सम्भावित चिनियाँ हमलालाई विचार गरेर ताइपेईमा आपतकालिन पूर्वाभ्यास

तस्बिर स्रोत, Getty Images
- Author, टेसा वोङ
- Role, बीबीसी न्यूज, एसिया डिजिटल रिपोर्टर
ताइवानको राजधानीमा सम्भावित चिनियाँ आक्रमणविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो नागरिक सुरक्षा पूर्वाभ्यास गरिँदा राजधानी ताइपेईमा जनजीवन ठप्प पारिँदैछ।
बिहीवार महानगरीय क्षेत्रमा हवाई आक्रमणको साइरन बज्नेछ र ट्राफिक ठप्प हुँदा केही क्षेत्रहरूमा त्यहाँका बासिन्दाहरूले घर भित्रै आश्रय लिनुपर्नेछ। सहरले समूहमै मानिसहरूलाई अन्यत्र पठाउने र आम रूपमा हताहत हुँदाको अवस्थाको पूर्वाभ्यास पनि हुनेछ।
यो अभ्यास ताइवानको अहिलेसम्मकै सबैभन्दा ठूलो युद्ध खेल खान ग्वाअङ अभ्यास सँगसँगै गर्न लागिएको छ जुन वार्षिक रूपमा हुनेगर्छ। अहिले ताइवानले आफ्नो प्रतिरक्षा बढाउँदै लगिरहेको छ।।
चीनले स्वशासित ताइवानलाई आफ्नो भूभागको हिस्सा भएको दाबी गर्छ र ताइवानसँग "पुन: एकीकरण" का लागि बल प्रयोग गर्ने कुरालाई अहिलेसम्म अस्वीकार पनि गरेको छैन।
गत वर्ष ताइवानमा राष्ट्रपतिमा विलिअम लाई निर्वाचित भएपछि त्यहाँ तनाव बढेको छ र चीनले उनलाई "पृथकतावादी" भन्ने गर्छ।
यसअघिका खान ग्वाअङ अभ्यासहरूमा पनि नागरिक प्रतिरक्षाका अंशहरू राखिएका थिए तर यो वर्ष अधिकारीहरूले तिनीहरूलाई उक्त टापूभरि नै "अर्बन रिजिलिअन्स् एक्सरसाइजेज्" अर्थात् सहरी भेगमा जोखिम वहन गर्ने क्षमता जाँच्ने अभ्यासमा जोडेका छन् जुन मङ्गलवार सुरु भएर शुक्रवार सकिँदैछ।
पूर्वाभ्यास भएका प्रत्येक दिन ताइवानका धेरै सहरहरूमा आधा घन्टासम्म हवाई आक्रमणको जनाउ दिने साइरन बजिरहेको सुनिन्छ।
प्रत्येक सहरका तोकिएका क्षेत्रहरूमा बस्ने बासिन्दाहरूले घरभित्रै बस्नुपर्छ नभए उनीहरूले जरिवाना तिर्ने जोखिम उठाउनुपर्छ। त्यस्तै सबै पसल र रेस्टुरेन्टहरू पनि बन्द हुनुपर्छ। सडक ट्राफिक पनि रोकिनुपर्छ र सवारीचालकहरूले पनि तत्कालै गाडीहरू रोकेर घरभित्र जानुपर्ने हुन्छ।
ताइपेईमा आपतकालीन सेवाका कर्मचारिहरू र स्वयंसेवकहरूले बजार र मन्दिर, विद्यालय, सबवे स्टेशनहरू र राजमार्गहरू खाली गर्ने काम गर्नुपर्छ।
उनीहरूले आम रूपमा हुने हताहतीको एउटा नक्कली घटनाको पनि अभ्यास गर्नुपर्छ र घाइतेहरूको उपचारमा आफ्नो प्रतिक्रियाको पूर्वाभ्यास गर्ने र आपत्कालीन आपूर्तिको लागि वितरण केन्द्रहरू खडा गर्नुपर्छ।
यो साताको अर्बन रिजिलिअन्स् अभ्यास ताइवानले यो वर्ष आयोजना गरेको पछिल्लो नागरिक प्रतिरक्षा अभ्यास हो।
सम्भावित हमलाहरूको लागि सहरलाई तयार पार्ने र मानिसहरूलाई प्रतिरक्षाबारे सजग गराउने तयारी गरिरहँदा ताइवानले यी अभ्यासहरू गरेको हो।

