कक्षा १२ को परीक्षा सार्ने बोर्डको निर्णय, असहजताका कारणहरू थाहा पाउनुहोस्

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको मिति पर सारिने बताएको छ।

शिक्षक आन्दोलनका कारण परीक्षा पर्सिदेखि सञ्चालन गर्न कठिन भएको भन्दै नयाँ रुटिन बुधवार प्रकाशित गरिने बोर्डका प्रमुखले बताएका छन्।

बोर्डका अध्यक्ष महाश्रम शर्माले बीबीसीलाई भने, "तयारीका सन्दर्भमा प्राविधिकरूपमा पनि कतिपय कुराहरू मिलाउनु पर्ने भएकाले हामीले परीक्षाको मिति परिवर्तन गरेका छौँ। अर्को रुटिन भोलि सार्वजनिक गर्छौँ।"

यसअघि बोर्डले राज्यका तीनवटै तहको संयन्त्र प्रयोग गरेर कक्षा १२ को परीक्षा गर्ने तयारी गरिरहेको बताइरहेको थियो भने आन्दोलनरत् शिक्षकहरूले परीक्षा सञ्चालनमा सहयोग नगर्ने बताएका थिए।

शिक्षकहरूले असहयोग गर्ने बताएपछि अनिश्चित् देखिएको कक्षा १२को परीक्षा सार्न मङ्गलबार साँझ प्रधानमन्त्रीले निर्देशन दिएका विवरण आएका थिए।

मङ्गलवार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि निर्धारित समयमै परीक्षा हुने भन्दै बोर्डले परीक्षा केन्द्र रहेका विद्यालयहरूलाई आवश्यक तयारी गर्न निर्देशन दिएको थियो।

तर आन्दोलनरत शिक्षकहरूले दुई सातासम्मका लागि कक्षा १२ को परीक्षा सार्न सुझाव दिएको आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासङ्घकी सहअध्यक्ष नानुमाया पराजुलीले बताएकी थिइन्।

"केही निकास आउला, हामी पनि विद्यालय फर्कन्छौँ, अनि परीक्षा लिऔँला। यो गर्दा राष्ट्रिय क्यालेन्डर पनि परिवर्तन गर्न जरुरी छैन भनेर हाम्रो परीक्षा बोर्डसँग कुरा भइरहेको थियो," पराजुलीले भनेकी थिइन्।

इलामको करफोक विद्या मन्दिरका प्रधानाध्यापक गणेशप्रसाद आचार्यलाई जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले कक्षा १२ को परीक्षाको तयारीबारे सोध्न मङ्गलवार टेलिफोन गर्दा केन्द्राध्यक्ष समेत रहेका उनी काठमाण्डूको शिक्षक आन्दोलनमा थिए।

आचार्यले भनेका थिए, "म शिक्षक आन्दोलनमै छु। हाम्रो माग सम्बोधन नभएसम्म म फर्कनेवाला पनि छैन। हाम्रो केन्द्रमा परीक्षा हुँदैन भनिदिएको छु।"

तयारीको अभाव

परीक्षा सुरु हुन निर्धारित मितिभन्दा एक दिन मात्रै बाँकी रहँदा पनि करिब १,६०० परीक्षा केन्द्रका अधिकांश केन्द्राध्यक्षहरूलाई परीक्षा बोर्डले अभिमुखीकरण तालिम दिएको थिएन।

राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरूका अनुसार परीक्षा केन्द्र रहेका शैक्षिक संस्थाका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको छ।

तर कैयौँ विद्यालयका प्रधानाध्यापकहरू शिक्षक आन्दोलनका लागि काठमाण्डू आएका कारण राष्ट्रिय परीक्षा बोर्ड प्राविधिक र नैतिक समस्यामा परेको थियो।

कतिपय परीक्षा केन्द्रमा शिक्षकहरूले विद्यालयको तालासमेत नखोल्ने चुनौती आन्दोलनरत शिक्षकहरूले दिएका थिए।

"ठिक छ, परीक्षा बोर्डले हामीबिनै परीक्षा चलाउनुहुन्छ र कापी पनि जाँच गर्नुहुन्छ भने उहाँहरूको कुरा, तर हामीले आन्दोलनकै मैदानबाट कोही शिक्षक, कर्मचारी, सहयोगी भूमिकामा रहँदैनौँ भनेका छौँ," पराजुलीले भनेकी थिइन्।

प्रश्नपत्र पठाउन प्राविधिक चुनौती

राष्ट्रिय परीक्षा बोर्डका अनुसार त्यही दिन परीक्षा केन्द्रमा प्रश्नपत्र उपलब्ध गराइने भएका कारण केन्द्राध्यक्ष अर्थात् विद्यालयका प्रधानाध्यापकको मोबाइलमा प्राप्त हुने 'ओटीपी'का आधारमा मात्रै प्रश्नपत्र डाउनलोड गर्न मिल्छ।

