पोप फ्रान्सिसः क्याथोलिक चर्चलाई परिवर्तन गरिदिने ल्याटिन अमेरिकाका परम्परावादी पोप

पोप फ्रान्सिस

तस्बिर स्रोत, EPA

पोप फ्रान्सिसको कार्यकालमा थुप्रै नयाँ र नौला कुराहरूको सुरुवात भए र उनले क्याथोलिक चर्चमा सुधारहरू गर्न जारी नै राख्दा उनी परम्परावादीहरू माझ पनि लोकप्रिय रहेका थिए।

अमेरिकाज् अथवा दक्षिणी गोलार्द्धबाट चयन भएका उनी प्रथम पोप थिए। सन् ७४१ मा सिरियामा जन्मेका पोप ग्रेगोरी तृतियको निधनपछि गैरयुरोपेली व्यक्ति बिशप अफ रोम चयन भएका थिएनन्।

त्यसैगरी उनी सेन्ट पिटरको आसन सम्हाल्ने पहिलो जेजुइट पनि थिए। ऐतिहासिक रूपमा नै रोमले जेजुइटहरूलाई शंकाको दृष्टिले हेर्ने गर्दथ्यो। फ्रान्सिसका पूर्ववर्ती बेनेडिक्ट सोह्रौँ झण्डै ६०० वर्षको अवधीमा स्वेच्छाले पद त्याग गर्ने पहिलो पोप थिए र त्यसपछि झण्डै एक दशकसम्म भ्याटिकन गार्डन्समा दुईजना पोपको उपस्थिति रहन पुगेको थियो।

आर्जेन्टिनाको कार्डिनल बेर्गोग्लियोका रूपमा रहेका उनी सन् २०१३ मा पोप नियुक्त हुँदा नै सत्तरीको उमेर पार गरिसकेका थिए।

थुप्रै क्याथोलिकहरूले नयाँ पोप पहिलेको दाँजोमा केही थोरै कम उमेरको हुने अपेक्षा गरेका थिए।

बेर्गोग्लियोले आफूलाई सम्झौताको उम्मेदवारका रूपमा प्रस्तुत गरेका थिए। यौनसँग सम्बन्धित विषयहरूमा पुरातनवादी विचारका परम्परावादीहरूले रूचाउने र सामाजिक न्यायका विषयमा उनको उदार धारणका कारण सुधारवादीहरूलाई पनि आकर्षित गर्ने व्यक्तिका रूपमा।

उनको गैरपुरातनवादी पृष्ठभूमिका कारण उनलाई भ्याटिकनमा पुनः प्राण भर्न र त्यसको धार्मिक अभियानलाई पुनः दरिलो बनाउन सहयोग पुग्ने विश्वास गरिएको थियो।

तर भ्याटिकनको प्रशासनयन्त्र भित्र पोप फ्रान्सिसको सुधारका प्रयासहरूले अवरोधको सामना गर्नु परेको थियो। र सन् २०२२ मा निधन भएका उनका पूर्ववर्ती नै परम्परावादीहरूमाझ लोकप्रिय रहन पुगेका थिए।

मुस्कानसहित उभिएर अभिवादनमा दाहिने हात उठाएका र सेतो पोशक लगाएका पोप फ्रान्सिस अन्य सहयोगीहरूका साथमा

तस्बिर स्रोत, Getty Images

फरक हुनका लागि प्रतिबद्ध

आफ्नो चयन भएको समयदेखि नै फ्रान्सिसले आफूले भिन्न ढङ्गले काम गर्ने संकेत दिइसकेका थिए। उनले कार्डिनलहरूको स्वागत पनि अनौपचारिक रूपमा गरे, उभिएर। नभए पोपको आसनमा बसेर त्यसो गर्ने चलन थियो।

सन् २०१३ को मार्च १३ मा पोप फ्रान्सिस भ्याटिकन दरबारको सेन्ट पिटर्स स्क्वाएर नामक विशाल चोक तर्फको बार्दलीमा उपस्थित भएका थिए।

