अस्ट्रेलियाको चुनावमा इतिहास रच्ने एन्थनी अल्बनेजी र उनको पार्टीका आगामी चुनौती

तस्बिर स्रोत, Getty Images
- Author, टिफनी टर्नबुल
- Role, बीबीसी संवाददाता
अस्ट्रेलियाको आमचुनावमा लेबर पार्टीले जित हासिल गरेको छ र प्रधानमन्त्री एन्थनी अल्बनेजी पुनः निर्वाचित भएका छन्।
आधिकारिक मतगणना केही दिनसम्म सकिने छैन, तर परम्परागत लिबरल-न्याश्नल गठबन्धनले देशव्यापी रूपमा हार बेहोरेका कारण अल्बनेजीको मध्य-वामपन्थी सरकारले नाटकीय रूपमा आफ्नो बहुमत बढाउने छ।
"आज, अस्ट्रेलियाली जनताले अस्ट्रेलियाली मूल्यमान्यताहरूको पक्षमा मतदान गरेका छन्: निष्पक्षता, आकाङ्क्षा र सबैका लागि अवसर; प्रतिकूलतामा साहस देखाउने शक्ति र खाँचोमा परेकाहरूलाई दया देखाउने शक्तिका लागि मतदान गरेका छन्," अल्बनेजीले भने।
चौबीस वर्षदेखिको आफ्नै सिट गुमाएका गठबन्धनका नेता पिटर डटनले आफ्नो पार्टीको हारको "पूर्ण जिम्मेवारी" स्वीकार गर्दै आफ्ना सांसदहरूसँग माफी मागेका छन्।
अल्बनेजीको चुनावी अभियानका मुख्य मुद्दाहरूमा जीवनयापन धान्ने खर्च, सङ्घर्षरत सार्वजनिक स्वास्थ्य सेवा, धान्न कठिन बनिरहेको आवास क्षेत्र र डोनल्ड ट्रम्पको अस्थिर राष्ट्रपति कार्यकालबारेका चिन्तालगायत थिए।
चुनावी परिणामपछि यूकेका प्रधानमन्त्री सर किअर स्टार्मर र अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अस्ट्रेलियासँगको द्विपक्षीय सम्बन्धलाई अझ गहिरो बनाउन आफूहरू तत्पर रहेको बताए।
पाँच हप्ताको चुनावी अभियानमा जीवनयापन र खास गरी स्वास्थ्य सेवा र आवासको किफायती जस्ता कुराको प्रभुत्व रहेको थियो। तर चुनावको सेरोफेरोमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रभावसँग कसरी जुध्ने वा व्यवहार गर्ने भन्ने विषयलाई पनि अन्तर्राष्ट्रिय सम्बन्धहरूले चासोपूर्वक हेरे।
डटनलाई धेरैले अस्ट्रेलियाका ट्रम्पका रूपमा हेरे जसलाई मतदाताहरूले नराम्रोसँग अस्वीकार गरे। यद्यपि उनले आप्रवासन, सार्वजनिक क्षेत्र कटौती र चीन र ट्रम्प प्रशासन बीचको नीतिहरूको तुलनालाई बेवास्ता गर्ने प्रयास गरे।
पूर्वप्रधानमन्त्री माल्कम टर्नबुलले बीबीसी न्यूजआवरलाई बताएअनुसार डटनले "धेरै ट्रम्पवादी अभियान" चलाए।
लेबर पार्टीले देशभरि नै आफूहरूप्रति झुकाउ देख्यो जुन अस्ट्रेलियामा दोस्रो कार्यकालको सरकारको लागि दुर्लभ हो। यसरी अल्बनेजी २० वर्षभन्दा बढी समयपछि लगातार चुनाव जित्ने पहिलो प्रधानमन्त्री बने।
पार्टीको सफलताले दुई प्रमुख दलहरूलाई त्याग्ने मतदाताहरूको प्रवृत्तिलाई पनि कम गरेको छ जुन सन् २०२२ को पछिल्लो चुनावको ठूलो कुरा थियो।
अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) को अनुमान अनुसार लेबर पार्टी ८६ सिट, गठबन्धन लगभग ४० र ग्रिन्स पार्टी एक वा दुई सिट जित्ने क्रममा छन्। अन्य साना दलहरू र स्वतन्त्रहरू नौ सिटमा अगाडि छन्।
त्यसले लेबरका लागि नौ सिटले वृद्धि र ग्रिन्सका लागि समर्थनमा उल्लेखनीय कमी आएको देखाउँछ।
