पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

तस्बिर स्रोत, Reuters
पोप फ्रान्सिसको निधन भएको जानकारी कार्डिनल केभिन फेरेलले दिएका छन्।
उनका अनुसार भ्याटिकनमा स्थानीय समयानुसार सोमवार बिहान ७:३५ बजे ८८ वर्षीय फ्रान्सिसको निधन भएको हो।
"उनको सम्पूर्ण जीवन लर्ड तथा उनका चर्चको सेवामा समर्पित रह्यो।"
"उनले हामीलाई गोस्पेलको मूल्यमान्यता अँगालेर भक्ति, साहस तथा सबैप्रति, खासगरी सबभन्दा गरिब तथा बहिष्करणमा परेकाहरूप्रति, प्रेमका साथ बाँच्न सिकाए।"
बिरामी थिए पोप
भ्याटिकनको सेन्ट पिटर्स स्क्वाएरमा 'ईस्टर सन्डे'का निम्ति उपस्थित भएको २४ घण्टा नबित्दै पोपको निधन भएको छ।
उनले आइतवार ह्वीलचेअरमा सेन्ट पिटर्स बसिलिकामा उपस्थित भिडलाई अभिवादन गरेका थिए र ईस्टर पर्वको शुभकामना दिएका थिए।
गत महिना उनी पाँच सातासम्म अस्पतालमा भर्ना भएका थिए। सङ्क्रमणपश्चात् उनलाई दुवै फोक्सोमा न्यूमोनिया भएको थियो।
पोप फ्रान्सिसको विरासत
रोमन क्याथलिक चर्चको सर्वोच्च पदमा पुग्ने उनी पहिलो ल्याटिन अमेरिकी थिए।
सन् १९३६ मा आर्जेन्टिनामा बसोबास गरेका इटलीका आप्रवासीहरूको परिवारमा उनको जन्म भएको थियो।
उनी जेजूइट बने र ब्वेनोस आइरिजको आर्चविशपको पदमा पुगे।
सन् २०१३ मा पोपको पदमा उनको चयनले आश्चर्य निम्त्याएको थियो। साधारण जीवनशैलीका निम्ति उनको प्रशंसा हुने गर्थ्यो। उनलाई चर्चको उदारवादी खेमामा रहेको मानिन्थ्यो।

तस्बिर स्रोत, PA Media
सम्बन्धविच्छेद तथा समलिङ्गी विवाहजस्ता विषयमा उनले भ्याटिकनको आवाजलाई केही नरम बनाइदिएका थिए।
उनले अरू धर्मका अगुवाहरूसँग पनि सम्पर्क बनाएका थिए। तर चर्चका परम्परागत सिकाइलाई उनले परिवर्तन गरेनन्।
उनको कार्यकालमा चर्चविरुद्ध लागेका बालयौनदुराचारका आरोपले प्रमुखता पाए।
उनले ढाकछोपका विरुद्ध ठोस कारबाहीको आह्वान गरे तर आलोचकहरूले चाहिँ बालयौनदुराचारी पादरीहरूबारे जानकारी नदिने बिशपहरूलाई सजाय दिन पर्याप्त कदम नचालेको भनेर उनको आलोचना गरे।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








