महाशिवरात्रिका दिन पशुपतिमा भारतबाहेक देशबाट पनि उल्लेख्य पाहुना, महाकुम्भले असर पार्ने चिन्ता

महाशिवरात्रीमा साधुहरू

तस्बिर स्रोत, Reuters

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

पशुपति क्षेत्र विकास कोषले विश्वभरिका हिन्दूहरूको पवित्र तीर्थस्थल मानिने पशुपतिनाथ मन्दिरको दर्शनका लागि महाशिवरात्रिका दिन नेपाल र भारतबाहेकका देशबाट पनि उल्लेख्य सङ्ख्यामा मानिसहरू आउने जनाएको छ।

हिन्दू देवता शिवको विशेष दिन भएको विश्वास गरिने महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा पाँच लाख मानिसहरू दर्शनका लागि पुग्ने आकलन गरिएको छ।

तीमध्ये अधिकांश नेपाली र भारतीयहरू हुने गरेका छन्।

तर त्यसबाहेकका देशबाट पनि यो पर्वमा पशुपति दर्शन गर्ने उद्देश्यले उल्लेख्य सङ्ख्यामा हिन्दूहरू आउने गरेको क्षेत्र विकास कोषका सदस्य राजु केसीले बताए।

"विश्वभरि हिन्दूहरू रहेका छन्। नेपाल र भारतबाहेक मलेशिया, श्रीलङ्का, थाईल्यान्ड र अमेरिकासहितका देशबाट नेपाली र भारतीय मूलका मानिसहरू छिटपुट रूपमा आउँछन्," उनले भने।

उनका अनुसार मलेशियाबाट हरेक शिवरात्रिमा करिब ५०० जना हिन्दूहरू आएर विशेष पूजा र दान गर्ने गरेका छन्।

"मलेशियाबाट करिब ३०० जनाको टोली नियमित आउने गरेका छन्। उनीहरूले निश्चित चन्दा पनि दिने गरेका छन्," उनले भने।

पुरानै चलन

पशुपतिनाथ मन्दिर

तस्बिर स्रोत, RSS

पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डनले पनि महाशिवरात्रिका दिन मलेशियाबाट दक्षिण भारतीय मूलका हिन्दूहरू आउने परम्पराले कैयौँ वर्ष देखि निरन्तरता पाइरहेको बताए।

"मलेशियामा दक्षिण भारतीय मूलका हिन्दूहरू रहेछन्। दक्षिण भारतमा शैव धर्म निकै प्रचलनमा छ त्यसकारण शिवरात्रिमा समूहसहित आउँछन्। यो अन्तर्राष्ट्रिय पर्व हो। नेपाली र भारतीय मूलका मानिसहरू विश्वका धेरै देशबाट आउँछन्," उनले भने।

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रवेश गर्ने विदेशी नागरिकहरूलाई १,००० रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ।

पशुपति क्षेत्र विकास कोषका अनुसार यो पटकको शिवरात्रिमा छ जना भारतीय पूर्वस्थलसेनाध्यक्षहरूको टोली आउने बताइएको छ। महाशिवरात्रीकै दिन मनाइने नेपाली सेनाको स्थापना दिवसमा पनि सहभागी हुन आएको भारतका पूर्वप्रधानसेनापतिहरूको टोली महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनका लागि जान लागेको छ।

नेपाल र भारतबीच एकअर्को देशका प्रधानसेनापतिहरूलाई मानार्थ प्रधानसेनापति मान्ने प्रचलन छ।

महाकुम्भ मेलाको असर

पशुपतिमा आएका साधुसन्तहरू

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

भारतको प्रयागराजमा १४४ वर्षपछि लागेको भनी प्रचार गरिएको महाकुम्भ मेला पनि शिवरात्रिकै दिन समापन हुँदै छ। उल्लेख्य सङ्ख्यामा हिन्दू धर्मावलम्बीहरू यो पटक महाकुम्भ स्नानका लागि गएका कारण महाशिवरात्रिमा आउने भारतीय र नेपाली तिर्थालुहरूको सङ्ख्या घट्ने आशङ्का कतिपयको छ।

यद्यपि प्रयागराजबाट गङ्गाजल ल्याएर पशुपतिमा चढाउने प्रचलन रहेका करण त्यसले पशुपतिमा दर्शन गर्न आउनेको सङ्ख्या धेरै नघट्ने पशुपति क्षेत्र विकास कोषको दाबी छ।

यद्यपि कुम्भमेलाको प्रभाव केही हदसम्म पर्ने अध्येतासमेत रहेका टण्डन बताउँछन्।

"कुम्भमेलाले अलिकति प्रभाव पार्छ कि जस्तो लाग्छ। शिवरात्रिकै दिनमा वहाँ सकिने भएका कारण साधुसन्त महात्माहरूको सङ्ख्या अलिकति केही कम हुन सक्छ," उनी भन्छन्।

