'कुम्भमेलाको भागदौडमा मारिएकाहरूको विवरण लुकाइयो'

कुसुम देवीका पति पन्नेलाल सहनी भागदौडमा मारिएको उनी बताउँछिन्

तस्बिर स्रोत, Devesh Chopra

तस्बिरको क्याप्शन, कुसुम देवीका पति पन्नेलाल सहनी भागदौडमा मारिएको उनी बताउँछिन्
    • Author, अभिनव गोयल
    • Role, बीबीसी हिन्दी

चेतावनी : यो समाचारमा तपाईँलाई विचलित पार्न सक्ने विषयवस्तु छन्।

बीबीसी हिन्दीले गरेको एउटा अनुसन्धानले झन्डै छ महिनाअघि भारतमा कुम्भमेलामा भएको घातक भागदौडमा मारिएका भनेर भारतीय अधिकारीहरूले स्वीकारेको भन्दा धेरै सङ्ख्यामा मानिसहरूको मृत्यु भएको र उनीहरूका परिवारलाई चुपचाप राहत दिइएको पत्ता लगाएको छ।

कुम्भमेला हिन्दूहरूको विश्वकै सबैभन्दा ठूलो धार्मिक मेला हो।

आधिकारिक तथ्याङ्कमा कुम्भमेलामा भएको भागदौडमा कुल ३७ जनाको ज्यान गएको उल्लेख छ। तर बीबीसीको अनुसन्धानमा थप २६ जना मृतकका परिवारलाई सरकारले आंशिक राहत उपलब्ध गराएको र अन्य १८ जनाको परिवारलाई त्यस्तो राहत नदिइएको पाइएको छ।

नगद वितरण

गत मार्च २५ मा भारतीय राज्य उत्तर प्रदेशबाट सादा पोसाकका प्रहरीहरूको एउटा टोली छिमेकी बिहार राज्यमा पैसाको बिटो लिएर पुगेको थियो।

उक्त टोली गोपालगन्ज पुग्यो र ६२ वर्षकी तारा देवीको परिवारलाई भेट्यो।

प्रहरीहरूले तारा देवीको छोरा धनञ्जय गोण्डलाई ५ लाख भारतीय रुपैयाँ हस्तान्तरण गरे र उनलाई भिडिओमा बोल्न पनि लगाए।

धनञ्जयले भिडिओमा भनेका छन्, "म र मेरी आमा तारा देवी कुम्भमेलामा डुबुल्की मार्न गएका थियौँ। मेरी आमा बित्नुभयो। यूपीबाट अधिकारीहरू आए र ५ लाख रुपैयाँ दिए। हामीले त्यो लियौँ।"

धनञ्जयका अनुसार उनकी आमा प्रयागराजमा भएको कुम्भमेलामा भएको भागदौडमा गत ज्यानुअरी २९ मा मारिएकी थिइन्।

यूपी सरकारले हालसम्म उक्त भागदौडमा कति मानिसहरू मारिएका थिए भन्ने आधिकारिक सूची जारी गरेको छैन।

कुम्भमेलामा भएको भागदौड

तस्बिर स्रोत, Reuters

‍तारा देवीका छोराका अनुसार प्रहरीले उनीहरूले राहतको पहिलो किस्ता पाएको बताएका थिए। आधिकारिक रूपमा सरकारले मृतकका परिवारलाई २५ लाख भारु दिने भनेको थियो।

धनञ्जयका अनुसार उनीहरूले हालसम्म थप २० लाख भारु प्राप्त गरेका छैनन्।

यूपी सरकारले ३५ पीडितका परिवारलाई प्रतिपरिवार २५ लाख रुपैयाँका दरले रकम उपलब्ध गराएको जनाएको छ।

उसका अनुसार ३७ पीडितमध्ये एक जनाको शव चिन्न सकिएको थिएन भने एक जनाका कोही पनि कानुनी हकदार नभएकाले ३५ जनालाई उक्त रकम हस्तान्तरण गरिएको हो।

यद्यपि बीबीसीले एउटा परिवारलाई २५ लाख रुपैयाँको चेक दिइएको पाएको छ जबकि अन्य परिवारका सदस्यहरूको ब्याङ्क खातामा रकम पठाइएको थियो।

उक्त घटनाको अनुसन्धान गरी एक महिनाभित्र त्यसको प्रतिवेदन बुझाउने समय पाएको तीनसदस्यीय न्यायिक आयोगको समय थप गरिएको छ।

पाँच लाख रुपैयाँ पाउने अन्य परिवार


आफ्नी आमा मीनाको तस्बिर देखाउँदै सन्नी पाण्डे

तस्बिर स्रोत, Devesh Chopra

तस्बिरको क्याप्शन, आफ्नी आमा मीनाको तस्बिर देखाउँदै सन्नी पाण्डे

त्यसबाहेक प्रहरीले तारा देवीको सहित कुल २६ परिवारलाई उनीहरूकै घरमा पुगेर ५ लाख रुपैयाँ दिएको बीबीसीले पत्ता लगाएको छ।