सेतो रङ्गको परम्परागत पोशाक लगाएका उनले नयाँ नाम ग्रहण गरेका थिए जुन नाम लिएर उनले सेन्ट फ्रान्सिस अफ असिसि भनिने १३ औँ शताब्दीका जनावरहरूप्रतिको प्रेमका कारण प्रसिद्ध एक इशाई धर्मगुरुको सम्मान गरेका थिए।

उनी परम्परागत चमकदमक भन्दा भद्रता र विनम्रताको पक्षमा देखिए। उनले पोपले चढ्ने विशेष लिमोजिन गाडी त्याग गरेका थिए भने अन्य कार्डिनलहरूले प्रयोग गर्ने बस नै प्रयोग गर्ने कुरामा जोड दिन्थे।

नयाँ पोप नियुक्त भएपछि उनले १.२ अर्ब क्याथोलिक इशाई धर्मावलम्बीहरूका निमित्त नैतिक अभियान पनि तय गरेका थिए। उनको भनाई थियो,"मलाई गरिब चर्च र गरिबहरूको हेरविचार गर्ने चर्चको चाहना छ।"

पोप फ्रान्सिस र पोप इमेरिटस् बेनेडिक्ट सोह्रौँ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१४ को एक प्रार्थनासभामा पोप फ्रान्सिसले पोप इमेरिटस् बेनेडिक्ट सोह्रौलाई अभिवादन गरेका थिए।

खोर्खे मारिओ बेर्गोग्लियोको जन्म सन् १९३६ को डिसेम्बर १७ तारिखको दिनमा आर्जेन्टिनाको बुएनोस् आइरिजमा भएको थियो। उनी आमाबाबुका पाँच सन्तानमध्ये सबैभन्दा जेठा थिए। उनका आमाबाबुले फासिवादबाट जोगिन पुर्ख्यौली इटली छाडेर भाग्नु परेको थियो।

उनलाई ट्याङ्गो नृत्य मन पर्थ्यो र उनी आफ्नो स्थानीय फुटबल क्लब सान लोरेन्जोका समर्थक थिए।

बालककालमा न्यूमोनियाको गम्भीर विरामी भएपनि उनी बाँच्न सफल भएका थिए। उनको फोक्सोको एउटा भाग नै शल्यक्रिया गरेर हटाउनु परेको थियो। त्यसका कारण बाँकी जीवनभर नै उनले सङ्क्रमणहरूको सामना गर्नु परेको थियो।

वृद्धावस्थामा उनले दाहिने घुँडा दुखिरहने समस्या बेहोरेका थिए। उनी त्यसलाई "शारीरक लज्जा" भन्ने गर्दथे।

युवा बेर्गोग्लियोले एकजना केमिस्टका रूपमा अध्ययन पुरा गर्नुभन्दा अगाडि एउटा नाइट क्लबमा बाउन्सर र भुईँ सफा गर्ने कामदारका रूपमा काम पनि गरेका थिए।

एउटा स्थानीय कारखानामा उनले आर्जेन्टिनाको सैनिक तानाशाहीको विरोधमा अभियान चलाउने एस्थर बालेस्ट्रिनोसँग पनि निकट रहेर काम गरेका थिए। ति अभियानकर्मीलाई पक्राउ गरेर यातना दिइएको थियो तर उनको शरीर कहिल्यै फेला परेन।

बेर्गोग्लियो पछि जेजुइट बने र दर्शनशास्त्रको अध्ययन गरे। उनले साहित्य र मनोविज्ञान पढाउने काम पनि गरे। एकदशकपछि उनी पादरी बने र त्यसपछि उनको छिटो छिटो पदोन्नति भयो। उनी सन् १९७३ मा आर्जेन्टिनाको प्रोभिन्सिएल सुपेरिअर बन्न पुगेका थिए।

आफूले समर्थन गर्ने फुटबल क्लबको चिन्हसहित पोप फ्रान्सिस

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पोप फ्रान्सिस बुएनोस् एइरिजको उनको स्थानीय फुटबल क्लब सान लोरेन्जोको आजीवन प्रशंसक रहे

आरोप

केही मानिसहरूलाई उनले आर्जेन्टिनामा क्रूर सैन्य शासनको नेतृत्व गर्ने जेनरलहरूको पर्याप्त विरोध गरेनन् भन्ने लाग्थ्यो।

