दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध फेरि महाभियोगको प्रस्ताव, सांसदलाई 'ज्यान मार्ने धम्की'

दक्षिण कोरियाली राष्ट्रपति यून सुक यउलको तस्बिर च्यातिएको देखिने पोस्टर

तस्बिर स्रोत, Reuters

    • Author, जीन मकेन्जी
    • Role, सोल संवाददाता

दक्षिण कोरियाली राष्ट्रपति यून सुक यउलले देशद्रोह गरेको आशङ्कामा अनुसन्धान भइरहेको छ। उक्त कसुरमा मृत्युदण्डको सजाय हुन्छ।

देशमा सैन्य शासन लागु गर्ने उनको निर्णय विफल भएपछि संसद्‌मा उनीविरुद्ध गत साता उनीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएको थियो। तर आवश्यक मतसङ्ख्या नपुग्दा त्यो अगाडि बढ्न सकेन। विपक्षी दलका सांसदहरूले उनीविरुद्ध फेरि अर्को महाभियोग अगाडि बढाएका छन्। त्यसमा यही सप्ताहान्तमा मतदान हुँदै छ।

यूनविरुद्ध उनकै दल पीपल्स् पावर पार्टीका सांसदहरू पनि खुलेर देखा पर्न थालेका छन्। अर्कोतर्फ हजारौँ मानिसहरूले सडकमा देखाइरहेको आक्रोश हरेक रात बढ्दो क्रममा छ।

पदत्याग नगर्ने हठ

यो साताको केही समय उनले छिट्टै राजीनामा दिने सहमति आफ्नो पार्टीसँग जनाएको जस्तो देखिएको थियो। त्यसको साटो उनको पार्टीले उनलाई महाभियोगबाट पदच्युत गर्ने प्रयास रोकिदिएको थियो।

उनले एउटा सम्बोधनमार्फत् सैन्य शासन लागु गर्ने घोषणाका लागि क्षमायाचना पनि गरे। तर समय बित्दै जाँदा उनले पदत्याग सङ्केत देखिएन।

बरु राष्ट्रपति यूनले राजीनामा दिने आफ्नो मनसाय नरहेको खुलाए। बिहीवार उनले आफ्नो हठ दोहोर्‍याउँदै भने, "म अन्तिमसम्म लड्छु।" उनले आफ्नो पुरानो निर्णयको प्रतिरक्षा पनि गरे।

दक्षिण कोरियाली राष्ट्रपति यून सुक यउललाई पदबाट हटाउन माग गर्दै भएको प्रदर्शन

उनले आफ्नो भाषणमा अपुष्ट षड्यन्त्रका योजनाहरूको चर्चा गरे।

उनले यसअघिको निर्वाचनमा उत्तर कोरियाले धाँधली गरेको हुन सक्ने दाबी समेत गरे। हालैको निर्वाचनबाट राष्ट्रपतिको दलले संसद्‌मा बहुमत गुमाएको थियो।

उनले संसद् र विपक्षी दलहरूमाथि लाञ्छना लगाउँदै आफूले सैनिक शासन घोषणा गरेर जनता र प्रजातन्त्र जोगाउने प्रयास गरेको दाबी गरे।

साताभरि लुकेर बसे

राष्ट्रपति यून यो साताको अधिकांश समय गुप्तवासमै बसे। राष्ट्रपतिमाथि अनुसन्धान थालेको प्रहरीले प्रमाण सङ्कलनका लागि उनको कार्यालयमा छापा मार्ने प्रयास गरेको थियो। उनको दलले समेत उनलाई आगामी निर्णयहरू गर्न नदिइने घोषणा गर्‍यो। तर कानुनविद्हरूले संविधानमा त्यसो गर्न सकिने व्यवस्था नरहेको औँल्याएका छन्।

मानिसहरूले देश कसले चलाइरहेको छ भन्ने प्रश्न गरे। यसका पछाडि अर्को पनि कारण थियो। यूनकै सेनाका वरिष्ठ कमान्डरहरूले यदि राष्ट्रपतिले फेरि सैनिक शासन लागु गर्ने प्रयास गरे आफूहरूले त्यसलाई अस्वीकार गर्ने बताएका थिए।