तीन वर्षको विश्वव्यापी आर्थिक पीडा, तनावपूर्ण राष्ट्रिय बहस र बढ्दो सरकारी असन्तुष्टिपछि मतदानले अल्बनेजीको लोकप्रियता अहिलेसम्मकै कममा पुर्यायो। तर यो वर्षको सुरुवातदेखि नै उल्लेखनीय परिवर्तन भएको हो।

तस्बिर स्रोत, Getty Images
शनिवार रातिको आफ्नो जितपछिको भाषणमा अल्बनेजीले चुनावका केही मुख्य मुद्दाहरूलाई सम्बोधन गरे, जसमा बसाइँसराइ, जलवायु परिवर्तन र ऊर्जा रहेका थिए।
उनले स्वास्थ्य सेवालाई अझ किफायती बनाउने, धेरै अस्ट्रेलियालीहरूले घर किन्न सक्ने पहुँचमा पुर्याउने र जलवायु परिवर्तनलाई सम्बोधन गर्ने अनि वातावरण संरक्षण गर्न थप काम गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याए।
उनले "आदिवासी र गैरआदिवासी अस्ट्रेलियालीहरूबीचको खाडललाई पूरा गर्दा हामी एक बलियो राष्ट्र हुनेछौँ" भनेर फर्स्ट नेसन्सका मानिसहरूका लागि मेलमिलापलाई अगाडि बढाउने वाचा पनि गरे।
अस्ट्रेलिया एक मात्र कमनवेल्थ देश हो जसले आफ्ना आदिवासीहरूसँग कहिल्यै सन्धिमा हस्ताक्षर गरेको छैन।
नतिजापछिको आत्मनिरीक्षण
द भ्वाइस अल्बनेजीको सबैभन्दा परिभाषित नीतिहरूमध्ये एक थियो र उनका लागि सबैभन्दा ठूलो धक्का भनेको महिनौँसम्मको विषाक्त र विभाजनकारी राष्ट्रिय बहसपछि त्यसलाई व्यापक तरिकाले अस्वीकार गरियो।
आदिवासी अस्ट्रेलियालीहरूले त्यस बेलादेखि नीति निर्माताहरूले आफूहरूलाई बिर्सेको जस्तो लागेको बीबीसीलाई बताएका छन्।
इजरेल-गाजा युद्धमा मध्यमार्ग लिन प्रधानमन्त्रीलाई पनि कठिन भयो। आवास सङ्कटको बीचमा मल्टी-मिलिअन डलर पर्ने सम्पत्ति मुख्य समुद्र तटमा किन्दा मानिसहरूले आश्चर्य व्यक्त गरे। विश्वव्यापी रूपमा अन्य नेताहरू जस्तै उनी पनि कठिन आर्थिक अवस्थासँग जुधिरहेका थिए।
मतगणना गर्नुपर्ने सङ्ख्या घट्दै जाँदा अल्बनेजीलाई चुनावमा आउने कमजोर पक्षको रूपमा व्यापक रूपमा हेरिएको थियो र "इन्कम्बेन्सी कर्स" को अर्को सिकार हुने सम्भावना थियो। इन्कम्बेन्सी कर्स विश्वव्यापी प्रवृत्तिलाई व्याख्या गर्ने शब्द हो जहाँ सङ्घर्षरत मतदाताहरूले एक कार्यकाल पछि सरकारहरू हटाउने काम गरिरहेका थिए।
अर्कोतर्फ डटनले ठूलो राजनीतिक पुनरागमन गर्न लागिरहेका छन् भन्ने देखिन्थ्यो। उनी आफ्नो पार्टीलाई ७० वर्षमा भएको सबैभन्दा खराब हारबाट एकै कार्यकालमा सत्तामा फर्काउने सङ्घारमा थिए।
पहिलो कार्यकालको सरकारले पुनः चुनाव जित्न असफल भएको लगभग एक शताब्दी भइसकेको छ। तर अस्ट्रेलियन न्याश्नल युनिभर्सिटी एमेरिटसका प्राध्यापक जोन वारहर्स्टले भन्छन्: "डटन अगाडि नै चुनावी अभियानमा प्रवेश गरे। यो उनको हार हुनु थियो।"

तस्बिर स्रोत, Getty Images
"म यो देशलाई माया गर्छु र यसका लागि एकदमै कठिन सङ्घर्ष गरेको छु," ब्रिज्बेनमा समर्थकहरू समक्ष हार स्वीकार गर्दै उनले भने।
