इथियोपिया: खाद्य सहायता रोकिएपछि भोकमरीबाट 'सयौँको मृत्यु', दाताहरू के भन्छन्?

तस्बिर स्रोत, Getty Images
- Author, मर्सी जुमा र गिर्मे गेब्रु
- Role, बीबीसी विश्व सेवा
इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा चोरी भएको भन्दै खाद्य सहायता स्थगित गरिएपछि कम्तीमा १,४०० मानिसहरूले खानाको अभावमा ज्यान गुमाएको एकजना अधिकारीले बताएका छन्।
संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम र अमेरिकाको अग्रणी खाद्य सहायता एजेन्सीले टिग्रेमा दिँदै आएको खाद्य सहायता चार महिनाअघि रोकेका थिए।
टिग्रेका अधिकारीहरूले त्यसलगत्तै गरेको अनुसन्धानले करिब ५०० जना मानिसहरू चोरीमा संलग्न भएको पत्ता लगाएको ती अधिकारीले बीबीसीलाई बताए।
टिग्रे सन् २०२० मा बीभत्स हिंसाबाट गुज्रिएको थियो जसले त्यहाँ भोकमरी जस्तै अवस्था निम्तियो।
अफ्रिकी सङ्घको मध्यस्थतामा इथियोपिया सरकार र टिग्रे पिपुल्स लिबरेसन आर्मीले शान्ति सम्झौतामा हस्ताक्षर गरेसँगै गत नोभेम्बरबाट युद्ध अन्त्य भयो।
इथियोपियाको सेनाको तर्फबाट इट्रिटियन फौजले युद्ध लडेको थियो।
युद्धको अधिकांश समय उक्त क्षेत्रमा नाकाबन्दी भएका कारण त्यहाँ मानवीय सहायता पनि रोकिएको थियो।
खाद्य सहायता बजारमा बेचियो
अफ्रिकी सङ्घका दूत समेत रहेका नाइजिरियाका पूर्वराष्ट्रपति ओलुसेगु ओबासान्जोले दुई वर्षको युद्धमा छ लाख मानिसहरू मारिएको बताएका छन्।
अनुसन्धानहरूले लाखौँ मानिसहरू द्वन्द्व, भोकमरी र स्वास्थ्य उपचारको अभावमा मारिएको उल्लेख गरेका छन्।
राष्ट्रसङ्घको खाद्य कार्यक्रम र अमेरिकी सहायता कार्यक्रमले करिब ६० लाख टिग्रियनहरूलाई सहयोग गर्न सहकार्य गरेका थिए।
तर उनीहरूले गत एप्रिलमा आफूहरूले पठाएको सहायता पाउनुपर्ने व्यक्तिहरूसम्म नपुग्दै स्थानीय बजारमा पठाइएको थाहा पाएपछि त्यसलाई केही समय रोक्ने घोषणा गरे।
दाताहरूले यसरी खाद्य सहायता बिचमै बजारमा लगेर बेच्ने कार्यमा संलग्न को थिए भन्नेबारे खुलाएनन्।
"हामी उक्त आपराधिक कार्यमा आँखा चिम्लिएर बस्दै सहायतालाई निरन्तरता दिन सक्दैनौँ," विश्व खाद्य कार्यक्रमका एकजना प्रवक्ताले यसै साता बीबीसीसँग भने।
बीबीसीले पनि टिग्रे र राजधानी मेकालेका बजारमा बिक्रीका लागि राखिएका खाद्य सामग्रीहरूमा विश्व खाद्य कार्यक्रम र यूएसएडको छाप लगाइएको भेट्टायो।
यद्यपि उक्त खाद्य सहायता कसैले भ्रष्ट्राचार गरेर बजारमा विक्री गरेको हो वा सहायता लिएका व्यक्तिहरूले नै नगदको अभावमा बजारमा बेचेका हुन् भन्ने प्रस्ट छैन।
विश्व खाद्य कार्यक्रम र यूएसएडले गत जुनबाट इथियोपियाका बाँकी सबै ठाउँमा पनि खाद्य सहायता स्थगित गर्ने घोषणा गरेको छ।

