टर्की: समुद्रमा चिप्लो बाक्लो लेदोको 'विपत्'

मर्मरा सागरमा डुङ्गा चलाउँदा अब उक्त लेदोको ख्याल गर्नुपर्नेछ।

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, मर्मरा सागरमा डुङ्गा चलाउँदा अब उक्त लेदोको ख्याल गर्नुपर्नेछ

टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले आफ्नो देशको तटीय भेगलाई त्यहाँको पानीमा बढिरहेको एकखाले समुद्री चिप्लो फोहोरबाट बचाउने वाचा गरेका छन्।

बाक्लो, चिप्लो लेदोजस्तो पदार्थ इस्तानबुल नजिकैको मर्मरा सागरमा फैलिरहँदा त्यसले त्यहाँको समुद्री जीव र माछा उद्योगमा असर पुगिरहेको छ।

विज्ञहरूले प्रदूषण र जलवायु परिवर्तनका कारण त्यसो भइरहेको आरोप लगाएका छन्।

राष्ट्रपति एर्दोआन भन्छन्, "हामीले हाम्रो समुद्रलाई यो लेदोजन्य विपत्तिबाट बचाउने आशामा छौँ।"

विपत्

लेउमा चाहिनेभन्दा बढ्ता पोषणतत्व हुने र त्यसबेलै हुने जल प्रदूषण र तातो मौसमका कारण प्राकृतिक रूपबाट यस्तो हरियो लेदोको विपत्ति निम्तने गरेको बताइन्छ।

सन् २००७ मा टर्कीमा पहिलो पटक देखिएको यस्तो प्रभाव ग्रीस नजिकैको एजियन सागरमा समेत देखा परेको थियो।

टर्कीको पछिल्लो प्रकोप मर्मरा सागरको ठूलो भागमा देखिएको छ जसले कृष्ण सागरदेखि एजियन सागरसम्म जोड्छ।

Map

यस प्रकारको इतिहासमै ठूलो प्रकोपका रूपमा विश्वास गरिएको यस घटनाले स्थानीय समुदायहरूमा त्रास सिर्जना गरिरहेको छ।

किन चिन्ताजनक?

राष्ट्रपति एर्दोआनले प्रशोधन नगरिएका फोहोरहरू समुद्रमा फ्याँक्ने काम एवं बढ्दो तापमानले त्यसो भएको आरोप लगाउँदै अधिकारीहरूलाई अनुसन्धानका लागि आह्वान गरेका छन्।

उनले भनेका छन्, "मेरो डर यदि यो कृष्ण सागरसम्म फैलियो भने…यो समस्या विशाल हुनेछ भन्ने हो। हामीले ढिलो नगरीकन कदम चालिहाल्नुपर्छ।"

टर्किस मरीन रिसर्चका प्राध्यापक बेरम अजटर्कले यस्तो समस्या अब इस्तानबुलबाट फ्याँकिएका फोहोर पानीको शुद्धीकरणका लागि ताजा लगानी नगर्दासम्म रहिरहने भन्दै चेतावनी दिएका छन्।

प्राध्यापक अजटर्कले बीबीसीलाई भने, "यो साँच्चिकैको विपत्‌ हो।"

असर

मर्मरा सागरमा डुङ्गा चलाउँदा अब उक्त लेदोको ख्याल गर्नुपर्नेछ।

कतै उक्त लेदोले डुङ्गाका मोटर र जालमा अवरोध सिर्जना गर्ने भन्दै केही माछा मार्ने काम गर्ने मानिसहरूलाई त्यहाँ प्रतिबन्ध लगाइएको छ।

मर्मरा सागरमा डुङ्गा चलाउँदा अब उक्त लेदोको ख्याल गर्नुपर्नेछ।

तस्बिर स्रोत, EPA

गोताखोरहरूले धेरै ठूला माछा र समुद्री जनावरहरू छटपटाउँदै मरेको विवरण दिएका छन्।

टर्कीको सरकारले प्रदूषणको सम्भावित स्रोतबारे अनुसन्धान गर्न ३ सय जनाको एउटा प्रभावशाली टोली खटाएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, बेइजिङमा कहालीलाग्दो आँधीले दिउँसै 'अँध्यारो'