-सातवटा उल्लेख्य पश्चिमी वायु प्रणाली देखिने गर्छ। तर कुनै वर्ष त्योभन्दा कम बढी समेत हुने गर्छन्।

नेपालमा मनसुनी वायु बर्सेनि चार महिना जति पूर्वतिरबाट पश्चिमतर्फ बहने क्रम पाइन्छ भने बाँकी आठ महिना पश्चिमी वायुको प्रभाव रहने गरेको छ।

विभागले हिउँद लाग्दै गर्दा यसपटक सरदरभन्दा कम वर्षा हुने र सरदरभन्दा बढी तापक्रम हुने हुँदा केही न्यानो महसुस हुने पूर्वानुमान गरेको थियो।

गत वर्ष देशका धेरैजसो स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको थियो तर हिउँमा त्यसविपरीत सुक्खा भएको थियो।

विश्व मौसम सङ्गठन र क्षेत्रीय स्तरका विवरणको मूल्याङ्कनका आधारमा नेपालमा 'केही सुक्खा हिउँद' हुने देखिएको विभागले जनाएको थियो।

लगातार सुक्खा हिउँद

हिमालमा हिउँ पनि कम हुँदै गएको बताइन्छ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, हिमालमा हिउँ पनि कम हुँदै गएको बताइन्छ

नेपालमा हिउँदका तीन महिनामा करिब ६० मिलिमिटर वर्षा हुँदाको अवस्थालाई सामान्य मान्ने गरिएको छ। पछिल्ला कैयौँ वर्षहरू भने सुक्खा भएका छन्।

विक्रम संवत् २०८० को हिउँदका सरदर वर्षाको झन्डै २१ प्रतिशत अर्थात् १२.५ मिलिमिटर मात्र वर्षा भएको थियो।

त्यसभन्दा अघिल्लो सालको हिउँद्‍मा समेत सरदरको एक चौथाइ मात्र वर्षा भएको थियो।

वर्षभरि हुने वर्षाको करिब आठ देखि १० प्रतिशत पानी हिउँदमा पर्नुपर्ने मौसमविद्हरू बताउँछन्।

नोभेम्बर महिना नेपालका लागि धेरैजसो सुक्खा हुने हुँदा 'पोस्टमनसुन' अवधिमा सबैभन्दा कम पानी पर्ने उनीहरू बताउँछन्।

नेपालमा सबैभन्दा बढी अर्थात् झन्डै ८० प्रतिशत वर्षा मनसुनमा हुने गर्छ।

देशका विभिन्न स्थानमा रहेका २० वटा मुख्य केन्द्रमा मापन गरिने तीस वर्षको औसत हिउँदे वर्षालाई सरदर वर्षा भनिन्छ।

त्यसकै आधारमा हेर्दा पछिल्ला झन्डै दुई दशकका नेपालमा धेरैजसो हिउँद सुक्खा पाइएका छन्।

विसं २०६२ सालमा हिउँदमा निकै कम अर्थात् औसत ७.१ मिलिमिटर पानी परेको सरकारी विवरण छ।अनि २०६३ साल यता जम्मा पाँच वर्षका हिउँदमा मात्र नेपालमा सरदरभन्दा धेरै वर्षा भएको छ।

गत वर्ष जल तथा मौसम विज्ञान विभागले हिउँदअघि जारी गरेको सूचनामा तीन महिनाको हिउँदे मौसम आकलनका क्रममा २०८० सालको हिउँदमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना रहेको उल्लेख गरेको थियो।

तर ज्यानुअरी महिनामै मौसम अधिकारीहरूले उक्त वर्ष हिउँदमा धेरै पानी पर्ने सम्भावना टरेको भन्दै 'हिउँदे खडेरी' सामना गरिरहेको बताएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।