उनीमाथि आर्जेन्टिनामा चलेको युद्धका बेला दुई पादरीहरू अपहरण परेको घटनामा उनको संलग्नता भएको आरोप लाग्यो। सन् १९७६ देखि १९८३ सम्म चलेको उक्त रक्तपातयुद्ध युद्धका बेला हजारौँ मानिसलाई यातना दिइएको वा बेपत्ता पारिएको वा हत्या गरिएको थियो।

ती दुई पादरीहरूले पनि यातना पाएका थिए। पछि उनीहरू अचेत बनाइएको र अर्धनग्न अवस्थामा जीवितै फेला परे।

चर्चले उनीहरूलाई गरिब बस्तीहरूमा काम गर्ने अनुमति दिएको थियो। तर त्यो जानकारी सरकारी अधिकारीहरूलाई नदिएको अभियोग खोर्खे मारिओ बेअर्गोल्योमाथि लाग्यो। त्यो अभियोगको अर्थ ती दुई जनालाई हत्याराहरूसमक्ष परित्याग गरिएको थियो भन्ने लाग्थ्यो। तर उनले त्यस्तो अभियोग अस्वीकार गर्दै ती दुईको मुक्तिका लागि परोक्ष प्रयास गरेको दाबी गरे।

त्यसबारे उनी किन बोलेनन् त भनेर सोध्दा बेअर्गोल्योले त्यसो गर्न निकै कठिन थियो भनेको बताइन्छ। वास्तवमा ३६ वर्षको उमेरमा उनी अनुभवी व्यक्तिहरू पनि अलमलिने खालको समस्याको जालोमा फसेका थिए। यद्यपि उनले देश छोडेर भाग्न खोज्ने धेरै मानिसलाई सघाए।

समकालीन जेज्यूइटहरू बेअर्गोल्योलाई 'लिबरेशन थिओलजी' प्रति रुचि नभएको ठान्थे। उनीहरूबीच मतभिन्नता थियो। इसाई अवधारणा र मार्क्सवादी समाजशास्त्रको उक्त संश्लेषणमार्फत् अन्याय हटाउन सकिन्छ भन्ने उनीहरू ठान्थे। तर उनी पादरीहरूले प्रदान गर्ने सहयोगको पक्षमा थिए।

बेलाबेलामा उनीहरूबीच मनमुटाव उत्पन्न हुन्थ्यो। सन् २००५ मा उनले सुरुमा पोप बन्न खोज्दा केही जेज्यूइटहरूले राहतको सास फेरेका थिए।


पोप जोन पल द्वितिय का साथ भविष्यका पोप फ्रान्सिस

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९९८ मा पोप जोन पल द्वितियले खोर्खे मारिओ बेर्गोग्लियोलाई बुएनोस् आइरिजको आर्चविशप नियुक्त गरेका थिए

सरल जीवन

सन् १९९२ मा उनी ब्वेनोस आइरिजका सहायक बिशप बनेका थिए। त्यसपछि आर्चबिशप बने।

सन् २००१ मा पोप जन पोल द्वितीयले उनलाई सन् २००१ मा कार्डिनल नियुक्त गरे।

पोप फ्रान्सिसले सादा जीवन रुचाउने व्यक्तिको छवि बनाए। उनी प्रायजसो हवाईयात्रा गर्दा इकोनमी क्लासको टिकट लिन्थे। आफ्नो नयाँ ओहदा चिनाउने रातो र गुलाबी गाउनभन्दा उनी प्रायः पादरीहरूले लगाउने जस्तो कालो गाउन नै लगाउँथे।

आफ्ना उपदेशहरूमा उनले सामाजिक समावेशिताको आह्वान गरे। समाजमा अतिविपन्न सदस्यहरूप्रति ध्यान दिन नसक्ने सरकारहरूको उनी आलोचना गर्थे।

