कतारबाट पोखरा र भैरहवामा सोझो उडानदेखि लगानीको क्षेत्रमा सहकार्य गर्न प्रचण्डको अनुरोध

तस्बिर स्रोत, RSS
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
नेपालको राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको द्विपक्षीय भेटवार्तापछि नेपाल र कतारले केही समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई नेपालका प्रधानमन्त्री प्रचण्डले पोखरा र भैरहवामा निर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नेदेखि विपिन जोशीको रिहाइका लागि सहयोग गर्न अनुरोध गरेको अधिकारीहरूले बताएका छन्।
नेपालमा कतारबाट हुन सक्ने लगानी र श्रमक्षेत्रमा थप सहकार्य दुई देशका नेताबीचको छलफलको प्रमुख विषयवस्तु रहेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकारले बीबीसीलाई बताए।
राष्ट्रपति रामचन्द्र पौडेलको निम्तोमा मङ्गलवार कतारका अमिर विशेष विमानमार्फत् नेपाल आइपुगेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै राष्ट्रपति पौडेलसँग द्विपक्षीय वार्ताका लागि शीतल निवास पुगेका उनले क्षेत्रीय र अन्तर्राष्ट्रिय विषय तथा सहकार्यका बारेमा कुराकानी गरेका थिए।
भ्रमणको दोस्रो तथा अन्तिम दिन कतारका अमिर र नेपालका प्रधानमन्त्रीबीच द्विपक्षीय छलफल भएको हो।
प्रचण्ड र कतारका अमिरबीच अरू के कुराकानी भयो
प्रधानमन्त्री प्रचण्ड र कतारका अमिरबीचको छलफलमा द्विपक्षीय सहकार्यका विविध आयामबारे छलफल भएको प्रधानमन्त्रीले आफ्नो सामाजिक सञ्जाल 'एक्स'मा उल्लेख गरेका छन्।
प्रधानमन्त्रीका अन्तर्राष्ट्रिय मामिला सल्लाहकार रूपक सापकोटाका अनुसार प्रधानमन्त्री प्रचण्डले कतारका अमिरलाई पूर्वाधार, ऊर्जा, शिक्षा र यातायातजस्ता क्षेत्रमा नेपालमा लगानीका लागि अनुरोध गरेका थिए।

तस्बिर स्रोत, @PM_nepal_/X
त्यसबाहेक उनले नेपालमा हवाई सम्पर्क सञ्जाल विस्तार गरिनुपर्नेमा पनि जोड दिएका थिए।
सापकोटा भन्छन्, “हवाई सम्पर्क सञ्जाल विस्तारको कुरा हुँदा कतार एअरलाइन्सले जुन नेपालमा उडान गरिरहेको छ त्यसलाई पोखरा र भैरहवामा पनि विस्तार गर्न प्रधानमन्त्रीले अनुरोध गर्नुभएको छ। दुवै नेताहरूको बीचमा नेपाल र कतार दुवैको तर्फबाट एउटा टोली निर्माण गरेर नेपालमा लगानीको सम्भाव्यता र हवाई सम्पर्क सञ्जालको सहकार्यको जुन सम्भाव्यता छ, त्यसमा पनि छलफल गर्ने भन्ने समझदारी बनेको छ।”
कतारका अमिर अरब देशबाट नेपालको भ्रमण गर्ने पहिलो राष्ट्रप्रमुख हुन्। झन्डै पाँच लाख नेपाली श्रमिक कार्यरत रहेको कतारबाट जलस्रोत, कृषि लगायतका क्षेत्रमा लगानी भित्र्याउने नेपाली अपेक्षा छ।
प्रधानमन्त्रीले कतारी श्रमिकसँगको भेटवार्तामा नेपाली श्रमिकका विषयमा पनि छलफल गरेका थिए।
सापकोटा भन्छन्, “नेपालको तर्फबाट अब हामीले मर्यादित श्रमको लागि र कामदारको सीप अभिवृद्धिका लागि पनि सोच्नुपर्छ भन्ने कुरा गरेका छौँ। कतारका अमिरले श्रमिकहरूको सीप अभिवृद्धिका लागि आफ्नो मुलुक नेपालसँग मिलेर अघि बढ्न चाहन्छौँ र त्यसमा हामी सहकार्य गर्न तयार छौँ भन्नुभएको छ।”

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
अमिर नेपाल आउनुअघि कतिपय मानवाधिकारवादी संस्थाहरूले कतारमा अझै पनि आप्रवासी श्रमिकहरूले श्रमशोषण बेहोर्ने गरेको भन्दै उनीहरूको हक अधिकारको मुद्दा प्रमुखताका साथ उठाउन नेपाललाई सुझाव दिएका थिए।
प्रधानमन्त्री प्रचण्डले कतारका अमिरसँगको भेटमा हमास इजरेल युद्धको शान्तिपूर्ण समाधानको पक्षमा नेपाल रहेको धारणा पनि राखेका थिए।
त्यसबाहेक उनले हमासले बन्धक बनाएका नेपाली विपिन जोशीको रिहाइको लागि सघाउन अनुरोध गरेका थिए।