आफू हालै पशुपति मन्दिर क्षेत्र जाँदा उच्च ओहोदाका मानिने साधुसन्त र महात्मा कम देखेको उनको भनाइ छ।

'प्रत्येक दुई सेकन्डमा १० जना'

महाशिवरात्रीमा सजाइएको पशुपतिनाथ मन्दिर

तस्बिर स्रोत, RSS

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीका अनुसार बुधवार बिहान २:३० बजेबाटै पशुपतिनाथको मन्दिर दर्शनार्थीहरूका लागि खुला हुनेछ।

"बिहान २:३० बजेबाट शिवरात्रिको भोलिपल्ट बिहान ६ बजेसम्म मन्दिर खुला हुन्छ" सुवेदीले सोमवार आयोजित पत्रकार सम्मेलनमा भने।

"प्रत्येक दुई सेकन्डमा १० जना दर्शनार्थीले दर्शन गर्न सक्छन् भन्ने हाम्रो अनुमान छ।"

क्षेत्र विकास कोषको उक्त दाबीमा सामाजिक सञ्जालमा कतिपयले आशङ्का गरेका छन्। कोषका सदस्य केसी मन्दिर परिसरबाहिरबाट चार वटा लाइनमा गएका मानिसहरूलाई मन्दिरभित्र १० वटा लाइनमा विभाजन गरिने र एकै पटक १० जना मन्दिरको दर्शनमा पुग्ने बताउँछन्।

"मन्दिरमा दर्शनका लागि एक जनालाई दुई सेकन्ड भए पुग्छ भन्ने हाम्रो अनुमान हो," उनी भन्छन्।

मन्दिरका चार ढोकाबाट एकै पटक १० जनाले दर्शन गर्न मिल्ने सुविधाका लागि दुईतर्फ तीनतीन वटा र अर्को दुई ढोकामा दुईदुई वटा र्‍याम्प बनाइएको केसीले बताए।

दर्शनका लागि तिलगङ्गा, गौशालातर्फ रहेको पार्किङ, गौरीघाट र जयवागेश्वरी क्षेत्रबाट चार वटा लाइनमा मानिसहरूलाई मन्दिरभित्र जाने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

मन्दिरबाहिरको मेला क्षेत्रमा समेत गरेर २० लाख सम्म मानिसहरू पुग्ने आकलन क्षेत्र विकास कोषले गरेको छ।

प्लास्टिक लैजान नपाइने

महाशिवरात्रीमा ट्राफिक प्रभावित हुने क्षेत्र

तस्बिर स्रोत, Traffic Police

पशुपतिनाथ मन्दिरको दर्शनका लागि जाने श्रद्धालुहरूलाई पोलिथिन र प्लास्टिकजन्य सामग्री लैजान रोक लगाइएको छ।

प्लास्टिकजन्य फोहोर रोक्नका लागि त्यस्तो गरिएको र यस्ता सामग्री जफत गरिने क्षेत्र विकास कोषले जनाएको छ।

महाशिवरात्रि व्यवस्थापनमा एक करोड ५० लाख रुपैयाँ खर्च हुने आकलन पशुपति क्षेत्र विकास कोषको छ।

मन्दिर क्षेत्रमा सुरक्षा र लाइन व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन हुने बताइएको छ।

क्षेत्र विकास कोषका सदस्य केसीका अनुसार ४१ वटा संस्थाबाट ४,००० स्वयंसेवक परिचालन गर्ने तयारी छ।

पहिले सरकारले गाँजा बाँड्थ्यो, अहिले प्रतिबन्ध

पशुपतिनाथमा आएका साधु सन्तहरू

तस्बिर स्रोत, RSS

शिवरात्रिका दिन पशुपति क्षेत्रमा भगवान् शिवको 'प्रसाद'का रूपमा कतिपयले गाँजा सेवन गर्ने प्रचलन रोक लगाउन पशुपति क्षेत्र विकास कोषले "गाँजा, भाङ, चरेसलगायतका लागुऔषध प्रयोग र ओसारप्रसार नगर्न" सचेत गराएको छ।

कोषको दुई पटक सदस्य सचिव बनेका टण्डन विसं २०५० को दशकसम्म महाशिवरात्रिमा पशुपति आउने साधुसन्तहरूलाई गाँजा दिएर पठाइने गरिएको बताउँछन्।

"भगवान् शिवले गाँजा खानुहुन्छ भनेर गँजडी बनाइरहेका थियौँ। त्यो कुरालाई बिस्तारै हटाउँदै जाने अभियान नै भयो। गाँजा पनि प्रतिबन्ध भएको अवस्थामा सरकारले नै बाँड्ने चलन ठिक भएन। त्यसकारण गुठी संस्थानले बाँड्ने चलन पनि ६० को दशकको सुरुबाटै हट्यो," टण्डन भन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।