पोपका रूपमा उनले ईस्टर्न अर्थोडक्स चर्चसँगको हजारौँ वर्ष पुरानो विवाद कम गर्न उल्लेख्य प्रयास गरे। फलस्वरूप सन् १०५४ को 'ग्रेट स्किजम'पछि पहिलो पटक 'द प्याट्रिआर्क अफ कन्स्ट्यान्टिनोपल'ले रोमका बिशपको कार्यकाल सुरु हुँदा आयोजना गरिएको कार्यक्रममा भाग लिए।

पोप फ्रान्सिस, शिमोन पेरेज र महमुद अब्बास

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, पोप फ्रान्सिसले इजरेली राष्ट्रपति शिमोन पेरेज, बायाँपट्टी, र उनका प्यालेष्टिनी समकक्षी महमुद अब्बासलाई सन् २०१४ मा शान्तिको लागि प्रार्थना गर्न एकसाथ भेला गरेका थिए

उनले इसाई धर्मअन्तर्गतका एङ्ग्लिकन, लूथरन र मेथडिस्ट समूहहरूसँग पनि काम गरे।

साथै उनले इजरेल र प्यालेस्टाइनका नेताहरूलाई आफूसँगै शान्तिका लागि आह्वान गर्न प्रोत्साहित गरे।

मुस्लिम लडाकु समूहहरूले विभिन्न ठाउँमा आक्रमण गरेका बेला उनले इस्लाम धर्मलाई हिंसासँग जोड्नु सही नभएको बताएका थिए। "मैले यदि इस्लामिक हिंसाका बारे बोल्ने हो भने मैले क्याथोलिक हिंसाबारे पनि बोल्नुपर्छ," उनले भनेका थिए।

राजनीतिक रूपमा उनले आर्जेन्टिनाको सरकारले फोक्ल्यान्डमा आफ्नो दाबी पेस गर्दा समर्थन गरे।

स्प्यानिश भाषा बोल्ने ल्याटिन अमेरिकीका रूपमा उनले अमेरिकी सरकारले क्युबासँग ऐतिहासिक सहमति गर्न चाहेका बेला मध्यस्थकर्ताको भूमिका पनि निर्वाह गरे। कुनै युरोपेली पोपले यस्तो भूमिका निर्वाह गर्ने कुरा विरलै कल्पना गर्न सकिन्छ।


क्युबाका भूतपूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोसँग पोप फ्रान्सिस

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, पोप फ्रान्सिसले सन् २०१५ मा क्युबाका भूतपूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोसँग हवानामा भेट गरेका थिए

'परम्परावादी'

उनका उपदेशहरूमा पोप फ्रान्सिस परम्परावादी भए झैँ लाग्थ्यो।

"यूथनेजिआ, मृत्युदण्ड, गर्भपतन, जीवनको अधिकार, मानवअधिकार र पादरीको ब्रह्मचर्यबारे उनी पोप जन पोल द्वितीयजस्तै सम्झौता नगर्ने खालका थिए," उनीसँगै धार्मिक शिक्षा लिएका मोन्सिङ्नर अस्भाल्डो मुस्टोले भने।

तर उनले यौनिकता जे भए पनि चर्चले सबै मानिसलाई स्वागत गर्नुपर्ने बताएका थिए। यद्यपि उनले समलिङ्गी जोडीले धर्मसन्तान ग्रहण गर्दा बालबालिकाविरुद्ध विभेद हुने तर्क गरेका थिए।

साथै उनले समलिङ्गीहरूबीचको सम्बन्धलाई "विवाह" भन्न अस्वीकार गरे। उनका अनुसार त्यसो गर्नु "ईश्वरको योजना नष्ट गर्ने प्रयास" हुन्थ्यो।

सन् २०१३ मा पोप बनेलगत्तै उनी रोममा आयोजित गर्भपनविरुद्धको र्‍यालीमा सहभागी भएका थिए। गर्भाधानदेखि नै गर्भस्थ मानिसको अधिकार सुरु हुने बताएका थिए।

साथै उनले महिलालाई पादरी बनाउने कार्य "ओर्डिनेशन"को पनि विरोध गरेका थिए।

उनले सुरुमा रोगबाट बचाउने सामग्री भनी गर्भनिरोधक साधनलाई अनुमति दिइनुपर्ने धारणा राखे पनि पछि पोल छैटौँको उपदेशको प्रशंसा गरेका थिए। उनले यस्ता साधनले महिलालाई पुरुष सन्तुष्टिको साधन बनाउन सक्ने चेतावनी दिएका थिए।

