नयाँ पोप नियुक्त रोबर्ट प्रेभोस्ट 'ट्रम्प प्रशासनको आलोचना गर्न नहिचकिचाउने अमेरिकी'

तस्बिर स्रोत, EPA
- Author, पोल किर्बी
- Role, युरोप डिजिटल सम्पादक
सेन्ट पिटरस्थित बसिलिकाको बार्दलीबाट उनी नयाँ पोप नियुक्त भएको घोषणा हुनुभन्दा अगाडिदेखि नै भ्याटिकनमा भेला भएका मानिसहरू "पोप जिन्दाबाद"को नारा लगाउँदै थिए।
रोबर्ट प्रेभोस्ट सेन्ट पिटरस्थित गद्दीमा बस्ने २६७औँ सर्वोच्च पादरी हुन्। उनी अहिले ६९ वर्षका भए। उनलाई अब 'लिओ चौधौँ' भनेर चिनिने छ।
पोपको भूमिका निर्वाह गर्ने उनी प्रथम अमेरिकी हुन्। यद्यपि उनलाई ल्याटिन अमेरिकी कार्डिनलका रूपमा बढी चिनिन्छ। बिशप बन्नुअघि उनले इसाई धर्मप्रचारका क्रममा धेरै वर्ष पेरूमा व्यतीत गरेका थिए।
प्रेभोस्टको जन्म सन् १९५५ मा संयुक्त राज्य अमेरिकाको शिकागोमा भएको थियो। उनका आमाबुवा स्पेनी र फ्रान्सेली-इटली मूलका थिए।
प्रेभोस्टले गिर्जाघरमा पादरीको सहायक भएर काम गरेका थिए। पछि १९८२ मा उनी पादरी बने। त्यसको तीन वर्षपछि उनी पेरू गए। तर बेलाबेलामा आफ्नो गृहनगर फर्किएर उनले पादरीको भूमिका निर्वाह गरेका थिए।
उनले पेरूको नागरिकता लिएका छन्। पेरूमा उनलाई सीमान्तकृत समुदायमा काम गर्ने र पुल बनाउन सघाउने व्यक्तिका रूपमा लिइन्छ।
पश्चिमोत्तर पेरूस्थित एउटा सहरमा उनले स्थानीय इसाई समुदायको नेता र धार्मिक विद्यालयमा शिक्षक बनेर १० वर्ष काम गरेका थिए।

तस्बिर स्रोत, Getty Images
कार्डिनल भनिने वरिष्ठ पादरीहरूले मध्ययुगीन परम्परा अनुसरण गर्दै निकै गोप्य प्रक्रियाबाट नयाँ पोप छानेका हुन्। पदासीन पोपको मृत्यु भएपछि वा उनले पदत्याग गरेपछि नयाँ पोप छानिन्छ। गत महिना पोप फ्रान्सिसको मृत्यु भएकाले अहिले उनको उत्तराधिकारी छानिएको हो।
पोप छानिएको घोषणा भएपछि बोल्दै लिओ चौधौँले आफ्ना पूर्ववर्ती पोप फ्रान्सिसको स्मरण गरे।
"हामी अहिले पनि हामीलाई आशीर्वाद दिनुहुने पोप फ्रान्सिसको क्षीण तर उत्साहप्रद आवाज सुन्छौँ," उनले भने।
"एकबद्ध भएर र ईश्वरसँग हातेमालो गर्दै हामी सँगसँगै अगाडि बढौँ," उनले अनुयायीहरूको भिडलाई सम्बोधन गर्दै भने।
उनले आफू ३० वर्षको उमेरमा पेरूमा धर्मप्रचारका लागि गएको कुरा पनि बताए।
उनी पोप बन्नु किन आश्चर्यको विषय हैन
पोप फ्रान्सिसले आफूले उक्त उत्तरदायित्व लिएको एक वर्षपछि प्रेभोस्टलाई बिशप नियुक्त गरेका थिए।
ल्याटिन अमेरिकाका बिशपहरूको नेतृत्व गरेकाले कार्डिनलहरूले प्रेभोस्टलाई राम्ररी चिनेका थिए। उनको काम नयाँ बिशपहरू छान्नु र उनीहरूलाई मार्गदर्शन गर्नु थियो।
सन् २०२३ को ज्यानुअरीमा उनी आर्चबिशप बनेका थिए। त्यसको केही महिनामै पोप फ्रान्सिसले उनलाई कार्डिनल नियुक्त गरे।
उनी कार्डिनल बनेको धेरै समय भएको छैन। तर उनी पोप छानिनु आश्चर्यको विषय हैन। किनभने नयाँ पोप छान्न आयोजित भेलामा सहभागी ८० प्रतिशत कार्डिनलहरू पोप फ्रान्सिसबाट नियुक्त भएका थिए।
पोप लिओ चौधौँको धारणा कस्तो छ
उनले क्याथोलिक गिर्जाघरमा पोप फ्रान्सिसले थालेको सुधारलाई निरन्तरता दिने ठानिएको छ। आप्रवासी, गरिब मानिस तथा पर्यावरणका विषयमा उनको धारणा पोप फ्रान्सिसकै जस्तो भएको मानिन्छ।
कार्डिनल हुँदा उनी अमेरिकी उपराष्ट्रपति जेडी भान्सका मान्यतालाई चुनौती दिन हिचकिचाएका थिएनन्।
ट्रम्प प्रशासनले अमेरिकामा बस्ने एक मानिसलाई एल साल्भाडोर निकाला गरेपछि उनले त्यसको आलोचना गर्दै सामाजिक सञ्जाल 'एक्स'मा प्रेषित एउटा सामग्री रिपोस्ट गरेका थिए। भान्सले फक्स न्यूजलाई दिएको अन्तर्वार्ताबारे लेखिएको आलोचनात्मक लेख पनि शेअर गरेका थिए।
"जेडी भान्स गलत छन् : जीजसले अरूप्रति हुने हाम्रो प्रेमको श्रेणी छुट्ट्याउन लगाउँदैनन्," न्याश्नल क्याथोलिक रिपोर्टरको वेबसाइटमा प्रकाशित लेखको शीर्षक थियो।
अमेरिकी भए पनि उनी क्याथोलिक गिर्जाघरमा विद्यमान विभाजन र ल्याटिन अमेरिकामा आफूले काम गरेको पृष्ठभूमिप्रति सजग रहने छन्।
भ्याटिकनले उनलाई अमेरिकी महादेशका दोस्रा र सेन्ट अगस्टिनको सम्प्रदायबाट बनेका पहिला पोप भनेको छ।
उनी पेरूमा हुँदा पनि गिर्जाघरमा भएको भनिएका यौनकाण्डहरूबारे निकै चर्चा भएको थियो। तर त्यस्ता काण्डको ढाकछोप गर्ने काममा उनको कुनै संलग्नता नभएको भन्दै उनको कार्यालयले उनको प्रतिरक्षा गरेको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








