भारतको केरलाको तटपारि तेल बोकेको जहाज डुब्दा कति र कस्ता असर पर्ला

डुब्दै गरेको पानीजहाज

तस्बिर स्रोत, ANI

तस्बिरको क्याप्शन, मालबाहक जहाज एमएससी अरब सागरमा डुबेका कारण दक्षिण भारतको तटीय क्षेत्रमा सावधान रहन आह्वान
    • Author, इमरान कुरैशी
    • Role, बीबीसी हिन्दी

भारतको दक्षिणी राज्य केरलाको सरकारले अरब सागरमा लाइबेरियाको एक मालबाहक पानीजहाज डुबेको र त्यसबाट तेल पोखिएपछि तटीय क्षेत्रहरूमा सावधान हुन सूचना जारी गरेको छ।

दक्षिण-पश्चिम मनसुनको तेज रफ्तारका कारण उक्त क्षेत्रमा कति नोक्सानी भएको छ भनेर तत्कालै थाहा हुन कठिन भएको छ।

के थियो पानीजहाजमा?

लाइबेरियाको झण्डाबाहक उक्त पानीजहाजमा ६४३ वटा कन्टेनर रहेको बताइएको छ। तीमध्ये ७३ खाली थिए भने १३ कन्टेनरमा क्याल्सियम कार्बाइड नामक रसायन थिए जसबाट एसिटिलीन ग्यास निस्कन्छ।

त्यसका अतिरिक्त जहाजमा ८४.४४ मेट्रिक टन डिजल अनि ३६७.१ मेट्रिक टक फर्नेस अइल पनि थियो।

ती सामग्री पोखिएपछि उत्पन्न हुने खतराका माझ केरलाको सरकारले अलाप्पुझा, कोल्लम, एर्नाकुलम तथा तिरुवनन्तपुरमसहित राज्यका तटीय जिल्लाहरू सतर्कता बढाएको छ।

ती जिल्लाहरूमा गए राति तथा आज बिहान करिब ९ कन्टेनर बगेर किनारमा आइपुगेका छन्।

सरकारले खासगरि माछा मार्ने व्यवसायमा सामेल स्थानीय समुदायलाई जहाज डुबेको ठाउँभन्दा २० नटिकल माइल वरपर माछा नमार्न भनेको छ।

मुख्यमन्त्री पिनरायी विजयनको अध्यक्षतामा बसेको आपत्कालीन बैठकपश्चात् उक्त निर्णय लिइएको थियो।

बगेर आएका कन्टेनरका नजिक नजान र तिनलाई नछुन भनिएको छ।

उद्धार कार्य

यसअघि सोमवार भारतीय तटरक्षक बल (आईसीजी)ले २४ सदस्य रहेका उक्त जहाजमा फसेका ३ जनालाई पनि उद्धार गरेको थियो।

शनिवार उक्त जहाज एकापट्टि ढल्किएको र डुब्न लागेको देखिएपछि उद्धारकार्य सुरु भएको थियो।

आईसीजीले उद्धारका लागि तीनवटा जहाज खटाएको थियो र "(जहाजको) १.५ नटिकल माइल क्षेत्रमा तेल पोखिएको देखिएको थियो जुन पछि २.२ नटिकल माइलसम्म फैलियो।"

फैलँदो प्रदूषण नियन्त्रण गर्न मुम्बईबाट एउटा विशेष जहाज त्यसतर्फ पठाइएको बताइएको छ।

रक्षा मन्त्रालयका प्रवक्ता कमाण्डर अतुल पिल्लईले बीबीसी हिन्दीसँग कुरा गर्दै भने, "हामीले डोर्निअर विमानलाई अवस्था बुझ्न पठाएका थियौँ। उसले तेल पोखिएको देख्ने बित्तिकै प्रदूषण रोक्ने प्रक्रिया सुरु गरियो। अइल स्पिल डिस्पर्सेन्टको तुरुन्तै प्रयोग गरियो। तर मनसुनले सो क्षेत्रमा निकै अँध्यारो भएकाले फेरि बुझ्न सकिएको छैन।"

जहाजमा रहेकाहरूको उद्धार

तस्बिर स्रोत, ANI

तस्बिरको क्याप्शन, भारतीय तटरक्षक बलले जहाजमा रहेका सबै २४ जनाको उद्धार गरेको बताएको छ

कस्तो पर्ला असर?

उक्त पानीजहाज अरब सागरमा अलाप्पुझा जिल्लाको थोट्टापल्ली बन्दरगाहभन्दा १४.६ नटिकल माइल पर डुबेको छ।

डुब्नुअघि एकापट्टि ढल्कँदा उक्त जहाजबाट करिब १०० कन्टेनर पानीमा खसेको र मनसुनका कारण ती बग्दै तटतर्फ आउन सक्ने बताइएको छ।

त्यसमा भएको तेल समुद्रको पिँधमा जान सक्ने भएकाले त्यससँग जुझ्न विभिन्न निकाय मिलेर विस्तृत कार्ययोजना बनाउन पनि निर्देश गरिएको छ।

केरला युनिभर्सिटी अफ फिसरिज एन्ड ओसन स्टडिजमा एक्वाटिक इन्भार्नमेन्टल म्यानेजमेन्ट डिपार्टमेन्टका प्रमुख प्रोफेसर अनु गोपीनाथले अहिले नै उक्त घटनाका कारण पर्यावरण, समुद्री जीव, माछा मार्ने समुदायको जीविकोपार्जन आदिमा पर्ने असर अनुमान गर्न सम्भव छैन।

उनले थप जानकारीका आधारमा स्थितिको गम्भीरता बुझ्न सकिने बताए। "कति कन्टेनर खुलेका थिए र तिनका कस्ता रसायन थिए भनेर जान्न जरुरी छ। जहाजबाट मात्रै तेल पोखिएको हो कि होइन भन्ने पनि प्रस्ट भइसकेको छैन।"

उनले भने, "अहिलेसम्मको जानकारीअनुसार ती कन्टेनर स्टीलका थिए। यदि त्यसो हो भने समुद्री जीवन तथा माछा मार्ने समुदायको जीविकामा नोक्सान नहुन सक्छ। यदि कन्टेनरभित्रका सामग्री समुद्रमा फैलन पाएको छैन भने चिन्ता गर्न जरुरी छैन।"

"तर यदि फैलिएको रहेछ भने चाहिँ आगामी ६ देखि १२ महिनासम्म यो इलाकाको निगरानी गर्नु पर्छ। किनभने क्याल्सियम कार्बाइडजस्ता रसायनलाई एक्वाटिक प्रणालीमा घुल्न समय लाग्छ। रसायन माछाका शरीरमा पुग्ने डर पनि हुन्छ। त्यसो भयो भने केही समयसम्म उक्त क्षेत्रमा माछा मार्न दिनु हुँदैन।"

क्याल्सियम कार्बाइडका १३ कन्टेनर यदि पानीको सम्पर्कमा आए भने एसीटिलीन ग्यासजस्तै पड्कन सक्ने अड्कल पनि लगाइएको छ। तर त्यसबारे प्रोफेसर गोपीनाथले भने, "कन्टेनर स्टीलकै थिए भनेर पुष्टि नहुन्जेल हामी पूर्ण रूपमा निश्चिन्त हुन सक्दैनौँ। यदि स्टीलका रहेछन् भने आगो लाग्ने डर हुँदैन।"

तर उनले यो क्षेत्रमा अब निरन्तर निगरानी गर्न जरुरी भएको बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।