धेरैजसो अवस्थामा अधिकारीहरूले परिवारका सदस्यहरूलाई उनीहरूका आफन्तको मृत्युका लागि स्वास्थ्य समस्यालाई दोष लगाउँदै कागजातहरूमा हस्ताक्षर गर्न लगाएका थिए। यद्यपि ती परिवारका सदस्यहरूले चाहिँ आफ्ना आफन्तहरूको मृत्यु दुर्घटनामा भएकोमा जोड दिएका छन्। (प्रत्येक १२ वर्षमा आयोजना हुने कुम्भमेलाको समयमा हुने प्राकृतिक मृत्युका लागि उत्तर प्रदेश सरकारले सामान्यतया क्षतिपूर्ति दिँदैन।)

बीबीसीले अन्य १८ परिवारका सदस्यहरू कुम्भमेलामा भएको भागदौडमा मारिएका तर उनीहरूलाई कुनै पनि प्रकारको राहत नदिइएको पाएको छ। (यसमा माथि उल्लेख भएको कानुनी हकदार नभएको घटना समावेश छैन।)

यूपीका मुख्यमन्त्री योगी आदित्यनाथले सङ्गम भनिने तीन पवित्र नदीहरू, गङ्गा, यमुना र पौराणिक सरस्वतीको सङ्गम बिन्दुमा मात्र एउटा घटना भएको दाबी गरेका थिए।

तर बीबीसीले गत ज्यानुअरी २९ मा प्रयागराजमा चारवटा छुट्टाछुट्टै दुर्घटनाका प्रमाणहरू पनि फेला पारेको छ।

कुम्भमेलामा भएको भागदौडको कैयौँ सातापछि बीबीसीले १०० भन्दा बढी परिवारहरूसँग भेटेको छ। उनीहरू भारतका ११ वटा राज्यका बासिन्दा हुन्। उनीहरूले उक्त दुर्घटनामा आफ्नो परिवारका सदस्यहरूको ज्यान गएको दाबी गरेका छन्।

बीबीसीले ठोस प्रमाण नभएका बाहेक यथेष्ट ठोस प्रमाण भएका ८२ वटा मृत्युका घटनाहरूलाई पुष्टि गरेको छ।

केही परिवारहरूसँग पोस्टमर्टम, शवगृहमा राखिएको रसिद, मृत्युदर्ता प्रमाणपत्र वा फोटो र भिडिओहरूलगायतका प्रमाणहरू छन्।

बीबीसीले ती प्रमाण तथा विवरणहरूलाई पुन: पुष्टि गरेर जिल्लाहरूमा रहेका स्थानीय संवाददाताहरूसँग कुराकानी गर्‍यो र ती शवहरू कहाँ लगिएका थिए भन्ने पत्ता लगायो अनि त्यसलाई पछ्याउँदै अनुसन्धान गरेर मृतक परिवारसम्म पुग्न सफल भयो।

बीबीसीले परिवारका सदस्यहरू र प्रत्यक्षदर्शीहरूसँग प्रत्येक घटनाहरूबारे कुराकानी र अन्तर्वार्ता गर्‍यो अनि उनीहरूले भनेको समय ठिक हो कि होइन भनेर सबैका भनाइहरूलाई पनि पुष्टि गर्‍यो।

त्यस क्रममा कहिले उक्त परिवार कुम्भमेलाका लागि गएको थियो र भागदौड कहिले भयो अनि भागदौड हुँदा नजिकै कस्ता सङ्केतहरू थिए, डुबुल्की लगाउने स्थानभन्दा त्यो स्थान कहाँ थियो र त्यसपछि तत्कालको अवस्था कस्तो थियोलगायतका प्रश्नहरू सोधिएको थियो।

ती सबै विवरणहरूको विस्तृत जानकारीका आधारमा एउटा स्पष्ट प्रवृत्ति देखा पर्‍यो। त्यसले त्यहाँ भागदौडका चार स्थानहरू रहेका थिए भन्ने देखायो। ती थिए : सङ्गम, समुद्रकूप चौराहको झूँसी, ऐरावत मार्ग र कल्पवृक्ष गेटनजिकैको मुक्ति मार्ग चौराह।

लगभग सबैजसो २५ लाख रुपैयाँ राहत पाउनेहरूको सूची सङ्गमबाट करिब डेढ किलोमिटर परको 'वार्ड नम्बर ७, फोर्ट कान्ट प्रयागराज'मा मृत्यु भएकाहरूको छ।