सन् २०१५ मा फिलिपिन्समा आयोजित प्रार्थनासभामा बोल्दै उनले बालबालिकाको अनुपस्थिति आफैँमा समस्या नभए पनि बच्चा नपाउन जानाजान गरिने निर्णय समस्याकारी भएको टिप्पणी गरेका थिए।

फिलिपिन्सको भ्रमणका क्रममा पोप फ्रान्सिस

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फिलिपिन्सको भ्रमणका क्रममा पोप फ्रान्सिस झरी परेको बेलामा समेत समर्थकहरू माझ उपस्थित भएका थिए

बाल यौनदुर्व्यवहारको आरोपको सामना

पोपका रूपमा उनको कार्यकालमा उनले दुई ठूला चुनौती बेहोर्नुपर्‍यो: केहीले उनलाई बाल यौनशोषणको मुद्दा तह लगाउन विफल भएको आरोप लगाए र कट्टरपन्थी आलोचकहरूले उनलाई आस्थालाई कमजोर बनाइरहेको आरोप लगाए। खासगरी वैवाहिक सम्बन्ध विच्छेद गरेका र पुन विवाह गरेका क्याथलिकहरूलाई धार्मिक सभामा सहभागी हुन अनुमति दिने उनको कदमका आधारमा उनीहरूले आलोचना गरेका हुन्।

कट्टरपन्थीहरूले लामोसमयसम्म चालेका अभियानमा बाल दुर्व्यवहारसम्बन्धी मुद्दालाई हतियार नै बनाए।

अगस्ट २०१८ मा संयुक्त राज्य अमेरिकाका लागि पूर्व अपोस्टोलिक नन्सिओ आर्चबिशप कार्लो मारिआ भिगानोले 'युद्धको घोषणा' भन्दै ११ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरे। उनले जारी गरेको पत्रमा एक पूर्व कार्डिनल टमस म्याक्करिकको व्यवहारबारे भ्याटिकनलाई दिइएको शृङ्खलाबद्ध चेतावनीको विवरण थियो।

त्यसमा म्याक्करिकलाई शृङ्खलाबद्ध दुर्व्यवहार गर्ने व्यक्तिका रूपमा आरोप लगाइएको थियो र म्याक्करिकले वयस्क र नाबालक दुवैमाथि हमला गरेको उल्लेख छ। आर्चबिशप भिगानोले भनेका थिए: म्याक्करिक भित्रैदेखि भ्रष्ट भए पनि पोपले उनलाई "विश्वासप्राप्त काउन्सिलर" बनाएका थिए। उनले भनेका थिए: समाधान स्पष्ट छ, पोप फ्रान्सिसले राजीनामा दिनुपर्छ।

"यी समलिङ्गी सञ्जालहरू," आर्चबिशपको दाबी अनुसार, "गोप्य रूपमा काम गर्छन् र अक्टोपसका टेन्टाकल जस्तै बलियो झुटो बोल्छन् … र तिनले सम्पूर्ण गिर्जाघरको गला निमोठ्दैछन्।"

त्यसले चर्चमा विवाद बढ्ने खतरा भयो। भ्याटिकनले गरेको अनुसन्धानपछि म्याक्करिकलाई अन्तत: सन् २०१९ को फेब्रुअरीमा पदबाट हटाइएको थियो।

पोप फ्रान्सिस युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०२३ मा पोप फ्रान्सिसले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेका थिए

कोभिड महामारीका बेला फ्रान्सिसले भाइरस फैलनबाट रोक्न सेन्ट पिटर्स स्क्वाएरमा उनको नियमित धार्मिक भेला बन्द गरेका थिए। नैतिक नेतृत्वको एक महत्त्वपूर्ण उदाहरणस्वरूप उनले कोभिडविरुद्ध खोप लगाउने विश्वव्यापी दायित्व भएको बताएका थिए।