"'प्रश्नपत्र डाउनलोड'मा क्लिक गरेपश्चात् 'ओटीपी प्राप्त गर्नुहोस्' क्लिक गर्दा केन्द्राध्यक्षको मोबाईलमा ओटीपी प्राप्त हुने र सो ओटीपी 'इन्ट्री' गरेपश्चात् मात्र प्रश्नपत्र डाउनलोड गर्न सकिने गरी व्यवस्था मिलाइएको" परीक्षा बोर्डले यसअघि जारी गरेको सूचनामा उल्लेख थियो।

आन्दोलनरत प्रधानाध्यापक परीक्षा सञ्चालनका लागि तयार नभए जिल्ला समन्वय समितिले अर्को व्यक्ति वा सरकारी कर्मचारीलाई पनि तोक्न सक्ने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताएका थिए।

"हामीले प्रश्नपत्र प्रणालीबाट पठाउने हो। त्यहाँ खटिने कर्मचारीलाई उपलब्ध गराउँछौँ," शर्माले भनेका थिए।

"राज्यका सबै निकाय लागे भने परीक्षा चल्न सक्छ। केन्द्राध्यक्ष जिल्लाबाट तोकिए भने अनलाइन माध्यमबाट पनि अभिमुखीकरण दिन सकिन्छ," उनले भनेका थिए।

कतिपय विद्यालयका परीक्षार्थीहरूको प्रवेशपत्र समेत नपुगेका कारण बिहीवारबाट परीक्षा सञ्चालन गर्न चुनौती हुने आन्दोलनरत शिक्षकहरूको भनाइ थियो।

तर परीक्षा नियन्त्रक शर्मा त्यसका लागि पनि बोर्डले अस्थायी व्यवस्थापन गर्न सक्ने बताएका थिए।

"विद्यालयहरूले प्रवेशपत्र उपलब्ध गराएनन् भने त्यसका विकल्पमा हामी सिम्बोल नम्बर र विषयसहितको 'ट्रिप्लिकेट' उपलब्ध गराएर भए पनि परीक्षा गराउन सकिन्छ," शर्माले भनेका थिए।

परीक्षा निरीक्षकको व्यवस्थापन

परीक्षा बोर्डले कक्षा १२ को परीक्षाका लागि नेपालभरि १,५९० वटा र जापानमा एउटा परीक्षा केन्द्र तोकेको छ। शिक्षकहरू सहभागी नभएको अवस्थामा परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष सहित परीक्षा निरीक्षकहरूको व्यवस्थापनका लागि बोर्डलाई चुनौती थियो।

शर्माका अनुसार शिक्षकहरूको सट्टा यसअघि लोकसेवा परीक्षा सञ्चालनको अनुभव भएका सरकारी कर्मचारीलाई केन्द्राध्यक्ष र निरीक्षक तोकेर भए पनि कक्षा १२ को परीक्षा चलाउने तयारीमा परीक्षा बोर्ड रहेको थियो।

तर बोर्डले शिक्षकहरूको सहयोगका लागि अन्तिमसम्म पनि पहल गर्ने उनले बताएका थिए।

"उहाँहरूले वर्षभरि मेहनत गरेर पढाउनुभएको विद्यार्थी हो। हामीले त मूल्याङ्कन मात्रै गर्ने हो। अन्तिम घडीमा उहाँहरूले सहयोग गर्नुहुन्छ नै भन्ने हाम्रो अपेक्षा छ," शर्मा भन्छन्।

तर शिक्षकहरूले विद्यालय नै नखोल्ने अवस्था बनाए जिल्ला प्रशासन कार्यालय र परीक्षासम्बन्धी जिल्लास्तरका सरकारी निकायहरूले त्यसको समाधान गर्ने परीक्षा बोर्डले दाबी गरेको थियो।

महासङ्घको निर्णयविपरीत परीक्षामा सहभागी हुने शिक्षकहरूलाई पनि सहज नहुने सहअध्यक्ष पराजुलीले बताएकी थिइन्।

"हामीले विद्यालयमा बाँकी रहनुभएका साथीहरूलाई पनि काठमाण्डू बोलाएका छौँ। पेसागत हकहितको काम गर्ने छाता सङ्गठनविरुद्ध जान उहाँहरूलाई पनि सहज छैन," उनले भनेकी थिइन्।

शिक्षामन्त्रीको राजीनामा

शिक्षक आन्दोलन र कक्षा १२ को परीक्षाको अन्योलबीच शिक्षामन्त्री विद्या भट्टराईले सोमवार राजीनामा दिएपछि आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सक्ने ठानिएको विद्यालय शिक्षा विधेयकबारे संसद्‌मा जारी छलफल प्रभावित भएको छ।

संसदीय समितिले शिक्षामन्त्रीसमेतलाई बोलाएर विधेयकमा दर्ता भएका १७०० बढी संशोधनबारे छलफल गरिरहेको थियो।

तर मन्त्री भट्टराईले शिक्षक आन्दोलन चलिरहेकै समयमा स्वास्थ्यको कारण देखाउँदै सोमवार राजीनामा दिएपछि त्यसको असर कक्षा १२ को परीक्षाबारे लिइने निर्णयमा पनि देखिएको अधिकारीहरू बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।