'भारत मणिपुरको साथमा छ': लालकिलाबाट मोदीको भाषण

तस्बिर स्रोत, PIB
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिंसाग्रस्त मणिपुर राज्यमा शान्ति कायम गर्ने प्रयासमा आफ्नो सरकार रहेको बताएका छन्।
"म मणिपुरका जनतालाई देश तपाईँहरूसँगै छ भन्न चाहन्छु," भारतको ७७औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने।
सो अवसरमा उनले दिल्लीस्थित लालकिलामा आयोजित एउटा विशेष समारोहमा भारतको राष्ट्रिय झण्डा पनि फहराएका थिए।
झन्डै डेढ घण्टा लामो भाषणमा मोदीले प्राकृतिक विपद्, अर्थतन्त्र, भ्रष्टाचार र भारतको बढ्दो जनसङ्ख्याबारे बोले। उनले विपक्षी दलहरूप्रति कटाक्ष पनि गरे।
मोदीको भाषण टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। उनले देशवासीलाई 'परिवारजन' भन्दै सम्बोधन गरेका थिए।
मणिपुरबारे के भने?
हिंसा फैलिँदा मणिपुरबारे नबोलेको भन्दै आलोचना खेप्दै आएका मोदीले आफ्नो भाषणको सुरुमै मणिपुरको कुरा उठाएका थिए।
उनले शान्तिको बाटोबाट मात्र मणिपुरमा दीर्घकालीन समाधान निकाल्न सकिने बताए।
"पछिल्लो समय मणिपुरमा हिंसा फैलियो। केही मानिसले ज्यान गुमाए अनि हाम्रा आमा र दिदीबहिनीहरूसँग अत्याचार भयो। तर केही दिनदेखि शान्तिको समाचार आउन थालेको छ।"
पूर्वोत्तर भारतको उक्त राज्यमा मे महिनामा मैतेई र कुकी समुदायबीच हिंसा सुरु भएको थियो। त्यसयता अहिलेसम्म १४० जनाको मृत्यु भइसकेको छ भने हजारौँ मानिस विस्थापित भएका छन्।

तस्बिर स्रोत, AGADEESH NV/EPA-EFE/REX/SHUTTERSTOCK
मैतेई समुदायका मानिसहरूले कुकी समुदायको एउटा गाउँमा आक्रमण गरी दुई कुकी महिलालाई निर्वस्त्र हिँडाएको देखिने भिडिओ सार्वजनिक भएपछि त्यसबारे विश्वभरि चर्चा र आलोचना भयो।
मोदीले भने, "देश मणिपुरको साथ छ। केन्द्र सरकार राज्यसँग मिलेर समाधान गर्ने प्रयास गर्दै छ र गरिरहने छ।"
देशको एकताबारे बोल्दै उनले भने, "मणिपुरमा घटना हुँदा महाराष्ट्रमा पीडा हुन्छ।"
मणिपुरकै विषयमा विपक्षी दलहरूले देशको सङ्घीय संसद्मा उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए। तर गत साता उक्त प्रस्ताव विफल भयो।
जनसङ्ख्या र अर्थतन्त्रबारे के भने?
चीनलाई उछिन्दै भारत विश्वमा सर्वाधिक जनसङ्ख्या भएको देश बनेको विषयमा प्रकाशित विवरणबारे पनि नरेन्द्र मोदीले टिप्पणी गरे।
उनले "जनसङ्ख्या, लोकतन्त्र र विविधता" भारतको शक्ति भएको भन्दै देशका युवाहरूले 'असीमिति अवसर' पाउने दाबी गरे।
भारतको अर्थतन्त्र अहिले विश्वमा शीर्ष पाँचौँ स्थानमा रहेको भन्दै उनले आगामी पाँच वर्षमा भारतलाई तेस्रो स्थानमा पुर्याउने घोषणा गरे।
भारतलाई विकसित देश बनाउने वाचा गर्दै उनले भने, ''म आज तपाईँहरूसँग केही माग्न आएको छु। सन् २०४७ मा जब भारतले स्वतन्त्रताको शतवार्षिकी मनाउने छ त्यसबेला भारतको झण्डा विकसित भारतको झण्डा हुनेछ भन्नेमा म विश्वस्त छु।"
"अलिकति पनि पछि हट्ने हैन। जुन देशलाई सुनको चरा भनिन्थ्यो त्यो फेरि उठोस्। सन् २०४७ मा मेरो देश विकसित देश बनेरै छोड्छ। यो कुरा म आफ्नो देशको साधनस्रोत, सामर्थ्य र ३० वर्षभन्दा कम उमेरका मानिसको भरमा भन्दै छु।"
उनले कोभिड महामारीपछि भारतको आर्थिक अवस्था अरू धेरै देशको भन्दा राम्रो भएको दाबी गरे। "हामीले मुद्रास्फीति सफलतापूर्वक नियन्त्रण गर्न सक्यौँ," उनले भने।
भारतमा मध्यम र निम्न वर्गका मानिसको सङ्ख्या ठूलो छ। केही महिनायता चर्को महँगीका कारण उनीहरू प्रभावित भएकाले मोदीको दाबीप्रति प्रश्न उठेको छ।
तरकारी, अन्न र दालजस्ता खाद्यपदार्थको मूल्य पनि बढेको छ। सोमवार प्रकाशित आधिकारिक तथ्याङ्कका अनुसार खुद्रा मुद्रास्फीति जुलाई महिनामा १५ महिनाकै उच्च थियो।
अरू के भने?
मोदीले भाषणमा नाम नलिईकनै विपक्षी दलहरूको नवगठित गठबन्धन र कांग्रेस पार्टीप्रति कटाक्ष गरे।
परिवारवादको प्रसङ्ग उठाउँदै उनले भने, "लोकतन्त्रमा एउटा रोग आएको छ - परिवारवादी पार्टी। उनीहरूको एउटै मन्त्र छ - परिवारले, परिवारका लागि, परिवारद्वारा।"
''देश विकासका लागि उनीहरूबाट मुक्ति पाउनु आवश्यक छ। सामाजिक न्याय बिग्रिएको छ भने त्यो तुष्टीकरणका कारण बिग्रिएको छ।"
भ्रष्टाचारको प्रसङ्ग उठाउँदै मोदीले भने,"अब आँखा बन्द गर्ने समय छैन। यदि सङ्कल्प पूरा गर्नु छ भने हामीले तीनवटा खराबीसँग लड्नुपर्छ। भ्रष्टाचारविरुद्ध युद्ध, मुक्ति सबै क्षेत्रमा आवश्यक छ।
''दोस्रो खराबी परिवारवाद हो। यसले यो देशको हक खोसेको छ। तेस्रो खराबी तुष्टीकरण हो। यसबाट हाम्रो राष्ट्रिय चरित्रमा दाग लाग्छ। त्यसैले भ्रष्टाचार, परिवारवाद र तुष्टीकरण तीन खराबी हुन्।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।