सन् २०२२ मा पोप बेनेडिक्टको ९५ वर्षको आयुमा मृत्यु भएपछि उनी एक शताब्दी यताकै आफ्ना पूर्ववर्तीलाई समाधिस्थ गर्ने पहिलो पोप पनि बनेका थिए।

त्यस बेलासम्म उनी विभिन्न स्वास्थ्य समस्याका कारण पटक पटक अस्पतालमा भर्ना हुनुपर्‍यो। तर फ्रान्सिस विश्व शान्ति र अन्तर धार्मिक संवादलाई बढावा दिनका लागि आफ्ना प्रयास निरन्तर गर्न दृढ थिए।

सन् २०२३ मा उनले दक्षिण सुडानको धार्मिक यात्रा गरेर त्यहाँका नेताहरूलाई द्वन्द्व अन्त्य गर्न अपिल गरे।

उनले युक्रेनमा "उदेकलाग्दो र क्रूर युद्ध' समाप्त गर्न अपिल गरे। तर रुसलाई उक्साइएका कारण आक्रमण गर्न बाध्य भएको भन्ने रुसी दाबीलाई स्वीकार गरेर उनले युक्रेनीहरूलाई निराश पनि पारे।

त्यसको एक वर्षपछि उनले चार देश र दुई महादेशको महत्त्वाकाङ्क्षी यात्रा गरे। त्यस बेला उनी इन्डोनेशिया, पपुवा न्यू गिनी, र सिङ्गापुर पुगेका थिए।

पोप फ्रान्सिस

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मेक्सिको भ्रमणका क्रममा शान्तिको प्रतिकको नमुनाका साथ पोप फ्रान्सिसको मुर्ति प्रदर्शन गरिएको थियो

खोर्खे मारिओ बेर्गोग्लियोले सेन्ट पीटरको आसनको जिम्मेवारीलाई बदल्ने प्रतिबद्धता सहित त्यसमा बसेका थिए।

केही मानिस त्यस्ता पनि हुनेछन् जसले थप उदार नेता मन पराउलान् र आलोचकहरूले पादरीहरूको यौन दुर्व्यवहार घटनाका विरासतको सामना गर्नमा कमजोर जस्तो देखिएको उनको व्यवहारमाथि औँला उठाउनेछन्।

तर परिवर्तन भने उनले ल्याइ नै दिए।

उनले गैरयुरोपेली देशका १४० भन्दा बढी कार्डिनल नियुक्त गरे। उनले आफ्ना उत्तराधिकारीलाई यस्तो चर्च सुम्पिएका छन् जुन चर्च उनले विरासतमा पाएको भन्दा बढ्दा विश्वमुखी छ।

एक उदाहरण स्थापित गर्न उनले भ्याटिकनको 'एपोस्टोलिक दरबार' मा नबस्ने निर्णय गरेका थिए – जसमा सिस्टिन च्यापल पनि पर्छ – बरु नजिकै रहेको पोप जोन पलले अतिथिगृहका रूपमा बनाएको आधुनिक भवनमा उनी बसे।

त्यस्तो व्यवहार नगर्नु देखावटी हुन जाने उनको विश्वास थियो। "मयुरलाई हेर न," उनी भन्थे "त्यसलाई अगाडिबाट हेर्‍यो भने त्यसको सुन्दरता देखिन्छ। तर पछाडिबाट हेर त तिमिलाई सत्यता थाहा हुन्छ।"

उनमा संस्थामा परिवर्तन ल्याउन सक्छु भन्ने आशा थियो। आन्तरिक कलह समाप्त गरेर चर्चको ध्यान गरिबहरूमाथि ध्यान केन्द्रित गर्दै चर्चलाई सर्वसाधारणमाझ नै फिर्ता गर्नमा आफू केन्द्रित हुन्छु भन्ने उनले ठानेका थिए।

पोपमा आफ्नो चयन लगत्तै उनले भनेका थिए "हामीले आफ्नै दुनियाँमा उल्झिरहेको चर्चलाई आध्यात्मिक रोगबाट बचाउनु छ।"

"यदि मलाई सडकहरूमा उत्रिने एउटा घाइते चर्च र अलग बस्न रूचाउने रोगी चर्चबीच रोज्न भनियो भने मैले पहिलोलाई चुन्ने छु।"