किम जङ-अनकी छोरीको पहिरनले उत्तर कोरियाबारे के बताउँछ?

    • Author, साङ्मी हान
    • Role, बीबीसी न्यूज कोरियन, सोल
  • पढ्ने समय: ५ मिनेट

सन् २०२२ को नोभेम्बरमा उत्तर कोरियाली नेता किम जङ-अन आफ्नी छोरी किम जू ए सँगसँगै हिँड्दै गरेका एउटा तस्वीर सार्वजनिक भयो।

विशाल अन्तरमहादेशीय क्षेप्यास्त्रअगाडि आफ्ना बुवासँग हिँड्दै गरेकी उनले कालो पाइन्ट र सेतो ज्याकेट लगाएकी थिइन् अनि पछाडि लामो कपाल बाटिएको थियो।

सरकारी प्रोपगेन्डामा पहिलो पटक देखिएकी जू ए त्यति बेला मात्र नौ वर्षकी थिइन् र उनी पहिले नै प्रभावशाली रूपमा राम्रो पहिरनमा सजिएकी थिइन्। त्यसयता उनको कपालको शैली थप जटिल र पहिरन अझ सुन्दर एवम्‌ परिष्कृत भएको छ।

सानै उमेरमा छोरीको बढ्दो लोकप्रियताका कारण किम जङ-अनले किम जू एलाई उत्तराधिकारीका रूपमा रोजेका हुन सक्ने दक्षिण कोरियाली गुप्तचर निकायको आकलन छ।

किम जू ए हाल १३ वर्ष पुगेकी ठानिएको छ। क्षेप्यास्त्र परीक्षण एवम् सैन्य परेडमा उनलाई आफ्ना बुवाको छेउमा उभिएको र विदेश यात्रामा पनि उनीसँगै हुने गरेको देखिन्छ।

तर छाला, भुवा र कपालको विशिष्ट शैलीले पनि उनलाई देशको नेतृत्व गर्न तयार पार्दै गरिएको सङ्केत गरेको कतिपय विश्लेषकहरू बताउँछन्।

औपचारिक सुट र स्कर्ट

किम जू एको पहिरन सम्भवतः सरकारको 'प्रोपगेन्डा एन्ड एजिटेशन डिपार्टमन्ट'ले निर्धारण गर्ने गरेको ठानिन्छ। उनी आफ्नी आमा ली सोल जूको जस्तै प्रायः औपचारिक सुट र स्कर्ट लगाएको देखिन्छिन्।

"किम जू ए अझै सानै भएकीले उनको उमेरलाई भावी नेताका लागि सम्भावित कमजोरीका रूपमा हेर्न सकिन्छ। सरकारले उनको उमेर लुकाउन र अझ परिपक्व छवि प्रस्तुत गर्न उनलाई उनकी आमाको जस्तै औपचारिक पोसाकमा देखाउने गरेको हुन सक्छ," सेजोङ इन्स्टिच्यूटका उपनिर्देशक चेओङ सियोङ-चाङले बीबीसी कोरियालीसँग भने।

चेओङका अनुसार अरू समयमा किम जू ए छालाको ज्याकेट लगाउने गरेको देखिन्छिन्। "पहिरन प्रभावशाली तर अनौपचारिक छन्" र सैन्य अड्डाहरू जस्ता "तुलनात्मक रूपमा कठिन वा दुर्गम ठाउँहरूमा" यात्रा गर्न मिल्ने खालका छन्।

तर यसको अर्थ अन्तत: उनी आफ्नो लवाइ बुवाको जस्तै पाउँछिन्, जसले कालो छालाको ज्याकेट र ट्रेन्च कोट लगाउन मन पराउँछन्।

"छवि प्रतिकृति" भनेर चिनिने अघिल्ला पुस्ताको फ्याशनको नक्कल गर्नु उत्तर कोरियाली नेताहरूले शक्ति कायम राख्न अपनाएको रणनीति हो।

सामान्य नागरिकभन्दा श्रेष्ठ

नेतृत्वका प्रारम्भिक वर्षहरूमा किम जङ-उनले आफ्ना हजुरबुवा किम इल-सङले जस्तै पहिरन लगाएर आफ्नो वैधतालाई बलियो बनाउने प्रयास गरेका थिए।

किम जङ-उन पहिलो पटक देखिँदा उत्तर कोरियालीहरू छक्क परेका थिए। दक्षिण कोरियाली विज्ञहरू किम जङ-उन पहिलो पटक देखापर्दा युवा किम इल-सङसँग उल्लेखनीय समानता भएको तथ्यबाट छक्क परेका थिए।

उत्तराधिकारीका रूपमा अनुभवको कमी र कम उमेर जस्ता चुनौतीको सामना गरेका युवा किम जङ-अनले किम इल-सङसँगको समानताले मात्र त्यसलाई पार गर्न सक्थे। "उत्तर कोरियालीहरूबीच किम इल-सङको पुनर्जन्म भएको हल्ला फैलियो।"

"प्रोपगेन्डा एन्ड एजिटेशन डिपार्टमन्टले स्वाभाविक रूपमा किम इल-सङबाट किम जङ-अनप्रति सम्मान पुस्तान्तरण गर्ने प्रक्रियाहरूलाई व्यवस्थित गर्नमा प्रमुख भूमिका निर्वाह गरेको थियो," चेओङ भन्छन्।

विज्ञहरूका अनुसार उत्तर कोरियाका संस्थापक नेता एवम् ४५ वर्षभन्दा बढी समय शासन गरेका किम इल-सङलाई त्यहाँ देवताका रूपमा हेरिन्छ।