उत्तर कोरियाबाट आक्रमणको धम्की बेहोर्दै आएको देशको सत्तामा अहिले "रिक्तता"को अवस्था उत्पन्न भएको छ। "यो अवस्थाको व्यवस्थापनका लागि कानुनी आधार छैन। हामी निकै खतरनाक अराजकताको अवस्थामा छौँ," सोगाङ विश्वविद्यालयमा कानुनका प्राध्यापक लिम जि-बोङ भन्छन्।

यस्तो अन्योलको अवस्था लामो समय राख्न नहुने पक्षमा सत्ताबाहिर रहेका सबै पक्ष एकमत थिए। तर राष्ट्रपतिको दल पीपीपीलाई महाभियोगबारे सोच्न केही समय लाग्यो।

सुरुमा पीपीपीका सदस्यहरूले राष्ट्रपतिको बचाउ गरे। यसको पछाडि दुई कारण थिए। पहिलो, उनीहरू आफ्नै राजनीतिक साख बचाउन चाहन्थे। अर्को, उनीहरूलाई आफूले नरुचाएका विपक्षी दल डेमोक्र्याटिक पार्टीका नेता ली जे-म्यङ राष्ट्रपति बन्ने डर थियो।

तर लामो समयको अनिर्णयपछि बिहीवार पीपीपीका नेता हान दोङ-हून राष्ट्रपति यूनमाथि महाभियोग लगाउन आफ्ना सांसदहरूलाई अनुरोध गर्न बाहिर आए। "राष्ट्रपति तत्कालै आफ्नो पदबाट निलम्बित हुनुपर्छ," उनले भने।

महाभियोग कति सहज छ

दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउन संसद् 'न्याश्नल असेम्ब्ली' को दुईतिहाइ मत आवश्यक पर्छ। अहिलेको समीकरणका हेर्दा सत्ताधारी दलका कम्तीमा आठ सांसदले विपक्षीलाई साथ दिनुपर्छ।

सत्तारूढ दलका केही सांसदले महाभियोगमा समर्थन जनाउने सङ्केत गरिसकेका छन्। तर सांसदहरूको पर्याप्त सङ्ख्या अझै पुगिसकेको छैन।

महाभियोगमा समर्थन जनाउने सङ्केत गरेका सांसद किम सङ-वूकले आफूलाई मार्ने धम्की आएको बताएका छन्। उनले आफ्नो दल र त्यसका समर्थकले आफूलाई "देशद्रोही" भएको आरोप लगाएको बताए।

सत्तारूढ दलका सांसदहरूसँग सर्वसाधारण पनि आक्रोशित

दक्षिण कोरियाली राष्ट्रपति यून सुक यउलविरुद्ध सोलमा भएको प्रदर्शन

अहिले धेरै मानिसहरूको आक्रोश राष्ट्रपति यूनलाई साथ दिइरहेका सांसदहरूप्रति देखिन्छ।

यसअघि यूनमाथि महाभियोग लगाउन माग गर्दै नारा लगाइरहेका प्रदर्शनकारीहरूले बुधवार रातिको प्रदर्शनमा यूनको "पार्टी विघटन" गर्न पनि माग गरेका थिए।

"मलाई अब दुवै मन पर्न छोडेको छ। राष्ट्रपतिभन्दा मलाई सांसदहरूप्रति धेरै घृणा छ," ३१ वर्षे विद्यार्थी चाङ यो-हूनले भनिन्। राष्ट्रपतिलाई पदबाट हटाउन माग गर्दै उनीजस्तै हजारौँ मानिसहरू जाडो सहेरै सडकमा भेला भएका छन्।

गत साता मानिसहरूले राष्ट्रपतिलाई हटाउन दबाव दिने उद्देश्यले सांसदहरूलाई गाली गर्दै फोन र सन्देशको ओइरो लगाएका थिए। एक सांसदले त्यसलाई "फोन आतङ्क" भने।

