पोप फ्रान्सिसको अन्तिम संस्कार सम्पन्न, कयौँ विश्व नेतादेखि सीमान्तकृतसम्म सहभागी

पोप फ्रान्सिसको अन्तिम संस्कार

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

पढ्ने समय: ३ मिनेट

पोप फ्रान्सिसको भ्याटिकनमा अन्तिम संस्सारपछि रोमस्थित उनको प्रिय गिर्जाघर सान्ता मारिआ मज्जोरे बसिलिकामा समाधिस्थ गरिएको छ।

गत सोमवार ८८ वर्षको उमेरमा उनको निधन भएको थियो।

उनको अन्तिम संस्कारमा भाग लिन कयौँ विश्व नेताहरू, शाही परिवारका सदस्यहरू र हजारौँ शोकाकुल मानिसहरूको ठूलो सङ्ख्या शनिवार बिहान सबेरैदेखि भेला भएका थिए।

इटलीको आन्तरिक मामिला मन्त्रालयका अनुसार पोपको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन शनिवार कम्तीमा चार लाख मानिसहरू भेला भए।

कार्डिनलहरूले "कन्क्लेव" भनिने नयाँ पोप चयन गर्ने प्रक्रियाको तयारी पनि सुरु भइसकेको छ।

ट्रम्पदेखि जेलेन्स्कीसम्म

विश्व नेताहरू

तस्बिर स्रोत, EPA

पोप फ्रान्सिसको अन्तिम संस्कार

तस्बिर स्रोत, Reuters

पोपको अन्तिम संस्कार समारोहमा भाग लिनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्नी मेलानियासहित मुख्य समारोह भएको भ्याटिकनको सेन्ट पिटर्स स्क्वाएरमा पुगेका थिए।

ट्रम्पको दोस्रो कार्यकालको यो पहिलो विदेश भ्रमण हो।

अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडन पनि पत्नी जीलसँगै सेन्ट पिटर्स स्क्वाएर पुगेका थिए।

पोप फ्रान्सिस

तस्बिर स्रोत, Getty Images

उक्त समारोह स्थलमा पुग्नेमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस पनि छन्।

त्यस्तै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शनिवार बिहान रोम पुगेर पोपको अन्तिम संस्कारमा सहभागी भए।

यसअघि भने उनले पोपको अन्तिम संस्कार गर्ने समारोह छुटाउने ठानिएको थियो।

कयौँ विश्व नेताबाहेक विशिष्ट व्यक्तिहरू एवं कैदीहरू पनि समारोहमा भाग लिन पुगेका छन्।

सेन्ट पिटर्स स्क्वाएरमा रहेकी बीबीसीकी सारा रेन्सफोर्डका अनुसार सडकमा दौडिरहेका पादरी, ननहरू, र धेरैजसो युवा क्याथोलिकहरू पनि देखिएका थिए।

उनीहरू चाँडोभन्दा चाँडो स्क्वायर पुगेर आफ्नो स्थान सुरक्षित गर्न प्रयास गरिरहेका थिए।

यो गिर्जाघरका लागि महत्त्वपूर्ण दिन हो र सँगै यहाँ भेला भएका धेरैका लागि यो एक भावुक व्यक्तिगत क्षण पनि हुने उनी बताउँछिन्।

"जस्तो भीड यहाँ देखिन्छ त्यसले पोप फ्रान्सिसले चासो दिएका विषयहरू झल्काउँछ। यहाँ घरबारविहीन, आप्रवासीहरू र शरणार्थीहरू धेरै देखिन्छन्," उनले भनेकी छन्।

"हामीले बुझेअनुसार यहाँ केही कैदीहरूलाई पनि उपस्थित हुने व्यवस्था मिलाइएको छ।"

ती बीबीसी संवाददाताका अनुसार त्यसो गरिनुको कारण पोप फ्रान्सिसले जेलहरूको बारम्बार भ्रमण गर्ने र कहिलेकाहीँ कैदीहरूको खुट्टा धोएर नम्रताको प्रतीक पनि देखाउने गर्नु रहेको छ।

शक्तिशाली र सीमान्तकृत दुवै सँगै छन् रोममा

रोम

तस्बिर स्रोत, EPA

रोममा पोपको २,००० वर्ष पुरानो इतिहासको एकदमै उल्लेखनीय अध्याय समाप्त हुँदैछ।

सेन्ट पिटर्स स्क्वाएरभित्र कयौँ विश्व नेताहरूसँगै सडकमा बस्ने मानिसहरू र भूमध्यसागर पार गरेर इटली आएका आप्रवासीहरू पनि सामेल भए।

पोप फ्रान्सिसले घरबारविहीनहरूका लागि एउटा सभाहललाई होस्टलमा परिणत गरिदिएका थिए।

अहिले ती घरबारविहीन मानिसहरूको एउटा समूह त्यही होस्टलमा बसेर बिहानको खाजा खाँदै हजारौँ मानिसहरू प्रवेश गरेको हेरिरहे जहाँ विश्व नेताहरूको समेत आगमन भयो।

"पीपल्स पोप" भनेर चिनिएका व्यक्तिको अन्तिम संस्कार समारोहले संसारका सबैभन्दा शक्तिशाली व्यक्तिहरूसँगै संसारकै केही सीमान्तकृतहरू पनि एकत्रित गर्‍यो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।