युद्ध सकिएपछि गाजामा कसको शासन? यस्तो छ इजरेली योजना

गाजास्थित खान यूनिसमा आफ्ना पतिको मृत्यु भएपछि शोकविह्वल एक महिला

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, गाजास्थित खान यूनिसमा इजरेली आक्रमणमा परेर आफ्ना पतिको मृत्यु भएपछि शोकमा विह्वल एक महिला

इजरेली रक्षामन्त्री योआभ गालान्टले इजरेल र हमासबीचको युद्ध सकिएपछि गाजामा कस्तो र कसरी शासन गर्ने भन्ने विषयमा प्रस्ताव तयार पारेका छन्।

उनका अनुसार उक्त भूभागमा सीमित प्यालेस्टिनी शासन हुने छ। गाजामा हमासको नियन्त्रण नरहने र इजरेलले त्यहाँको सबै सुरक्षा नियन्त्रण आफूले गर्ने उनले बताए।

इजरेलले गाजासँग सम्बन्धित योजना सार्वजनिक गरेको भए पनि गाजामा लडाइँ जारी छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा कैयौँ मानिसको मृत्यु भएको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले यो साता यो क्षेत्रको भ्रमण गर्न लागेका छन्। उनले इजरेली नेताहरूसँग र अधीनस्थ वेस्ट ब्याङ्कमा प्यालेस्टिनी अधिकारीहरूसँग वार्ता गर्ने ठानिएको छ।

मङ्गलवार लेबननको राजधानी बेरूतमा हमासका शीर्ष नेता सालेह अल-अरूरी मारिएपछि उक्त क्षेत्रमा बढेको तनावका माझ वरिष्ठ अमेरिकी अधिकारीले भ्रमण गर्न लागेका हुन्।

सालेह अल-अरूरीको मृत्युको दोष धेरै हदसम्म इजरेलमाथि लगाइएको छ। तर इजरेलले बेरूतमा भएको आक्रमण आफ्नो संलग्नताबारे स्पष्टमा केही भनेको छैन।

तर इजरेलका एक अधिकारीले हमासका नेता "सर्जिकल स्ट्राइक"मा मारिएको र उनलाई लक्ष्य बनाएर जसले आक्रमण गर्‍यो "उसको हमाससँग सिकायत छ" भन्ने स्पष्ट भएको बताएका थिए।

गाजामा 'सुरक्षा नियन्त्रण इजरेलको, शासन प्यालेस्टिनीहरूबाटै'

गालान्टको प्रस्तावअनुसार गाजालाई इजरेलले आफ्नो सुरक्षा नियन्त्रणमा लिने छ। इजरेली बम आक्रमणका कारण भएको व्यापक क्षतिपछि उक्त क्षेत्रको पुनर्निर्माणको जिम्मा बहुराष्ट्रिय फौजले लिने छ।

उक्त योजनाका अनुसार गाजामा इजिप्टको पनि भूमिका हुने छ। त्यसबारे खुलाइएको छैन।

तर उक्त क्षेत्र सञ्चालन गर्ने जिम्मेवारी प्यालेस्टिनीहरूकै भएको गालान्टको प्रस्तावमा लेखिएको छ।

"गाजाका बासिन्दाहरू प्यालेस्टिनी हुन्, त्यसैले प्यालेस्टिनी निकायहरू नै जिम्मेवार हुने छन्। तर इजरेल राज्यविरुद्ध त्यहाँ कुनै कदम भने चाल्न नहुने सर्त राखिएको छ," गालान्टले भने।

योआभ गालान्ट

तस्बिर स्रोत, Reuters

युद्धपछि गाजाको भविष्यसँग सम्बन्धित विषयबारे इजरेलमा गम्भीर विमति छ।

प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको सरकारका केही उग्र दक्षिणपन्थी सदस्यहरूले प्यालेस्टिनी नागरिकहरूलाई गाजा छोडेर निर्वासन जान प्रोत्साहन गर्नुपर्ने बताएका छन्। त्यहाँ यहुदी बस्ती पुनर्स्थापित हुनुपर्ने उनीहरूको माग छ।

तर त्यस्ता विवादास्पद प्रस्तावहरूलाई इजरेलका केही साझेदार र अन्य देशले "अतिवादी" र "अव्यावहारिक" भन्दै अस्वीकार गरेका छन्।

प्रस्ताव स्वीकृत हुने सम्भावना कति?

खान यूनिस

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, गाजाको दक्षिणमा पर्ने सबैभन्दा ठूलो सहर खान यूनिसमा बिहीवार इजरेलले हवाई हमला गरेको थियो

मन्त्रिपरिषद्का केही सदस्यले गरेकोभन्दा गालान्टको प्रस्ताव बढी व्यावहारिक देखिएको छ। तर प्यालेस्टिनी नेताहरूले त्यसलाई अस्वीकार गर्ने सम्भावना छ।

विनाशकारी युद्ध सकिएपछि गाजा सञ्चालनको नेतृत्व गाजावासीलाई नै दिनुपर्ने भन्ने नेताहरूले गालान्टको प्रस्तावलाई अस्वीकृत गर्न सक्ने छन्।

प्रधानमन्त्री नेतन्याहूले गाजाको शासनबारे आफ्नो धारणा व्यक्त गरिसकेका छैनन्। हमासलाई सखाप पार्ने उनले उद्घोष गरेका थिए। तर गाजा युद्ध अझै कैयौँ महिना लम्बिने सङ्केत उनले दिएका छन्।

इजरेली सेनाले अब के गर्ला?

गालान्टको योजनामा गाजा युद्धको अर्को चरणमा इजरेली सेनाको उद्देश्य कस्तो हुन्छ भन्ने कुरा समाविष्ट छ।

इजरेली डिफेन्स फोर्सेस (आईडीएफ) ले गाजा स्ट्रिपको उत्तरमा छापा मार्ने, सुरुङ ध्वस्त पार्ने, हवाई र स्थल आक्रमण गर्ने गालान्टले जनाएका छन्।

दक्षिणमा इजरेली सेनाले हमास नेता कहाँ छन् पत्ता लगाउने र इजरेली बन्धकहरूलाई उद्धार गर्ने उनले बताए।

बिहीवार आईडीएफले गाजा सिटी र खान यूनिससहित गाजाको उत्तर र दक्षिणमा पनि आक्रमण गरेको छ।

इजरेलले "आतङ्ककारीहरूको संरचना" लाई लक्ष्य गरेर हवाई आक्रमण गरिएको र कारबाहीका क्रममा इजरेली सैनिकहरू भएको ठाउँमा बम विस्फोटन गराउन खोज्ने "लडाकुहरू" मारिएको दाबी गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।