तस्बिर स्रोत, RSS
कुनकुन सम्झौता भए
दुई देशका संस्कृति र कलाको प्रवर्धन गर्ने विषयमा एउटा समझदारीपत्र, कतार र नेपालका राष्ट्रिय समाचारसंस्थाहरूबीच समाचार आदानप्रदान र सहकार्यसम्बन्धी सम्झौता, शिक्षा तथा उच्चशिक्षा र वैज्ञानिक अनुसन्धानसम्बन्धी समझदारीपत्र, युवा र खेलकुद सहकार्यसम्बन्धी समझदारीपत्र, दुई देशका महान्यायाधिवक्ताको कार्यालयबीच सहकार्य गर्ने समझदारीपत्र अनि नेपालको इन्स्टिट्यूट अफ फरेन अफेअर्स र कतारको कूटनीतिक निकायबीच कर्मचारीहरूलाई तालिम आदानप्रदान गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो।
सरकारी स्तरमा भएका यीबाहेक दुई देशका निजी क्षेत्रबीच दुइटा सम्झौता भएको सापकोटाले जानकारी दिए।
कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासङ्घबीच समझदारीपत्रको नवीकरण र संयुक्त व्यापार परिषद्को स्थापना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएका छन्।
यस पटक अमिरको भ्रमण हुँदा सन् २००५ मा दुई देशले हस्ताक्षर गरेको श्रमसम्झौताको नवीकरण नेपालले चाहेको थियो।
तर कतिपय विषय टुङ्गो नलागेको भन्दै त्यसलाई थाँती राखिएको अधिकारीहरूले जनाएका छन्। पूर्णकालीन बीमा, कामदारको ज्यालावृद्धिजस्ता विषय श्रम सम्झौता नवीकरण गर्दा समेटिनुपर्ने नेपालको माग रहेको छ।
कतारका अमिर नेपालको राजकीय भ्रमण सम्पन्न गरी बुधवार अपराह्न स्वदेश फिर्ता भएका छन्।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए।
उनको बिदाइका लागि उपपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसहितको उपस्थित थिए।
बिदाइमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहितको सम्मान दिएको थियो।
राष्ट्रपतिसँगको भेटमा के भयो
यसअघि मङ्गलवार राष्ट्रपति पौडेलले र कतारका अमिरबीच नेपाली श्रमिकदेखि उक्त मध्यपूर्व देशबाट नेपालमा हुन सक्ने लगानीबारे छलफल भएको थियो।
कतारका अमिरले कतारको विकासका लागि कैयौँ क्षेत्रमा त्यहाँ रहेका नेपालीहरूले पुर्याएको योगदानको राष्ट्रपति पौडेलसँगको भेटवार्तामा प्रशंसा गरेको उनको वेबसाइटमा राखिएको विवरणमा उल्लेख गरिएको छ।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले बीबीसीसँग भने, “कतारमा रहेका नेपाली श्रमिकहरूका हक अधिकारको रक्षा, सेवा सुविधाको कुरा समग्रमा राष्ट्रपतिले राख्नुभयो। कतारका अमिरले नेपाली श्रमिकहरूलाई अझ राम्रो क्षेत्रहरूमा लैजाने योजना रहेको जानकारी दिनुभयो।”

तस्बिर स्रोत, @AmiriDiwan/X
त्यसबाहेक नेपाल र कतारबीच भावी सहकार्यका बारेमा पनि कुराकानी भएको थियो।
“कतारका अमिरले विश्वस्त गराउनुभएको छ कि यो भ्रमणले नेपाल र कतारबीचको सम्बन्धलाई अझ उचाइमा पुर्याउने छ। अब कतारले नेपालको जलस्रोत, कृषि, खाद्यान्न र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउन सकिने सम्भावनाको ढोका खोलेको उहाँले बताउनुभयो। लगानी अभिवृद्धि गर्नेबारे संयुक्त समिति बनाउने कुरा छ।”
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका चुनौतीबारे पनि भेटमा कुरा राखेका थिए।
पोखरेलका अनुसार राष्ट्रपति पौडेलले जलवायु परिवर्तन मानवजातिको अस्तित्वसँग जोडिएको भन्दै हिमाल बचाउनुपर्ने र पानीको स्रोत जोगाउनुपर्ने धारणा राखेका थिए।
कतारका अमिरले जलवायु परिवर्तनका असर संसारले नै बेहोरिरहेको भन्दै सबै सम्झौताहरूको पालना हुनुपर्ने धारणा राखेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