त्यसभन्दा फरक ५ लाख भारु पाउने पीडित परिवारका सदस्यको मृत्यु 'सेक्टर-२०' वा 'सेक्टर-२१' कुम्भमेला क्षेत्र झूँसी उल्लेख भएको पाइएको छ।

त्यसमध्ये केही परिवारले उनीहरूका आफन्तको मृत्यु पनि सङ्गमनजिकै भएको दाबी गरेका छन्। तर उनीहरूको प्रमाणपत्रमा गलत रूपमा मृत्यु भएको स्थान झूँसी राखिएको छ। सम्भवत: उक्त क्षेत्रमा भएको घटनामा मृतकको सङ्ख्या कम देखाउनका लागि त्यसो गरिएको हुन सक्छ।

सरकार के भन्छ?

धर्मराज राजभरले आफ्नी पत्नी र बुहारी गुमाएका थिए

तस्बिर स्रोत, Devesh Chopra

तस्बिरको क्याप्शन, धर्मराज राजभरले आफ्नी पत्नी र बुहारी गुमाएका थिए

कुनै पनि प्रकारको राहत नपाउने १८ परिवारका हकमा उनीहरू सबैलाई एकै रूपमा बाँध्ने कुनै पनि साझा सूत्र फेला परेको छैन।

उदाहरणका लागि बीबीसीले एउटा भागदौड भएको स्थानमा रहेका पाँच शवहरूलाई तिनको तस्बिरका आधारमा पत्ता लगायो।

तीमध्ये तीन परिवारले पाँच लाख रुपैयाँ नगद पाएका छन् भने दुई परिवारले कुनै पनि राहत पाएका छैनन्।

अन्य कतिपय परिवारसँग उक्त घटना भएका दिन घटनास्थलमा उनीहरूका आफन्तहरूको पनि तस्बिर देखिएको छ तर सरकारले ती मृत्युलाई दुर्घटनाबाट भएका मृत्युमा गणना गरेको छैन।

बीबीसीले यूपी सरकारका अधिकारीहरूसँग लगातार सूचना मागेको थियो र त्यसका लागि सूचना विभाग र जिल्ला मजिस्ट्रेटलाई पटकपटक इमेल पनि गरिएको थियो।

जिल्ला मजिस्ट्रेटको कार्यालयले उक्त मामिलामा प्रतिक्रिया दिने प्रतिबद्धता जनाए पनि उनीहरूसँग सम्पर्क हुन सकेन।

यूपीका प्रहरी प्रमुखले पनि यस मामिलामा कुनै प्रतिक्रिया दिएनन् भने उक्त घटना हुँदा प्रयागराजका प्रहरी कमिश्नर रहेका तरुण गाबा तथा मेला अधिकृत विजय किरण आनन्दले पनि बीबीसीका प्रश्नको उत्तर दिएनन्।

बीबीसीले सङ्गमबाहेकका अन्य स्थानमा भएका भागदौडमा पनि मानिसहरूको ज्यान गएको र सरकारले केही राहत दिएर ती मृत्युलाई पहिचान गरेको पाएको छ।

यूपीको जौनपुरका धर्मराज राजभरकी पत्नी र बुहारी ऐरावत मार्गमा भएको भागदौडमा मारिएका थिए। ती दुवै मृत्युमा प्रतिव्यक्ति ५ लाख रुपैयाँका दरले राजभरले राहत पाएका थिए।

विभिन्न राज्यका पीडितहरू

कुम्भमेला

तस्बिर स्रोत, Uttar Pradesh Information Department

बीबीसीले ज्यानुअरी २९ मा खिचेको एउटा भिडिओमा परिवारका सदस्यहरू ती दुवै शवसँगै बसिरहेको देखिन्छ।

घरमा पुग्दा राजभरले आफूले पाएका नगदका बिटाहरू देखाउँदै भने, "सरकारले २५ लाख रुपैयाँ दिने भनेको थियो तर प्रहरीले दुवैका लागि पाँचपाँच लाख रुपैयाँ दिएर छाड्यो।"

यूपी प्रहरी सयौँ किलोमिटर यात्रा गरेर पश्चिम बङ्गालको पश्चिम बर्धमनमा पुग्यो र विनोद रुइदासको परिवारलाई ५ लाख रुपैयाँ नगद हस्तान्तरण गर्‍यो।

सबै परिवारले प्रहरीले दिएको रकम लिएका पनि छैनन्। बिहारमा सुनयना देवीका परिवारले पनि रकम लिन अस्वीकार गरे। उनीहरूले बीबीसीसँग आफूहरूले "फर्जी कागजपत्रमा हस्ताक्षर गर्न नमानेको" बताए।

बीबीसीले सङ्गमभन्दा तीनचार किलोमिटर टाढा रहेको कल्पवृद्ध गेटमा मृत्यु भएका कम्तीमा पाँच जनाका परिवारहरूको पनि पहिचान गरेको छ।