तस्बिर स्रोत, Getty Images
अमेरिकी अधिकारीहरूले चीनबाट तत्काल खतरा रहेको चेतावनी दिएका भएपनि चीनका राष्ट्रपति सी जिनपिङले आफ्नो सेनाले सन् २०२७ सम्ममा ताइवानमा आक्रमण गर्न सक्षम होस् भन्ने चाहेका छन्।तर धेरैजसो ताइवानीहरू वास्तविक आक्रमण हुने कुरामा शङ्का गर्छन्।
गत अक्टोबरमा सरकारसँग सम्बन्धित थिङ्क ट्याङ्क इन्सटिच्युट फर न्याश्नल डिफेन्स एन्ड सेक्यूरिटी रिसर्च (आइएनडीएसआर)ले गरेको एउटा सर्वेक्षणले ६० प्रतिशत भन्दा बढी ताइवानीहरूले अबको पाँच वर्षमा चीनले आक्रमण गर्छ भन्ने कुरामा विश्वास नगर्ने देखाएको थियो।
"चीनले आक्रमण गर्ने सम्भावना कम छ। यदि उनीहरू साँच्चै हामीमाथि आक्रमण गर्न चाहन्थे भने उनीहरूले धेरै पहिला नै यो गरिसकेका हुन्थे," बुधवार ताइपेईमा बीबीसीले अन्तर्वार्ता लिएका २९ वर्षीय वित्त क्षेत्रमा काम गर्ने बेनले भने।
"तर मलाई लाग्छ यी अभ्यासहरू आवश्यक छन्, प्रत्येक देशलाई चाहिन्छ र आफ्नो प्रतिरक्षाको अभ्यास गराउनुपर्छ… मलाई लाग्छ चीनबाट खतरा अझै पनि छ।"
तर केहीले भने त्यसमा शङ्का व्यक्त गरेका छन्।
"चीन र ताइवानको सेनाको शक्तिमा धेरै ठूलो भिन्नता छ," कार्यालयमा काम गर्ने एक ४८ वर्षीय शुएले भने। "आक्रमणबाट आफूलाई बचाउनुको कुनै अर्थ छैन।"
आइडीएसआर सर्वेक्षणले ताइवानको आधा जनसङ्ख्यालाई मात्र आफ्नो सशस्त्र सेनाको उक्त टापुको रक्षा गर्ने क्षमतामा विश्वास रहेको देखाएको थियो।
यो लामो समयदेखि चलिरहेको भावना हो जसले हालैका वर्षहरूमा ताइवानी सरकारलाई आफ्नो सेनालाई बलियो बनाउन र खान ग्वाअङ अभ्यासलाई विस्तार गर्न प्रेरित गरेको छ।
२२,००० भन्दा धेरै सैनिकहरूले जमिन, समुद्र र हवाई सैन्य अभ्यासका क्रममा चीनबाट हुने सम्भावित हमलाबाट टापुको रक्षा गर्ने पूर्वाभ्यास गरे। यो सङ्ख्या गत वर्षको तुलनामा लगभग ५० प्रतिशतभन्दा बढी हो।
अमेरिकाले आपूर्ति गरेको हिमार्स मोबाइल क्षेप्यास्त्र प्रणालीका साथै ताइवानमा निर्मित रकेट जस्ता नयाँ सैन्य उपकरणहरूको परीक्षण गरिएको थियो।
यो वर्ष खान ग्वाअङ अभ्यास 'ग्रेजोन युद्ध' र चीनबाट आउनसक्ने मिथ्या सूचना र दुष्प्रचारको घटनाको सामना गर्नुका साथै सहरहरूमा सैन्य प्रतिरक्षाको अभ्यासमा पनि केन्द्रित थियो।
हालैका दिनहरूमा सैनिकहरूले ताइपेईले प्रदर्शनी केन्द्र र सबवेमा सहरी युद्ध अभ्यासमा भाग लिएका थिए।
बुधवार सेनाले टाइजुङ सहरको सडकमा दुश्मनका फौजलाई पछाडि धकेल्ने अभ्यास गर्यो र ताओयुआनको एउटा उच्च माध्यामिक विद्यालयलाई युद्ध ट्याङ्कमर्मत केन्द्रमा परिणत गर्यो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