किम जू एलाई धेरै पटक छालाको ज्याकेट लगाएको देखिनुले 'प्रोपगेन्डा एन्ड एजिटेशन डिपार्टमन्ट' ले उनलाई सामान्य नागरिकको भन्दा श्रेष्ठ रहेको चित्रण गर्न चाहन्छ भनी सङ्केत गर्छ।

"उच्च गुणस्तरको छालाको लुगा लगाउनु भनेको आफ्नो विशेष हैसियत देखाउने तरिका हो," चेओङ भन्छन्।

"उत्तर कोरियामा छालाको लुगा लगाउनु सामान्य होइन। लक्जरी ब्रान्ड, छालाको ज्याकेट र फर कोट महँगा लुगा हुन्, जुन सामान्य उत्तर कोरियालीहरूले किन्न सक्दैनन्।"

परिवर्तनशील फ्याशन शैली

किम जू एको परिवर्तनशील फ्याशन शैली बाँकी जनसङ्ख्यामा लगाइएको कडा नियन्त्रणको एकदमै विपरीत छ।

सन् २०२० मा उत्तर कोरियाले 'रिएक्याश्नरी आइडिअलजी एन्ड कल्चर रिजेक्शन एक्ट' लागु गर्‍यो, जसले "बाह्य संस्कृति" लाई निषेध गर्छ।

राज्यद्वारा सञ्चालित कोरियाली केन्द्रीय समाचार एजेन्सीले तर सन् २०२३ मा किम जू ए आफ्नो बुवासँग अन्तरमहादेशीय क्षेप्यास्त्रअगाडि हिँडिरहेकी भिडिओ जारी गर्‍यो।

त्यस बेला उनले कालो प्याडेड ज्याकेट लगाएकी थिइन्, जुन पछि फ्रान्सेली फ्याशन हाउस क्रिश्चियन डायरबाट खरिद गरिएको १,९०० अमेरिकी डलर बराबरको ज्याकेटका रूपमा चिनिन्छ।

अर्को वर्ष किम जू एले राजधानी प्योङयाङको एउटा आवासीय क्षेत्रको निर्माण समारोहमा आंशिक पारदर्शी ब्लाउज लगाएकी थिइन्, जसमा उनका पाखुराहरू देखिन्थे।

एउटा स्रोतले रेडियो फ्री एशियालाई बताएअनुसार त्यसलगत्तै आमनागरिकका लागि निर्देशनका रूपमा एउटा भिडिओ जारी गरिएको थियो – जसमा उनीहरूलाई त्यस्ता कपालका शैली र पहिरनहरू नअपनाउन चेतावनी दिइएको थियो किनभने तिनीहरू "समाजवादी प्रणालीको छविलाई कलङ्कित गर्ने र शासनलाई कमजोर पार्ने समाजवादविरोधी घटना हुन्, जसलाई उखेल्नुपर्छ।"

विदेशी संस्कृतिमाथि प्रतिबन्ध

लगभग भगवान्‌ जस्तै मानिने किम परिवारलाई यी घटनाहरूले समाजको बाँकी भागमा लागु हुने नियमहरूबाट मुक्त रहेका दर्शाउँछन्।

"यद्यपि पश्चिमा फ्याशन वस्तुका रूपमा उत्तर कोरियामा जीन्स प्रतिबन्धित छ, तर किम जङ-अन जीन्स लगाउने गरेका देखिन्छन्," युनिभर्सिटी अफ नर्थ कोरियन स्टडिजका प्राध्यापक ली वू-यङ भन्छन्।

"तिनीहरूले विदेशी संस्कृतिलाई जतिसुकै प्रतिबन्ध लगाए पनि र कानुन बनाए पनि उत्तर कोरिया एउटा यस्तो देश हो जहाँ सर्वोच्च नेताले केही गर्न नसक्ने कुरा हुँदैन।"

तथापि यसले केही उत्तर कोरियालीहरूलाई किम परिवार जस्तै भव्य लुगा लगाउन चाहनबाट रोक्न सकेको छैन।

धनी उत्तर कोरियालीहरूबीच 'शन्याल' कस्मेटिक्स र अत्तर जस्ता विलासी वस्तुहरू बढ्दो रूपमा लोकप्रिय रहेका बताइन्छ, जबकि चीनको सिमानामा रहेको यो शहरमा फर कोटहरू लोकप्रिय छन्।

एउटा प्रतिष्ठित किन्डरगार्टेनमा आंशिक पारदर्शी ब्लाउज लगाएका बालबालिकाका तस्वीरहरू बाहिर आएका छन्।

किम जू ए र किम जङ-अनद्वारा लगाइएका सनग्लास र छालाको ट्रेन्च कोट जस्ता लुगाहरू धनी युवाहरूबीच लोकप्रिय हुँदै गएका विवरणहरू छन्।

उत्तर कोरियाका सामान्य नागरिकलाई फ्याशन ट्रेन्डहरूसहित बाहिरी संसारको जानकारीमा अत्यन्त सीमित पहुँच छ, जसका कारण त्यहाँका नेता 'फ्याशन आइकन' बन्ने सम्भावना असम्भवजस्तै देखिन्थ्यो।

अहिले भने किम जङ-अनकी छोरी पनि 'फ्याशन आइकन' बनेकी देखिएकी छन्।

ह्युनजङ किमको अतिरिक्त रिपोर्टिङ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।