पन्नेलाल सहनीकी श्रीमती कुसुम देवीले आफ्ना पतिको मृत्यु ज्यानुअरी २९ बिहान ८ बजेतिर भएको बताएकी छन्।

"मानिसहरू उनको शवमाथि कुल्चँदै हिडिरहेका थिए। म लाससँगै घाममा साँझ ४ बजेसम्म बसेँ। हामीलाई कसैले पानीसम्म पनि दिएनन्," उनले भनिन्।

उक्त परिवारले पनि ५ लाख रुपैयाँ राहत पायो र त्यो नगदै दिइएको थियो।

कल्पवृक्ष गेटनजिकै मृत्यु भएका सबै पाँच व्यक्तिका आफन्तहरूको भनाइ उस्तै खालको छ। उनीहरूका अनुसार उनीहरूले बिहानदेखि साँझसम्म शव रुँघेर बस्नुपरेको थियो।

समय बित्दै जाँदा थप १८ परिवारले उक्त दुर्घटनामा आफ्ना आफन्तहरूको पनि मृत्यु भएको भन्दै राहत दाबी गरेका छन् तर उनीहरूले हालसम्म कुनै पनि प्रकारको राहत पाएका छैनन्।

यूपीको सुल्तनपुरकी मीना पाण्डे कुम्भमेलामा आफ्ना श्रीमान् र छिमेकी अर्चना सिंहसँग गएकी थिइन्। उनी तिनै १८ जना मृतकमध्येकी एक हुन्।

अर्चना मीनाको शवसँगै भागदौड भएको क्षेत्रमा दिउँसो ३ बजेसम्म बसेको सम्झन्छिन्। त्यो भनेको भागदौड भएको सात घण्टापछिको समय हो।

एआईद्वारा सञ्चालित २,७५० सीसीटीभी क्यामराहरू, ५० हजार सुरक्षाकर्मी, ड्रोनहरू र एम्बुलेन्सहरूको उपलब्धता दाबी गरिए पनि समयमा कुनै पनि प्रकारको सहायता प्राप्त गर्न नसकेको मृतकका आफन्तहरू बताउँछन्।

अर्चना दिउँसो भएपछि शव गल्न थालेको बताउँछिन्। "हामीसँग आफ्नो गाडीबाट नै त्यसलाई घरसम्म ल्याउनुको विकल्प थिएन," उनले भनिन्।

मीना पाण्डेको परिवारजस्तै उत्तर प्रदेशको देवरियाका श्यामलाल गोण्डका आफन्तहरू अझै पनि राहतको पर्खाइमा छन्।

उनका छोरा भागीरथी गोण्ड बेङ्गलुरुमा दैनिक ज्यालादारी मजदुरको रूपमा काम गर्छन्। दुर्घटनापछि उनी आफ्नो बुबालाई खोज्न प्रयागराज गए र फेब्रुअरी ३ मा अस्पतालमा पुगे।

राहतको पर्खाइमा रहेकाहरू

कुम्भमेला कहाँ लागेको थियो?

अस्पतालबाट प्राप्त पर्चीअनुसार ज्यानुअरी २९ मा स्थानीय समयअनुसार १०ः०२ बजे श्यामलाल गोण्डलाई मृत अवस्थामा त्यहाँ पुर्‍याइएको थियो।

"मेरो बुबालाई पहिचान नभएको व्यक्तिका रूपमा सूचीबद्ध गरिएको थियो। रेकर्ड राख्नका लागि उनीहरू [अस्पतालका कर्मचारीहरू]ले एउटा फाइल राखेका थिए। उनीहरूले फेला परेको अवस्थामा शवको फोटो खिचेका थिए र त्यसलाई रजिस्टरमा टाँसेका थिए।"

उनी थप भन्छन्, "फोटो हेरेर मात्र उहाँलाई चिन्न गाह्रो थियो। लडेपछि उहाँको टाउको तलतिर झुकेको थियो, छाती माथितिर धकेलिएको थियो र उहाँको अनुहार अलिकति घुमेको थियो।"

भागीरथी अस्पतालका कर्मचारीहरूले मृत्यु प्रमाणपत्र वा अन्य कुनै कागजात नदिएको दाबी गर्छन्।

"उनीहरूले मलाई शव लिनू भने तर मैले कुनै आधिकारिक प्रक्रिया पालना गरियो भने मात्र म त्यसो गर्छु भनेँ," उनी भन्छन्।

मृत्यु प्रमाणपत्र पाउन चार महिना लाग्यो। तर अझै पनि उनी राहतको पर्खाइमा छन्।

"सरकारले अझै पनि मेरो बुबाको मृत्यु भएको स्वीकार गरेको छैन," उनले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।