तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
न्यूनतम साझा कार्यक्रममा राखिएको भ्रष्टाचार छानबिनमा के गृहमन्त्रीले भनेझैँ सरकार 'निर्मम' हुन सक्ला?
सरकारले सोमवार सार्वजनिक गरेको आफ्नो न्यूनतम साझाकार्यक्रममा भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउने जनाइएको छ।
२१ मुख्य शीर्षकहरूका साथ सार्वजनिक गरिएको न्यूनतम कार्यक्रमको ‘लोकतन्त्र, सुशासन र गुणस्तरीय सेवा’ शीर्षकको एक बुँदामा लेखिएको छ - भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गर्ने।
सोमवार दिउँसो संसद्मा बोल्ने क्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ‘भ्रष्टाचारको निर्मम छानबिन गर्ने कुरा’ साझा न्यूनतम कार्यक्रममा राखिएको जनाएका थिए।
तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एकजना पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले सरकारको उद्देश्य ‘सोचेजस्तो सहज नभएको’ बताएका छन्।
"मानिसहरू उनै हुन्। सेटिङमा भइरहेको छ। अहिलेसम्मका क्रियाकलापका आधारमा त्यति आशावादी हुन सकिँदैन।"
गृहमन्त्रीले चाहँदा कति फरक पर्छ?
आफ्नो नेतृत्वमा एक वर्षभित्रै राजनीतिक दल स्थापना गरेर पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेका रवि लामिछाने यतिखेर गृहमन्त्रीको रूपमा छन्।
उनले सोमवार दिउँसो प्रतिनिधिसभामा संसद्हरूलाई सम्बोधन गर्दै भनेका थिए, "कुनै पनि भ्रष्टाचारका विषयमा भएका छानबिन या अनुसन्धानमा यहाँहरूले प्रभाव नपारिदिनुहोला। कुनै पनि आपराधिक गतिविधिमा छानबिन भइरहेको छ भने त्यसलाई प्रभाव पार्नका निमित्त आफ्ना मान्छे छुटाउन पर्यो भन्ने किसिमका दबाव सिर्जना नगरिदिनुहोला।"
"जे हो त्यही गर्ने, नीति नियमलाई पालना गर्ने हो भने त्यो सुरुवात गरिमामय संसद्मा उपस्थित सबैबाट हुनुपर्दछ।"
पूर्व अख्तियार प्रमुख उपाध्यायले गृहमन्त्रीले ‘साँच्चिकै चाहँदा’ भ्रष्टाचार विरूद्धका क्रियाकलापमा धेरै काम गर्न सक्ने ठान्छन्।
"गृहमन्त्रीका रूपमा अनुसन्धानमा सघाउने निकायहरूलाई प्रभावकारी बनाएर कामहरू गर्न सकिन्छ," उपाध्यायको भनाइ छ।
"तर सबैभन्दा प्रभावकारी ढङ्गले काम गर्न भ्रष्टाचारको विषयलाई हाम्रो अर्थनीतिसँग जोडेर हेर्नुपर्छ। अर्थतन्त्र बलियो बनाउनै पर्छ। कर्मचारीलाई राम्रोसँग खान लाउन पुग्ने गरी पैसा दिनसक्ने हुनुपर्छ।"
सरकारको नीति तथा कार्यक्रममा अख्तियारसहित, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायलाई प्रभावकारी बनाउनेगरी आवश्यक सुधार गर्नुपर्ने कुरा उल्लेख छ।
नेपालमा भ्रष्टाचार
सन् २०२२ को ज्यानुअरीमा सार्वजनिक गरिएको ट्रान्सपरेन्सी इन्टरन्याश्नलको भ्रष्टाचार सम्बन्धी एक प्रतिवेदनमा नेपाल विश्वका उच्च भ्रस्टाचार हुने देशमध्येमा देखिएको थियो।
उक्त अन्तर्राष्ट्रिय संस्थाले सार्वजनिक गरेको भ्रष्टाचारको अवधारणा सूचकाङ्क (सीपीआई) २०२१ अनुसार नेपाल ११७औँ स्थानमा छ।
सन् २०२० मा नेपाल ११३ औँ स्थानमा थियो।
साझा न्यूनतम कार्यक्रमका अन्य मुख्य बुँदा :
- छ महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गर्ने
- सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागु गर्ने
- विशेष अवस्थामा बाहेक चालु आर्थिक वर्षमा नयाँ सार्वजनिक निकाय खोल्न रोक लगाउने र दोहोरो भूमिका भएका अनावश्यक संरचनाहरू खारेज गर्ने
- फरक÷फरक कार्यालयमा नागरिकता लगायत डकुमेन्ट पटक–पटक बुझाउनुपर्ने झन्झटलाई हटाउन राष्ट्रिय परिचयपत्रलाई प्रचलनमा ल्याउने। सबै नेपालीलाई एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने
- स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्न सहकारी तथा निजी क्षेत्रलाई कर, विद्युत् महसुल तथा ऋणमा उपयुक्त व्याज अनुदान दिने
- उद्योग व्यवसाय दर्ताका लागि सुरुकै बिन्दुबाट सबै प्रकारका स्वीकृतिहरू उपलब्ध हुने कुराको सुनिश्चित गर्न टाइम कार्डको व्यवस्था गर्ने
- सबै पालिकामा प्राविधिक धारका विद्यालय सञ्चालन गर्ने
- ६० वर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह जस्ता नसर्ने रोगको निःशुल्क परीक्षण तथा औषधी उपलब्ध गराउने
- साप्ताहिक ४० घन्टा भन्दा बढी अवधि सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा प्रदान गर्ने
- सिँचाइलाई वर्षा यामको बिजुली महसुलमा ५० प्रतिशत र हिउँद यामको बिजुलीमा २५ प्रतिशत छुट दिने
- ५ वर्षमा विद्युत् उत्पादन क्षमता ६५०० मेगावाट र प्रतिव्यक्ति विद्युत् खपत ७०० किलोवाट घण्टा पुर्याउने। विद्युत् महसुललाई सर्वसाधारणले व्यहोर्न सक्नेगरी समायोजन गर्ने
- पाँच वर्षमा ६० लाखले सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गर्ने
- २ वर्षभित्र सबै पालिकाका केन्द्र जोड्ने पक्की सडक निर्माण गर्ने। निर्माणाधीन राष्ट्रिय राजमार्ग र रणनीतिक सडकहरू ५ वर्षभित्र सम्पन्न गर्ने
- फाइभ जी प्रविधि प्रयोगमा ल्याउने
- द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, पुनः स्थापना र परिपूरणको कार्य सम्पन्न गर्ने
- लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका नेपाली भूमिका फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयासले अगाडि बढाउने