सरकारी निकायहरूकै संलग्नता
अमेरिकी सहायता निकाय यूएसएड देशको सबैभन्दा ठूलो खाद्य दाता हो। उसले द्वन्द्व, खडेरी र महँगीको मारमा परेका दशौँ लाख मानिसहरूलाई सहयोग गर्दै आएको छ।
एउटा स्वतन्त्र सहायता समूहले पठाएको आन्तरिक जानकारी गत जुनमा बाहिरिएको थियो। जसमा धेरै सञ्चारमाध्यमहरूले उद्धृत गरेको उक्त सामग्रीमा सङ्घीय र क्षेत्रीय सरकारी निकायहरूकै संलग्नतामा "समन्वयात्मक आपराधिक योजना" अनुसार उक्त काम भइरहेको उल्लेख छ।
यसबाट देशभरिको सैनिक इकाईहरूलाई लाभ मिलिरहेको त्यसमा दाबी गरिएको छ।
इथियोपियाको सरकारले यस्तो आरोपबारे अनुसन्धान भइरहेको जनाएको छ तर उसले घटनाबारे हालसम्म पत्ता लागेका कुनै पनि कुरा सार्वजनिक गरेको छैन।
इथियोपियाको सेनाले चोरी भएको खाद्य सहायताबाट सेनाले पनि लाभ लिएको भन्ने दाबी अस्वीकार गरेको छ।
टिग्रेको अन्तरिम सरकारका विपद् जोखिम व्यवस्थापन सम्बन्धी आयुक्त गिब्रुहिवुट गिब्रेक्जियाबिहिरले खाद्य सहायता रोकिएपछि १,४११ जना मानिसहरू खाना नपाएर मरेको बीबीसीसँग बताएका छन्।
उनले पूर्वी, उत्तर पश्चिमी र दक्षिण पूर्वी क्षेत्रका तीन वटा इलाकामा मात्रै यति धेरै मानिसहरूको मृत्यु भएको बताए।
टिग्रेका अन्य तीन इलाकाको विवरण सङ्कलन नगरिएको र ती ठाउँको विवरण आउँदा मृत्यु हुनेको सङ्ख्या अझै धेरै देखिनसक्ने गिब्रुहिवुटले बताए।
गैरसरकारी संस्थाका कर्मचारी पनि अनुसन्धानको घेरामा
आयुक्त गिब्रुहिवुटका अनुसार खाद्य सहायता अपचलनमा ४९२ जनामाथि अनुसन्धान भइरहेको छ र १९८ जनाविरुद्ध त्यसमा संलग्न भएको अभियोगमा मुद्दा दर्ता भएको छ।
उनका अनुसार शङ्कास्पद व्यक्तिहरूमा सरकारी अधिकारीहरू, गैरसरकारी संस्थाका कर्मचारीहरू, युद्धका कारण विस्थापित मानिसहरूलाई राखिएका क्याम्पका संयोजकहरू र “खाद्य सहायता वितरणका लागि साझेदारका रूपमा काम गर्ने संस्था”हरू रहेका छन्।
"खाद्य गोदाम र मिलहरू सञ्चालन गर्ने व्यवसायीहरू पनि संलग्न भेटिएका छन्," आफूहरूको अनुसन्धान करिब अन्त्य भएकोतर्फ सङ्केत गर्दै उनले भने।
भोकमरीको असर

भोकमरीको प्रभाव बुझ्न बीबीसी टिग्रेको सबैभन्दा ठूलो सहर शिरे पुगेको थियो।
रक्तअल्पत्ता रोगबाट पीडित तीन जना बच्चाकी आमा मिब्रहित हेलीले खानेकुराको अभावमा आफू माग्न बाध्य भएको बताइन्।
“धेरैजसो दिन हामी नुनसँग इन्जेरा (एक प्रकारको रोटी) खान्छौँ। डाक्टरले मलाई सन्तुलित आहार खान भनेका छन् तर हामीले कहाँबाट पाउनु,” २८ वर्षकी उनले भनिन्।
उनका पाँच वर्षका र अढाई वर्षका दुईजना बच्चाहरू निकै दुब्ला देखिन्छन्। उनीहरूका आँखा गढेका छन् र लुगा बाहिरैबाट हड्डीको आकृति देखिन्छ।
उनीहरूले दिनमा एक छाक खान पाउनु पनि भाग्यको कुरा हो। कतिपय दिन उनीहरू भोकै सुत्नुपर्ने अवस्था छ।
बीबीसी उक्त सहर पुग्दा मिब्रहित पुन: अर्को बच्चा जन्माउने तयारीमा थिइन्।
त्यसको केही दिनपछि उनी सुत्केरी भएको र स्वस्थ छोरीको जन्म भएको उनले बीबीसीलाई सुनाइन्।
स्थानीय अस्पतालकी एक नर्सका अनुसार भोकमरीका कारण धेरै आमाहरूले आफ्ना बच्चालाई दूध चुसाउन पाउँदैनन्।
“धेरै बच्चाहरू यो अस्पतालमा ल्याइपुर्याउँदा मृत्यु नजिक पुगेका हुन्छन्,” किब्रा मेब्ह्रतुले भनिन्।
बीबीसीले अस्पतालमा भेटेकी एकजना आठ वर्षकी बालिकाको करङ बाहिरै देखिन्थ्यो। उनको तौल जम्मा १० किलोग्राम थियो। यो तौल औसतमा एक वर्षका बच्चाको हुनेगर्छ।
उनकी आमा हिवेत लेब्बासी भ्रष्ट्राचारका कारण खाद्य सहायता रोकिएको ठान्छिन्।
“यदि त्यो राम्रोसँग बाँडिएको भए नरोकिनुपर्ने हो,” उनले भनिन्।
दाताहरू के भन्छन्

गत जुनमा यूएसएडले “जोखिममा रहेका लक्षित जनसङ्ख्यामा पुग्नेमा विश्वस्त भएपछि” मात्रै खाद्य सहायता पुनः दिन सुरु गर्ने बताएको छ।
विश्व खाद्य कार्यक्रमका प्रवक्ताले खाद्य सहायता पुनः चालू गर्न भइरहेका प्रयासलाई तीव्रता दिइएको बताएका छन्।
उक्त राष्ट्रसङ्घीय निकायले कडाइका नयाँ नियमहरू पालना भए नभएको परीक्षणका लागि थोरै मात्रामा खाद्य सहायता विवरण सुरु गरिएको जनाएको छ।
उसले खाद्य सहायता गलत हातमा नपुग्ने सुनिश्चितता कायम गर्न खोजिएको जनाएको छ।
“सहायता स्थगित हुँदा यस्तो सहायता पाइरहेका परिवारहरूमा परेको मर्काप्रति विश्व खाद्य कार्यक्रमलाई गहिरो चिन्ता लागेको छ। त्यसकारण हामी लक्षित मानिसहरूसम्म यस्तो सहायता पुग्ने सुनिश्चितताका लागि सबै व्यवहारिक सुरक्षाका उपायहरू अवलम्बन गरिरहेका छौँ,” प्रवक्ताले भने।