"यो चुनावमा हाम्रा विपक्षीहरूले हामीलाई परिभाषित गरेका छन् जुन हामी को हौँ भन्ने वास्तविक कथा होइन। तर हामी यहाँबाट पुनः आफूलाई बनाउनेछौँ र हामी त्यो गर्नेछौँ किनभने हामीलाई हाम्रा मूल्यमान्यताहरू थाहा छ। हामीलाई हाम्रा विश्वासहरू थाहा छ र हामी सधैँ त्यसमा अडिग रहनेछौँ।"
उनको अभियान जबरजस्ती नगरिएका गल्तीहरूले बिगार्यो: जसमा भ्रम निम्त्याउने नीतिगत उलटपुलटहरूको शृङ्खला, जीवनयापनको लागत जस्ता महत्त्वपूर्ण मुद्दाहरूमा गल्तीहरू र सायद सबैभन्दा बिर्सिन नसकिने गरी गल्तीले क्यामेराम्यानको टाउकोमा एएफएल बल लाग्नु थियो।
"विपक्षीहरू अस्थिर भएका छन्," प्राध्यापक वारहर्स्ट भन्छन्।
तर आफ्नो अभियानमा दृढ र अनुशासित भए पनि सरकार डराएको थियो। सरकारको रणनीति आश्वस्त पार्ने नीतिहरू अगाडि बढाउनुको सट्टा धेरै हदसम्म मतदाताहरूलाई डटन र उनको पार्टीको मूल्याङ्कन गर्न दिनु रहेको विश्लेषकहरू बताउँछन्।
र, अभियानभरि हामीले मतदाताहरूबाट यही कुरा सुन्यौँ।
गठबन्धन आफ्नो हारबाट तङ्ग्रिरहँदा र आफ्नो अर्को नेता छनौट गर्ने काममा लाग्दा उसले फेरि आफ्नो दिशाबारे सोच्नुपर्ने छ।
विश्लेषकहरू र पार्टीका आफ्नै केही सांसदहरूले गत चुनावमा दक्षिणपन्थतर्फ सर्ने कदमविरुद्ध चेतावनी दिएका थिए।
उनीहरूले धेरैले परम्परागत कट्टर मानिस मान्ने डटन जसलाई ध्रुवीकृत व्यक्तित्व भएका मानिस ठानिन्छ र खासगरी उनीहरूले धेरै गुमाएको मध्यम क्षेत्रहरूमा त्यस्ता व्यक्तिलाई समर्थन गर्न उनी सही व्यक्ति थिए कि थिएनन् भनेर प्रश्न गरेका छन्।
आफ्नो अवसान हुँदै गर्दाका दिनहरूमा संस्कृति युद्धको क्षेत्रमा प्रवेश गरेको अभियान र केहीले "ट्रम्पियन" राजनीति भनेपछि गठबन्धनले ती प्रश्नहरू फेरि सोध्नुपर्ने छ। उनीहरू प्रतिस्पर्धी हुन चाहन्छन् भने सायद फरक उत्तरहरू खोज्नुपर्ने छ।
"हामीले अन्धभक्त भएर कुराहरू विश्वास गर्ने वा अत्यधिक सूचना लिने काम बन्द गरेर यसबारे गम्भीर समीक्षा गर्नुपर्छ... हामी आफैँलाई भ्रममा राख्छौँ कि हामी चुनाव जित्नबाट केही चलाखीपूर्ण तरिकाबाट मात्रै केही टाढा छौँ," लिबरल पूर्व रणनीतिकार टोनी ब्यारीले एबीसीसँग भने।
तर यसैबीच लेबरले अस्ट्रेलियाले आफूहरूलाई सुम्पिएको बृहत् जनादेश हासिल गर्न उ के चाहन्छ भनेर निर्णय गर्नुपर्छ।
अन्तर्राष्ट्रिय अनिश्चितताले क्यानडा जस्ता देशहरूमा मतदाताहरूलाई परिवर्तनबाट टाढा राखेको देखिँदै गर्दा अल्बनेजीको "इन्कम्बेन्सी कर्स" उपहारका रूपमा साबित भयो। त्यस्तै, अस्ट्रेलियाले स्थिरताको पक्षमा मतदान गर्यो।
अस्ट्रेलिया इन्स्टिच्युट नामक थिङ्क ट्याङ्ककी प्रमुख राजनीतिक विश्लेषक एमी रेमिकिस लेबरले नीतिगत रूपमा "मध्यमार्ग" मा हिँडेको तर अब यो अझ साहसी हुन सक्ने बताउँछिन्।
"चुनावमा उनीहरूले लिएको बाटो त्यही थियो, र त्यही बाटोले उनीहरूलाई लाभांश दिएको उनीहरूले देखिरहेका छन्। तर 'के लेबरले वास्तवमा शक्तिको प्रयोग गरेर केही गर्ने छ?" भन्ने प्रश्न अब रहेको छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








