गोवामा ज्यान गुमाएका पाँच नेपाली 'आगलागी भएको नाइटक्लबका कर्मचारी'

आगलागी भएको स्थलमा प्रहरी

तस्बिर स्रोत, EPA/Shutterstock

तस्बिरको क्याप्शन, आगलागी घटनाको अनुसन्धान थालिएको गोवा प्रहरीले बताएको छ
    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली

शनिवार उत्तरी गोवाको एउटा नाइटक्लब तथा रेस्टुराँमा भएको भीषण आगलागीमा परी ज्यान गुमाउने २५ जनामध्ये पाँच जना नेपाली रहेको दिल्लीस्थित नेपाली दूतावासले पुष्टि गरेको छ।

गोवा प्रहरीले दिएको विवरणअनुसार ती पाँच जना उक्त स्थानमा काम गर्ने कर्मचारी रहेको दूतावासले जनाएको छ। दूतावासले सोमवार बिहान मृतकमध्ये चार जना नेपाली रहेको बताएको थियो।

भारतीय राज्य गोवामा दशौँ हजार नेपालीहरू खास गरी पर्यटकीय क्षेत्रमा सेवामूलक कार्यमा संलग्न रहेका छन्।

नेपाली दूतावास के भन्छ

गोवामा आगलागी भएको नाइटक्लबबाहिर भारतीय प्रहरीहरू

तस्बिर स्रोत, Getty Images

सोमवार बिहान सामाजिक सञ्जाल 'एक्स'मा लेख्दै दिल्लीस्थित नेपाली राजदूत डा शङ्कर शर्माले गोवाको अर्पोरास्थित 'बर्च बाइ रोमियो लेन' नाइटक्लबमा भएको आगलागीमा ज्यान गुमाउने नेपालीहरूका परिवारजनसँग सम्पर्क गर्ने प्रयास भइरहेको उल्लेख गरे।

"पाँच मृतकको नाम र राष्ट्रियता त्यहाँकै कर्मचारीहरूले पहिचान गरेको आधारमा नेपाली भन्ने खुलेको छ," दूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाले भने।

थापाका अनुसार सोमवार साँझसम्म एक जनाको शव दाङको घोराही पठाइसकिएको छ भने झापाका दुई र डडेलधुरा तथा सिन्धुलीका एकएक जनाको शव मङ्गलवार त्यसतर्फ पठाइने छ।

गोवा प्रहरीले पोस्टमार्टमपछि उनीहरूले शव हस्तान्तरण गर्ने र मृतकका परिवारजनको खोजबिन गर्दै शव पहिचानपश्चात् नेपाल फर्काउने प्रक्रियामा दूतावासले सहजीकरण गर्ने उनले बताए।

मृतकहरू को हुन्

शनिवार राति भएको आगलागीमा परी ज्यान गुमाउने २५ मध्ये अधिकांश त्यहाँका भान्सामा काम गर्नेहरू रहेको बताइएको छ। भारतीय अधिकारीहरूका अनुसार उक्त घटनामा पाँच पर्यटकले पनि ज्यान गुमाएका छन्।

त्यहाँ मृत्यु हुने नेपालीहरू दाङ, डडेलधुरा, सिन्धुली र झापा जिल्लाका बासिन्दा भएको जानकारी प्राप्त भएको छ।

गोवाका मुख्यमन्त्रीका अनुसार तीन जनाको जलेर र अधिकांश अरू व्यक्तिको धुवाँमा निसासिएर ज्यान गएको हो।

भारतीय अधिकारीहरूले आगलागीमा परी छ जना घाइते भएको बताएका छन्।

गोवाका प्रहरी महानिर्देशक (डीजीपी) आलोक कुमारले शनिवार मध्यरातमा उक्त घटनाबारे प्रहरीको कन्ट्रोल रूममा खबर आएको बताए। "धेरैजसो शव रेस्टुराँको किचेनमा भेटिए। आगलागीको कारणबारे जाँच गरिने छ र जस्तो नतिजा आउँछ त्यहीअनुसार कारबाही गरिने छ।"

बीबीसी हिन्दीको विवरणमा उल्लेख भएअनुसार घटनाका एक प्रत्यक्षदर्शी संजयकुमार गुप्ताले आगलागी राति ११ र १२ को बीचमा भएको थियो।

"अचानक आगो लाग्यो…। म ढोकैमा थिएँ…। त्यहाँ डीजे र डान्सरहरू आउन लागेका थिए र धेरै भिड हुने छाँटकाँट देखिन्थ्यो।"

सिलिन्डर पड्किएर आगो लागेको हुन सक्ने प्रहरीले प्रारम्भिक आशङ्का गरेका विवरण आएका छन्।

क्षतिपूर्ति के हुन्छ

आगलागीका कारण क्षति पुगेको नाइटक्लब

तस्बिर स्रोत, AFP via Getty Images

दोस्रो चरणमा क्षतिपूर्तिको प्रक्रियाबारे दूतावासले बुझेर सहजीकरण गर्ने पनि थापाले बताएका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गोवामा भएको आगलागीमा भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेका छन्। उनले मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५०,००० भारतीय रुपैयाँ दिइने जनाएका छन्।

राज्य सरकारका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई पाँच लाख र घाइतेलाई ५०,००० रुपैयाँ दिइने जनाएका छन्।

गोवामा छन् हजारौँ नेपाली

गोवामा बसोबास गर्दै आएका लोकेन्द्र सेर्पालीका अनुसार त्यहाँ ५०,००० हजारको हाराहारीमा नेपालीहरू बस्दै आएका छन्।

"अधिकांश नेपालीहरू पर्यटकीय क्षेत्रमा काम गरिरहेका छन्। श्रमिकहरूका लागि यो एक सुरक्षित र आकर्षक गन्तव्य रहँदै आएको छ। खुला सिमाना हुनाले नेपालीहरू यहाँ आएर काम गर्ने गर्छन्," प्रगतिशील नेपाली समाज समिति, भारतका अध्यक्ष समेत रहेका सेर्पालीले भने।

भारतमा सहज आवतजावत गर्न सकिने हुनाले निकै लामो समयदेखि नेपालीहरू त्यहाँ विभिन्न क्षेत्रमा रोजगारीका निम्ति जाने गर्छन्।

विशेष गरी पश्चिम नेपालबाट भारतमा काम जाने प्रचलन निकै धेरै छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।