पीपीपी विभाजित छ र मानिसहरूले उक्त दललाई मन पराउन छोडेका छन्। यो सप्ताहान्तमा यूनविरुद्धको महाभियोग पारित गर्न पर्याप्त सांसदहरूले मतदान गरे भने पनि उनको दल सङ्कटमा रहने देखिन्छ।

सो दलको नीतिविरुद्ध यूनको महाभियोगका पक्षमा देखिएका सांसद किम अहिले मतदाताको विश्वास जित्ने समय भएको बताउँछन्।

महाभियोग पारित भए यूनविरुद्ध संवैधानिक अदालतमा सुनुवाइ हुन्छ। उक्त अदालतमा नौ सदस्य हुन्छन् र तिनले दक्षिण कोरिया सरकारका निकायहरूलाई हेर्छन्। राष्ट्रपतिलाई पदमुक्त गर्न अदालतका नौमध्ये छ सदस्य एकमत हुनुपर्छ।

यूनको खस्कँदो छवि

दक्षिण कोरियामा प्रदर्शन

तस्बिर स्रोत, News1

'युवा प्रजातन्त्र'को छवि बनाएको दक्षिण कोरियामा यूनको कदमले ठूलो धक्का पुर्‍याएको छ। राष्ट्रपतिबाट घोषणा भएको सैनिक शासन सांसदहरूले मतदानबाट उल्ट्याउँदा त्यहाँ गर्व महसुस गरिएको थियो र प्रजातान्त्रिक संस्थाहरूले काम गरेका थिए।

तर सत्ताधारी दलले यूनलाई पदमै टिकाउने निर्णय गरेपछि त्यसले प्रजातन्त्रमा रहेको कमजोरी पुनः उजागर गरिदियो र प्रतिपक्षीले त्यसलाई "दोस्रो सत्तापलट"को सङ्ज्ञा दिए।

कोरिया विश्वविद्यालयको अनुसन्धान निकायका प्राध्यापक यून ज्योङ-इन दक्षिण कोरियाको समस्या "प्रजातन्त्रको प्रणालीगत विफलता नभए पनि विकृति देखिएको" बताउँछिन्।

रातभरि भइरहेका प्रदर्शनहरूप्रति सङ्केत गर्दै उनी भन्छिन्, "मानिसहरू आत्तिएका छैनन्, उनीहरू लडिरहेका छन्। प्रजातन्त्रको अधिकार आफ्नो हो भन्ने उनीहरूले बुझेका छन्।"

पछिल्लो उतारचढावले दक्षिण कोरियाको अन्तर्राष्ट्रिय छविमा पनि ठूलो क्षति पुगेको छ। त्यसमध्ये पनि धेरै क्षति यूनले हासिल गर्न चाहेको विषयहरूमा भएको छ।

उनले दक्षिण कोरियालाई "विश्वको एक महत्त्वपूर्ण राष्ट्र" बनाउँदै विश्वमञ्चमा भूमिका बढाउने वाचा गरेका थिए। उनले सोललाई जी-सेभन समूहमा निम्तो आउने समेत आशा राखेका थिए।

तर पश्चिमा देशहरूले दक्षिण कोरियासँग स्थिर सम्बन्ध राख्नका लागि लागि महाभियोग एउटा समाधान हुन सक्ने बताएका छन्।

यदि यून शनिवार पदबाट निलम्बनमा परे भने उनले त्यसविरूद्ध प्रतिवाद नगरी पदबाट हट्ने देखिँदैन।

कानुनका राम्रो जानकार यूनले महाभियोगको सामना गर्ने निर्णय लिइसकेका छन्। तर उनले चालेका कदमले उत्पन्न गरेको तरङ्गले देशलाई कैयौँ वर्ष र सम्भवतः दशकौँसम्म पनि सताउन सक्छ।

जेक क्वन र होसु लीबाट थप रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।