नरसंहारको आरोपमा इजरेलविरुद्ध आईसीजेमा दायर मुद्दामाथि सुनुवाइ सुरु

द हेग

तस्बिर स्रोत, Reuters

इजरेलले हमासविरुद्ध जारी लडाइँमा नरसंहार गरेको भन्दै इन्टरन्याश्नल कोर्ट अफ जस्टिस आईसीजेमा दक्षिण अफ्रिकाले दायर गरेको एउटा मुद्दामा बिहीवारबाट सुनुवाइ सुरु भएको छ।

दक्षिण अफ्रिकी वकिलहरूले गाजालाई नष्ट गर्ने योजना “इजरेली राज्यको उच्चस्तरबाट आएको” दाबी गरेका छन्।

शुक्रवार आफ्नो प्रतिरक्षा गर्ने इजरेलले भने ती आरोपहरूलाई “निराधार” भन्दै अस्वीकार गरेको छ।

दक्षिण अफ्रिकाले इजरेललाई गाजामा सैन्य कारबाही बन्द गर्न आदेश दिन पनि अदालतलाई आग्रह गरेको छ।

द हेगमा गस्ती गर्दै प्रहरी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, द हेगमा प्रदर्शनकारीलाई तितरबितर पार्दै प्रहरी

अदालतले एउटा मात्र राय दिने

उक्त अदालतले नरसंहारबारे एउटा मात्र राय दिनेछ। यद्यपि यो बहसलाई धेरैले चासोपूर्वक हेरेका छन्।

दक्षिण अफ्रिकाको उच्च अदालतका एक वकिल तेम्बेका नक्युबकाईतोबीले आईसीजेलाई इजरेली सैन्य आक्रमणको तरिबाट उसको "नरसंहारको नियत" स्पष्ट भएको बताए।

उनले अदालतमा भने, "गाजालाई ध्वस्त पार्ने उद्देश्य राज्यको उच्चस्तरबाटै राखिएको छ।"

दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्ने आदिला हासिमले "हरेक दिन प्यालेस्टिनी जनताको जीवन, सम्पत्ति, मर्यादा र मानवताको अपूरणीय क्षति भइरहेको" बताइन्।

उनले भनिन्, “यो अदालतको आदेशबाहेक अरू कुनै पनि कुराले त्यो पीडा रोक्न सक्दैन।"

सुनुवाइ हुनुपूर्व दक्षिण अफ्रिकाले प्यालेस्टिनी राष्ट्र र जातीय समूहलाई नष्ट गर्ने उद्देश्यसहित इजरेलले कदम चालेको दाबीसहित प्रमाणहरू पनि पेस गरेको छ।

द हेग

तस्बिर स्रोत, Getty Images

इजरेल र दक्षिण अफ्रिका पक्षराष्ट्र भएको महासन्धि

इजरेलले शुक्रवार आफ्नो पक्ष अदालतसमक्ष राख्नेछ। उसले यसअघि नै गत अक्टोबर ७ मा हमासले इजरेलमाथि गरेको हमला र क्षतिको प्रतिउत्तरमा गाजामा आफूले कारबाही गरेको बताएको छ।

यद्यपि दक्षिण अफ्रिकाका न्यायमन्त्रीले बिहीवार आईसीजेमा बोल्दै नरसंहारसम्बन्धी महासन्धिलाई उल्लङ्घनलाई कुनै पनि आक्रमणले पुष्टि गर्न नसक्ने बताए।

इजरेलले सन् १९४८ को उक्त महासन्धिमा हस्ताक्षर गरेको छ।

उक्त महासन्धिले नरसंहार भनेको के हो भनेर परिभाषित गरेको छ भने राष्ट्रहरूलाई नरसंहार रोक्न प्रतिबद्ध बनाउँछ।

आईसीजेले संयुक्त राष्ट्रसङ्घको सबैभन्दा उच्च तहको अदालत हो र यसको मुख्यालय नेदल्यान्डस्‌को द हेगमा रहेको छ।

आईसीजेका सदस्य राष्ट्रहरूका लागि कानुनी रूपमा उसका आदेशहरू बाध्यकारी हुन्छन्।

दक्षिण अफ्रिका र इजरेल दुवै आईसीजेका सदस्य हुन्। तर ती आदेशहरू कार्यान्वयन गर्न दुवै देशलाई बाध्य बनाउन भने सकिँदैन।

अदालतले दिनसक्ने आदेश

सन् २०२२ मा उक्त अदालतले रुसलाई युक्रेनमा “तत्काल सैन्य कारबाही बन्द गर्न” आदेश दिएको थियो। तर रुसले त्यसलाई बेवास्ता गर्‍यो।

अन्तर्राष्ट्रिय कानुनअनुसार नरसंहारका लागि एउटा वा त्यो भन्दा धेरै खाले गतिविधिहरू हुनसक्ने मानिन्छ।

ती गतिविधिले कुनै एउटा समूह, राष्ट्रियता, जातीय वा धार्मिक समूहलाई पूर्णत नष्ट गर्ने उद्देश्य राखेको पुष्टि हुनुपर्छ।

आईसीजेको मुख्यालय बाहिर प्यालेस्टाइन र इजरेलको पक्षका समर्थकहरूको भिड जम्मा भएको छ भने डच प्रहरीले उनीहरूलाई छुट्ट्याउन निकै दबावको सामना गर्नुपरेको छ।

हेगमा प्रदर्शन

तस्बिर स्रोत, Getty Images

प्यालेस्टिनी झण्डा बोकेका सयौँ प्रदर्शनकारीहरूले तत्काल युद्धविरामको आग्रह गरेका छन् भने इजरेली समर्थकले गाजामा रहेको ठानिएका बन्धकहरूका तस्बिरहरू बोकेको देखिन्छ।

आईसीजेले इजरेललाई तत्काल आफ्नो सैन्य कारबाही अन्त्य गर्न आदेश दिन सक्छ। तर उसले नरसंहार गरेको हो वा होइन भन्ने तय गर्न वर्षौँ लगाउन सक्छ।

गाजामा इजरेलले गरेको हमलाबारे दक्षिण अफ्रिकाले व्यापक रूपमा आलोचना गर्दै आइरहेको छ।

गाजामा इजरेली आक्रमणमा परेर हालसम्म २३ हजार ३५० जनाभन्दा बढीको ज्यान गइसकेको छ। त्यसमा अधिकांश महिला र बालबालिका रहेका छन्। यो हमासले चलाएको अस्पतालले दिएको विवरण हो।

गत वर्ष अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणमा एक हजार दुई सयभन्दा बढी मानिस मारिएका थिए भने हमासले २४० जना जतिलाई बन्धक बनाएको थियो।

त्यसपछि इजरेलले गाजामा लगातार आक्रमण गरिरहेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।